२०८१, १४ बैशाख शुक्रबार

राज्यलक्ष्मी भित्र्याएपछिको नुवाकोट काङ्ग्रेस

    कार्तिक १६ २०७४ ११:१०

Ramchandra Bhatta
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

– रामचन्द्र भट्ट

धेरैलाई सम्झना हुनुपर्छ । ०५४ सालको स्थानीय निर्वाचनमा विदुर नगरपालिकाको मेयरमा राप्रपाले सोमप्रसाद पाण्डेलाई उम्मेदवार बनाएको थियो । पञ्चायतको अन्तिम अवस्थामा पाण्डे तत्कालीन विदुर नगर पञ्चायतको वडाध्यक्ष समेत थिए । बहुदलीय व्यवस्था स्थापनापछि उनी नुवाकोटका धेरै पञ्च जसरी रातारात काङ्ग्रेसमा फाल हालेनन् । उनी पुराना पञ्चहरूको दलका रूपमा चिनिएको राप्रपामै आबद्ध भए ।

पढेलेखेको रूपमा परिचित, भद्र, शालीन र विकासप्रेमीका रूपमा पाण्डे परिचित थिए । कसैलाई पनि बिझाउने वचन नबोल्ने र सहयोगी पाण्डेको यही विशेषतालाई राप्रपाले उपयोग गर्दै ०५४ मा मेयरको उम्मेदवार बनायो । एमालेका ठाकुरप्रसाद गजुरेल विजयी भए भने दोस्रोमा नेपाली काङ्ग्रेसका शिवप्रसाद गजुरेल भए । पाण्डेले सम्मानजनक मत ल्याए र तेस्रो हुन पुगे ।

यिनै पाण्डेलाई कहाँबाट राप्रपामा वितृष्णा जाग्यो । ०५५ ताका उनी नेपाली काङ्ग्रेस प्रवेश गरे । तत्कालीन सांसद अर्जुननरसिंंह केसीबाट सदस्यता लिएर काङ्ग्रेस पसेका पाण्डे त्यसपछि नुवाकोटको राजनीतिबाट अस्ताए ।

आफैँभित्रै पक्ष र प्रतिपक्ष लिएर बसेको नेपाली काङ्ग्रेसले सोमप्रसादजस्ता नवप्रवेशीलाई गतिलो जिम्मेवारी दिएर साध्य पनि थिएन । उनको उपयोग त्यसपछि ०५६ मा भएको संसदीय चुनावमा काङ्ग्रेसले ग¥यो । केसीका लागि भोट माग्न पाण्डे तत्कालीन क्षेत्र नं. ३ का गाउँगाउँ पनि पुगे । केसीले त्यही चुनावमा बहुदलीय व्यवस्थापछि पहिलोपल्ट पराजय भोग्नुप¥यो ।

त्यसपछि पाण्डे नुवाकोटको कुनै पनि राजनीतिमा देखिएनन् । बरु राजनीतिभन्दा खेती–किसानीमै लागेका पाण्डेसँग डेढ दशकअघि यो टिप्पणीकारको सिम्बुटारमा गुलाफ फार्ममा कुराकानी भएको थियो ।

rajyalaxmi-pandey

राप्रपाबाट सोमप्रसाद मेयरको उम्मेदवार हुँदा उपमेयरको उम्मेदवार थिइन्– राज्यलक्ष्मी पाण्डे श्रेष्ठ । पाण्डेको राजनीतिमा आगमन पनि छोटो र अप्रत्यासित थियो । पति सूर्यकुमार श्रेष्ठको शङ्कास्पद दुर्घटनामा निधन भएपछि राज्यलक्ष्मी एकाएक राजनीतिमा उदाइन् । पतिको निधनअघि पारिवारिक पृष्ठभूमि काङ्ग्रेस रहेकी उनले आफ्नो पतिको हत्या भएको भन्दै नेपाली काङ्ग्रेससँग सम्बद्ध केही युवाहरूविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । तर, प्रमाण नपुगेको भन्दै प्रहरीले ती युवालाई छाडिदिएपछि उनलाई राप्रपाले उपयोग गरेको थियो ।

तिनै राज्यलक्ष्मीले यसपटक कमाल गरेर देखाइदिइन् । डा. प्रकाशचन्द्र लोहनीले दिएको सांसदको टिकट अर्जुननरसिंह केसीलाई जिम्मा लगाइदिइन् । राप्रपा राष्ट्रवादीबाट नुवाकोट क्षेत्र नं. २ मा दर्ता गरेको उम्मेदवारी नै फिर्ता लिएर पाण्डेले केसीलाई समर्थन गरेको विज्ञप्ति सार्वजनिक गरिन् ।

केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको वाक्य यहाँ सान्दर्भिक हुनेछ । ओलीले भनेका थिए– एमाले बाच्छो होइन, अब माउ नै भित्र्याउँदै छ । माउ भित्रिएपछि बाच्छाबाच्छी आफ से आफ पछि लागेर आउनेछन् ।

ओलीको यो भनाइ राष्ट्रिय राजनीतिमा माओवादीसँगको तालमेलसँग सम्बन्धित थियो । तर, नुवाकोटको सन्दर्भमा भने केसीले राप्रपाको उम्मेदवारलाई नै काङ्ग्रेसमा मात्र भित्र्याएनन् । उम्मेदवारीसमेत फिर्ता गर्न लगाएर आपूmलाई समर्थन गर्न लगाए ।

यसपटक नुवाकोटको चुनाव असाध्यै रोमाञ्चक मोडमा अघि बढिरहेको महसुस भएको छ । पहिलो रोमाञ्चक मोड नुवाकोटका दुवै क्षेत्रका उम्मेदवारका कारण देखियो । क्षेत्र नं. १ र २ दुवैका सङ्घीय संसद्का सांसदका उम्मेदवारहरूले प्रदेश सभाका लागि आफ्नै भाइ र भतिजलाई बोकेका छन् । क्षेत्र नं. १ का डा. रामशरण महतले भतिज नाता पर्ने र पटकपटक स्वकीय सचिव रहेर काम गरिसकेका रमेश महतलाई प्रदेश सभाको सांसदको उम्मेदवार बनाएर आपूmसँगै हिँडाउँदै छन् । त्यस्तै क्षेत्र नं. २ का अर्जुननरसिंह केसीले आफ्नै सहोदर भाइ जगदीश्वरनरसिंह केसीलाई प्रदेश सभाको उम्मेदवार बनाएर लिएर हिँडेका छन् ।

जगदीश्वर र रमेश महतको आफ्नै राजनीतिक इतिहास पनि होला । तर, उनीहरूको जत्तिको इतिहास बोकेका नुवाकोटमा थुप्रै काङ्ग्रेस छन् । भाइ र भतिजाको योगदान छ भनेर दाबी गर्ने भए डा. महत र अर्जुननरसिंह दुवैले यसपटक प्रत्यक्षमा उम्मेदवार नभएर राजनीतिबाट सन्न्यासै लिएको भए पनि बिग्रनेवाला र मुलुक डुब्नेवाला थिएन । दुवैले आपूm पनि त्याग गर्न नसक्ने र भाइ–भतिजालाई पनि त्याग गराउन नसक्ने अवस्थाले नुवाकोटको काङ्ग्रेसी राजनीति अब पूरै परिवारवाद मात्र होइन महत परिवार भर्सेज केसी परिवारमा परिणत हुँदै गएको छ ।

डा. महत परिवारलाई नुवाकोटमा भाग नपुगेर डा. प्रकाशशरण महत यसपटक काठमाडौं क्षेत्र नंं. ५ मा पुगेका छन् । त्यहाँ उनले एमाले महासचिव ईश्वर पोखरेलसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।

नुवाकोटको चुनावको दोस्रो रोमाञ्चक मोडचाहिँ माथि उल्लेखित राप्रपाकी उम्मेदवार राज्यलक्ष्मी पाण्डेको हो । जो दर्ता गरिसकेको उम्मेदवारीसमेत फिर्ता लिएर केसीलाई समर्थन गर्न पुगेकी छिन् ।

नुवाकोटको चुनाव यसपटक निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ । स्थानीय तहको चुनावको जस्तो परिणाम आउने हो भने प्रतिस्पर्धा नभई एकोहोरो हुनेछ भन्न पनि सकिन्छ । तर, दुवै क्षेत्रका नेपाली काङ्ग्रेसका उम्मेदवारहरू हेभिवेट भएका कारण स्थानीय चुनावको जस्तै ठ््याक्कै त्यही परिणाम आउँछ भनेर ठोकुवा गर्न सकिँदैन ।

चुनावको नतिजा गणितको जोड–घटाउजस्तो हुँदैन । स्थानीय चुनावमा स्थानीय उम्मेदवारका कारण कसैले बढी र कसैले घटी प्राप्त गरेका हुन्छन् । तर, संसदीय चुनावमा भने त्यही परिणाम आउँछ नै भनेर ठोकुवा गर्न सकिँदैन । त्यसो हुँदा एमाले–माओवादी गठबन्धनका उम्मेदवारले अहिलेजस्तो खुसीले मात्तिनुपर्ने अवस्था छैन । न त काङ्ग्रेसले पनि आत्तिनुपर्ने, त्रसित भएर वाम गठबन्धनले जित्यो भने बोल्न पनि पाइँदैन भनेर झुटो कोलाहल छाड्नु नै जरुरी छ ।

नुवाकोटबाट केसी र महत दुवैले लामो समय प्रतिनिधित्व गरिरहे । उहाँहरूले आफ्नो ल्याकत र ताकतले सकेजति नुवाकोटलाई दिइसक्नुभएको छ । त्यही भएर त केसी झन्डै चार दशक र महत तीन दशकदेखि नुवाकोटको राजनीतिमा एकछत्र छाइरहेका छन् ।

उहाँहरूले राजनीतिबाट सम्मानजनक बिदाइ लिनुपर्ने हो । डा. महत त अर्थशास्त्रका जानकार पनि हुनुहुन्छ । माग र आपूर्तिको बिन्दुको मिलन भएपछि सन्तुष्टिको बिन्दु तल झर्न थाल्छ । अर्थात् बजारमा जब वस्तु या चिजको आपूर्ति ज्यादा हुन थाल्छ त्यसको भाउ हुँदैन । मूल्य तल झर्न थाल्छ । डा. महत र केसीका हकमा पनि यही सिद्धान्त लागू हुन लागेको हो कि जस्तो देखिएको छ । विगतका चुनावहरूमा उहाँहरूले पाउनुभएको मतलाई केलाउने हो भने तथ्यहरूले ओरालो लाग्दै गरेको चार्र्ट देखाउँछन् ।

दुवैलाई यसपटक चुनाव छेड्न फलामको चिउरा चपाएजस्तो अवस्था छ भन्ने चर्चा सुनिन्छ । पहिलो त, उहाँहरूको विकल्पबारेमा पनि मतदाताले मात्र होइन स्वयम् काङ्ग्रेसकै नेता–कार्यकर्ताले सोच्न थालेको आभास मिलेको छ । कहिल्यै अरूलाई पालो र अवसर नदिने उहाँहरूको स्वभावले यसपटक अप्ठ्यारो अवस्था देखिन्छ । कतिसम्म भने अघिल्लो चुनावमा क्षेत्र नं. ३ बाट माओवादीका प्रभावशाली नेता पोष्टबहादुर बोगटीलाई हराउने बहादुरसिंह लामालाई टिकट नदिएर केसी आपैmँ अग्रसर भएका छन् । त्यो घटनाले भित्रभित्रै उग्र रूप लिइरहेको छ । अर्कातिर कार्यकर्ताले केसी र महतलाई मात्र कति बोकिरहने भन्ने प्रश्न पनि उठेको छ ।

अघिल्लो संविधानसभाको चुनावमा तत्कालीन क्षेत्र नंं. २ मा निर्वाचित डा. महतले पाएको मतको ठूलो अंश एमालेको थियो । माओवादीका हितबहादुर तामाङलाई हराउन एमालेले डा. महतलाई भोट खन्याएको थियो । एमालेले डा. महतलाई मत खन्याउँदाको अवस्थामा पनि ज्यादै झिनो मतको मात्र अन्तर थियो ।

यसपटक एमाले र माओवादीबीचको तालमेल गाउँ तहसम्म पुग्यो भने त्यसले डा. महतलाई चुनाव जित्न निकै हम्मेहम्मे मात्र नभई कठिनै पार्ने सङ्केतहरू देखिएका छन् । भूकम्प गएको समयमा चर्चा भएको जस्तापाता काण्डले गर्दा पनि डा. महतको छविमा नकारात्मक असर परेको छ । जस्तापाता काण्डमा मुछिएकालाई आपूmले बचावट नगर्ने भनेर काङ्ग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले अन्तर्वार्ता नै दिएका थिए । त्यही जस्तापाता काण्डमा आरोपित रमेश महतलाई डा. महतले प्रदेश सभाको उम्मेदवार बनाएर सँगै हिँडेकाले पनि यसपटक अप्ठ्यारो परिस्थिति रहेको काङ्ग्रेस नेता बाबुकाजी पाठकको असन्तुष्टिले पनि देखाइसकेको छ ।

उता क्षेत्र नं. २ मा केसीविरुद्ध वाम गठबन्धनका नारायण खतिवडा उम्मेदवार छन् । राजनीतिका तिकडमहरू साम, दाम, दण्ड र भेदमा केसीलाई जोकोहीले उछिन्न सक्दैनन् । धाप मारेर हुन्छ कि साडी किनिदिएर हुन्छ । जागिर दिएर हुन्छ कि मीत लगाएर हुन्छ । राजनीति गर्न केसी खप्पीस छन् । त्यसो हुँदा स्थानीय चुनावको मत परिणाम जस्तो आए पनि केसीलाई कमजोर ठान्नु वाम गठबन्धनको ठूलो भूल हुनेछ ।
यसपटक भाइ जगदीश्वरलाई पनि प्रदेश सभाको उम्मेदवार बनाएर हिँडेका कारण केसीविरुद्ध काङ्ग्रेसका नेता–कार्यकर्ता आक्रोशित छन् । भाइ–भतिजाभन्दा अरूलाई विश्वास पनि नगर्ने अवसर पनि नदिने परिस्थिति विकास गरेको भन्दै केसी पक्षलाई आफ्नै दलभित्रबाट अप्ठ्यारो अवस्था भने छ । थपमा २०५६ मा पराजित हुँदा छानीछानी गरिएका कारबाहीका अवयवहरू पनि बाँकी नै छन् ।

यद्यपि एमालेले गत स्थानीय चुनावमा पाएको मतलाई संरक्षण र माओवादीले पनि राजनीतिक इमानदारी प्रदर्शन गर्ने हो भने ०५६ मा जस्तै गरी यसपटक पनि अर्जुनदाइको भागमा त्यही र त्यस्तै नतिजा हात पर्नेछ ।

संयोग कस्तो छ भने ०५६ सालमा पराजय हात लाग्दा त्यतिखेरको चुनावको केही महिनाअघि मात्र २०५४ सालमा राप्रपाबाट मेयरका उम्मेदवार भएका सोमप्रसाद पाण्डे अर्जुननरसिंह केसीको समर्थन गर्दै काङ्ग्रेस प्रवेश गरेका थिए ।

राप्रपाका उम्मेदवारको काङ्ग्रेस प्रवेश केसीका निम्ति फलिफापयुक्त नरहेको इतिहासबीच यसपटक ०५४ सालमा राप्रपाको तर्फबाट उपमेयरको उम्मेदवार रहेकी अर्की पाण्डे अर्थात् राज्यलक्ष्मी पाण्डे अर्जुननरसिंह केसीको समर्थन गर्दै भर्खरै काङ्ग्रेस प्रवेश गरेकी छिन् । नतिजा कस्तो आउने हो केही साता मात्र कुरे पुग्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top