World Tuberculosis Day 2025
sujim advert

समुन्नत रसुवा निर्माणमा योगदान पु-याउँछु

    भदौ ८, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

कुलप्रसाद भट्ट
प्रमुख, जिल्ला समन्वय समिति रसुवा

रसुवाको जिल्ला समन्वय समितिको प्रमुख पदमा कुलप्रसाद भट्ट गत हप्ता निर्विरोध निर्वाचित भएका छन् । वि.सं. ०२२ मा दक्षिणी रसुवाको साबिक सरमथली गाविस– ७, फाम्चेतमा जन्मिएका भट्ट ०४४ को पञ्चायतको ज्यादतीको विरोध गर्दै राजनीतिमा होमिएका थिए । ०४६ को परिवर्तनपछि नेकपा माले एकीकरणपछिको एमालेको सक्रिय कार्यकर्ताको रूपमा पार्टीको गाउँ कमिटीदेखि क्षेत्रीय, भेगीय हँुदै जिल्ला कमिटीको सचिव भई जिल्लाको नेतृत्वसमेत सफलतापूर्वक सम्मालिसकेका कुशल, जागरुक, जुझारू नेताको रूपमा स्थापित छन् । भट्ट विगतमा जिल्ला विकास समितिको सदस्यसमेत भइसकेका हुनाले जिल्लाका समस्याबारे जानकार रहेका छन् । नरम बोली, सबैैको भलो चिताउने र अरूलाई गालीगलोज नगर्ने स्वभावका कारण उनलाई विपक्षीहरूले पनि सम्मान गर्छन् । जिल्लाको सबभन्दा ठूलो पदमा सर्वसम्मत चयन भएपछि लिएको प्रतिक्रियामा उहाँले समन्वयात्मक तवरले अगाडि बढी समुन्नता रसुवा निर्माणमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । प्रमुख भट्टले शनिबार त्रिशूली प्रवाह साप्ताहिकका लागि जी. लेकालीसँग गरेको कुराकानीका प्रमुख अंश:

प्रमुख पदमा निर्वाचित हुँदा कस्तो महसुस भइरहेको छ ?

निर्वाचित भएकोमा हर्षित छु । मैले पाएको पदीय जिम्मेवारीबाट जिल्लाको सबैसँग समन्वय गरी समुन्नत रसुवा निर्माणमा योगदान पु¥याउँछु । म एक सर्वसाधारण गाउँको व्यक्ति, जिल्लाको प्रमुख पदमा पुग्दा अवसर र चुनौती दुवै पाएको ठानेको छु । मेरो योगदानलाई नेकपा एमालेले सही मूल्याङ्कन गरेको छ । म पार्टीले दिएको अवसरलाई कहिल्यै बिर्सिन्न, पार्टीले दिएको जिम्मेवारी र विश्वासलाई डगमगाउन दिन्नँ ।

जिल्ला समन्वय समितिको हैसियतले काम कसरी अगाडि बढाउनुहुन्छ ?

नयाँ संविधान कार्यान्वयनमा आएको छ । संविधानको मर्मअनुसार सङ्घीयताको जग बसेको छ । यो कार्यान्वयनसँगै जिससको भूमिका परिवर्तन भएको छ । सङ्घीयतामा उल्लेख भएबमोजिम र प्रदेश कानुनले तोकेबमोजिम कार्यक्षेत्रको कामलाई जिल्लामा क्रियाशील सबै राजनीतिक दलसँग समन्वय र सल्लाह गरी काम गर्नेछु । जिल्लालाई समृद्ध बनाउन जलस्रोत र पर्यटनको विकासका लागि सम्बन्धित निकायसँग मिलेर कार्ययोजना बनाउँछु । यस क्षेत्रका क्रियाशील व्यक्ति, सङ्घसंस्थासँग परामर्श र सहयोग लिनेछु । जिल्लाका निर्वाचित जनप्रतिनिधि सबैको सल्लाह र सहयोगको अपेक्षा राखेको छु । जिससको प्रमुखको हैसियतले विकासको समन्वयकारी अभिभावकत्व ग्रहण गर्नेछु ।

जिसस प्रमुखको हैसियतमा कसरी समन्वयकारी भूमिका निर्वाह गर्नुहुन्छ ?

निर्वाचित प्रमुखको हैसियतले समग्र विषयवस्तुमा समन्वयकारी भूमिका निर्वाह गर्नु नै पर्छ । समग्र विषयवस्तु हेर्नुपर्छ, विद्यालयको पठनपाठनको सुधार, स्वास्थ्य क्षेत्रको अवस्था, आवागमनमा सरलता ल्याउन सडक पुलको निर्माण, जनताको टड्कारो आवश्यकता परिपूर्ति गर्ने खालका कार्ययोजना बनाउन सुझाब, पूर्वाधारको निर्माण, धर्म–संस्कृतिको संरक्षण, धार्मिक–ऐतिहासिक पर्यटन क्षेत्रको सुदृढीकरण गर्न समन्वयकारी भूमिका निर्वाह गर्नेछु । हरेक नागरिक आस्थाको धरोहर गोसाइँकुुुण्ड हो भने पर्यटकीय क्षेत्र लाङटाङ, बेत्रावतीस्थित उत्तरगयाधाम, मैलुङस्थित कालिका मन्दिर, ठूलोगाउँस्थित कल्लेरी, भूमे, पार्वतीकुण्ड, रसुवा जिल्लाभित्रको बौद्धगुम्बा, तामाङ सम्पदामार्ग संरक्षणमा समन्वय गरी सकेजति योगदान पु¥याउनेछु ।

तामाङ सम्पदामार्गअन्तर्गत गत्लाङ, गोल्जुङ, चिलिमे, थुमन, नाकथली, वृद्धिमसमेतका क्षेत्रको पर्यटकीय मार्गकोे सुधार, नौकुण्ड गाउँपालिकाको पारच्याङ हुँदै सातधारे हिमाल, नौकुण्ड, एक्लेकुण्ड क्षेत्रमा नयाँ पर्यटकीय पदमार्ग निर्माण र सञ्चालन गराउन लागिपर्नेछु ।

रसुवागढी नाका र त्यहाँ पुग्ने सडक सुचारु गर्न कस्तो योजना बनाउने सोच्नुभएको छ ?

पहिलो कुरा, चालू रहेको पासाङल्हामुमार्ग व्यवस्थित नहुँदा सवारीचालकले हैरानी खेप्नुपरेको देखिरहेको छु । पहिलो सडक सुधारमा लाग्नेछु । बेत्रावतीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायमा दबाबमूलक आग्रह गर्नेछु । सरकारले पनि रसुवागढी पुग्ने सडकलाई प्राथमिकतामा राखेकाले स्थानीयको भावना र आवश्यकताअनुसार स्तरोन्नति वैकल्पिक सडक निर्माणमा लाग्नेछु । जिल्लाकै बदनामी भइरहेको रसुवागढी नाकाबाट हुने गरेको अवैध कारोबार रोक्ने प्रयास गर्नेछु । किनकि यो नाकाबाट वैधानिक रूपको मात्र काम होस् र रसुवाको शिर उच्च रहोस् भन्ने मेरो चाहना छ । रसुवागढीको एकीकृत सरकारी भवन र सुक्खा बन्दरगाहा निर्माण छिटो गराउन सम्बन्धित निकायमा पहल गर्नेछु ।

जिल्लामा सञ्चालित गैससको काम पारदर्शी भएन भन्ने गुनासो आइरहेको छ, गैससलाई कसरी ट्र्याकमा ल्याउनुहुन्छ ?

भूकम्पपछि जिल्लामा धेरै गैसस आए, कतिले राम्रो काम गरेका छन्, कतिले काम नै नगरी अर्काको कामलाई फोटो खिचेर प्रगति देखाएको भन्ने सुनेको छु । भर्खरै मैले जिससको पदभार सम्हालेको छु । जिल्लामा क्रियाशील गैससको भेला गराई छलफल गर्छु । त्यसपछि उद्देश्यअनुसार स्वीकृति पाएकोे क्षेत्रमा छुट््याइएको कार्यक्रम र बजेट के–कसरी खर्च भइरहेको छ, खोजी गर्नेछु । स्वीकृतबिना जिल्लामा सामाजिक सद्भाव खलबलाउने, धर्मको नाममा काम गर्ने गैससको सूची तयार गरी कारबाही गर्नेछु । सुनेको छु– जिल्लामा रहेको जनसङ्ख्यालाई १०–१० लाख बाँड्न पुग्ने बजेट गैससले खर्चेका छन्, तर प्रगति शून्य, जनताको अवस्था उस्तै रहेको छ । कागजी प्रतिवेदन मात्र तयार गरी बजेट सिध्याउने गैसस अब हाम्रो निसानामा पर्नेछन् ।

रसुवाको विकास विद्युत्को विकासबिना सम्भव छ र ? विद्युत्को उत्पादनमा तपाईंको सहयोग कस्तो रहनेछ ?

देशको बढ्दो लोडसेडिङ हटाउन सरकारले विद्युत् उत्पादनलाई प्राथमिकतामा राखेको छ । प्रचुर मात्रामा विद्युत् उत्पादन हुने जिल्ला रसुवा हो, हामी रसुवाको अथाह सम्भावना रहेको विद्युत् उत्पादनमा सहयोग र समन्वय गर्न लागिपर्नेछौँ । जिल्लामा उत्पादन गर्न सक्ने बिजुली उत्पादन गरी जिल्लावासीलाई सेयर दिलाई अपनत्वको महसुस गराउँछौँ । विद्युत्को सेयरबापतको नाफाले व्यक्ति धनी बनाउँछौँ । उत्पादनबापतको प्राप्त रोयल्टीले जिल्लाको भौतिक पूर्वाधार र विकास निर्माणमा लगाउँछौँ । विद्युत्कै उत्पादनबाट मात्र रसुवाले समृद्धि हासिल गर्न सक्छ ।

जिल्ला विकास समितिमा भ्रष्टाचार बढेको गुनासो छ, विकास निर्माणको अनियमितता अन्त्य कसरी होला ?

भर्खरै निर्वाचित भएर जिससको प्रमुखमा बहाली भएको छु । म पनि यसै जिल्लाको सचेत उपभोक्ता र नागरिक भएकाले जिल्ला विकास समितिले विगतमा गरेको विकास योजनाको सूक्ष्म अध्ययन र निगरानी गरेको थिएँ । सुनेको भरमा भन्दा पनि विगतमा भएका योजनाको अनुगमन बिल–भर्पाई र प्राविधिकको अध्ययन गरी भ्रष्टाचार र अनियमितता देखिए संलग्न जोकसैलाई पनि छोड्दिनँ, तिनीहरूलाई सार्वजनिक गर्नेछु । आगामी दिनमा जिल्ला समन्वय समितिले जिल्लामा हुने विकासका कामको पारदर्शी र जवाफदेहितालाई व्यवहारमा लागू गर्नेछु । योजनामा छुुट्याइएको बजेटलाई समयमै सार्वजनिक गर्न सम्बन्धित उपभोक्ता र सरोकारवालालाई निगरानी र अनुगमन गर्न आग्रह गर्नेछु ।

काम गर्न रसुवावासीबाट के अपेक्षा राख्नुभएको छ ?

सिङ्गो रसुवाली जनताका लागि दिगो र गुणस्तरीय समुन्नत विकासका लागि दलगत स्वार्थबाट माथि उठी समानुपातिक, समावेशी हिसाबले अहोरात्र खट्नेछु । मैले सुरु गरेको कामलाई सकारात्मक सल्लाह र सुझाबको अपेक्षा राखेको छु । म दलगत स्वार्थले काम गर्दिनँ, मेरो स्वार्थ भनेकै रसुवा जिल्लालाई समृद्ध बनाउने हो । यो मेरो अभियानमा जिल्लावासीले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्न आग्रह गर्छु । वृद्धवृद्धा, अपाङ्ग, महिला, बालबालिका, दलितहरूले पनि राज्यको सेवा र सुविधा पाउनुपर्छ भन्ने मेरो मान्यता छ । म यसैअनुसार काम गर्नेछु । युवालाई सीप प्रदान गरी रोजगारको व्यवस्था जिल्लामा नै हुनुपर्छ भन्ने मान्यताअनुसार सरोकारवाला निकायसँग समन्वय गरी काम गर्नेछु ।

© त्रिशुलीप्रवाह

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top