sujim bazar advert

न्यायको पर्खाइमा बेपत्ता परिवार

    असार १८, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

sancharika samuha
Big Education Consultancy Nuwakot
global ime bank flash loan

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका परिवारका महिला अहिले पनि न्यायको पर्खाइमा छन् । सरकारले गठन गरेको ‘बेपत्ता आयोग’ले कत्ति प्रभावकारी काम गर्छ, उनीहरूले न्याय पाउने–नपाउने त्यसमैमा निर्भर रहन्छ ।

काठमाडौं । बर्दिया जिल्ला पाताभार– २ गरिसपुरकी जानकी चौधरीलाई अहिले पनि उनका दुई दाजु फर्किएर आउने आशा छ । २३ फागुन ०५८ मा घरबाटै उनका दाजुहरू गणेश र जनकलाई सेनाले समातेर लगेको थियो । अझैसम्म दुवैको अवस्था अज्ञात छ । घरमा वृद्ध भएका बुबा मात्र छन् । जानकी भन्छिन्, ‘दाजुहरूकै पिरले प्रेसरकी बिरामी आमाको ०७० कात्तिकमा मृत्यु भयो ।’ दाजुहरू अपहरण पर्दा १२ वर्षकी उनी अहिले २६ वर्षकी भइन् । जानकी भन्छिन्, ‘आमाको दागबत्ती र काजकिरिया म आफैँले गरेँ ।’ जानकीलाई आफ्नो विवाहबारे सोच्नेसम्म फुर्सद छैन । उनी भन्छिन्, ‘मैले विवाह गरेँ भने बुबाको काजकिरिया कसले गर्छ ? दाजुहरू सँगै भएको भए म पनि घरजम गरेर बस्ने थिएँ ।’

बर्दिया राजापुरकी ३१ वर्षीया रामवती चौधरी (नाम परिवर्तन) का श्रीमान् २१ फागुन ०५८ का दिन नेपालगञ्जबाट बेपत्ता पारिए । श्रीमान् बेपत्ता पारिँदा उनको विवाह भएको एक वर्ष हुन लागेको थियो । श्रीमान् आउलान् भनेर आस गरेर बसेको १४ वर्ष भयो न श्रीमान्को सासको टुङ्गो छ, न लासको ।

श्रीमान् बेपत्ता पारिएसँगै उनका दुःखका दिन सुरु भए । १६ वर्षको उमेरमा विवाह गरेर श्रीमान्को घर आएकी उनीले १७ वर्षको उमेरदेखि नै श्रीमान्सँग छुट्टिनुप¥यो । घरपरिवारले वास्ता गर्न छोडे, तर उनले श्रीमान् सँगै खुसीका दिन आउलान् भन्ने आस गर्न अझै छोडेकी छैनन् । उनी भन्छिन्, ‘सपनामा श्रीमान्सँग भेट भएको देख्छु । लाग्छ उनीसँग एक दिन मेरो पक्कै भेट हुनेछ ।’ रामवती अहिले पनि श्रीमान् आउने आशा गर्दै सिलाइकटाइ गरेर एक्लो जीवन चलाउँदै छिन् ।

दाङ हकुली गाविस चितानपुरकी ३५ वर्षीया मसुरी थरुनी अहिले आफ्ना दुई सन्तानलाई कसरी पढाउने भन्ने चिन्तामा छिन् । ०५९ जेठमा मल लिन जिमदारकोमा हिँडेका मसुरीका श्रीमान् अहिलेसम्म घर फर्किएका छैनन् । श्रीमान् बेपत्ता हुँदा एउटा छोरो चार वर्षको र अर्को गर्भमा तीन महिनाको थियो ।

मसुरी भन्छिन्, ‘गाउँमा भनेको जस्तो काम पाइँदैन थियो । म गर्भवती थिए ।’ श्रीमान् बेपत्ता भएपछिका दुःखका दिन सम्झँदै उनी भन्छिन्, ‘अरूको घरमा फालेको खाना खाएर धेरै दिन बिताएकी छु । हाम्रो थोरै बारी मात्र थियो ।’ अहिले राहातको रकमले दुई कट्ठा खेत किनेकी छिन् । तर, खानलाउन पुग्दैन, दुःख उस्तै छ । उनको एउटा छोरो नौ कक्षामा पढ्छ, छोरी पाँचमा । मसुरी भन्छिन्, ‘अब यिनीहरूलाई राम्रो शिक्षा दिनु छ, म के गरौँ ?’

दाङकै ४० वर्षकी रतिकलामती चौधरी अहिले खेत अधियाँ गर्दै पाँचजनाको परिवार चलाउँछिन् । सासू र तीन सन्तानकी आमा रतिकलामतीका श्रीमान्लाई गाउँका अरू आठजना सँगै २१ भदौ ०५९ मा सेनाले पक्राउ गरेर बेपत्ता पारेको थियो ।

श्रीमान् बेपत्ता पारिँदा उनको ठूलो छोरो ६ वर्षको मात्रै थियो । साना केटाकेटी हुर्काउन समस्या भयो । उनी भन्छिन्, ‘म अलि रोगी थिएँ । सात वर्षको मेरो ठूलो छोरो सकिनसकी गोरु जोत्न जान्थ्यो । अहिले त्यो सम्झँदा भक्कानो छुट्छ ।’ उनी भन्छिन्, ‘अहिले छोराहरू ठूला भए । तर, परिवारको अवस्था उस्तै छ ।’

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्याङ्कअनुसार नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्वमा १३ हजार तीन सय नागरिकको मृत्यु भएको थियो । जसमध्ये एक हजार ३३ महिला थिए । शान्ति मन्त्रालयको तथ्याङ्कअनुसार सशस्त्र द्वन्द्वका क्रममा एक हजार चार सय ९५ जना व्यक्ति हराइरहेका छन्, तीमध्ये एक सय ३३ महिला छन् ।

द्वन्द्व सकिएको नौ वर्षपछि २८ माघ ०७१ मा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन भयो । तर, आयोगले एक वर्षको समय काटिसक्दासमेत सशस्त्र द्वन्द्वका क्रममा कति व्यक्ति बेपत्ता पारिए भन्ने तथ्याङ्क बटुल्ने कामसमेत सुरु गर्न सकेको छैन । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता विष्णु पाठकका अनुसार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले वैशाख २ गतेबाट उजुरी लिने काम सुरु गरेको छ । जसका लागि आयोगले खटाएका र शान्ति समितिका कर्मचारी विवरणका लागि घरघर पुग्नेछन् ।’

नेपाल सरकारद्वारा गठित व्यक्ति, परिवार तथा भौतिक संरचनाको लगत सङ्कलन कार्यदलले ७० जिल्लामा व्यक्ति बेपत्ता पारिएको उल्लेख गरेको छ । तीमध्ये बर्दिया, बाँके, दाङ, रोल्पा, काभ्रेपलाञ्चोक, कञ्चनपुर, सल्यान, सिरहा, सिन्धुपाल्चोकलगायतका २१ जिल्ला बढी प्रभावित छन् ।

इन्सेकको तथ्याङ्कमा तत्कालीन विद्रोही पक्षबाट एक सय नौजना महिलासहित नौ सय २८ व्यक्ति बेपत्ता छन् । अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को तथ्याङ्कमा एक हजार तीन सय २९ व्यक्ति बेपत्ताको सूचीमा छन् भने शान्ति मन्त्रालयको तथ्याङ्कमा एक हजार चार सय ९५ व्यक्ति हराइरहेको उल्लेख छ । अहिलेसम्म कसैसँग पनि बेपत्ताको यकिन विवरण छैन । पाठक भन्छन्, ‘अब आयोगले निकाल्ने विवरण वास्तविक हुनेछ ।’

घरघरमा पुगेर आफैँ सङ्कलन गर्ने विवरणले सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएकाको यकिन तथ्याङ्क आउने अपेक्षा छ । यसका लागि आयोगले १७ पेजको फारम तयार गरेको छ, त्यसमा विवरण भर्न मात्रै झन्डै तीन घन्टा लाग्नेछ । बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठन गरिएको आयोगसँग १० महिनाको समय मात्र बाँकी छ । यस अवधिमा काम पूरा नगरे एक वर्षसम्म समय अवधि थप गर्न पाउने अधिकार रहन्छ ।

– सञ्चारिका फिचर सेवा

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top