२०८०, ६ चैत्र मंगलवार

सूर्यप्रसाद लाकोजू र उनको कविता संग्रह ‘घाम फुल्ने याम’

श्रीराम श्रेष्ठ     श्रावण २२ २०७९ १४:३९

ghaam phulne yaam shreeram shrestha
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नेपाली साहित्यका एक प्रतिभावान सर्जक हुन् सूर्यप्रसाद लाकोजू । विशेषगरी कविता सिर्जनामा रुचि राख्ने उनका कलम मुक्तक, हाइकु, गीत, नियात्रा, कथा र अनुसन्धानात्मक लेखनमा पनि सक्रिय रुपमा चलेको उनका प्रकाशित कृतिबाट बुझ्न सकिन्छ । वि.सं २०३३ श्रावण महिनाको २८ गते काभ्रे जिल्लाको पनौतीमा पिता विष्णुप्रसाद लाकोजू र माता हेममाया लाकोजूको कोखबाट कवि सूर्यप्रसाद लाकोजूको जन्म भएको हो । पेशागत रुपमा शिक्षणका साथै साहित्यिक पत्रकारितालाई अँगालिरहेका लाकोजु साहित्यक्षेत्रमा भने कविकै रुपमा चिनिन्छन् । उनका प्रकाशित कृतिहरुको संख्यात्मक हिसाव लाउने हो भने पनि धेरै कविता संग्रहहरु नै पाइन्छन् । ‘स्पर्ष’ बाट प्रकाशन आरम्भ भएको उनका कविता संग्रहहरुमा ‘मेरो मन मेरो मीत, घामको चुम्वन, मेरो घाम, घाम फुल्ने याम, मेरो घाम, दिवाकरका चुम्वन’ र पछिल्लो घाम फुल्ने याम कविता संग्रहहरु प्रकाशनमा आइसकेका छन् । यसैगरी मुक्तकसंग्रहहरु ‘भावनाका फुलहरु, फुलहरुको मेला, शाश्वत स्वरहरु, स्वर्णिम धुन’ प्रकाशित छन् । हाइकु र बालसाहित्यमा पनि उनको सक्रियता रहेको छ । अक्षरका स्वरहरु, गुराँस फुल्ने मन प्रकाशित हाइकु संग्रहहरु हुन् भने बालकविता संग्रहहरु ‘कोपिला, घाम उदायो, फुलैफुल, साथी, मेरो सानो घर’ रहेका छन् । यसका साथै अनुसन्धान मूलक कृति ‘पनौती र पनौतीको बाह«वर्षे मेला’ नियात्रा संग्रह ‘आसामको स्पर्श, गीत संग्रह सुसेली’ र नेपाल भाषाबाट अनुवाद गरिएको कृति ‘अरनिकोको श्वैतचैत्य’ नामक कृति पनि उनका प्रकाशित कृतिहरु हुन् । यिनै मध्येका कवि लाकोजुको प्रकाशनमा आएको नविन कृति कविता संग्रह हो ‘घाम फुल्ने याम’ ।

कवि लाकोजु कवि हृदय भएका भावुक सर्जक हुन् । सजिला शिर्षक, सरल भाषा र भावनालाई शब्दमा पोख्न सक्ने उनका काव्य विशेषता रहेका छन् । कवितामा मन, भावना, प्रेम, सामाजिक, राजनीतिक प्रवृत्ति मात्र नभएर जीवन भोगाइका अनुवभ र अनुभूतिहरु उनका कविताका विषयवस्तु बन्ने गरेका पाइन्छन् । विशेषत ‘घम’ प्यारो शब्द बनेको उनका थुप्रै कृतिको शिर्षकमा समावेश भएबाट झल्किन्छ । उनका रचनाहरु पनि घाम जत्तिकै उज्याला र प्रकाशवान बनेर साहित्याकाशमा चम्किन पुगेका छन् । प्रस्तुत कृति ‘घाम फुल्ने याम’ मा सिर्जनाहरुमा घाम, जुन, झरी, वादल, पहाड, हावा पानीका विम्बहरु पाइन्छन् । अधिकांश कविता छोटा आकारमा मानवीय संवेदना, प्रेम, विश्वास, देशको विद्यमान प्रवृत्तिहरु, सामाजिक कुरीति र विकृति विशेषत कविताका विषयवस्तुमा परेका छन् । यि मध्ये पनि विशेष जोडबल प्रकृतिलाई नै कविले जोड दिएको भान कविता हेर्दा आभाष हुन्छ । तर सवैमा कवि भावुकता छताछाुल्ल पोखिएकै छन् । कविता मै प्रवेश गर्दा ‘ओइली झर्ने फूल’ शिर्षकमा यस्तो छ:

यो जिन्दगी चन्द्र होइन
सधैं शितलता दिइरहने
यो जीवन सूर्य पनि होइन
सदैव उज्यालो छरिरहन सक्ने
जीवन त फूल हो
एक पल्ट फुल्ने, मुस्कुराउने
अनि ओइली झर्ने ।

जसरी फुल फुलेपछि ओइलेर झर्छ जीवन पनि त्यस्तै नै हो जन्म पछि मृत्यु आउछ । घाम जस्तो, जुन जस्तो अविछिन्न यात्रा मानवको छैन । त्यसैले जीवन रहँदै मुस्कुराउन पर्छ भन्ने भावना ओइली झर्ने फूलले व्यक्त गर्दछ । भावना र प्रकृतिको गतिलाई जीवनसँग कविले जोड्ने प्रयास गरेका छन् । प्रकृतिलाई नै जोडेर केही अन्य शिर्षकका कविता पनि छन् । कृतिकै नाम शिर्षकमा रहेको ‘घाम फुल्ने याम’ को भाव पनि प्रकृतिमा मनको भाव पोखिएका छन् । घाम, चिसो बतास, मान्छेको मन र जीवन यात्रा चलिनै रहने प्रकृतिको गति । उदाहरणमा :

घाम फुल्ने याम जब आउँछ
मेरो घाम चमक फाल्छ
मभित्रको कविताको प्रकाश
अझ आलोकित बन्छ
अनि
चढ्छ अक्षरको शिखर
खहराउँछ शिखरमा
सेता परेवाको सुन्दर झण्डा

फैलन्छ हिमालको चिसो बतास
मान्छेका मनमनमा
आनन्दको आकासमा
कावा खाँदै
उड्छ मान्छेभित्रका पंक्षी
एउटा स्वर्णिम युगमा

प्रकृतिको भाव अर्को शिर्षकमा पनि हेरौं ‘फेरिएको रुप’:

पर कतै क्षितिजमा डुब्न लागेको सपनाको घाम हेर्दै, उभिरहेको छु म
मेरो स्वतन्त्रताको फुलबारीमा ।
म उभिएको आकाशमा
अब अनन्त आशाका
उज्याला ताराहरु चम्केको देखिंदैन
सायद भरोसासँगै टुटेर झरे होलान
र त
अध्यारो देख्छु

कविको प्रकृतिसँगै भावना पोखिरहेको भाव यस ‘फेरिएको रुप’ मा व्यक्त भएका छन् । मानवीय स्वार्थी भावना पनि अभिव्यक्त छन् कविताका अन्य हरफहरुमा । ‘नदी’ शिर्षकको कवितामा पनि प्रकृतिकै विषयवस्तुमा मानवीय भावना जोड्ने प्रयास गरिएको छ ।

गंगा भनी पुजेको नदी
हामी सबैलाई जीवन दिने नदी
हिंस्रक बन्यो नभन्नु
हाम्रा बस्नु चौपाया बगायो
खेत खलियान बगायो भन्दै
गुनासो मात्र नगर्नु

नदीलाई जस्तै आकाशलाई पनि कवि प्रश्न गर्छन् । शिर्षक ‘ए आकाश’ मार्फत्:

तिमीसँग हाम्रोजस्तै
मायाको सागर अट्ने हृदय छैन
र त जता पनि बग्न सक्छौ
जस्को घर भित्र नि पस्न सक्छौ
मान्छेले बनाएका सुन्दर सिर्जना
एक निमेषमै ध्वस्त पार्दै
आफ्नो यात्रा अविश्रान्त बनाउन सक्छौ ।

मानवीय मन र भावन रुपी प्रेमील कविताहरु पनि संग्रहमा थुप्रै छन् । ‘तिमी प्रति’ शिर्षक रहेको कवितालाई हेरौं:

म खडेरीले सुकेको माटो थिएँ
तिमी वर्षा बनी आइदियौ
र गिलो बनें
तिम्रै स्नेहका कारण
जीवन्त बनेर फुलिरहेको छु
मान्छेका पवित्र मनहरुमा ।

अर्थात् तिम्रै आगमनले मात्र मान्छेहरका मनभित्र फुल्न सकेको, खडेरीमा वर्षा झैं अनुभूति गरेका भाव कविताले पोखेको छ । माया प्रेममात्र जीवन होइन । दुख र कष्ट पनि प्रेमसँगै आउने यथार्थहरु हुन् भनेर सम्झाउने कोशिष गर्दै अर्को शिर्षक ‘फूल मात्र होइन प्रिय’ कविताका शब्दहरुलाई नियालौं:

धरातलभन्दा पर
कतै उभिएर
देखाका सपनाहरु
कल्पनाका कोरा कागज जस्तै लाग्छन्
यथार्थता भन्दा पर
मिराज रुपी
कल्पना होइन जिन्दगी
मिराज त भ्रम न हो
प्रिय !
विपनामा वायुपंखी घोडा चढेर

प्रकृति प्रेम र मानवीय प्रेमका कुरा जस्तै समाजिक परिवेश र प्रवृत्तिहरुलाई विषय बनाइएका कविताहरु पनि कृतिमा समावेश छन् । सामाजिक कुरिती र विसंगतिलाई कवि व्यंग्य गर्छन् । प्रवृत्तिलाई विरोध जनाउँछन् । शिर्षक ‘कथित माली’ का शब्दमा यस्तै अदृश्य विरोध लुकेका पाइन्छ:

म यो सुन्दर फुलबारीको
माली हुँ भनी खोक्दै हिंड्छौं
सरम्य फुलबारीको अभिभारा पनि
आफूखुशी बोक्दै हिंड्छौं
मालिकलाई लम्पसार पारेर
ढोक्दै हिंड्छौं
मैले देखेको छु धेरै पल्ट
तिमीले आफूलाई मन नपरेका
कैयौं कोपिलालाई
दुश्मन देख्यौ
कलकलाउँदा कोपिलालाई
फुल्नै नदिई
निमोठी फालेको

सामाजिक राजनीतिक प्रवृत्तिमै केन्द्रीत रहेर सिर्जना गरिएको अर्को शिर्षकको कविता ‘उत्कृष्ट हुनु छैन’ भित्र पनि यस्तै विद्रोह र आक्रोशका भावना अभिव्यक्त भएका छन् :

भो मलाई चाहिंदैन
माथि उक्लने भ¥याङ
नदेखाउनु मलाई
तिमीभन्दा पर पुग्ने बाटो
तिमी बिनाको सर्वोत्कृष्टताको सिंहासन
मेरो कुनै कामको हुने छैन
त्यसैले
सामान्य मानिस भएर बाँच्न देऊ
उत्कृष्ट भएर एक्लो बाँच्नु छैन मलाई ।

यस्तै ‘मुल्य हिन पसिना’ शिर्षकको कविताले पनि देश र सामाजिक परिवर्तनले पनि जनभावनालाई खुशी तुल्याउन नसकेको, परिवर्तन अर्थहीन रहेको अर्थ दिन्छ ।

प्रजातन्त्रको शीलत छाया
लोकतन्त्रको न्यानो घाम
अथवा
गणतन्त्रको सर्वोच्च शिखरले
अभावको तिखो काँडा
कतै पर हुत्याउन सकेन
व्यवस्थाले काँचुली फेरे पनि
हाम्रो अवस्था जस्ताको त्यस्तै छ ।

देशमा राजनीतिक परिवर्तनको श्रृंखला नै चल्यो तर परिवर्तन शब्दमै सीमित रहन पुग्यो । यथार्थमा परिवर्तन भएन भन्ने मुल भावना माथिको हरफहरुले उल्लेख गरेका छन् । समग्रमा यस्तै प्रवृत्तिहरुमा असहमति जनाएर जनजीवनको बोली कविले बोलेका छन् । कतै प्रकृति प्रेम त कतै मनोभावना र कतै सम्बन्धका आयामहरुलाई जीवनको गति र जीवनको भोगाईका पलहरुलाई शब्दमा उतारेका थुप्रै कविताहरु यस पुस्तक ‘घाम फुल्ने याम’ भित्र संग्रह गरिएका छन् । कवितामा प्रयोग भएका भाषा अत्यन्तै सरल र सजिला भएकाले बुझ्न सहज छ । अधिकांश कविताहरुले जीवनका भोगाई नै दर्शाइरहेका छन् । अँध्यारो अवस्थाबाट जीवनलाई उज्यालो तर्फ लम्किरहेको भावलाई घामको प्रकाशसँग तुलना गरिएको छ । घामसँग जोडेका भावका शब्द बोकेका थुप्रै शिर्षकका कविता संग्रहमा समावेश गर्नुले कृतिको शिर्षक ‘घाम फुल्ने याम’ चयन हुनु सार्थक देखिन्छ । कविता संग्रह एउटा महत्वपूर्ण कविताहरु संग्रह गरिएको पठन योग्य संग्रह रहेकोमा दुईमत छैन । कृतिकार कवि सूर्यप्रसाद लाकोजूको साहित्यिक छविलाई थप उचाइमा पु¥याउन बल पु¥याउने छ । साथै कृति नेपाली काव्य भण्डारमा एक महत्वपूर्ण कृतिको रुपमा स्थान बनाउन सफल रहेको देखिन्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top