२०८१, २१ बैशाख शुक्रबार

नुवाकोट महोत्सवले जिल्लाको पहिचान बढाओस्

श्रीराम श्रेष्ठ     मंसिर १७ २०८० १७:२२


shreeram-shrestha nuwakot mahotsav 2080 nepal

हरेक वर्ष जस्तै यसवर्ष पनि नुवाकोट महोत्सवको तयारी भइरहेको छ । नुवाकोटको पहिचान, ऐतिहासिक, सँस्कृति परम्पराको प्रचार–प्रसार, स्थानीय कृषि तथा घरेलु उत्पादन र पर्यटन विकासको लागि नुवाकोट महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नुवाकोट देशकै एक महत्वपूर्ण विशिष्ट ऐतिहासिक पहिचान बोकेको जिल्ला हो । यससँगै नुवाकोट साँस्कृतिक, धार्मिक एवम् भौगोलिक विशिष्टताले भरिपूर्ण जिल्ला भएकाले पनि विशेष रुपमा पर्यटन विकासका दृष्टिकोणबाट ज्यादै महत्वपूर्ण छ । नुवाकोट बागमती प्रदेश अन्तर्गत पर्ने मध्ये पहाडी जिल्ला हो । कुल एक हजार १२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस जिल्लाको सदरमुकाम विदुरमा रहेको छ । कुनै पनि अन्तर्राष्ट्रिय सिमानालाई नछुने र भौगोलिक विभाजन अनुसार पहाडी प्रदेशमा अवस्थित यो जिल्ला झण्डै अर्ध–चन्द्राकार रुपमा पूर्व–पश्चिम फैलिएर रहेको छ । यस जिल्लामा उच्च पहाडीक्षेत्रको पठार, हिमालको दक्षिणी ढाल, पहाडीक्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथरबेंसी र टारहरु लगायतका विविध भौगोलिक विशेषताहरु पाउँन सकिन्छ । नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म पश्चिम एक नम्बर अन्तरर्गत रहेको यस जिल्लाको नामाकरण गोपालवंशीय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक पृष्ठभूमि छ । भौगोलिक वनावटमा पहाडी भू–भागको अंश ७१ प्रतिशत, लेकाली भू–भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू–भागको अंश ११ प्रतिशत रहेको छ ।

नुवाकोट तत्कालीन समयमा नेपाल एकीकरणको एउटा महत्पूर्ण सामरिक राज्य थियो । उपत्यकाको कान्तिपुर राज्यको महत्वपूर्ण पश्चिमी मूल ढोका मात्र नभएर तिब्बतसँग व्यापार गर्ने मुख्य नाका पनि भएकाले उपत्यका एकीकरणको आधार नुवाकोटलाई नै बनाएको थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहद्वारा तत्कालीन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णालीपारीका बाइसे–चौबीसे भनिने स–साना राज्यहरूलाई मिलाई एकीकृत र समुन्नत नेपाल अधिराज्य खडा गर्ने अभियान अन्तर्गत उपत्यका विजयको अभियान यही जिल्लाबाट शुरु गरिएको थियो । त्यसबेला कान्तिपुर राज्यको अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो । नुवाकोट विजयपछि व्यापक तयारी गर्दै तेस्रो पटकको आक्रमण र व्यापक तयारी पछि गरिएको युद्धबाट मात्रै वि.सं. १८०१ मा गोर्खालीको विजय भएको थियो । नुवाकोट विजयपछि यसलाई दोस्रो राजधानीका रूपमा मानिन्थ्यो । कान्तिपुर उपत्यकाको निगरानी हुँदै वि.सं.१८२५ मा इन्द्रजात्राको दिन कान्तिपुर विजय गरियो । यस प्रकार क्रमिक रूपमा एकीकरण अभियान अघि बढ्दै गयो । साथै वि.सं १८३१ मा बडा महाराजको स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी राजाका अतिरिक्त बलभद्र, अमरसिंह जस्ता वीर योद्धाहरूले यस अभियानलाई अझै व्यापक बनाए । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको वि.सं १८०१ देखि १८२५ सम्मको महत्वपूर्ण समय नुवाकोट मै व्यतित भएको थियो । उनको अन्त्यष्टि नुवाकोटको देवीघाटमै गरिएको थियो । सो स्थानमा अहिले पनि पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको छ ।

नुवाकोट जिल्लामा तादी र त्रिशुली नदीको पवित्र संगमस्थल देवीघाट रहेको छ । ऐतिहासिक साततले नुवाकोट दरबार जस्ता पुरातात्विक एवम् ऐतिहासिक महत्वका ठाउँहरू रहेका छन् । प्रसिद्ध धार्मिक क्षेत्र गोसाइँकुण्ड र मनोरम पर्यटकीय हिमाली भेग लाङटाङ क्षेत्र जाने प्रमुख पर्यटकीय मार्ग रहेको यस जिल्ला मल्लकालीन समयमा पश्चिम् नेपालको मूल ढोका, नेपाल भोट (तिब्बत) वाणिज्य व्यापारको परम्परागत मुलद्वार पनि रहेको थियो । बेलकोट, मालाकोट, धुवाकोट, भैरुमकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैबुङकोट, प्यासकोट जस्ता नौ वटा कोट वा किल्लाहरुको संगम भूमिको रुपमा परिचित छ । नुवाकोट जिल्लामा भैरवी, जालपादेवी, दुप्चेश्वर महादेव, पञ्चकन्या, राम मन्दिर, उग्रतारा, उत्तरगया, सुगतपुर विहार, बाराही, वासुकी, वाघ भैरव, भैरमकोट, जलेश्वरी, शिवालय आदि प्रमुख धार्मिक स्थलहरु र नुवाकोट दरवारक्षेत्र श्री ५ बडामहाराजाधिराज पृथ्विनारायण शाह स्मृती उद्यान, श्री ५ विरेन्द्र स्मृती उद्यान आदि ऐतिहासिक सम्पदाहरु पनि रहेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित ककनी आन्तरिक तथा वाह्य पर्यटनको दृष्टिकोणले निकै महत्वपुर्ण प्रस्थान मानिन्छ । नुवाकोट दरवारक्षेत्र,नुवाकोट संग्राहलय, नुवाकोट स्यवम्भु चैत्य, सागरकुण्ड, देवीघाट, उत्तरगया, बोल्देहीताल, ककनी, चिसापानी, शिवपुरी, पञ्चकन्या सुरुङ आदि अन्य ख्याति प्राप्त पर्यटकीय क्षेत्रहरु हुन् । नुवाकोट धार्मिक तथा साँस्कृतिक रुपमा पनि महत्वपूर्ण रहेको छ । जातीगत र साँस्कृतिक विविधता रहेको यस जिल्लाका बासिन्दाहरुले मनाउने प्रमुख चाडपर्व र मेलाहरुमा पनि विविधता पाउँन सकिन्छ । विजयादशमी, दीपावली, ल्होछार, रामनवमी, माघेसक्रान्ती, साउनेसक्रान्ती, तिज, जनैपूर्णिमा, कृष्णजन्माष्टमी, बुद्धपूर्णिमा, ईद आदि प्रमुख चाडपर्वहरु र सिन्दुरेजात्रा, देवीयात्रा, लाखेनाच, गाईजात्रा, बैशाखपूर्णिमायात्रा, एकादशीयात्रा, विवाहपञ्चमी –त्रिशूली, देवीघाट, नुवाकोट), माघेसंक्रान्तीजात्रा, साँढे जुधाउने, दुप्चेश्वरमेला आदि जात्रा तथा मेलाहरुले जिल्लाको साँस्कृतिक वैभवलाई उच्च राखेको छ ।

विभिन्न स्थानहरुवाट बग्ने नदी तथा खोलाहरु र उच्च पहाडीक्षेत्रमा रहेका ताल तलैयाहरु नै जिल्लाका प्रमुख जलसम्पदाहरु हुन् । त्रिशूली र तादी जस्ता मुख्य नदीहरु र सलाखु, लिखु, कुमरी, फलाखु, सिन्दुरे, छत्रे, कोल्पु लगायतका अन्य साना नदीहरु लगायत सूर्य कुण्ड, सागर कुण्ड, बोल्देही ताल जस्ता ताल तलैयाहरुले जिल्लाको जलाधार क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेका छन् । साथै यी जलक्षेत्र र नदीहरुको धार्मिक तथा पौराणिक महत्वसमेत रहँदै आएको पाइन्छ । भौगोलिक अवस्थाका हिसाबले नुवाकोट जिल्ला समुद्र सतहबाट ४५७ मिटरदेखि ५१४४ सम्मको उचाइमा अवस्थित रहेको छ । देशान्तर ८५ डि देखि ८५ डि ४५ पूर्वसम्म र अक्षांस २७ डि ४५ देखि २८ डि २० उत्तरसम्म रहेको छ । जलवायु र तापक्रमको दृष्टिकोणबाट पनि नुवाकोट विविध जलवायु युक्त जिल्ला हो । नदीदेखि उच्च पहाडहरु पर्ने नुवाकोटमा उत्पादनको दृष्टिकोणले अत्यन्त उर्वर टार तथा वेसी र फाँटहरुले जिल्लाको खाद्यान्न आपूर्तिमा उल्लेखनीय योगदान दिएका छन् । होचो भू–भागमा अवस्थित बट्टार, पिपलटार, गेर्खुटार, वागटार, खरानिटार, समुन्द्रटार, आँगपुटार, कोल्पुटार, रातमाटेटार, तारुकाघाटटार, दर्शनटार, मैरेटार, शहरेटार, ताप्केटार, रिट्ठेटार आदि टारहरु र थानसिङफाँट, लिखुफाँट, शेराफाँट, महादेवफाँट, सिमराफाँट, रैकरफाँट, चाउथेफाँट, फिर्केफाँट आदि ठुलाठुला बेसी र फाँटहरु रहेका छन् । मध्य पहाडी भौगोलिक अवस्थिति भए तापनि प्रशस्त सिंचित फाँटहरु र हावापानीको विविधता भएका कारण जिल्लाले उल्लेख्य रुपमा धान, मकै, गहुँ, कोदो, जस्ता खाद्यान्नबालीहरु, बाह्रै महिना ताजा तरकारी र आलु उत्पादन गर्दे आईरहेको छ । ककनी क्षेत्रमा उत्पादित स्ट्रबेरी देशभरि नै प्रख्यात रहेको छ । यसैगरी भौगोलिक अबस्थिति अनुसार हिमाली जिल्ला नजिक रहेकाले बर्षे र हिउँदे आलु, कालो मुसुरो, सिमी, मकै, कोदो, ताजा तरकारीको उल्लेखीय उत्पादन भइरहेको र अझै उत्पादन वृद्धि गर्न सकिने सम्भावना भएको ठाउँ हो ।

कृषि उत्पादनको हिसाबले अत्यन्तै महत्वपूर्ण यी क्षेत्रहरुमा अहिले पनि खाद्यान्न र नगदेबालीहरु उत्पादन भइरहेका छन् । नुवाकोट कृषि उत्पादनका हिसाबले निर्भर मात्रै छैन निर्यातको प्रचुर सम्भावना बेकेको जिल्ला पनि हो । नुवाकोट जिल्लामा यथेष्ठ मात्रामा जमिनको उपलब्धता छ । अहिले सडक पूर्वाधारको विकासले गति लिइरहेको अवस्थामा यहाँ औद्योगिक विकासको सम्भावना पनि ज्यादै ठूलो रहेको छ । राजधानी काठमाडौँका साथै देशका विभिन्न स्थानमा चीनसँगको नाका जोड्ने केरुङ नाका तर्फको अन्तर्राष्ट्रिय सडक पनि यसै जिल्लामा पर्दछ । अझ योजना भइरहेको नुवाकोटको छहरेदेखि टोखासम्मको सुरुङमार्ग निर्माण भएपछिको नुवाकोटको अवस्था एउटा जिल्लाबाट बढेर काठमाडौँसम्मको सहज पहुँचमा नुवाकोट पर्न आउँनेछ । नुवाकोटको यी विविध सम्भावनाहरुलाई नुवाकोटले उजागर गर्न सक्नु पर्दछ । कृषि उत्पादन, घरेलु उत्पाद, सांस्कृति पहिचान झल्कने गतिविधि, पर्यटकीय क्षेत्रहरुको प्रचार हुनेगरी प्रदर्शनी हुनेगरी महोत्सव केन्द्रीत हुनु पर्दछ । बाह्य सामानहरुको प्रदर्शन र सांस्कृतिक कार्यक्रमको तामझामले मात्र व्यापार बढाउन सकेपनि खास रुपमा नुवाकोटको स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई बाहिर ल्याउन सक्दैन । महोत्सवमा नुवाकोटका हरेक जातीय पहिचान, क्षेत्रीय विविधता, पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको प्रचार र उत्पादन र स्थानीय कृषि तथा खाद्य परिकारहरुको उपस्थितिलाई बढाउन सके महोत्सवको भव्यता र महत्वमात्र बढ्दैन प्राचीन समयदेखि रहँदैआएको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् भौगोलिक वैभवयुक्त नुवाकोटको नयाँ पहिचान परिष्किृत हुँदै जानसक्छ ।

धार्मिक, सामाजिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले आपूरित नुवाकोट जिल्लामा १२ वटा स्थानीय तहको छुट्टा छुट्टै स्टल ब्यवस्थापन गरी हरेक स्थानीय तहको पहिचान स्थापित गर्न पर्यटकीय, स्थानीय उत्पादन, धार्मिक स्थलहरुको जानकारी लगायतका ऐतिहासिक पक्षहरुलाई स्पष्ट्रसँग झल्काउने माध्यमको रुपमा विकास गर्न सके जिल्लामा पर्यटनहरुको आगमनमा बृद्धि हुनका साथै पर्यटकको बसाई लम्ब्याउन सकिने र कृर्षि क्षेत्रको ब्यवसायिक विकास, बजारीकरण, बजार सञ्जाललाई थप सघाउ पुग्नेछ । कृर्षि तथा अन्य क्षेत्रका सफल जिल्लाका कुनाकाप्चामा रहेका यूवाको बौद्धिक क्षमताबाट उपलब्ध असल अभ्यासहरु परम्परागत प्रविधिले यूवाहरुलाई उत्प्रेरित गरी स्थापित गर्ने माध्यमको रुपमा हेरिनु पर्दछ । यहाँका कतिपय क्षेत्रहरु प्रचार प्रसारको अभावमा ओझेल परेका ऐतिहासिक, सांस्कृतिक सम्पदाको प्रवद्र्घ्धन गर्न स्थानीयको आर्थिक पुनरुत्थान तथा विकासको लागि युटर्नको माध्यम बन्न सक्छ । विश्वमा नै धेरै जनसङ्ख्या भएका दुई मुलुकहरु जोड्ने महत्वपूर्ण त्रिदेशीय मार्ग भएकाले पनि यहाँको हरेक पक्षहरुको उजागर, प्रचार प्रसारगरी पर्यटनहरुको आगमन तथा बसाई अवधि बढाउनका लागि नुवाकोट महोत्सव कोशेढुङ्गा सावित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top