२०७७, ८ आश्विन बिहीबार

सवारी दुर्घटनाको तीन वर्षमा ५८ जनाको मृत्यु, ५० सख्त घाईते

अधिकांश दुर्घटनामा ट्राफिक नियम उल्लंघन

डबली खबर     पुष ४ २०७६ २३:११



nuwakot dsp rajesh thapa road accident presentation

विदुर, नुवाकोट –  नुवाकोटमा सवारी दुर्घटनाबाट तीन वर्षमा ५८ जनाको मृत्यु, ५० सख्त र १ सय ९ घाईते भएको तथ्यांकले देखाएको छ । चालुआर्थिक वर्षको मङ्सिरसम्ममा ७ सवारी दुर्घटना, ०७५/७६ मा २३ सवारी दुर्घटना र आव ०७४/७५ मा २२ सवारी दुर्घटना भएको थियो ।

शुक्रबार भएको सवारी दुर्घटना न्यूनीकरण अन्तरक्रियामा निमित्त प्रहरी प्रमुख राजेश थापाले उक्त जानकारी दिनुभएको हो । नुवाकोटमा मुख्यतया सडकसम्बन्धी चेतनाको कमी, ट्राफिक नियम उल्लङ्घन गरेकै कारण सवारी दुर्घटना बताउनुभयो ।

तथ्यांकअनुसार चालुआर्थिक वर्षको नौ महिनामा ७ हजार ८ सय ५० कारवाहीबाट ५३ लाख ३० हजार राजश्व सङ्कलन भएको छ । आव ०७५/०७६ मा २२ हजार ६ सय ५६ कारवाहीबाट १ करोड ५१ लाख २६ हजार राजश्व सङ्कलन भएको थियो। त्यस्तै, आव ०७४/०७५ मा १९ हजार ९ सय १३ कारवाहीबाट १ करोड २५ लाख ५४ हजार ५ सय राजश्व सङ्कलन भएको थियो ।

कार्यक्रममा जिल्लास्थित सडकहरु शत प्रतिशत सुरक्षित नहुनु, सडकमै थुपारिएका निर्माण सामग्री नहाटाईनु, विकासको नाममा सडक बनाउने प्रवृत्ति, पार्टीगत कार्यक्रममा बस/ट्रकमा क्षमताभन्दा बढि यात्रु ओसार्ने, २० वर्षेभन्दा बढीका सवारीसाधनको अनुमति खारेज नहुनु, एकिकृत सडक विकास तथा मर्मतको नीतिगत योजना नहुनुको कारण सवारी दुर्घटना बढेको सहभागीहरुले भनाईहरु राख्नुभएको थियो ।

सडक दुर्घटनाका कारण देशभर बर्सेनि औसतमा दुई हजारभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । नेपालमा औसतमा ३७ सवारी दुर्घटनामा हरेक दिन सातजनाको मृत्यु हुने गरेको छ। हरेक वर्ष सडक दुर्घटनाबाट हुने मानवीय क्षति बढ्दो छ ।

नुवाकोटमा आव ०७६/७७ मा घटेका मुख्य सवारी दुर्घटना

गत हप्ता विदुर नगरपालिकाको तुप्चेमा मोटरसाइकल दुर्घटनामा एकले ज्यान गुमाए भने एक घाईते भएका थिए ।

त्यस्तै, नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा सवारी दुर्घटना हुँदा एक जनाले ज्यान गुमाए भने ४० घाईते भएका थिए ।

child death in bus accident

असोजमा तीव्र गतिमा रहेको केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले एक बालकलाई किच्दा घटनास्थलमै बालकको ज्यान गएको थियो । बसमा तोडफोड भएको थियो ।

नुवाकोटमा आव ०७५/७६ मा घटेका मुख्य सवारी दुर्घटना

चैतमा विदुर नगरपालिकाको बट्टारमा बा ५ ख २८९८ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको थियो भने टिपरमा आगजानी भएको थियो ।

मंसिर २८ गते दुप्चेश्वर गाउँपालिका-६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको थियो । उक्त घटनामा ३ महिला र १७ जना पुरुषको मृत्यु भएको थियो ।

भदौमा किस्पाङ गाउँपालिका-५ शान्तिबजारस्थित ट्रकको ठक्करबाट शान्तिबजारका एक जनाले ज्यान गुमाए ।

bus accident nuwakot bhairabkot

विदुर नगरपालिका-९ स्थित लामाटार चौतारामा यात्रुबाहक बस दुर्घटनाको तस्वीर

साउनमा देउराली बुङताङबाट त्रिशुली आउंदै गरेको पासाङल्हामु यातायातको बा २ ख २८०४ नम्बरको यात्रुबाहक बसले विपरित दिसाबाट आएको मिनी टाटालाई साइड दिने क्रममा माटो भासिएर सडकदेखि ४० मिटर तल खस्न पुगेको थियो भने ४७ जना घाईते भएका थिए ।

बैशाखमा तिव्रगतिमा रहेको बा ४ ख ७३८९ नं. को बसले सडक छेउमा ढलनाली निर्माणका लागि पर्खाल लगाइरहेका मजदुरलाई ठक्कर दिंदा घटनास्थलमै ज्यान गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top