२०७७, ४ आश्विन आईतवार

रातभरि कुर्यो : एक गाग्री पानी

डबली खबर     असार १६ २०७३ १५:४६



sancharika samuha

रामेछापका गाउँ–बस्तीमा पानीको साँच्चीकै हाहाकार छ । एक महिलाका भनाइमा, ‘सदरमुकाम मन्थलीका महिलाले समेत एक गाग्री पानीका लागि रात–दिन भन्न पाउँदैनन् भने अरूको के कुरा गर्नु ?’

रामेछाप । पकरबासकी सीतादेवी न्यौपानेको दिन पानीको जोहो गर्दैमा बित्छ । सपनामा पनि उनी पानीको जोहो गरेकै देख्छिन् । ५९ वर्षकी सीतादेवी आधारातमा आँखा मिच्दै उठ्छिन् । गाग्री, जर्किन, बोतल बोकेर लर्खराउँदै पँधेरोतिर दौडिन्छिन् । अँधेरी रातमा बत्ती हातमा बोकेर एक घन्टाको पैदल हिँडेपछि पँधेरोमा पुगिन्छ । अरूभन्दा अघि पुगे पालो पाइन्छ नत्र पछि परिन्छ । घन्टौँ लाइनमा बसेपछि बल्लतल्ल पालो आउँछ । त्यो पनि आधा माटो मिसिएको धमिलो पानी । नभरौँ विकल्प छैन, भरौँ फोहोर पानी ।

निद्रा र थकानको पर्वाह नगरी उनी दिनहुँ पानीको जोहो गर्न यसैगरी दौडिन्छिन् । विवाह गरेर घर भित्रिएदेखि सुरु भएको उनको यो कामले अहिलेसम्म विश्राम पाएको छैन । ‘यो चोला पानी कुर्दैमा गयो, पानीले जिउज्यानै खायो,’ सीतादेवी भन्छिन् । ‘देशमा संविधान आयो, नयाँ सरकार आयो, नयाँ कानुन आयो, तर खै हामीले के पायौँ ?’ सीतादेवी भन्छिन्, ‘जुगौँदेखिको खानेपानीको समस्या अहिलेसम्म कायमै छ, नातिनातिनाले पनि सुख नपाउने भए ।’

खानेपानीको व्यवस्था नहुँदा पकरबासका स्थानीयले पुस्तौँदेखि समस्या झेलिरहेका छन् । यो समस्याबाट सबैभन्दा बढी पीडित महिला छन् । किनकि नेपाली समाजमा अहिले पनि ‘पानी–पँधेरोको काम महिलाको हो’ भन्ने ठानिन्छ । हजुरआमादेखि नातिनी, बुढीसासूदेखि नातिनीबुहारीसम्मले भोगेको यो त्यहाँका आममहिलाको समस्या हो ।

पकरबास गाविसमा खानेपानीको स्रोत भनेको गाँडापानीको कुवा हो । त्यो कुवामा पनि पर्याप्त पानी आउँदैन । पानीको मुहान सुक्दै गयो । पानीको मूल फुट्ला भन्ने उनीहरूको आशा अहिलेसम्म पूरा हुन सकेन । दिउँसो पानी नपाइने डरले स्थानीय महिला राति हुल बाँधेर कुवामा दौडनुपर्छ । एक्लै जाँदा डरलाग्ने, समूहमा जाँदा पानी नपुग्ला भन्ने चिन्ता हुन्छ । कहिलेकाहीँ त पानी नपुग्दा साथीसाथीबीच नै पानीको निहँुमा झगडासमेत हुने गरेको तीतो अनुभव सीतादेवीको छ । उनले भनिन्, ‘पानीको निहुँमा आप्mनै साथीसँग झगडा पर्छ, के गर्नु ?’

पानीको समस्याबारे उनी भन्छिन्, ‘एकले अर्कालाई पानीचोरको आरोप लगाउँछन् । त्यसैमा भनाभन हुन्छ अनि झगडा नै चल्छ । फेरि हामी नै बसेर मिलाउँछौँ । यस्तै रमिता हेरेर पानी भर्नुपर्छ । हिउँद, वर्षा, हावा, हुरी, झरी केही भन्न पाइँदैन । के गर्नु पानी नभई बाँचिँदैन ।’

त्यस्तै समस्या रामपुरमा पनि छ । रामपुरकी सुजाता तामाङ दुईवटा साना नानी बिछ्यौनामा छाडेर खानेपानीका लागि मध्यरातमा गाउँभन्दा झन्डै डेढ घन्टा तलको धाराखोलामा पुग्छिन् । ‘न छोराछोरी भन्न पाइन्छ, न आरामले निदाउन पाइन्छ, उकालोमा पानी बोक्दैमा जिउ बिग्रियो,’ सुजाताले भनिन् । राति डरले एक्लै जान सकिँदैन । जो पहिले उठ्छ त्यसले अरूलाई बोलाएर सबै महिला रातभरिमा भोलिपल्टका लागि चाहिने पानीको जोहो गर्न दौडनुपर्छ । फारो गरेर चलाउँदा हरेक परिवारमा दैनिक ५–६ गाग्री पानी चाहिन्छ । डेढ घन्टाको उकालो जोरगाग्री पानी बोक्दा तल्लो पेट दुख्ने र पाठेघर झर्ने समस्यासमेत हुनसक्छ ।

रामपुरकै कमला तामाङ एक गाग्री पानीका लागि बिहान पूरै जाने गरेको बताउँछिन् । ‘राति उठ्न सकिएन भने पालो कुरेर बस्नुपर्दा पूरै बिहान एक गाग्री पानीका लागि बिताउनुपर्छ,’ उनले भनिन् । पानीकै अभावमा बालबालिकाको सरसफाइमा समेत महिलालाई समस्या छ । कमला भन्छिन्, ‘एक सातासम्म रामपुरमा लुगा धुने चलन छैन । एकैपटक एक डोको लुगा बोकेर खानीखोला झर्नुपर्छ । लुगा धुन र नुहाउन त अझै तल धाउनुपर्छ ।’

त्यही गाउँकी सुकुमाया तामाङ त पानीकै समस्याले रोगी भइन् । उनलाई अहिले हातगोडा सुन्निने, आँखा रातो हुने, रिँगटा लाग्ने समस्या देखिएको छ । सुरुसुरुमा उनले त्यति वास्ता गरिनन् । पछि गाह्रो हुँदै गएपछि समस्यामा परिन् । डाक्टरको सल्लाह थियो– गह्रौँ चिज बोकेर उकाली–ओराली नगर्ने । तर, उनको बाध्यता छ, उनी अहिले पनि सकिनसकी पानी ओसारिरहेकी छिन् । सुकुमाया भन्छिन्, ‘डाक्टरले त भन्छन् नि पानी नबोकी सुखै छैन ।’

जिल्लाको मन्थली नगरपालिका– १३ को बडीमुहानका महिलालाई सदरमुकामवासी हुनुको अनुभूतिसमेत छैन । दैनिक एक घन्टा तलको तामाकोसी नदीको पानी नओसारी उनीहरूको मुखमा माड लाग्दैन । त्यहाँका मानिसले तामाकोसी नदीको पानी थाप्लो कुच्याएर बोक्न थालेको वर्षाैं भइसक्यो । अहिलेसम्म पनि उनीहरू नदीको फोहोर पानी खान बाध्य छन् । सदरमुकाम मन्थली बजारनजिकै रहेको सो बस्तीका मानिस खानेपानी, नुहाउने, लुगा धुनेदेखि वस्तुभाउलाई पानी खुवाउनसम्म तामाकोसीमै पु¥याउँछन् ।

तामाकोसी सहकारी अस्पताल मन्थलीका निर्देशक डाक्टर सुमन कर्मचार्य महिलाको पाठेघर खस्ने मुख्य समस्या खानेपानीसँग जोडिएको बताउँछन् । पानी बोकेकै कारण ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या देखिएको उनको भनाइ छ । पानीको अभावले टाढाटाढाबाट गाग्रीमा पानी ओसार्दा महिलाको स्वास्थ्यमा असर पर्ने उनको भनाइ छ । डाक्टर कर्मचार्य भन्छन्, ‘शिविरहरूमा स्वास्थ्य परीक्षणका लागि आउने महिलामा अधिकांशमा पाठेघर खस्ने समस्या देखिन्छ ।’

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापले एक वर्षमा ४२ वटा नयाँ खानेपानी आयोजना सम्पन्न गरेको छ । जिल्लाको भिरपानी, लखनपुर, कल्लेरी, खिम्ती, खनियापानी, चनखु, रस्नालु, तिल्पुङ, खाँडादेवी, पकरबास, चिसापानी, मन्थलीलगायतका स्थानमा ती योजना सम्पन्न भएको कार्यालयको तथ्याङ्क छ । खानेपानी आयोजना बन्ने क्रम चलिरहेका छन्, तैपनि समस्या भने उस्तै छ । जहाँ पानीका मुहान प्रसस्त छन् त्यहाँ खानेपानीका योजना बनेका छन् । सुक्खा क्षेत्रलाई त्यस्ता योजनाले समेटेका छैनन् । बेथान, भिरपानी, भँगेरी, पकरबसलगायतका अधिकांश गाउँका महिला पानीका लागि यसरी नै सङ्घर्ष गरिरहेका हुन्छन् । एक स्थानीय महिला भन्छिन्, ‘सदरमुकाम मन्थलीका महिलाले समेत एक गाग्री पानीका लागि रातदिन भन्न पाउँदैनन् भने अरूको के कुरा गर्नु ?’

साभार : सञ्चारिका फिचर सेवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top