२०७७, १४ आश्विन बुधबार

नाइलको सहारामा उभिँदा: श्रीराम श्रेष्ठ

डबली खबर     श्रावण ३ २०७६ १४:०५



Noyyal ko Sahara Haiku book review by shreeram shrestha

जापानबाट शुरू भएको हाइकु अहिले विश्वभरि नै प्रिय विधाको रूपमा प्रसिद्ध रहेको छ । जापानमा विद्यालयस्तरको पाठ्यपुस्तकमा समेत समावेश गरिएको छ र हाइकुलाई जापानमा राष्ट्रियतासँग पनि जोडिन्छ । कविताको उपविधा मानिने हाइकुमा ऋतुगत विषयबस्तुलाई महत्व दिनुपर्दछ । यसका अतिरिक्त आँखाल देखेका र मनले अनुभूति गरेको विषयलाई समेटिएर लेखिएको भावपरक रचनालाई सेन्यू भनिएता पनि हाइकु नै मानिँदै आएको छ । हाइकु पढिसकेपछि फरक–फरक कोणबाट विश्लेष्ण गर्न सकिने हुनु पर्दछ । अक्षरीय संरचनाको ढाँचामा लेखिने हाइकु ३ लाइनको १७ अक्षरमा सीमित हुनुपर्छ । पहिलो हरफ पाँच, दोस्रो हरफ सात र तेस्रो हरफ पाँच हुनुपर्छ ।

हाइकुको विकसित रूप जापानमा होक्कुबाट भएको मानिन्छ । हुन त हाइकुभन्दा तान्का नै पुरानो विधा मानिन्छ । जापानमा हाइकुमा पहिलो कलम चलाउने व्यक्ति बाशो हुन् । उनलाई हाइकुका आदिकवि अर्थात हाइकु स्रमाटजस्ता उपनामले चिनिन्छ । बाशोको हाइकु लेखनलाई बुसन, सिकी, यासी र इस्साले मूर्तरूप दिने काम गरे ।
जापानी हाइकुको बतासले नेपाललाई पनि शितलता दिएरै छाड्यो । हाइकुका बारेमा खोजिनीति गर्दा शङ्कर लामिछानेको नाम अगाडि आउँछ । वि.सं. २०१९ सालको भदौ अङ्कमो ‘रूपरेखा’मा ‘सूर्योदय’ शीर्षकमा हाइकु प्रकाशित गरेर नेपालमा हाइकुको श्रीगणेश गर्ने काम उनैले गरे । पारिजातको ‘शिरीषको फूल’ उपन्यासमा समेत हाइकु प्रयोग भएको छ । यसै क्रममा क्षेत्रप्रताप अधिकारी, पुष्कर लोहनी, रामकुमार पाँडे, नगेन्द्र थापा, अभि सुवेदीजस्ता स्रष्टाहरूले हाइकु लेखनलाई मलजल गर्ने काम गरे । यतिखेर हाइकु लेखनमा सयाँैको सङ्ख्यामा लामबद्ध भएका छन्, सर्जकहरू । ती सर्जकहरूमध्ये एक हुन्– किरण पौडेल ।
यिनको जन्म बि.सं. २०३८ साल साउन १२ गते माता गोमादेवी र पिता चुडामणि पौडेलका सुपुत्रका रूपमा भरतपुर महानगरपालिका वडा नं. २० चितवन जिल्लामा भएको हो । नेपाली सेनामा कार्यरत पौडेलले फुसर्दको समयलाई सदुपयोग गर्दै साहित्यका विविध विधा विशेषतः कविता, गीत, हाइकु, लघुकथाजस्ता विधामा कलम चलाउँदै आएका छन् । त्यसो त उनले विद्यालयमा अध्यापन गर्ने क्रममा फाटफुट अन्य विधाहरूमा पनि कलम चलाउँदै आएका हुन् ।
सरकारी सेवाको क्रममा अफ्रिकी महादेशको सुडान, युगान्डा, केन्या र दक्षिण सुडानमा रहँदाको अवस्थामा आफ्नो मानसपटलमा चलायमान भएका भावहरूलाई लिपिबद्ध गरी हाइकुहरू लेखे । हाइकुमा उनले उठान गरेका विषयवस्तु नाइलनदी र अफ्रिका महादेशको सेरोफेरो तथा आफ्नो जन्मभूमिको प्रेमको बारेमा नै रहेका छन् । ती हाइकुलाई एकै ठाउँमा समावेश गरी पौडेलले २०७५ मा सङ्ग्रहको रूपमा प्रकाशन गरे, ‘नाइलको सहारा’ । यो कृति नै यिनको पहिलो प्रकाशित कृति हो । प्रस्तुत सङ्ग्रहमा २८५ वटा हाइकुहरू समाविष्ट छन् ।
बालपनबाट युवा अवस्थामा प्रवेश गरेपछि आत्मनिर्भरताका लागि बाटो तय गर्छन् सबैले । सुखदुःखका क्षणलाई पनि आत्मसात गर्छन् । पारिवारिक बन्धनमा बाँधिएपछि आफू परिपक्क भएको महसुस गर्छन् । आफू र आफ्नो परिवारको जीवनको अभिभाराबाट चिन्तित हुन्छन् नै । आफूले गाँस काटेर भए पनि आफ्ना सन्ततीका सुखद् भविष्यका लागि श्रम गर्दछन् । आफ्ना बालबच्चाका स्वास्थ्य र शिक्षाको चौतर्फी उन्नयनका लागि दिनरात मिहिनेत गर्छन् । मैनबत्तीझैँ आफू जलेर आफ्ना सन्ततीलाई उज्यालो दिइरहेका हुन्छन् :

लाला र बाला
अबोध बालपन
मेरो मिसन ।

०००
मनको लड्ड्
सातुको फ्ँवाकसँग
लपेटी खाए ।

आफ्नो मन पर्ने मान्छेसँग जति सुकै मनमुटा भएता पनि अन्ततः मायालाग्दो रहेछ । सँगसँगै बस्दाको बोलीचाली, एकआपसमा गरेको विश्वास नै दुवै एक हुने सामीप्यताका आधार हुन् । विश्वासले नै खुसी र सुखी तुल्याउँछ । भिन्न हुँदाको अवस्थामा आफूलाई मन पर्ने मान्छेको झझल्कोले सपनीमा भूत बनेर तर्साउँछ । दिनरात कटाउन पनि हम्मेहम्मे पर्दाको समय आँखामै टाँसिने आफ्नो मान्छेको तस्विर घुमिदिँदा मन थाम्नै गाह«ो तुल्याइदिन्छ । बैशालु जवानीमा मन बुझाउन नसकिने । आफूलाई लागेको पीडा आफ्नो मान्छेको अनुहारमा देख्न पुग्छ । अनि यसरी प्रस्फुटित हुन्छ:

चिहाई हेर्छ
प्रियाको मुहारमा
रित्तो सारङ्गी ।

दुवैबीच छुटिनु पर्दाको पीडा भुल्न सकिँदैन । दिनरात सम्झँनाले कोतरिदिँदा आँखाभरि आसुँका बुँदाहरू टिलपिल टिलपिल भइदिन्छ । न रातमा निद्रा न दिनमा भोक । आफ्नो प्रियसीको सम्झनाले छटपटी हुँदाको परिदृश्य:

तिम्रो प्रतीक्षा
सम्झना मेटाउन
बालुवा सुक्छ ।

०००

साँझको खेल
तिम्रो अभाव मेट्न
सुई बटार्छु ।

०००

निद्रा परेन
व्यथाको बिच्छ्यौनामा
उन्को झझल्को ।

आफ्नो आत्मा विश्वासलाई दह्रो पारी मनलाई बुझाउने प्रयत्न:
विक्षिप्त मन
जिजीविषा लिएर
प्रिया सम्झिएँ ।

०००

तिम्रो मायाको
बही खाता हेर्दछु
साधु बनेर ।

०००

तिम्रो मायामा
थोरै रस मिसाई
मौलाई जाउ ।

नेपाली समाजमा यौनलाई छाडा रूपमा लिइन्छ तर साहित्यमा यौनलाई नै विषयबस्तु बनाएर लेखिएकोे सर्वत्र भेटिन्छ । त्यसो त पौडेलले पनि प्रस्तुत सङ्ग्रहमा यौनका सशक्त बिम्ब–प्रतिबिम्बलाई सिधा नभनी घुमाउरो पाराले अभिव्यक्ति दिने प्रयास गरेका छन् :

मदानी घ्यार्र
मझेरीको खाँबामा
नौनी पग्लियो ।

०००

रसिलो स्वाद
कसिलो मूलबाट
पानी तैरियो ।

नौनी पग्लियो र पानी तैरियोजस्ता बिम्बले यौनसँग जोडिएको छ । यौनक्रीडामा खुलेर रम्दा स्खलन हुँदाको अवस्थाको चित्रण किरण पौडेलले सटिक ढङ्गले हाइकुमा पस्केका छन्:

खेलौना बनी
तिमीसँगै खेल्दै छु
ब्याट्री सकियो ।

०००

पासा फ्याँकेर
पिरतीको गुफामा
बत्ती बलेछ ।

विश्वको भूगोलमा अवस्थित आकारमा सानो देश हो नेपाल । हामी अनुमान गर्छौं सबैभन्दा गरिब राष्ट्र हो कि भनेर तर विकासको सूचाङ्कमा फड्को मार्न नसकेता पनि बामे सर्दै छ सुस्तरी । नेपालको तुलनामा धेरै देश आर्थिक अवस्था कमजोर भएको पाउँछौँ । त्यसो त अफ्रिकाको सुडानलाई चियाउन सकिन्छ । गाँस, बास र कपासको समस्याले गाँजेको छ । यो परिस्थिति सिर्जना हुनु जातीय द्वन्द्वले गर्दाले नै हो । फरक फरक जातिबीच काटमारको स्थितिले गर्दा हो । द्वन्द्वका कारण आफ्नो ज्यानको सुरक्षाका लागि जङ्गलमा लुकेर दिन काट्न बाध्य हुन्छन् । ज्यान जोगाउनु नै प्रमुख ध्येय हो । शान्तिको पारिलो घामबाट बन्चित अफ्रिकी नागरिकको कहाली लाग्दो दिनचर्याले सबैको मन दुःखी बनाउँछ ।

सुडानी बोली
ज्यानलाई सन्चै छ
रात घर्कियो ।

०००

फुरूङ्ग मन
अफ्रिकी जङ्गलमा
शान्ति खोज्दै ।

मान्छेमा चेतनाको विकास हुनका लागि शिक्षा अपरिहार्य छ । शिक्षा बिना व्यक्ति, समाज र मुलुक समृद्ध भएको मानिँदैन । जब हातमुख जोड्न नै धौधौ भएको ठाउँमा बालबालिकाले शिक्षा पाउने त कुरै भएन । भोकभोकै बस्न सकिन्नँ । तसर्थ, बाँच्नैका लागि भए पनि दुई हात पसार्नै प¥यो । सुडानका गाउँघरमा घुमफिर गर्दा देखिएको दृश्य:

मगन्ते बच्चा
अफ्रिकी गाउँघर
हाम्रो हृृदय ।

सङ्घर्षको नाम हो, फौजी जीवन । देश प्रेमको भावनाले संलग्न हुन्छन् फौजीमा । देशको माटो, देशको अस्मिताको रखबारीका लागि खटिन्छन्– नेपाली सेना । इमान्दार, लगनशील, अनुशाषित र वीरत्वको कारण नेपाली सेना हुनुमा गर्व गर्छन् । विश्वमा नै वीर गोर्खाली भनेर चिनिने नेपाली सेनालाई विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति स्थापना गर्नका लागि पठाइन्छ । विदेशी मरभूमिको बाफिलो बालुवामा गुजार्नु परेको कष्टकर क्षणलाई हाइकुकार पौडेलले हाइकुमा यसरी उतारेका छन् :

बालुवा ताप
गोरखाली दैनिकी
पसिना दाना ।

जनता गरिब र नेता धनी भएको मुलुक नेपाल । व्यबस्था फेरिएता पनि जनताको जीवनस्तर फेरिन सकेको छैन । चाकडी, चाप्लासुले चलेको छ देश । नातावाद, कृपावादले गाँजेको छ । जुनसुकै ओहदामा नियुक्तिदेखि ठेक्कापट्टामा नेताकै संलग्नता देखिन्छ । दोषीलाई कारबाही गर्नुको सट्टा उसैको समाजमा बोलबलाउ चल्ने गरेको छ । समाजमा बिवृmति र बिसंगति फैलाउने लठैतको चेतना जाग्ने कहिले भन्नेजस्ता भाव हाइकुमा यसरी पोखेका छन् :

ध्वनिको कोष
सिद्धान्त विरूद्धमा
दोषी लठैत ।

०००

उसैको सालो
नियन्त्रक सदस्य
फिरेर हिँड्ने ।

काठमाडौँमा दिनप्रति दिन जनसङ्ख्याको बृद्धिदर बढ्दो छ । महानगरपालिकाको नामले पुजिने काठमाडौँले जनतासँग विभिन्न शीर्षकमा कर उठाउँछन् । महानगरपालिकाले जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने बस्तुको सेवा दिनु पर्दछ । लामो समयदेखि काठमाडौँलाई पानीको समस्याले पिरोलको छ । सिन्धुपाञ्चोकको मेलम्ची खोलाको पानी काठमाडौँमा ल्याउनका लागि ठूलै रकम खर्च भए तापनि सोचेको जति काम अगाडि बढ्न सकेको छैन । तसर्थ, निराश बनेका छन्– काठमाडौँबासी भन्दै गरिएको व्यङ्ग्य एवम् आक्रोश:

मेलम्ची पानि
धित मर्ला कहिले
प्यास लागेछ ।

हाइकुका आदिकवि माचुओ बासोको सबै हाइककुमा ऋतु बोधक बिम्ब प्रयोग गरेका छन् । विशेषतः सौन्दर्य चेतनालाई हाइकुमा बासोले लिपिबद्ध गरेका छन् । उनका हाइकुमा प्रयोग भएका शब्दहरू सरल र सहज बिम्ब छन् । प्राकृतिक सौन्दर्य दृश्यहरूको यात्रा गर्दा आफूले मानसपटलमा अनुभूत गरेका कुरा उनले हाइकुमा उतार्दथे । किरण पौडेलको प्रस्तुत सङ्ग्रहका केही हाइकु पनि बासोकोजस्तै भाव प्रतिबिम्बित गर्दछ ।

नमूना हाइकुहरू:

यात्री मानव
हातसुएको मूनि
पहाडी पैयूँ ।

पैयूँको बोट
मलाई चिनाउने
लाली गुराँस ।
०००

नील लहर
अँध्यारो अक्लिएर
चाडको दिन ।
(बासो)

कर्म क्षेत्रमा
आशाको पोकोभित्र
धर्मको खोजी ।
(पौडेल)

अन्त्यमा, हाइकु सर्जक किरण पौडेलले अफ्रिका महादेशमा अवस्थित विश्वकै सबैभन्दा लामो नदी नाइल र विश्वको ठूलो मरुभूमि सहाराको पृष्ठ–भूमिका साथै मनुष्यले जीवन जिउने क्रममा भोगेका जीवन्त अनुभूतिलाई बिम्बको रूपमा हाइकुमार्फत अभिव्यक्त गरिएको छ । प्रस्तुत ‘नाइलको सहारा’ हाइकु सङ्ग्रह नेपाली हाइकु साहित्यको एउटा उल्लेखनीय प्राप्ति मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top