२०७७, १२ आश्विन सोमबार

संस्कृतिले सम्पन्न: थारू

डबली खबर     असार २४ २०७६ १०:००



Tharu: Human Classical Study by Shreeram Shrestha Nuwakot

थारूहरू नेपालमा आगमन कहाँबाट भएको भन्ने सम्बन्धमा मत बाझिए तापनि मुसलमानको आक्रमणपछि आफ्नो ज्यान जोगाउन भागेर आएको भन्ने भनाइ सर्वमान्य रहेको छ किनकि थारूहरू भारतको नैनीतालदेखि ब्रह्मपुत्र नदीसम्म फैलिएर बसेका छन् ।

बसोबास र जनसङ्ख्या

थारू जाति मुख्यतः तराईका बासिन्दा हुन् । यिनीहरू नेपालको पूर्वदेखि पश्चिम सिमाना बर्दिया, कैलाली, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, महोतरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके, सुर्खेत, कञ्चनपुर, मोरङ, दाङ, चितवन आदि जिल्लाहरूमा सदियौँदेखि स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०५८ को तथ्याङ्कमा थारू जातिको मातृभाषा बोल्नेहरूको सङ्ख्या १५, ३३, ८७९ रहेको थियो भने वि.सं. २०६८ को जनगणनामा भने १७,३७,४७० देखाइएको छ । थारूहरू परम्परादेखि नै ठूलठूला रूखको बोटमुनि बसोबास गर्दै आएका छन् । यिनीहरूका घर साधारणतया खरले छाएको एकतले एउटा मात्रै कोठा हुन्छ । सो कोठामा नै भान्सा, सुत्ने, अन्नपात राख्ने र एकापट्टि कुनामा बाख्रा, भेडा बाँध्ने गरिन्छ । अहिले आर्थिक सम्पन्न हुनेहरूले पक्की घर पनि बनाएर बस्ने गरेको देखिन्छ ।

‘मरभूमिबाट आएको हुनाले थर थारू रहन गएको हो ।’

इतिहास र उत्पत्ति

थारू जातिको उत्पत्तिको सम्बन्धमा धेरै लेखक, विद्वान् र अनुसन्धानकर्ताहरूको विचार पृथक्पृथक् रहँदै आएको छ । कसैको विचारमा सिन्ध प्रदेशको थार भन्ने ठाउँबाट आएका हुनाले थारू थर रहन गयो भन्ने भनाइ छ भने कसैको भनाइमा ‘मरभूमिबाट आएको हुनाले थर थारू रहन गएको हो ।’ अर्को थरीको भनाइमा १२ औँ शताब्दीतिर चितौडमा मुसलमानहरूको भारत आक्रमणपश्चात् आफ्नो जीवनसुरक्षाको लागि पहाडी भागमा लुक्न आए र धेरै समयसम्म आफ्नो पतिको प्रतीक्षा गर्दा पनि नआएपछि त्यहीँको स्थानीय बासिन्दाहरूसँग वैवाहिक सम्बन्ध गाँस्न पुग्यो र आफ्नो जन्मेको सन्तान थारू हुन् । त्यस्तै अर्को थरीको भनाइमा पहाडका मगर जाति नै तराईमा बसोबास गरिएको हुँदा थर थारू रहन गएको हो । यसरी थारू जातिको उत्पत्तिसम्बन्धी पृथकपृथक् भनाइ रहेको छ । स्पष्ट रूपमा प्रमाणित भनाइ भने भेटिएको छैन । तसर्थ नेपालमा थारूहरू प्राचीन समयदेखि स्थायी रूपमा तराईका मलिला फाँटहरूमा बसोबास गर्दै आएका आदिवासीका रूपमा लिन सकिन्छ रमानन्दप्रसाद सिंहको भनाइमा थारूहरू भारतमा पनि नैनीतालदेखि ब्रह्मपुत्र नदीसम्म फैलेर बसेका छन् ।

राजपुतानाका भील बस्तीमा अधिकार गरी जयपुरका राजाले राज्य स्थापना गरे । जयपुरका राजाका राज्याभिषेकमा एउटा भीलका गोडाको रगत झिकेर तिलक लगाउने चलन थियो । यसको बदलामा एक रुपियाँ र एक बोतल मदिरा दिने चलन थियो । यस्तै चलन नेपालका थरहवट र मगरातमा राज्य स्थापना गर्ने राजाहरूले थारू र मगरलाई भीलमा गनेका थिए । थारूहरूले आफूलाई भीलमा गनेर राजपूतबाट आएको तर्कना गर्दछन् ।

डोटीका तराईमा रहेका थारूहरूको थर राणा भएको र मेवाडका राजाहरू राणा कहिले हुनाले राणा थारूहरूले र साथसाथै अरू थारूहरूले पनि आफूलाई उदयपुरका राजवंशसँग सम्बन्ध देखाउन लागेका छन् । राना र राणा एउटै राजन शब्द विकास भएर बनेका हुन् । राणा शब्दले आफ्नो मूल अर्थ छोडेर जमातमध्येका ठूलालाई मात्र लिने गरेको छ । जस्तै मौरीको रानु । लगभग यस्तै अर्थमा ती थारू र एक थरी मगरको पदवी राना भएको देखिन्छ । तर मगर रानाहरूले भने उदयपुरका राजवंशसँग सम्बन्ध जोड्ने मिथ्या प्रयत्न गरेका छैनन् । राजपुतानामा मेवाडका केवल एक जना महाराज राणा कहिन्छन् । उनका भाइभैयाद राणा कहिन सक्दैनन् । यस अवस्थामा राना थारूहरूले राजपुतानाका राजवंशसँग सम्बन्ध जोड्ने चेष्टा गर्नु व्यर्थ छ ।

|| १ ||

त्यस्तै अर्को थरीको भनाइमा मुसलमानहरूको आक्रमणपछि भागेर आएका राजपूत आइमाईहरू र तिनीहरूले आफूसँग ल्याएका सिपाही वा नोकरहरूबीच भएको बिहेबारीबाट जन्मेका सन्तानहरू नै थारू हुन् । सामाजिक संस्कारहरूमा थारू स्वास्नीमानिसहरूले उच्चस्थान ओगटेकोबाट पनि यो अनुमानलाई केही बल मिलेको देखिन्छ, तापनि यो बल यथेष्ट छैन । बरु प्राचीन वृजिगण तन्त्रसँग सम्बन्धित एक थरी वंशजहरू थारू भएका छन् भन्ने जुन सर्वथा नौलो विचार हिजोआज प्रकट हुन लागेको छ, त्यसमा अझ गहिरो अध्ययन, अन्वेषण र छलफलको ठाउँ छ भन्ने हामीलाई लाग्दछ ।

||  २ ||

त्यसैले थारूलाई नेपालको आदिकालदेखिको बासिन्दा मान्नु र थारू शब्दका बारेमा पनि धेरै थरी अर्थ लगाउन नखोजी यही वर्गका मानिससँग गाँसिन आएको उत्तिकै पुरानो र सम्भवतः अनार्य भाषाबाट सुरु भएको मान्नु सबभन्दा उपयुक्त ठहर्छ । उहिलेदेखि नै थारूहरू बसिआएको तराईको क्षेत्रलाई थारूवान वा थरूहट भन्ने चलन पनि पुरानै हो । श्वसान, मगरात, किरात, लिम्बुवान भनी विभिन्न जातिहरूले परम्परादेखि बसोबास गरी आएको ठाउँलाई भन्ने चलन भएअनुसार थरुहट पनि थारूहरूको प्रदेश हो । समयसमयमा थारूबाहेक अरू सबै जातिहरू आफ्नो परम्परादेखिको ठाउँलाई छोडी अधिराज्यका विभिन्न भागमा छरिँदै गएका छन् । अधिराज्यभित्र मात्र होइन । बाहिरसमेत गई बस्नेहरू पनि प्रशस्त पाइन्छन् । तर थरूहट छोडेर अरू ठाउँमा बसाइँ सर्ने थारू आजसम्म देखिएको छैन । त्यसैले पनि साबित गर्छ कि थारूहरू यो भूमि माटोसँग कति बलियो गरी गाँसिइसकेका छन् ।

|| ३ ||

केही ठाउँहरूमा पुराना थारू राजा र राजगढहरूसमेतका भग्नावशेष पनि पाइन्छन् । दाङको सुगौरा गणमा यस्तै एउटा राजा दगैँ भुसाईको पुरानो किल्लाको अवशेष छ । त्यसैले यो ठाउँ पनि थारूहरूकै पुरानो थलोमध्येको एउटा हो भन्ने देखिन्छ । तर बितेका १०० वर्षजतिभित्रमा दाङ उपत्यकामा बाहिरबाट बस्न जाने अरू धेरै प्रकारका मानिसहरूबाट ठगिएका दङौरा थारूहरूको आजको अवस्था उति राम्रो छैन । पश्चिम–तराईको भन्दा दाङ जस्तो भित्री मधेसको हावापानीको भिन्नताले होला, समय आएपछि यसले अरू धेरै प्रकारका मानिसहरूलाई पनि आकर्षित ग¥यो । अनि प्रतिस्पर्धामा अड्न नसकेर वा अड्न नचाहेर दङौरा थारूहरू विस्तारविस्तार पश्चिम तराईतर्फ सर्दै गएका हुनाले बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका विभिन्न ठाउँमा पुराना कठरिया, राणा आदि थारूहरूका छेउछाउमा प्रशस्तै दङाली थारूहरूका बस्ती पाइन्छ ।

|| ४ ||

भारतीय लेखक एवं विद्वान् एस्.के. श्रीवास्तवले थारूहरू मङ्गोलियन जातिसँग रूपरङ, वेशभूषा जीवनशैली सबै कुराहरू मिल्दोजुल्दो देखिन आएकाले थारू जाति मङ्गोलियन नै हुन भनेका छन्-

“The tharus definitely a mangoloid tribe and they could not be placed in any other constellation of tribes and castes of the province, indo -Aryan or Australoid in features they possess, more or loss oblique eyes, mostly brown or yellow -brown complexion, very scanty and straight hair on the body and the face, thin nose or medium size, while in other features they resembly Nepalese more than any of the Australoid or pre -Dravidian castes and tribles.”

त्यस्तै, डा. मजुमदार, राबो र महालानेभिसले थारूहरू मङ्गोलियन जाति नै हुन भनी लेखेका छन्:

“That the Tharus have Mangoloid features of this these is hardly any doubt. Their eyes are more or less oblique, their complexion mostly brown or yellow -brown, the hair on the body and face very scantly and straight, their nose thin and if medium size while other features afFiliate than more with the Nepalese than with the Australoid or pre -Dravidian tribles and casts. The Tharus, therefore, appear to be a Mangoloid people who have sucdeded in assimilating non -Mangoloid features.”

माथि यी विद्वान्हरूको भनाइअनुसार नेपालका थारू र भारतका मङ्गोलियनहरूको शारीरिक रूपरङ वेशभूषा र यावत् कुराहरू पनि मिल्दो भएको हुँदा दुवै जाति एकै हुन सक्ने वैज्ञानिक तर्क पनि एक हदले विश्वासिलो आधार देखिन्छ ।

वास्तवमा यो जाति पहाडभित्र रहेका किरात बोली बोल्ने मङ्गोलहरूबाट आर्य भाषा ग्रहण गरी अलग जाति बनेका देखिन्छ । मङ्गोल भए तापनि मङ्गोलियाबाट सरासर हिमालका भन्ज्याङ काटेर आउनु एकदमै असम्भव छ । किनभने छैटौँ शताब्दीको अन्त्यमा मात्र हिमालको घाटी खुलेका थिए । हिमालका पूर्व छेउको ब्रह्मपुत्रको किनाराको घाटी अति प्राचीन युगदेखि खुलिरहेको र त्यहाँबाट आएका मङ्गोल जातिका शाखाहरू वेदी आसाममा र वेदी पूर्व बङ्गालमा पुगी त्यहाँका बासिन्दासँग मिसिएको लक्षण मनुष्य मिति (Anthropopetry) का कसीबाट स्पष्ट देखिन्छ । ब्रह्मपुत्रको घाटीबाट आखेटक अवस्थामा निस्केका केही मङ्गोलहरू हिमालको दक्षिणपट्टि काखैकाख पल्ला छेउसम्म पुगेर पुराना बासिन्दामा मिसिनु सम्भव छ । तर हिमालदेखि उत्तरपट्टिका सबै भाषा असार्वनामिक भएको र केही किरात बोली आजसम्म सार्वनामिक रहेका हुनाले ब्रह्मपुत्रबाट आएका मङ्गोलहरूको हिमालका किरातउपर विशेष असर परेको देखिँदैन । यिनीहरूको रङरूपमा जो मङ्गोलक लक्षण पाइन्छ । त्यो पहाडी जमिनको प्रभावले बनेको अनुमान गर्न सकिन्छ । यसकारणले यिनीहरूको मूलघरको खोजी गर्दा हिमालभन्दा बाहिर जान सकिँदैन ।

|| ५ ||

जातीय सङ्गठन

थारूहरूको शारीरिक बनावटलाई झट्ट नियाल्दा मङ्गोलियन जातिहरूको जस्तै: वर्ण काला, थेप्चो नाक, होचो, मोटा हुन्छन् । यिनीहरूको शारीरिक बनावट कुमाल जातिसँग मिल्दोजुल्दो देखिन्छ । महन्त, मोरङिया, राना, दङौरा, धकेर, कोचिला, चितौनिया, वाटर, भतगामिया, खुना, रौतार, दगारू, खस दोनवार, खौसिया, माझी आदि बत्तीस थरहरू रहेका थारू जाति समाजमा अलि आर्थिक रूपमा सम्पन्न हुनेहरू आफ्नो नामको पछाडि चौधरी, राय र खाँ थर पनि राख्ने गरेका छन् । माथि उल्लिखित थरहरूमध्ये दोनवार थारूहरूले चोखोनितोमा बढी ध्यान दिन्छन् ।

उनीहरू जातबारे आपसमा कुरा गर्दा प्रधान र अप्रधान भन्ने दुई वर्गको अलि तलमाथिको औकात र उत्पत्ति भएका हुन्छन् भन्ने कुरा गर्छन् । अप्रधानहरूलाई अलि तल भनी ठान्ने गर्छन् । तर यो विभाजन अलि शिक्षित थारूहरूमा मात्र चर्चा हुने हुनाले साधारणतया उनीहरूको आपसमा जातको सानो–ठूलो गर्ने चलन छैन । यद्यपि धनी र गरिबको बीचको तलमाथिको भिन्नता भने ठाउँठाउँमा भएको देखिन्छ । प्रधान र अप्रधान मिलाएर भौगोलिक आधारमा कुनै खास एक क्षेत्रसँग सम्बन्धित बयानको नामले वर्गीकरण गर्ने पनि चलन छ ।

|| ६ ||

परिवार

परिवार सामाजिक संरचनाको पहिलो खुड्किला हो । मनुष्य जातिको सभ्यता भन्नु नै परिवार हो । परिवारबाट नै समाजमा रहेका प्रत्येक नागरिकको व्यवहारमा परिवर्तन ल्याई सभ्य समाजको बाटोतर्फ अग्रता दिलाउन मदत मिलेको हुन्छ । तसर्थ कुनै पनि समाजको रीतिरिबाज, रहनसहन र जातीय सङ्गठन बुझ्नका लागि परिवारका बारेमा जानकारी लिनुपर्ने हुन्छ ।

थारू समुदायमा परिवार सामाजिक संरचनाको एक अभिन्न एकाइ हो । यिनीहरू प्रायजसो एउटै परिवारमा बस्न रुचाउँछन् । एक परिवारमा १० देखि २५/३० जनाको सम्म हुन्छन् । यद्यपि आधुनिक प्रभावका कारणले गर्दा विवाह गर्नासाथ छुट्टिने चलन पनि चल्न थालेका छन् । छुट्टिँदा घोराइटाद्वारा समाज राखी छुट्याउने गर्छन् । यी जातिका समाजमा आइमाईहरूको ज्यादै नै महत्व रहेको हुन्छ । घरायसी कामकाजमा घरबूढी सर्वेसर्वा हुन्छ । घरायसी कामकाजमा कान्छी बुहारीले चुलोचौकाको काम गर्छन् । कतिपय ठाउँहरूमा पुरुषले स्त्रीको खुट्टा मिच्नुका साथै पुरुषले आँफैले खाएको जुठो थाल आफैँले माझ्नुपर्ने चलन छ ।

थारू जातिको पारिवारिक व्यवस्थालाई हेर्दा महिला नै सर्वेसर्वा देखिन्छ । आमाले गृहस्थी चलाउँछन् भने सासूको निर्देशनमा जेठी बुहारीले घरायसी व्यवहारको जिम्मा लिन्छिन् । कान्छी बुहारीले घरायसी काम धेरै गर्नुपर्दछ । बच्चा नजन्माउँदासम्म कान्छी बुहारीले टाउकोमा घुम्टो ओढ्नपर्ने चलन छ । आफूले मान्नुपर्ने पाहुनापास घरमा आयो भने पनि खुट्टामा छोई ढोक्नुपर्ने हुन्छ, साथै सबैलाई खाना खुवाएपछि अन्तिममा आफैँ खाना खाने र सुत्नुपर्ने हुन्छ । यसरी थारू जातिमा कान्छी बुहारीको जीवन कष्टकर रहन जान्छ ।

पहिरन र गहना

पुरुषले केश पाल्ने चलन समाप्त भए पनि दाङ, देउखुरी तथा त्यसभन्दा पश्चिमतिर फाटफुट यो चलन अझै पनि देखिन्छ । थरुनीहरू जुरो बाँध्नेलाई ‘खोया बाँध्नु’ भन्दछन् ।

थारू जाति वरिपरिका अन्य बस्तीको रहनसहन, हावापानी र बाह्य सम्पर्कबाट प्रभावित भएको देखिन्छ । तराई क्षेत्रमा बसोबास गर्ने हुनाले कम लुगा लगाए तापनि आफ्नै संस्कृति झल्कने खालका पहिरनहरू पहिरहन्छन् । पुरुषहरू धोती (अगौछा), इस्टकोट, भुल्वा, (भोटो) र मौसमअनुसार कमिज, स्वेटर आदि लगाउँछन् । अहिले युवा पुस्ताहरू आधुुनिक किसिमका कपडाहरू लगाउन थालिसकेका छन् । महिलाहरू मुजैमुजा परेको फरग (नेहेगा) र चोलो लगाउने प्रचलन छ । यी जातिको भाषामा विवाहित महिलालाई गोही र अविवाहित महिलाहरूलाई बदिनी भन्ने गरिन्छ । गोहीहरूले चोलो अगिल्तिर तुना र बदिनीहरूले चोलो पछिल्तिर तुना बाँध्ने गर्छन् । युवतीहरू पनि आधुनिक किसिमको पहिरन लगाउन थालेका छन् । विवाहित र अविवाहित महिलाहरू स्पष्ट रूपमा छुट्याउन सकिन्छ । विवाहित महिलाहरूले हातखुट्टामा गोदान (टाटु) खोप्ने गर्छन् भने अविवाहित महिलाहरूले खोप्दैनन् । कुनै ठाउँमा पुरुषले पनि हात र छातीमा गोदान (टाटु) खोप्ने चलन छ । यी जातिका महिलाहरूका प्रचलित गहनाहरूमा पछेल्ली, ढेडिया, दरकी, चात्था आदि हुन । यिनीहरूको गहना सिलवरद्वारा निर्मित हुन्छन् । सुनका गरगहनाहरू यिनीहरू लगाउँदैनन् ।

थारूहरू केशविन्यासमा निकै निपूर्ण हुन्छन् । कुनैकुनै पुरुषले पनि केश पालेर जुरो बाँधेर देखिन्छ । पुरुषले केश पाल्ने चलन समाप्त भए पनि दाङ, देउखुरी तथा त्यसभन्दा पश्चिमतिर फाटफुट यो चलन अझै पनि देखिन्छ । थरुनीहरू जुरो बाँध्नेलाई ‘खोया बाँध्नु’ भन्दछन् । थरुनीहरूले केशको खोपा बनाएर चाडीदेखि लिएर प्रलामसम्मका सुइदा लगाएका हुन्छन् । खोपामा फेडतिर फूलबुट्टा भएका धातुकै झुम्का झुन्ड्याइएका हुन्छन् । यसका साथमा रङ्गबिरङ्गी धागाका लाछा पनि प्रयोग गर्दछन् । पुरुषले केशको जुरो खोपा जस्तै बाँधे पनि अन्य शृङगारका साधन प्रयोग गरेका हुँदैन ।

|| ७ ||

खानपान

थारू समाजमा अन्य नेपाली समुदाय जस्तै ः सामान्यतया खानेकुराहरू खान्छन् । बिहान चियाको साथ चिउरा, भुटेको मकै आदि खान्छन् भने कसैले चियाको सट्टामा जाँडरक्सी खान्छन् । बिहानै खानाको रूपमा आर्थिक रूपमा सम्पन्न हुनेहरू भात र अन्यले मकै अर्थात् कोदाको ढेँडोको साथमा दाल तरकारी र चटनी खान्छन् । यिनीहरू बेलुका पनि बिहानको जस्तो खाना खान्छन् । कुखुरा, खसीको मासुको साथै माछा, गँगटो, चेपागाडा, मुसा खाने गर्दछन् ।

अर्थतन्त्र

तराईका मलिला फाँटहरूमा बसोबास गर्ने थारूहरू अर्थतन्त्र पनि कृषिमा नै आधारित छ । कृषिको अलावा यिनीहरू गाई, गोरु, भेडा, सँगुर, हाँस, कुखुराहरू पाल्छन् । आर्थिक स्थिति मजबुत रहेका थारू व्यापार र सानातिना उद्योगधन्दातिर लागेका छन् भने कमजोर आर्थिक स्थिति भएकाहरू ज्यालामजदुरी गर्ने, साहूमहाजनको घरमा हली बसेर भए पनि आफ्नो जीविका चलाइरहेका छन् । थारूहरू धेरै जग्गाका मालिक छैनन् । थोरै जनाले वर्षभरि उब्जनी गरेका अन्नले जेनतेन पु-याउँछन् भने धेरै जनाले वर्षभरि खान पु-याउन सकेका छैनन् । थारूहरू मेहनती एवं परिश्रमी हुनाले अन्नहरू प्रशस्त उब्जाउँछन् । तराईका मलिला फाँटहरूमा धान उब्जनी गरी मुलुकका विभिन्न भागमा पु-याउने थारू जाति नै हुन् । अन्नबाली सबैभन्दा बढी धानखेत गर्न रुचाउँछन् । परम्परागत खेतीलाई छाड्दै आधुनिक खेतीलाई अँगालेको हुनाले नै अन्न उत्पादनमा बढी उब्जनी भएको हुँदा अहिले आर्थिक अवस्था राम्रो रहेको छ । यिनीहरूको बाह्य र घरायसी काममा पुरुष नै ज्यादा खट्छन् । महिलाले भने काम नै गर्दैनन् भन्न खोजिएको होइन । महिलाले पनि काम गर्छन् । तर कम परिश्रम गर्नुपर्ने काम जस्तै: खाना पकाउने, फुर्सदको समयमा ढकी, गुन्द्री र चटाई बनाउने काम गर्छन् । थारूहरू आफूले कमाई भोजभतेरमा सक्छन् । तसर्थ भोजभतेरमा गरिने खर्चको तडकभडक कम गर्दै जानु बेस होला । अहिले फाटफुट रूपमा सैनिक, प्रहरीका साथै गैरसरकारी सङ्घसंस्थामा संलग्न रहेको हुँदा उनीहरूको अर्थतन्त्रमा थप टेवा पुग्न गएको देखिन्छ ।

धर्म

यिनीहरू हिन्दूधर्म मान्छन् । प्रत्येक परिवारको घरमा गृहदेवता हुन्छन् । गृहदेवतालाई पूजाआजा गर्दा बलिको रूपमा परेवा, हाँस भोग दिइन्छ । थारूहरू बसोबास गरेको गाउँबस्तीको नजिक देवस्थानको स्थापना गरिएको हुन्छ । चाडपर्व र कुनै शुभकार्य गर्दा देवस्थानमा गई पूजाआजा गर्ने गरिन्छ । यिनीहरू टुनामुना भूतप्रेतमा विश्वास राख्छन् । घरपरिवारमा कुनै सदस्यलाई रोगव्याधि लागेमा र खेतबारीमा कीराफट्याङ्ग्राहरूले दुःख दिएमा समेत धामीझाँक्री लगाउने चलन छ ।

धार्मिक दृष्टिले केही थारूहरू नाम मात्रको हिन्दूधर्म अर्थात् ब्राह्मण धर्म मान्दछन् र तत्सम्बन्धी कृत्य ब्राह्मणद्वारा गराउँदछ । चितौनिया थारूका पुरोहित नेपाली ब्राह्मण नै हुन्छन् । बोटे र माझी थरको थारू हिन्दू जस्तो देखिए पनि ब्राह्मण धर्म मान्दैनन् र भूतप्रेतमा आस्था राख्दछ । त्यसबाहेक पुरोहितको साटो सबै कामकाज पनि भानिजबाटै चलाउँछ । यस्ता थारूहरू यदाकदा भानिजको अभावमा आपनै वर्गको पुरोहित गुरौ वा गुरुवा, भर्रा वा सोखबाट पनि अपवादका रूपमा काम लिइन्छ ।

|| ८ ||

थारूहरूको गाउँमा धामीझाँक्रीको ठूलो भूमिका हुन्छ । भूतप्रेत र बोक्साबोक्सीबाट बच्न धामीले विभिन्न प्रकारको जन्तर पनि दिन्छ ।

अन्धविश्वास

थारू परिवारमा धामीझाँक्री, भूतप्रेत, बोक्साबोक्सी आदि मान्ने चलन अचेल पनि छँदै छ । बोक्साबोक्सीले दुई तरिकाले काम गर्दछन् । एकले परिवारलाई रोगव्याध र असन्तोष दिन्छ भने अर्कोले त्यसलाई अलग्याउने प्रयास गरिन्छ । बोक्सीको आँखा लाग्यो भने मानिसलाई जनावर बनाइदिन्छे भन्ने विश्वास छ । कसैकसैले त भूतप्रेतसँग मिलेर परिवारलाई नाश गर्दथे भन्ने विश्वास पाइन्छ । थारूहरूको गाउँमा धामीझाँक्रीको ठूलो भूमिका हुन्छ । भूतप्रेत र बोक्साबोक्सीबाट बच्न धामीले विभिन्न प्रकारको जन्तर पनि दिन्छ । धामीले पढेको मन्त्रमा असीमित दैविक शक्ति छ भन्ने थारूहरूलाई विश्वास छ । धामीले अनौठो रोग निको पार्दछ । थारूहरूका पर्व कृषिकार्यमा पढिने मन्त्र धेरै छन् । रोगीलाई मन्त्र फुकेर तुलसीको पातले माथिदेखि तलसम्म सुमसुम्याएर निकाल्दछ । यो मन्त्र गर्दा एउटा कचौरा, परालको त्यान्द्रो, पाँचवटा तुलसीको पात, धूप, बत्ती, दियालो, अलिकति धान, चामल र एक लोटा पानी राखिन्छ ।

|| ९ ||

नेपाली भाषाभाषी समाजमा घातक अभिचार गर्ने पुरुषलाई बोक्सो र स्त्रीलाई बोक्सी भन्ने चलन छ ।

थारूहरू

भूतप्रेतमा विश्वास राख्ने हुँदा बाहिरिया मानिसहरू थारूहरूको तन्त्रमन्त्रबाट डराउँछन् । भूतप्रेतमा आस्था राख्ने थारूभन्दा भिन्न समाजमा अनभिज्ञ बाहिरिया व्यक्तिहरू बोक्साबोक्सीको उत्पत्ति धरौटबाटै भएको हो भन्ने कुरामा विश्वास गर्दछन् । थारूलाई थारूबाहेकका मानिसले घृणाको दृष्टिले हेर्दछन् । यस्तो घृणाको भावना थारूबाहेकको समाजमा कसरी आयो जसमा विचार गर्नु आवश्यक छ । थारू समाजमा घातक अभिचारप्रति बढी आस्था राख्ने चलन छ । नेपाली भाषाभाषी समाजमा घातक अभिचार गर्ने पुरुषलाई बोक्सो र स्त्रीलाई बोक्सी भन्ने चलन छ । बोक्साबोक्सी शब्दको जरो केलाएका खण्डमा हामी केही ऐतिहासिक तथ्यमा पनि पुग्न सक्दछौँ । नेपाली भाषामा बोक्साबोक्सी शब्दलाई घृणाको अर्थमा लिइने हुँदा बोक्सा थरका थारू अचेल आफूलाई बोक्टान पनि भन्न थालेका छन् । त्यसै कारण आज बोक्साबोक्सी भन्दा त्यस थरका थारू–थरुनी भन्ने अर्थ आउँदैन ।

|| १० ||

२४ दिनअगाडिदेखि अधिक मात्रामा माछा, मासु र जाँडरक्सी खाने गरिन्छ । नजिकैको खोलानदीमा स्नान गर्ने र देवतालयमा दर्शन गर्ने गर्छन्–थारूहरू ।

पर्व

हिन्दू परम्पराअनुसार मनाइने सबै चाडपर्व मनाउँदै आएका छन् थारूहरू । दसैँ, तिहार मुख्य चाडहरू हुन् भने श्रीकृष्ण जन्माष्टमी, फागु पूर्णिमा, माघे सङ्क्रान्ति, शिवरात्रि, साउने सङ्क्रान्ति, एकादशी, चैते दसैँ, नयाँ वर्ष आदि पर्वहरू विशेष किसिमले मनाउँदै आइरहेका छन् ।
वडका इतवार पर्व:  थारूहरूको ठूलो चाड हो । यो चाड भाद्र महिनाको अन्तिम सातामा मनाउँछन् । अन्य जातिले दसैँ, तिहार चाड जसरी मनाउँछन् त्यसरी नै यिनीहरूले मनाउँदै आएको छ यो चाड । सिरुवा पावैन शब्द यिनीहरूको भाषामा नयाँ वर्ष हो । नयाँ वर्ष वैशाखमा पर्ने हुँदा सिरुवा पावैनलाई वैशाखी पनि भनिन्छ । यो पर्व मनाउन थारू १० दिनअघिदेखि घरलाई सिँगार्ने, लिपलोत गर्ने र विभिन्न खानेकुराको जोहो गर्छन् । गृहदेवताका साथै अन्य देवीदेवतालाई जल चढाउनुको साथै पूजाआजा गर्छन् । चढाइएको जल परिवारको मूलीले अन्यलाई टाउकोमा छर्किदिई आशीर्वाद दिन्छन् । यस बेला नयाँ लुगाका साथै मीठो खानेकुरा खान्छन् । यस पर्वमा स्थायीहरू रातभर भजनकीर्तन गरी बस्छन् । भजनकीर्तन गर्नुको मुख्य कारण ग्राम देवतालाई खुसी पार्नु हो । यस पर्वमा थारूहरू एकआपसमा शुभकामना आदानप्रदान गर्नुका साथै रङ दल्छन् । अझ, थारू बस्तीमा मेलासमेत भर्दछन् । पूर्वीय थारूहरूमा यो पर्व एक महिनासम्म मान्ने चलन छ ।

माघी पर्वलाई थारूहरू दसैँभन्दा ठूलो चाडका रूपमा लिन्छन् । यो चाड माघ महिनामा मनाइन्छ । २४ दिनअगाडिदेखि अधिक मात्रामा माछा, मासु र जाँडरक्सी खाने गरिन्छ । नजिकैको खोलानदीमा स्नान गर्ने र देवतालयमा दर्शन गर्ने गर्छन्–थारूहरू । देवतालयमा दर्शन गर्न श्रीमान्श्रीमतीको आगमन बढी नै हुने गर्छ । जायजन्म सफल भएको र आगामी दिनमा पनि सफल होस् भन्ने ध्येयले दर्शन र पूजापाठ गर्ने गरिन्छ । भाकलको रूपमा पशुपक्षीको बलिसमेत दिने गरिन्छ । यस पर्वमा पशुको दूध नदिने र केही घन्टा छाडा छोडिदिने पनि गर्दछन् । रातको समयमा थारूका युवतीहरू एक ठाउँमा जम्मा भई गाउँघरमा नाचगान गरी रकम उठाई भोज खाने गर्छन् । यसै पर्वमा महिला र पुरुष दोहोरो लाइनमा बसी धार्मिक गीत गाउँछन् । यसो गरेमा बस्तीबाट बोक्सी भाग्ने मान्यता रहेको छ । माघी पर्व ५/६ दिनसम्म चल्छ ।

स्थानीय भेदले गर्दा एउटा क्षेत्रका थारू जातिको भाषा एउटा छ भने अर्को क्षेत्रमा रहने थारू जातिको भाषा अर्कै देखिन्छ ।

लोकसाहित्य

नेपालमा साहित्यको विकासक्रम ऐतिहासिक दृष्टिबाट भर्खरभर्खर सुरु भएको मान्नुपर्दछ । नेपालमा विभिन्न जनजाति बसोबास गर्दछन् । नेपालको राष्ट्रभाषा नेपाली हो । नेपालमा बसोबास गर्नै नेपाली जनजीवनको आफ्नै मातृभाषा देखिन्छ । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराईमा बसोबास गर्ने थारू जाति हो । स्थानीय भेदले गर्दा एउटा क्षेत्रका थारू जातिको भाषा एउटा छ भने अर्को क्षेत्रमा रहने थारू जातिको भाषा अर्कै देखिन्छ । उनीहरूको भाषामा स्थानीय प्रभाव पाइन्छ ।

थारू जातिले रचना गरेका लोकगीतहरू पाइन्छ । थारू जातिबाट आफ्नो समाजका कुरीतिहरू हटाउनका लागि पत्रपत्रिकाहरू पनि निकाल्न थालेका छन् । यी पत्रपत्रिकाहरूमा प्रकाशित लेख, कविता, कथा, लोकगीत नेपाली राष्ट्रभाषा र थारू भाषामा लेखिएका पाइन्छ ।

||११ ||

हाँ हाँ रे पहिल ट बर्सल दुरिया ढुक्कुन ।
अब डैया कलजुग घेरल मिरटी भुवन ।१

हाँ हाँ र डोसार ट बर्सल अरानी कइ लेडा ।
अब डैया चारी पाउ कलजुग घेरल मिरटी भुवन ।२

हाँ हाँ र टीसर ट बर्सल कोइला कइ रेख ।
डैया कोइ नाहीँ टिकहीँ मिरटी भुवन ।।३

उक्त पाठ्यांश थारू लोकसाहित्यको अनुपम ग्रन्थ ‘गुर्बाबक जन्मौती’ बाट उद्धृत गरिएका हुन् । गुर्बाबक भनेका थारू समुदायका पहिला बुद्ध हुन् । विस्तृत रूपमा भन्ने हो भने थारू आध्यात्मिक चेतना संस्थापक, थारू दर्शनका मीमांसक, थारू कलाका सिर्जनहार भन्दा पनि अत्युक्ति नहोला ।

|| १२ ||

यस्तै गरेर थारू लोकसाहित्यको गहिरो अध्ययन सबैले गरिदिने हो भने न्युटन ब्रह्माणको विस्तार भइरहेको सिद्धान्तको प्रतिपादन भएको २५० वर्षपहिलेका थिए भने आइनस्टाइन बीसौँ शताब्दीका थिए । हुन त सन् १९१५ (वि.स.१९७२) मा प्रतिपादित आइन्सटाइनको सापेक्षतावादको सिद्धान्तले यस ब्रह्माण्डको विस्तार हुँदै गएको कुरा व्यक्त गरिसकेको थियो तर उनले आफ्नो गणितको सूत्रमा कस्मोलोजिक स्थिराङ्गको सूत्र पनि राखिसकेका थिए ।

|| १३ ||

पछि सन् १९२९ (वि.स.१९६८) मा एड्भिन हब्बलले यस ब्रह्माण्डको विस्तार हुँदै गएको तथ्य पत्ता लगाए । पेनरोज, स्टेफेन हकिङले बिग ब्याङ सिद्धान्तका बारेमा र यस ब्रह्माण्डको उत्पत्तिका बारेमा प्रकाश पारे । त्यसै बेलादेखि पृथ्वीको कुनै सिमाना नभएजस्तै यस ब्रह्माण्डको पनि कुनै सिमाना नभएको तथ्य प्रकाशमा आयो । बिग ब्याङ सिद्धान्तअनुसार करोडौँ वर्षपहिले यो ब्रह्माण्ड सङ्कुचित भई घनत्व भएर एउटा बिन्दुमा परिवर्तित भएको थियो । त्यो बिन्दु (थारू भाषामा औरा) यति घन र तातो थियो कि कुनै बेला पनि विस्फोट हुन सक्थ्यो । त्यस बेलासम्म न त कुनै प्रकाश थियो न त समयको आरम्भ नै भएको थियो । एक दिन घन र तातो अन्डा फुट्यो जसलाई वैज्ञानिकहरूले महाविस्फोटबाट ब्राह्माण्ड एवं एक तारा उत्पत्ति भयो ।

|| १४ ||

भित्तेचित्र

थारूहरूका घर खास गरेर भुइँतलाका हुन्छन् । भित्ता गाराहरू रातो र सेतो माटोले लिपिएका हुन्छन् । घरको मूल ढोकाका वरिपरि विभिन्न रङहरू मिसाएर चित्रहरू बनाइएको हुन्छ । चित्रहरू विशेषतः पशुपक्षीको कोरिन्छ । चित्रहरूले पवित्र, सौन्दर्य, स्वास्थ्य, सामाजिकताको भावना मुखारित गरिएको हुन्छ । भित्तामा प्रायजसो हात्तीको चित्र बनाउने गरिन्छ । तराई क्षेत्र अर्थात् जङ्गलछेउमा हात्तीले मच्याउने आङ्तकले गर्दा साङ्केतिक तरिकाले चेतना अभिवृद्धि गराउनका लागि हात्तीको चित्र बनाएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

यस्ता चित्रहरू मुख्यतः विशेष चाडपर्वका दिन बनाइने गर्दछ । भित्ते चित्र लेखन नेपालका अनेकन् देवदेवालयको भित्ताहरूमा प्राचिन कालदेखि नै कोर्ने चलन थियो । त्यस्तै भित्ते चित्र लेखन युरोपेली देशका साथै मित्रराष्ट्र भारत र चीन जस्ता मुलुकमा पनि देखिन्छ ।

छुवाछुत

वर्ण व्यवस्थाभित्र मात्रै छुवाछुत प्रथा छ भन्नेहरूका गालामा थारूहरूले पनि राम्रै थप्पड जमाएका छन् । यिनीहरूमा राना थारूलाई उपल्लो दर्जाको कुलीन र बातर थारूलाई सारै नीच मानिन्छ ।

|| १५  ||

लोकनृत्य

थारू जातिमा नाचगान संस्कृति नै हो । जुनसुकै मेलापर्वमा नृत्य गर्दा नर्तकीहरू आकर्षक पहिरनमा सजिएका हुन्छन् । प्रायजसो केटा र केटीको दोहोरो भाकामा गीतको बोलमा नृत्य प्रदर्शन गर्दछन् । झमटा, जगाजटिन, सोरठी आदि लोकनृत्यहरू यस समाजमा उल्लेखनीय छ ।
परम्परागत रूपमा थारू समाजमा चलिआएका सांस्कृतिक नृत्यहरूमा विशेष महŒवपूर्ण नृत्यहरूमध्ये केही नृत्यहरूको सामान्य परिचय

यहाँ प्रस्तुत छ:

१) सखिया नृत्य: यस नृत्यमा महिलाहरू मात्र नाच्ने गर्दछन् । यसमा मादल पुरुषले बजाउँछन् ।
विभिन्न तालमा यो नाच नाचिने गरिन्छ ।
२) कठछोरी नृत्य: यस नृत्यमा पुरुषहरू मात्र नाच्ने गर्दछन् । यस नृत्यमा मादल पुरुषहरू नै बजाउँछन् । काठको घोडामा चढेर पुरुषहरू यो नृत्य गर्दछन् ।
३) झुमरा नृत्य: यस नृत्यमा पुरुषहरू महिलाजातिको कपडा लगाई नाच्छन् । यस नृत्यमा पुरुषहरू नै मादल बजाउँछन् ।
४) वडामुडा नृत्य: यो नृत्य थारू जातिमा पर्वपर्वमा गरिन्छ ।
५) खोन परूवा नृत्य: यो नृत्य पनि थारू जातिमा विशेष पर्वमा गरिन्छ ।

|| १६||

भाषा

थारूहरूको मुख्य भाषा नै थारू हो । नेपालको विशेष गरेर रौतहट, धनुषा, सप्तरी, मोरङ, झापा, सुनसरी, उदयपुर, चितवन आदि जिल्लामा थारू भाषाबाटै बातचित गर्ने यिनीहरूको निकटतम सम्बन्ध मैथिली भाषासँग रहेको पाइन्छ । पूर्वी नेपाल तराईस्थित सप्तरी जिल्लामा बसोबास गरेका थारूहरूले आफ्नो भाषा बोल्न छाडी मैथिली भाषा बोल्न थालिसकेका छन् । यद्यपि थारूहरूको कुनै साहित्यिक भाषा भने छैन तापनि थारू जातिसँग शब्दका भण्डार नभएका भने होइन । थारू भाषामा कसलाई के भनिन्छ ? तल हेरौँ ।

(क) नातागोता बुझाउने शब्दहरू:

नेपाली भाषा थारू भाषा
हजुरबुबा बुडु
हजुरआमा बुढी
बुबा बाबा
आमा द्राइ
दाजु दादा
भाइ भैया
मामा मामा
माइजू माई
भाउजू भौजी
नन्द नन्द्रिया
देवरानी देउरानीया
देवर देउरूवा
भिनाजु भाटु
दिदी दिदी
छोरा छाई
साथी गोचा
मीत मितुवा

(ख) पशु बुझाउने शब्दहरू:

गाई गैया
गोरु बर्ढा
भैँसी भैँसिया
राँगो भैँसा
बाघ वाघुवा

(ग) रङ बुझाउने शब्दहरू:

कालो करीयर
सेतो उज्जर
हरियो हरीया
रातो लाल
पहेंलो पियर

(घ) क्रियापद बुझाउने शब्दहरू:

रुनु रोइटा
हाँस्नु होश्य
ढकल्नु जिस्टा
खसाल्नु मारता
तरकारी काट्नु लसरी काट्ता
भात पकाउनु भात पकाउँटा
लखेट्नु रगेटो
बोक्नु वोकटा
मलामी जानु लास लैजाटा

(ङ) थारू भाषाका केही वाक्यहरू:

खाना खायौ ? खाना खैलो ?
घरको काम राम्रोसँग गरे । घरक काम ठुन्यार से करहो ।
बसमा भीड होला । गारीमा भिर हुई ।
बुबाले गाली गर्नुहुन्छ । बाबा उस करहीँ कि ?
आएकी छैन । नै आइल हो ।
बोलाएर आ । बोलाक आन ।
बिहानै चोखो बनाइसके । विन्हयाक चोखो डर्नु ।
पर्खाल लगाउने हो ? पर्खाल लगैना हो ?
तँ र म एक पटक मन्दिर जाऊँ न । तैँ ओ मैँ एक चो मन्दिर जाई ।
फोटोग्राफी कला नयाँ कला हो । फोटोग्राफी कला लावा कला हो ।
वैध कलामा थारू समुदाय अब्बल रहेको छ । वैध कलामे थारू समुदाय अप्बल रहल बा ।
कलाको रूपमा चिनिन्छ । कलाके रूपमे चिनजाइठ ।

शिक्षा

परम्परादेखि नै ठूलठूला रूखकोमूनी बसोबास गर्दै आएका थारू जाति शिक्षाक्षेत्रमा पछाडि नै परेको छ । यसै हुनुमा उनीहरूको खेतबारी पनि नहुनु र भए पनि कम हुनाले र जमिनदारसँग ऋण लिएर जीवन गुजारा चलाउने काममा नै व्यस्त हुनुपर्ने हुनाले । अझ महिलाहरूलाई स्कुल पठाउनु भनेको मानप्रतिष्ठानको विरुद्ध हुने कुरा बुभ्दछन् थारूहरू । यसरी शिक्षाको कमीले गर्दा अन्धविश्वासको जालोमा बेरिएका छन् । मुलुकमा प्रजातन्त्र पुनर्बहालीपश्चात् नेपाल सरकारले गाउँगाउँमा विद्यालय स्थापना गरेको र अन्य समुदायको अनुसरणको बाबजुद आफ्ना साना नानीहरूलाई शिक्षाप्राप्तिको लागि विद्यालय पठाउन थालेका छन् थारूहरू । अहिले मुलुक गणतन्त्रमय भएपश्चात् उच्चशिक्षा हासिल गरेका थारूहरूले राज्यको प्रायजसो निकायमा संलग्न रहने अवसर मिलेको छ ।

सामाजिक संस्कारहरू

थारूहरूको समाजमा जन्मदेखि मृत्युसम्म मनाइने आफ्नै किसिमका संस्कारहरू रहेका छन् ।

जन्मसंस्कार

शिशुको जन्मघरमा नै भएको शुभ मानिन्छ भने गर्भिणीलाई अलि गाह्रो परेको खण्डमा अहिले अस्पतालतिर पनि लग्ने गरिन्छ । शिशु जन्मेको छैटौँ दिनमा छैटी गरिन्छ । त्यस दिन बच्चालाई नयाँ लुगा लगाइदिइन्छ । बाह्रौँ दिनमा बरही गरिन्छ । त्यस दिन घरमा चोखोनितो गरी आफ्नो कुलदेवताको पूजापाठ गरिन्छ ।

थारू समाजमा जब महिलाको गर्भ रहन जान्छ तब गर्भिणी महिलाको स्वास्थ्यस्थितिबारे चनाखो हुन्छन् । गर्भिणी महिलाको हेरचार गाउँकै एक जान्ने महिलाको जिम्मा दिइन्छ । यस जातिको भाषामा त्यस महिलालाई चमाइन भनिन्छ । चमाइनले स्याहारसुसार गरेबापत केही रकमका साथै अन्नपात र लुगाफाटा दिइन्छ । शिशुको जब जन्म हुन्छ तब धारिलो हतियारले नाइटो काटिन्छ । बच्चा जन्मेको कोठाको ढोकामा ६ दिनसम्म गोबरद्वारा निर्माण गरिएको गुइँठोमा पिना मिसाएर बालिन्छ । यसरी बाल्नुको खास कारण बोक्सीले जन्मेको बच्चा र आमालाई दुःख नदेओस् भन्नु हो । शिशुको जन्मघरमा नै भएको शुभ मानिन्छ भने गर्भिणीलाई अलि गाह्रो परेको खण्डमा अहिले अस्पतालतिर पनि लग्ने गरिन्छ । शिशु जन्मेको छैटौँ दिनमा छैटी गरिन्छ । त्यस दिन बच्चालाई नयाँ लुगा लगाइदिइन्छ । बाह्रौँ दिनमा बरही गरिन्छ । त्यस दिन घरमा चोखोनितो गरी आफ्नो कुलदेवताको पूजापाठ गरिन्छ । बच्चालाई इनार वा कलमा छुवाइनुका साथै दियो बत्ती बाली बच्चाको टाउकोमा राखिन्छ । बच्चाको नाम जन्मेको ६ महिनामा र कसैले अलि पछि राख्छन् । बच्चाको न्वारान गर्दा घरका जेठाबाठोले नाम जुराउने काम गरिन्छ । बच्चाको नाम विशेषतः जन्मेको दिन, बार, महिना र देवीदेवताहरूको नामबाट राखिन्छ । त्यस्तै बच्चाको व्रतबन्ध ५ वर्षभित्रमा गरिन्छ । व्रतबन्ध गर्दा बच्चाको कपाल छुराद्वारा काटिन्छ । केशमुण्डन बालकको मामा अथवा नाऊले गर्छन् । त्यस समयमा घरमा जेठाबाठाले कुलदेवतालाई जोडी परेवाका साथै बोका बलि दिई आफन्त र घरगाउँलेहरूलाई भोज खुवाउने चलन छ ।

विवाहसंस्कार

थारू समुदायमा विवाहसंस्कार महत्वपूर्ण रूपमा लिइन्छ । यस संस्कारलाई थारू हर्षोल्लासका साथ मनाउँछन् । साधारणतया दुलाहाको उमेर १५/१६ र दुलहीको उमेर १४/१५ वर्ष पुगेपछि विवाह गर्ने चलन छ । आधुनिक विकासका कारण यिनीहरू अहिले परिपक्व भएपछि मात्र विवाह गर्न थालेका छन् । विवाह विशेष गरेर फागुण र वैशाख महिनामा मात्र गर्ने गर्दछन् । थारू जातिमा मागीविवाह बढी आदर्शात्मक विवाहको रूपमा लिइन्छ । तथापि थारू जातिका युवायुवतीहरू मेलापात, हाटबजारमा जाँदा एकआपसमा माया बसेमा प्रेमविवाह हुने गर्छ र प्रेमविवाह भएमा दुलाहा–दुलहीलाई एकै ठाउँमा राखी मागीविवाहमा गर्ने संस्कारहरू गरेपछि सो विवाहले समाजमा मान्यता पाउँछ ।
थारूहरूमा परम्परागत बिहे पद्धतिबाहेक बिहेका अन्य दुई प्रकार पनि छन् । उही भोज र घर बैठाई भोज । केटाले केटी भगाएर लगी प्रेमविवाह भएकोलाई पश्चिममा थारूहरूले ‘उहिृ भोज’ भन्छन् । यसमा केटी भगाएर लगेको केटाले हामी फलाना गाउँमा छौँ भनेर खबर पठाउँछ । केटाको अभिभावकले स्वीकृत दिएमा ऊ दुलही लिएर घर आउँछ । उनीहरूलाई पर्छाएर घर भित्र्याइन्छ । यस्तो ‘उहिृ भोज’ लाई थारू समाजले नराम्रो दृष्टिले हेर्ने गरेको छ ।

थारू समाजमा विधवा विवाहले मान्यता पाएको देखिन्छ । लोग्नेले स्वास्नी छाडेमा या कुनै स्वास्नीमान्छेले लोग्ने छाडी बसिरहेको अवस्थामा अगुवाले त्यस्ता एक्लिएकाको सम्बन्ध जोडिदिने प्रयास गर्छन् । विधवा वा विधुर जीवन बिताइरहेकाहरू पनि यस्तामा पर्न सक्छन् । दुवैतर्फको कुरो मिलेमा केटीलाई केटाको घरमा ल्याएर राखिन्छ । साँझ गाउँको चौबाटोमा केराको खम्बा गाडिएको ठाउँमा दुलाहा–दुलहीलाई ल्याइन्छ । दुलाहाले केराको बोटलाई देखाएर दुलहीलाई सोध्छ– यो के हो ? त्यसको प्रत्युत्तरमा दुलहीले तपाईको जार हो भन्छे । दुलाहाले ‘काटौँ’ भन्ने पुनः प्रश्न गर्दा दुलहीबाट काट्नुहोस् भन्ने स्वीकृति पाउँछ । त्यसपछि दुलाहाले केराको बोटलाई छप्काउँछ । अनि पर्छिने विधि गरेपछि यो बिहे पनि सकिन्छ । परम्परागत विवाहपद्धतिको तुलनामा यो बिहे निकै कम खर्चमा सम्पन्न हुन्छ ।

|| १७ ||

यस जातिको मागीविवाहमा केटी माग्नु जानु विवाहसंस्कारको प्रथम कार्य हो । सम्भवतः विवाहअगाडि केटाकेटीको भेटघाट हुँदैन । केटी माग्न जाँदा केटीको तर्फबाट अगुवा केटी खोज्ने क्रममा जान्छ । अगुवा (मध्यस्थकर्ता) लाई थारू भाषामा लोराङ भनिन्छ । अगुवालाई मन परेको केटीको आमाबुबासँग प्रस्ताव राख्छ । सो प्रस्तावलाई मन्जुर गरेमा १६ वटा सुपारी साटासाट गरेर विवाहको टुङ्गो २÷३ वर्षपछि गर्ने निधो गर्दछ । त्यसपछि दुलाहाको घरबाट सगुनको रूपमा दाल, चामल लग्छन् । विवाह गर्ने क्रममा घरको आँगनमा दुलाहा र दुलहीलाई विभिन्न वस्तुहरू देखाइन्छ । यसै बेलामा आगोमा तोरी पड्काउने आदि कार्य पनि गरिन्छ । कन्यादान दिने बेलामा सबै पाहुनाहरूले दुलाहा र दुलहीको खुट्टा धोई टीका लगाइदिन्छन् र गोडधुवा दिन्छन् । दुलाहाले दुलहीको बूढी औँला समातेर सिलौटामा छुवाउने र दुलाहाले काँटा र सुन हातमा लिएर दुलहीलाई सिन्दूर हालिदिने कार्य गरिन्छ । विवाह गर्दा दुलाहाको गाउँको कुनै एक बच्चालाई राखिन्छ । सो बच्चा राखेबापत दुलाहाले बच्चालाई रू. ३० दिनुपर्छ । त्यस्तै जन्तीलाई भोज खुवाएबबापत भन्सारीलाई रु.३००, आमाको दूधको भारोबापत रु. २५० दुलहीलाई दुलाहासमक्ष जिम्मा लगाएपछि रु. २० दिनुपर्ने चलन परम्परादेखि जीवन्त रहेको छ । जन्ती दुलाहाको घरमा फर्कंदा बाटोमा पर्ने भुइँभुयारे मन्दिरलाई दाहिनेबाट घुम्दै ल्याउने गर्छन् ।

दुलाहाको घरको पश्चिम ढोकाअगाडि दुलही–दुलाहालाई डोली–डोलाबाट ओरालेर उभिन लगाइन्छ । उनीहरूको अगाडि पीठोले चित्र बनाइएको हुन्छ । दुलाहाको भाउजू या आमाले सो चित्रमाथि आगाको फिलिङ्गो ल्याएर राखिन्छन् । यसपछि दुलाहाकी आमाले चामल, तिल आदिले दुलाहा–दुलहीलाई पर्छिन्छिन् । अनि दुलाहा–दुलही घरभित्र पस्छन् घरभित्र दुलाहाका दिदी–बहिनी फुपू आदिले बाटो छेक्छन् । तिनीहरूले मागेको चीज दिने कबुल दुलाहाले गर्नुपर्छ । पश्चिमतिर साडी, केही रकम, गाईबस्तु आदि दिएर चेलीबेटीलाई मनाइन्छ भने पूर्वतिर चेलीबेटीहरूले बाटो छेकेबापत जग्गा–जमिनसमेत माग्छन् । देहुरार (देउता कोठा) मा पनि दुलाहा–दुलहीलाई दुलाहाकी आमाले पर्छिन्छन् । पर्छिएपछि दुलाहा–दुलहीको टाउको तीन या पाँचपल्ट भोजहीनहरूले एकआपसमा ठोक्याउँछन् । यसरी बिहेको सबै विधि सकिन्छ ।

|| १८ ||

जारीविवाह र पारपाचुके गर्न पाउने कानुन पनि छ । विवाहित महिलालाई कुनै युवाले लगेमा दस्तुरबापत रु. १००० दिने चलन छ । दस्तुर तिर्दा समाजमा रहेको गण्यमान्य उपस्थिति हुने गर्छन् । जारी तिरिसकेपछि उक्त विवाहले मान्यता पाउँछ । त्यस्तै लोग्ने र स्वास्नीबीच एकआपसमा चित्त नबुझेको खण्डमा सम्बन्धविच्छेद गर्न पाइन्छ । यसो गर्नका लागि पनि स्थानीय समाजसेवीको उपस्थिति रहन्छ ।

मृत्युसंस्कार

थारू समुदायमा कसैको मृत्यु हुनासाथ मृतकको परिवारको एक सदस्यले गाउँका सर्वमान्य (घोराइटा) लाई खबर गराइन्छ । खबर पाइसकेपछि घोराइटाले गाउँघरमा सो कुरा कहँदै हिँड्छ र तत्कालै मृतकको घरमा गाउँलेहरू जम्मा हुन्छन् । मृतकको लासलाई घोराइटाद्वारा लुगा फुकाइदिएपछि नुवाइधुवाइ गर्नुका साथै शरीरको पूरै भागमा तेल लगाइदिन्छन् । त्यसपछि सेतो कपडाले छोपेर घरको आँगनमा राख्दछन् । भेला भएका मलामीहरूले मृतकको पार्थिव शरीरमा फूलहरू चढाई अन्तिम दर्शन गर्ने गर्छन् । उक्त कार्य सकिएपछि घोराइटाले लासलाई बाँसद्वारा तयार पारिएको अर्थीमा राखी सेलाउनका लागि कसैले जङ्गलतर्फ लग्छन् भने कसैले नदीतर्फ पनि लग्ने गर्छन् । दाहसंस्कार गरेपछि मृतकका छोराहरूलाई कपाल खौरिदिने चलन छ । मलामीहरू पनि नुवाइधुवाइ गरी मृतकको घरमा फर्केपछि मृतकको चेलीबेटीहरूले मिठाई पानीमा घोलेर खान दिन्छन् ।

किरियापुत्रीहरू १० दिनसम्म कुना बस्ने गर्छन् । किरियापुत्रीले सेतो लुगा धारण गर्ने, लागु पदार्थ सेवन नगर्ने, चोखो खाने गर्छन् । किरिया १० दिनसम्म बस्छन् । कुनै थारू बस्तीहरूमा पीपलको बोटमा घैँटो झुन्ड्याई तेह्रौँ दिनसम्म किरियापुत्रीहरूले पानी हाल्ने चलन छ । काजकिरिया भइसकेपछि तत्कालै सुँगुर काटिन्छ । पुनः घोराइटाले मृत्युभोजमा समावेश हुनेहरू आ–आफ्नो तर्फबाट चामल, तरकारी आदि ल्याउँछन् । भोजमा सहभागी हुने पाहुनाहरूलाई मृतकको परिवारका सदस्यहरूले उचित सम्मानपूर्वक सुँगुरको मासु, रक्सी, चिउरा र गेडागुडीको तरकारी खान दिन्छन् ।

निष्कर्ष

नेपालको पश्चिमाञ्चल तराई क्षेत्रका केही जिल्लाहरूमा छरिएर रहेको र आधुनिक विकासका साथै सभ्यताहरूले भर्खर मात्र छोएका थारूहरू आफ्नै छुट्टै किसिमको संस्कृति रहेको छ । नेपालमा रहेका अन्य जनजातिको तुलनामा थारूहरूको संस्कृति अग्रस्थानमा नै रहँदै आएको छ । यी जातिले परम्परादेखि चलिआएको रीतिरिबाज, रहनसहनलाई जीवान्त राख्दै आएका छन् ।

थारूहरू नेपालमा आगमन कहाँबाट भएको भन्ने सम्बन्धमा मत बाझिए तापनि मुसलमानको आक्रमणपछि आफ्नो ज्यान जोगाउन भागेर आएको भन्ने भनाइ सर्वमान्य रहेको छ किनकि थारूहरू भारतको नैनीतालदेखि ब्रह्मपुत्र नदीसम्म फैलिएर बसेका छन् । यी दुई देशमा बसोबास गर्दै आएका थारूहरूका बीचमा तुलना गर्दा धार्मिक, सामाजिक, सांस्कृतिक गतिविधि र संस्कारहरू एकै किसिमको रहेका छ । शिक्षा, स्वास्थ्य र विकासका क्रममा थारू जाति निकै पछि परेका छन् । सांस्कृतिक रूपले हेर्ने हो भने यिनीहरू धनी रहेका छन् । थारू भाषा, लोकसाहित्य, कलाकौशल, रीतिरिबाज र परम्परालाई जीवन्त राख्न राज्यले पहलकदमी गर्ने हो कि ?

पादटिप्पणी

१, आचार्य, बाबुराम: थारू जातिको मूल घर कहाँ ? नेपाल सास्कृतिक परिषद पत्रिका २/२ (वैशाख २०१० वि.सं.), पृष्ठ १३-१४ ।
२, शर्मा, नगेन्द्र, नेपाली जनजीवन (साझा प्रकाशन, काठमाडौँ) वि.स.२०२५, पृष्ठ ५७ ।
३, बिष्ट, डोरबहादुर, सबै जातको फूलबारी, २०५२, पृष्ठ ८९ ।
४, ऐजन, पृष्ठ ९० ।
५, आचार्य, पूवर्वत्, पृष्ठ १४-१५ ।
६, विष्ट, पूर्ववत्, पृष्ठ ९१ ।
७, शर्मा, जनकलाल, हाम्रो समाज एक अध्ययन, साझा प्रकाशन काठमाडौँ, २०३९, पृष्ठ ४०३ ।
८, ऐजन, पृष्ठ ४० ।
९, रेग्मी, ऋषिकेशवराज, एक स्रोत तीन धारा, साझा प्रकाशन काठमाडौँ, २०३५, पृष्ठ १४८, १४९ ।
१०, शर्मा, पूवर्वत्, पृष्ठ ४०१, ४०२ ।
११, शर्मा, डा. मेदिनीप्रसाद, थारूजाति एक अध्ययन, साझा प्रकाशन, २०६४, पृष्ठ १५ ।
१२, झुसकउफ, जीजल (कोलाबोरेटर थारू अशोक ) म्यमट्रिस इट पोस्ड्स सी. एन्.आर. एस .पेरिस १९८९ ।
१३, गजुरेल, डा.छवि, ब्रम्हाण्डको मृत्यु, कान्तिपुर ।
१४, प्रज्ञा, शोधमूलक अद्र्धवार्षिक वर्ष १, अङ्क १ कात्तिक २०२७ पृष्ठ ९७ ।
१५, पाण्डेय, मधुसूदन, नेपालका जनताहरू, पैरवी प्रकाशन, २०६०, पृष्ठ ४३ ।
१६, सिह, प्रफुल्लकुमार: थारू लोकगीत पृष्ठ १९÷ पूर्वाञ्चल पुस्तक भण्डार (विराटनगर १९६८) ।
१७, चौधरी–कृष्णराज, विवाहको बोझले थिचिएका थारूहरू (कामना प्रकाशन समूह साधना मासिक काठमाडौँ) २०२७ भदौ १५, पृष्ठ –३६ ।
१८, ऐजन, पृष्ठ –४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top