२०७७, १४ मंसिर आईतवार


Bachchhaladevi Suppliers

चोटिला मुक्तकहरू

डबली खबर     पुष २२ २०७५ ११:३६


Trishuli Web Design Services in Nuwakot
Shreeram Shrestha

-श्रीराम श्रेष्ठ

अञ्जु सापकोटा अनु एक सक्रिय युवा साहित्यकार । विशेष त यिनी कविता, गीत, गजल र मुक्तकमा कलम चलाउँछिन् । पिता लेखनाथ र माता देवकी सापकोटाको कोखबाट वि.सं. २०४४ साउन १ गते नुवाकोटको सामरीमा जन्मी हालः मधुवन नगरपालिका वडा नं.६, मधुवन बजार, बर्दियामा स्थायी रूपमा बसोबास गर्दै आएकी अञ्जुको पहिलो रचना ‘मेरो वेदना’ शीर्षक कविता रहेछ । उक्त कविता वि.सं. २०५९ सालमा ‘बर्दिया टाइम्स’ पत्रिकामा छापिएको थियो । स्वास्थ्य सेवामा लाग्दै गर्दा सिञ्चित समयमा कविता काव्यमा आफ्नो समाजमा देखेको, भोगेको र सुनेको विषयलाई समेटेर रचना सिर्जना गर्नमा तल्लिन छिन् अञ्जु ।

स्रष्टा अञ्जु सापकोटा अनुसँग चिनाजान भएको एउटा घटना मानसपटलमा यसबेला ताजा भएर आइरहेको छ । वि.सं. २०५६/०५७ तिर हुनुपर्छ । राष्ट्रिय युवा तथा जुनियर रेडक्रस गोष्ठी बर्दिया जिल्लाको तत्कालीन ढोढरी गाउँ विकास समितिको राष्ट्रिय माध्यामिक विद्यालयमा एक हप्ते कार्यक्रम सञ्चालन भएको थियो । नुवाकोट जिल्लाबाट मेरो नेतृत्वमा हामी चार बर्दिया गएका थियौं ।

हामी नुवाकोटबाट आएको थाहा पाउना साथ अञ्जुले हामी भएको ठाउँमा आएर आत्मीयता साटेकी थिइन् । उनको घर पनि नुवाकोटको सामरीमा रहेछ पहिले । बसाइँ सरेर बर्दिया पुगेकी रहिछन् उनी । त्यसबेला चार कक्षामा पढ्दै थिइन् रे उनी । त्यसपछि हामी लामो समयसम्म बेखबर भएका थियौँ ।

जब नेपालमा पनि फेसबुक सञ्चालनमा आयो । मैले पनि फेसबुक चलाउन थालेँ । यस्तैमा एक दिन मेरो फेसबुकमा अञ्जु अनुको ‘फ्रेन्ड रिक्योस्ट’ आयो । मैले उनको प्रोफाइल हेरेँ, उनै अञ्जु रहिछन् । खुशी लाग्यो । त्यसपछि फेसबुकका भित्ताहरूमा उनका गजल र मुक्तक धारा प्रवाहले आउन थाले । लेखेर मात्र हुँदैन सङ्ग्रह पनि निकाल्दै जानु पर्दछ भन्ने सल्लाह सुझाव दिएँ । उनले त्यो कुरालाई मनमनै ग्रहण गरेकी रहिछन् । फलस्वरुप आज मुक्तकको कृति निकाल्ने तर्खरमा जुटेकी छिन् अञ्जु ।

‘अधुरो सपना’ नामक यस सङ्ग्रहमा मुक्तककार अञ्जुका जम्मा १८० वटा मुक्तक समाविष्ट छन् । यसमा वि.सं.२०६५ देखि २०७५ सालसम्म लेखिएका मुक्तकहरू छन् । मुक्तकहरू विभिन्न पत्रपत्रिकाका साथै रेडियो एफएमहरूमा प्रकाशित तथा प्रसारित भइसकेका हुन् । सङ्ग्रहमा समाविष्ट उनका मुक्तकहरू चोटिला, घोचिला र पेचिला रहेका छन् । प्रेम, प्रणय, आक्रोश, पीडा, व्यथा, उत्पीडन, विद्रोह, पीडा, कुण्ठा, हिंसा, अन्याय, अत्याचार, दायित्वबोध, अतृप्त आकाङ्क्षा, विकृति, विसङ्गति, हाँसो खुशी, राष्ट्र र राष्ट्रियताजस्ता भाव लिपिबद्ध भएका छन् ।

नेपालमा मुक्तक लेखनमा खासै अक्षरमा सीमितता छैन । घटिमा ८/१० देखि बढीमा २०/२२ अक्षरसम्ममा मुक्तक लेख्ने गरेको पाइन्छ । तथापि विद्वानहरू चार हरफे रचनालाई मुक्तक मान्ने गरेको पाइन्छ । मुक्तकलाई काव्यको लघु रुप पनि मानिन्छ ।

गजलको उद्भव अरबी साहित्यबाट भएझैँ रूवाइ पनि अरबीकै फारसी साहित्यबाट आएको हो । मुक्तक अग्नि पुरानबाट प्रादूर्भाव भएको भनिन्छ । करूण रसबाट आवाज वा शब्द निस्कन्छ । पहिले पहिले गीत गाएर दोहरी खेल्ने क्रममा टुक्रा टुक्रा शब्दहरूलाई संयोजन गरी गाइने क्रममा नै मुक्तकको विकास भएको भनिन्छ । मनका भावलाई स्वतन्त्र र लयात्मक तरिकाले निश्चित हरफमा सीमित हुने गरी अभिव्यक्ति दिने काव्य नै मुक्तक हो ।

मुक्तक नेपालमा प्राथमिक कालदेखि नै लेखिँदै आइएको हो । शक्तिबल्लभ अज्र्यालदेखि शुरू भएको मुक्तक लेखनमा भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथितलगायतले कलम चलाए । वि.सं.२०१० बाट मुक्तक लेखनलाई भीमदर्शन रोकाले बढी जोड दिए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्पादनमा निस्कने ‘इन्द्रेणी’मा भीमदर्शनका मुक्तकहरू छापिएका थिए । त्यस समयमा टेकबहादुर नवीन, कृष्णप्रसाद पराजुली, भूपी शेरचन, हरिभक्त कटुवाललगायतले मुक्तक लेखनमा कलम चलाएका थिए । युवा पुस्तामा अनेकौँ स्रष्टाहरू उत्साहजनक रुपमा मुक्तक लेखनमा लागेका छन् । मुक्तकको सम्र्बद्धन र प्रबद्र्धनका लागि विभिन्न संघसंस्था, पत्रपत्रिका र सञ्चारमाध्यमले उल्लेखनीय रुपमा स्थान दिँदै आइरहेका छन् ।

विश्व साहित्यमा मुक्तक विधालाई अध्ययन गर्दा फिजराल्डको लेखन शैली नियम सङ्गत र पेचिलो देखिन्छ । ऋयगउभि र त्तगबतचबष्ल लाई एउटै ठाउँमा मिलाएर पहिलो, दोस्रो र चौथो लाइनलाई अलिकति स्पेश छाडेर नौलोपन दिए । पहिलो हरफले विषयको उठान गर्दछ, दोस्रो हरफले समर्थन, तेस्रो हरफ स्वतन्त्र र थौथो हरफले झड्का दिने काम गर्दछ । फिजराल्डको मुक्तक लेखन नियमानुसार चार लाइनको प्रत्येक लाइनमा १६ अक्षर गरी जम्मा ६४ अक्षरमा लेख्दा मुक्तकले पूर्णता पाउँछ ।

उमर खैयामको रचनालाई फिजराल्डले अनुवाद गरेर विश्वसामू राखिदिए । फिजराल्ड शैलीको प्रभाव भारतमा पनि परेको देखिन्छ । भारतीय विद्धान हरिबंश बच्चनले पनि फिजराल्डकै शैलीअनुसार मधुशाला, मधुवाला, मधुकलश लेखेर चर्चामा आए । हरिबंश बच्चन भारतीय सिनेमा क्षेत्रका चर्चित कलाकार अमिताभ बच्चनका पिता हुन् ।

नेपालमा फिजराल्ड शैलीको मुक्तकको लेखन सुरूवात गर्ने पहिलो काम पुष्कर लोहनीले गरे । त्यसै नियमलाई पछ्याई विष्णुबहादुर सिंह, श्रीराम श्रेष्ठ, भावना न्यौपाने, रामकृष्ण अमर, धुव्रप्रसाद गजुरेल, अञ्जु सापकोटा, भगवती खनाल, रामकृष्ण भट्ट, देउती दीर्घायु, सोनाम लामा, करण तामाङलगायतले पालना गर्दै मुक्तक लेख्दै आएका छन् ।

यसै शैलीलाई अपनाई बिष्णुबहादुर सिंहले ‘मौनता’, धुव्रप्रसाद गजुरेलले ‘ऋतु’, रामकृष्ण अमरले ‘कर्कलाको पानी’जस्तासङ्ग्रह समेत प्रकाशन गरिसकेका छन् । अझ एउटा अभियानको रूपमा नुवाकोट साहित्य प्रतिष्ठान नेपालको प्रकाशनमा ‘नेपाली मुक्तक’ नामक फिजराल्डको शैलीमा चार अङ्क पत्रिका समेत प्रकाशन भइसकेको छ, पुष्कर लोहनी र श्रीराम श्रेष्ठको सम्पादनमा । यसै माहौलमा अञ्जु पनि समाहित भएकी छिन्, नवीनतम् कृति ‘अधुरो सपना’का साथ ।

यो जगत्का सबै प्राणी ईश्वरका बरदान हुन् । यही ब्रम्हाण्डका सृष्टि हुन् । ईश्वरका सबै सन्तान को ठूलोे, को सानो । को धनी, को गरिब । सबै सम्मान । यद्यपि, समाजमा विभेदको जहर फैलिँदो छ । कसै गरे पनि यो नामेट हुन सकेको छैन । धनी र गरिब भन्ने विभेदले कति मानिस आक्रान्त छन् । गरिबीका कारणले सदैव पीडाबोध गरिरहनु पर्ने विवशतालाई मुक्तककार अञ्जु अनुले यसरी अभिव्यक्त गरेकी छिन्ः

गरिबीले सताउला लोभ खास हुँदो रै’छ
पसिनाको मूल्य चुकाउँदा आश हुँदो रै’छ
ज्यानलाई बाजी लगाएर अघि सर्दा पनि
सपना निथोल्दा मनमा बतास चल्दो रै’छ ।

०००

सुन्दैछु गरिब भएपछि झुक्नु पर्छ अरे
जिन्दगी त सिसाझैँ फुटेर चुम्नु पर्छ अरे
इच्छा र रहरहरू धेरै सबै भए पनि
सुने सबैलाई छकाएर लुक्नु पर्छ अरे ।

मानिसले जिन्दगी व्यतीत गर्ने क्रममा सुखदुःखका अनेकौँ उकाली ओरालीहरू गरिरहनु पर्छ । जिन्दगीको यात्रालाई सहज बनाउनका लागि मायाप्रेम अनिवार्य छ । प्रेमी र प्रेमीकाबीच आपसी समझदारीमा दुई मुटु एक हुने कसम खाई एक भई पती–पत्नीको सम्बन्ध स्थापित गरिन्छ । विश्वासमा नै सम्बन्ध स्थायी हुन्छ । रिस, राग, शङ्का, आशङ्का, विद्रोहले एकआपसमा जोडिएको भरोसा क्षणभरमा नै सिसा फुटेझैँ भइदिन्छ । जब नजिकको मान्छे नै विभिन्न बाहनाबाजीमा टाढिन खोज्छ तब मनमस्तिकमा के के कुरा उब्जिन्छ नै । प्रेममा असफल भएपछि जिन्दगी नै उजाड बन्न पुग्छ । जलन र पीडाको बोझले आक्रान्त भएको मनमा अनेकन कुरा खेल्दाखेल्दै आफ्नो जीवन नै भार भएको अनुभूत हुन्छ । बितेका घटनाक्रमले चिमोटि रहन्छ वर्तमानलाई ।

के कमी थियो ममा तिमीले माया मारिदिययौ
अनायसै आँँखाबाट फेरि आँसु झारी दियौ
गरेका ती वाचा जति हावामा नै उडेजस्तो
बिर्सेर बाचा त्यो जिउँदै मलाई जलाइदियौ ।

०००

सधैँ सधैँ जिन्दगीदेखि हारेको मान्छे हुँ म
पल पल तिम्रै यादले रोएको मान्छे हु म
बधाई छ तिमीलाई दियौ अाँसुको नै कोसेली
सधैँ नै तिम्रो यादले रोइबस्ने मान्छे हुँ म ।

०००

जानेर मूल तिमीले जिन्दगीमा गरेपछि
विश्वासमा आगो लाग्दा बाटो अन्तै मोडेपछि
भित्रभित्रै त्यसै जले चाहनाको चिता माथि
झुक्याएर गलत बाटो तिमीले हिँडेपछि ।

प्रेममा हुने धोकाप्रति लक्षित यो मुक्तक ज्यादै मार्मिक छ:

मुटु भित्र नै बस्यौ तिमी निधारमा भएन
साथ दिन्छु भन्थे उ तर तक्दिरमा रहेन
यो चोखो माया सबै ठाउँमा जित हुन्थ्यो भने
बियोगको पीडा लिई बाँच्नु नै पर्ने थिएन ।

मान्छेको जिन्दगीको परिभाषा मान्छे पिच्छे फरकफरक ढङ्गले लगाउने गरिन्छ । जीवन जिउने क्रममा सुखदुःखका उतारचडाब आउँछन् । धेरै इच्छा–आकांक्षालाई आत्मासात गर्दै अगाडि बढ्ने क्रममा पत्तो नै नपाई जिन्दगीदेखि विश्राम लिनु पर्छ । मान्छेको जीवनमा जन्म र मृत्यु श्वासत सत्य हो । तसर्थ, जिन्दगीलाई बुझ्दै सहज रूपमा जिउन जान्नु पर्छ:

नटुङ्गिने यात्रा हो रङ्गमञ्चको जिन्दगी
अाँसुको भेल यो सागर सरी घुम्दै छ जिन्दगी
सपनामा ठूलो महल सजाउने रहर
तर मक्किएको धागो सरी चुड्दै छ जिन्दगी ।

आमा शब्द सबैका लागि प्रिय । रोग भोगसँग जुध्दै नौ महिना कोखमा राखी आमाले जन्म दिन्छिन् बच्चालाई । अधिकांश समय घरायसीदेखि बाह्य काममा नै ब्यस्त हुन्छन् । प्रसव पीडाबाट छट्पटिँदा आमाको अवस्थालाई चित्रण गर्न सकिन । शिशु अवस्थालाई जीवन्त दिन आफ्नो दश धारा पिलाई स्याहारसुसार गर्छिन् आमा । भनिन्छ, बालकको पहिलो पाठशाला नै आमाको काख हो । बालबच्चाको भविष्य सुनिश्चित गर्न तल्लिन हुँदाहुँदै आफ्नो जीवन नै घट्किएको थाहै पाउँदैनन् अमाले । आफ्नो जीवन रहेसम्म आफ्नो बालबच्चाको अहित कहिल्यै सोच्दैनन् । आमाको जिम्मेवारी अथाह भएकाले नै हामी ज्वलन्त एक देवीको साक्षतको रूपमा ग्रहण गर्छौं । यस्तै भाव अभिव्यक्ति भएको छ यहाँः

आमाको सम्झनामा छल्किएर रोएको छु
बिछोडिँदा छातीभित्र सल्किएर रोएको छु
छोरी भएर पराई घर जानै पर्छ अरे
जाँदाजाँदै समीपमा खुरा अल्झिएर रोएको छु ।

०००

आजसम्म हानिन् आमाको आशीवार्दले
आँसु तप्प झारिन् आमाको आशीवार्दले
साथ दिए सबैलाई कुभलो त चिताइनँ
कुनै खुसी नै भरिन् आमाको आशीवार्दले ।

०००

पिढीँमा बसेर रूँदै होलिन् मेरी आमा
आइन छोरी भन्दै होलिन् फेरि मेरी आमा
बाध्यता छ बिडेसिन कसले बुझ्छ कुरा
पिरतीको फूल खोज्दै होलिन् मेरी आमा ।

०००

आमा तिमीले दस धारा पिलाएको गुण छ
आमा जति ठूलो यस धर्तीमा अरू कुन छ
दुःखसुःख विपत्तिमा तिम्रै काख प्यारो हुन्छ
ममताले झै चमक ल्याउने त्यस्तो कुन छ ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छन् गाउँबस्ती । हरियाली बनजङ्गल, डाँडाकाँडा, झरना, छाँगा, तालतलैया, नदीनाला, गुफा, हिमाल, इन्द्रेणी रङ, घामपानी प्रकृतिका वरदान हुन् । स्वच्छ हावापानी र सफेद दृश्यको अनुभूतिमा रमाउँछन्–आन्तरिक एवम् बाह्रय पर्यटकहरू । यी नै हाम्रा सान र सम्पत्ति हुन् । विकासको गतिशीलता बढेको छ अहिले । उब्जने हुने र वनजङ्गल मासेर बस्ती विकासका साथै बाटोघाटो निर्माण कार्य तिब्र गतिमा भएको छ । यसो हुनु सुःखद कुरा हो । यद्यपि, वातावरणीय प्रभावमा प्रत्यक्ष असर परेको छ:

प्रकृतिको सुन्दरता नासिँदैछ विकासले
वल्लो गाउँ पल्लो गाउँ गासिदैछ विकासले
वस्ती बढ्यो दुर्गन्ध छ जताततै फैलिएर
फोहरको थुप्रो अझै राखिँदैछ विकासले ।

आफू जन्मेको अनि बाल्यकालमा रमेको भूमि कसलाई पो प्यारो लाग्दैन र ! मुक्तककार अञ्जुले आफ्नो जन्मस्थान नुवाकोटको पृष्ठभूमिलाई पर्गेल्दै नजिकबाट सामीप्यता जोड्ने प्रयास गरेकी छिन्ः

प्रकृतिको सुन्दर खानी मेरो नुवाकोटको
डाँडाकाँडाको छुट्टै जवानी यो नुवाकोटको
प्रकृतिको छालले भरिएको छ जन्मभूमी
असिमको मीठो कहानी मेरो नुवाकोटको ।

सार्वभौमसत्ता सम्पन्न देश नेपाल । गणतन्त्र स्थापनाले आम नागरिक र देश स्वतन्त्र भएको छ । बालिग मताधिकारबाट मुलुक सञ्चालन गर्न राजनैतिक दलको अग्रसरता छ । देश र जनतालाई सर्वोपरि ठानी मुलुकको शासन ब्यवस्था चल्नु पर्दछ । राष्ट्र र राष्ट्रियताप्रति बाह्य शक्तिको कुदृष्टि परेमा सह्य हुँदैन आम नागरिकलाई । राज्य सञ्चालनका लागि दूरदृष्टि आवश्यक पर्न जान्छ । मुलुकको शिक्षा नीति ब्यवहारिक नहुनाले शिक्षित भएका बेरोजगार सङ्ख्या निरन्तर रूपमा बढेको छ । लाखौ लाखको सङ्ख्यामा रोजगारीको सिलसिलामा बिदेशमा पलायन हुन बाध्य छ । गाउँ शहरमा युवा पुस्ताको सङ्ख्या घट्दो छ । राज्यमा देखिएको ब्यतिथिहरूको चिन्ता लागेको यथार्थ मुक्तक पक्तिहरूबाटै बुझ्न सकिन्छ:

मेरो देशलाई दुःख्दा मेरो मन पनि दुःखेको छ
खाडीमा युवा पठाउन यो शीर झुकेको छ
खोइ त खै स्वाभिमानी देश कता लम्केको छ
नेपालको पहिचान आज कता चुकको छ ।

०००

अहा देशमा नागरिकको सम्मान हरायो
यहाँ आफ्नै घरमा नारीको मुस्कान हरायो
बेरोजगार युवाहरू विदेसिन बाध्य छन्
तर आज नेपाल आमाको सन्तान त्यो हरायो ।

देशलाई दुःखेको बेला जिम्मेवार एक नागरिकलाई राष्ट्रप्रेम र राष्ट्रभक्तिको घनीभूतता हुनु स्वभाविकै हो:

यो देश रोएको छ अहिले म कसरी हाँसु
सबैको अगाडि यो मेरो दुःख कसरी साटुँ
साँच्चै नै गोर्खालीहरूको स्वाभिमान गुम्दैछ
घाँटीमा तरवार राखेर म कसरी बाचु ।

नियम कानुन बिपरित काम गर्नेका लागि राज्यको कानुन बमोजिम कारबाहीको भागिदार हुनुपर्दछ । तर शक्तिको भरमा कानुन फितलो बनाइन्छ भन्ने भनाइ:

ठूलाबट सानालाई दबाइन्छ किन यहाँ
जस्तो आफू त्यस्तै बढ्दा लगाइन्छ किन यहाँ
पैसासँग मान्छेलाई तौलिएका हुन्छन् अरे
सुनिँदैछ निमुखालाई नै लडाइन्छ यहाँ ।

नेपाली साहित्यमा नयाँ–नयाँ विधा र शैलीहरूको विकास भइरहेको छ । अक्षरीय संरचनामा बाधेर लेखिने फिजराल्ड शैलीको मुक्तकले प्राध्यान्यता पाएको छ यतिखेर । यसै शैलीमा केन्द्रित भएर लेखिएको ‘अधुरो सपना’ एक उदाहरण हुन् । कृतिमा रहेका मुक्तकमा भाव, बिचार र अनुभूतिहरू सरलता, सहजता, सरसता र बोधगम्यता प्रचुर भएका कारण पठनयोग्य बनेको छ । मुक्तककार अञ्जु अनुलाई हार्दिक शुभकामना !

काव्यिक बगैँचामा मुक्तक झागिँदै जाओस्
बौद्धिकता प्रस्तुतिमा कलम चल्दै जाओस्
रम्दै जाऊ, रमाउँदै जाऊ साहित्यिक फाँटमा
अञ्जु तिम्रो नाम चम्कियोस्, सर्वत्र फैलियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top