२०७७, १४ आश्विन बुधबार

मोदीको भ्रमणमा मौलाएको नाकाबन्दी साहित्य: पुरुषोत्तम लम्साल

डबली खबर     बैशाख ३० २०७५ १७:३८



दिमागमा हठात बालकृण समकृत मुकुन्द इन्दिराको दुइ हरफ याद आयो। र पछिल्लो सन्दर्भ यसलाइ यसरी ‘मोडिफाइ‘ गरियोः
बालकृष्ण समकी इन्दिरा बाँचिरहेकी भए आज “मुकुन्द इन्दिरा“को पुनर्लेखन यसरी हुन्थ्यो होला-

देशभक्ति त मर्दैन चुत्थै देश भए पनि
मोदीभक्ति त मर्दैन पापी मोदी भए पनि ।

मेरै दिमागमा पनि नाकाबन्दीको पीप जमेर बसेको छ। यो त्यही पीप हो जसले मोदीप्रति सकारात्मक हुन खोज्दा पनि नाकाबन्दीको पर्खालले छेक्छ। नाकाबन्दी दुइदेशीय राजनीतिको शिकार थियो र कूटनीतिका लागि कालो धब्बा। यही कालो पोतिएको मोदीको तस्वीर सपाट भएर दिमागमा आउँदा म मोदीलाइ मित्रराष्ट्र होइन दुष्ट छिमेकी देशको धूर्त सरकार प्रमुखको रुपमा मात्र लिन्छु। तर मलाइ थाहा छ भारतको संस्थापन राजनीतिको मियो नसमाती नेपाली राष्ट्रवादको सियो पनि हल्लदैन। किनकि भारत उपनिवेशबाट मात्र मुक्त भएको हो औपनिवेशिक चरित्रबाट होइन। संस्थापनको पात्र फेरिए पनि नेपाल मामिलामा उनीहरुको चरित्र फेरिएको होइन। त्यसैले नागरिकको एउटा तत्का सधैं नेपाल र भारतको संस्थापनको खिलाप डोहोरिरहेको हुन्छ। म पनि त्यसैको कमजोर उदाहरण हूँ।

मौकामा कहर दियौ कुटेर सारा
नाकामा सकश दियौ चुटेर सारा ।

आशाका कीरण लुट्यौ रुँदैछ देश
सीमामा दनक दियौ लुटेर सारा ।

प्रहर्षिणी छन्दामा लेखिएको गणेश आचार्यको कविताको यो चार पंक्ति दुई वर्षअघिको नाकाबन्दीको सग्लो दस्तावेजको साहित्यिक प्रतिलिपी जस्तै हो । भुइचालो र नाकाबन्दी दुबै प्रकोपले आहत मनहरुमा गढेर बसेर पीडाको तस्वीरको पर्दा राजनीतिक परिदृष्यहरुसँगै खुल्दै र बन्द हुँदै जानु नियमितता जस्तै भइरहेको छ नेपाली समाजमा ।

मनोविज्ञान र मनोदशा अलगअलग कुरा हुन् । यो मान्छेको हकमा जसरी लागू हुज्छ समाजको हकमा पनि उसैगरी लागू हुन्छ । मान्छेको र समाजको मनोविज्ञान स्थीर हुँदैन । यो विषय र सन्दर्भहरुबाट प्रभावित हुन्छ । अर्थात् मनोविज्ञान परिस्थतिहरुबाट पनि उत्तिकै निर्देशित हुन्छ । तर यसको गतिशीलताको स्वभावले यसको स्थायित्वमाथि पनि सधैं प्रश्नचिन्ह खडा गरिरहेको हुन्छ । मान्छे र समाजलाई उत्तिकै प्रभाव पारेको दुई वर्षअगाडिको भुइचालो र त्यसपछिको सन्दर्भमा पनि यो लागू हुन्छ । नेपालविरुद्ध भारतले गरेको नाकाबन्दीले आम नेपालीको मनोदशा र सामाजिक मथिंगलमा पारेको जबरजस्त प्रभावको उदाहरण अहिले देखिएको छ । कतिसम्म भने, नेपाली समाजको एउटा तप्कामा अहिले पनि नाकाबन्दी साहित्य जमेर बसेको देख्न पाइन्छ ।

घृणा आक्रोश र अस्वीकारको भाषा बोल्ने साहित्यको एउटा उदाहरण कनकधारा स्वामी स्वदेशनन्दको नाममा आएको तलको हरफले देखाउँछ ।

मोदी दया पुरुष हुन् अब देश हाँस्छ
मोदी कृपा हुनगए जन धेर बाँच्छ
बुझ्दैन मुर्ख जन गर्छ विरोध भोली
मोदी विशेष भगवन् गर भक्ति ओली ।।

सन्दर्भ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको हो । मोदी नेपालको राजकीय भ्रमणमा आउँदैछन् । सांस्कृतिक र राजनीतिक अर्थले यो भ्रमण दीर्घकालीन महत्वको मानिएको छ । जमीन र आकाश दुबैमा भारतीय सुरक्षाकर्मी छरिएका छन् । जनकपुर, मुक्तिनाथ र काठमाण्डौ मोदीको स्वागतार्थ सिंगारिएको छ । जनकपुर दीपावलीमा भन्दा मोदी महोत्सवमा रंगीन बनेको छ । काठमाण्डौमा सरकारपक्षीय तप्कालाई राजनीतिक फागूपूर्णिमा बराबरको रौनक छ । अनि नेपाली समाजको साहित्य यसबाट कसरी अछुतो हुनसक्छ ?
समाजमा खील जसरी गढेर बसेको नाकाबन्दीलाई सहित्यका पारखी मोदीप्रदत्त सकस दिइरहेका छन् ।

कवी मनप्रसाद वाग्लले छिमेकीलाई छट्टु स्याल करार गर्दै लेखेका छन्

परोक्षे कार्य हन्तारम् प्रत्यक्षे प्रियबादिनम्
छट्टु स्याल छ चातुर्य नगर्नू अभिनन्दनम्
हुँदैनन् कुटनीतिमा कोही भिन्न चराचर
साना हुन्नन् कुनै राष्ट्र सवै हुन्छन् बराबर।

वाग्लेको सृजनामा नेपालको सरकारलाइ आग्रह र खबरदारी दुबै छ। उनका थप केही पंक्ति

रेलको लिगका निम्ति नबेच्नू जलका निधि
राष्ट्र सिङ्गै नियाल्दैछ तिम्रा हर्कतका विधि
नसूम्पे देशको पानी नझूके है सरासर
साना हुन्नन् कुनै राष्ट्र सवै हुन्छन् बराबर

यो राष्ट्र मेरो हो भन्ने भावमा चल्नुपर्दछ
भाँजो हाल्ने छ कोही त्यो अवश्य छल्नुपर्दछ
नाकाबन्दी नबिर्से भो भयो बिष हलाहल
साना हुन्नन् कुनै राष्ट्र सवै हुन्छन् बराबर

सम्बन्ध यदि भावनाको आधारमा व्याख्या गर्ने हो भने केही साहित्यले नाकाबन्दीबाट मोदीले राजनीतिक तहबाहेक जनताको तहबाट भ्रातृत्वको सम्भावनालाई अर्को कयौं पुस्तासम्म बिगारेको भान हुन्छ । छन्दकवी कृष्णप्रसाद प्याकुरेलका केही हरफहरु पढौंः

कोही एक अघोर घातक बुढो, माग्ने बनी आँगन
तिम्रा सामू झुकेर ध्यान गरला, भक्तै बनी माँगन
नाका बन्द गरेर गल्ती हुनगो, भन्ला नजान्ने बनी
हे नारायण मुक्तिनाथ प्रभुजी, के भक्त हो त्यो पनि ।

अर्का सर्जक झलक अधिकारीले पनि नाकाबन्दीविरुद्ध उभिएका नेपालका तात्कालीन दल, नेता समूहलाई लक्षित गर्दै सृजनामा दुःख बिसाएका छन् । यही हप्ता प्रकाशित उनको केही पंक्ति यस्तो छः

कोही प्रश्न उठाउँदै मुलुक यो सोध्दै छ खै के भयो ?
वाचाबन्धन, घोषणा, सडकका नाराहरु के भयो ?
पर्दै छौ किन लम्पसार उ सँगै, जसले गला रेट्दछ ?
जस्को घोर विरोधमा सडक यी जल्थे हिजो के भयो ? ।।

कवि अधिकारीको सोही कविताको दोस्रो अनुच्छेद यस्तो छ ः
सम्झौता असमान सन्धी जति छन् उल्ट्याउँछौ भन्दथ्यौ
अग्ला बाँध उठाइए जति यहाँ भत्काउँछौं भन्दथ्यौ
हाम्रो साँध मिच्यो भनी सडकमा भन्थ्यौ हिजो के भायो ?
मेट्रो रेल गुडाउँछौ मुलुकमा भन्थ्यौ हिजो के भयो ।

नाकाबन्दीको पीडा गद्यमा, पद्यमा, छन्दमा, गजलमा, मुक्तकमा जताततै भेट्न सकिन्छ । र, सबैमा बहालवाला भारतीय शाषक बर्ग निशानामा छन् । मानवीयतालाई केन्द्रमा राखेर रचिएका त्यस्ता सृजनाहरुमा राष्ट्रप्रेम छताछुल्ल भएको भेटिन्छ । कीरण रिजालले पञ्चचामर छन्दमा लेखेको केही पंक्ति यस्तो छः

नसोध हाल देशको, हजार बात सुन्दछु
छिमेकी शक्ति खेलमा, स्वदेश घात भेट्दछु ।।
सवाल देशको भयो, कुभाव फैलने डर
समस्त प्रेम भावमा, नरेन्द्र काल देख्दछु ।।

कविले अलग्गै सन्दर्भ र अर्थहेतु रचना गरेका हुन् वा यही संयोग जुरेको हो दिव्यचन्द्र आचार्यले वसन्ततिलका छन्दमा तयार पारेको तलको चार पंक्ती पनि गज्जब छ:
जुत्ता समान छ यहाँ पनि जिन्दगानी
आफैँ खिइन्छ तलुवासरिको निसानी ।।
खाए नि लात सजिलै सहने गरेको
पीडा लुकाइकन हाँस्न सधैँ परेको ।।

समाजिक सञ्जालमा अर्का सर्जक हरिप्रसाद चौलागाईले चाँहि बैगनीलाई गूनले ठेगान लगाउन पर्छ भन्दै व्यंग्य कसेका छन् । उनका हरफहरु पढौं

आधा वर्षैभरी अकारण अहो नेपाल बन्दै गरे
चर्केका हियमा पिलो गरीखडा नूनचूक खर्चै गरे ।
पौने दुई सय केजी फूलबटुली माला बनाई उठौं
यस्ता आत्मीय मित्रका शरणमा आधार भन्दै जुटौं ।।

यस्तै हिरा भट्टले पनि मोदी मेला शीर्षक दिएर आफ्नो छन्द सृजनालाई सार्वजनिक गरेका छन् । उनी लेख्छन्ः

आमा आज स्वयं बडा शहरमा डुल्दै थियो यो कवि ।
पाक्दैथे पकवान चोकहरुमा वास्ना अनौठो थपी ।।
मेला हो कि कुनै छ पर्व मुखमा सम्पूर्ण खोजी गरे ।
थाहा भो न तिहार हो न त दशैं मेला मोदी छ अरे ।।

सुकुलगुण्डै शैलीको विकास र तामझामप्रति कटाक्ष गर्दै भट्ट अगाडि लेख्छन् ः

यौटा मख्ख परी लगाउँछ कुचो तस्वीर खिच्दै पर ।
अर्को जिल्ल परी सराप्छ किन हो हल्ला गरी बर्बर ।।
चम्के चोक लुक्यो सबै शहरको गन्धा र मैलो हरे ।
थाहा भो न तिहार हो न त दशैं मेला छ मोदी अरे ।।

सँगसँगै केही सर्जकहरु पापीको पाप र अपराधीको अपराधलाई क्षमा गरेर मानवोचित गुण देखाउनपर्ने तर्क पनि राख्छन् । उनीहरुको मत छ, हिजो जे भो भो, अब भोलीका लागि नाकाबन्दीको तूष पालेर नबसौं । तत्कालका लागि सही, अस्थायी सही, दुई दिनका लागि सही मान्छेले गर्यो भने हँदो रहेछ भन्ने आशय राख्दै एनपी शर्मा नामका सर्जक लेख्छन्ः

सधैं यस्तै बनोस् सडक अति नै सुन्दर भयो ।
सु सेवा हो धर्मै जनक पुरमा आगमन यो ।।
भुलौं नाबन्दी सब जन जुटौं नन्दन जहाँ ।
गरौं सारा हामी नमन अतिथी स्वागत यहाँ ।

आखिर मनै त हो। मनै मरेपछि के लाग्छ ? घाऊ पो निको भयो तर खत नै बसेपछि के लाग्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top