२०७७, ४ आश्विन आईतवार

कोरोनाबाट बच्न महिला नेतृहरुको सुझाव

डबली खबर     चैत्र २५ २०७६ १९:०५



nuwakot political women leaders

binda dhungana nuwakot leader
विन्दा ढुंगाना
प्रदेश कमिटि सदस्य, नेकपा

आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ’

लकडाउनको समयमा हामी घरभित्रै छौँ । अहिले आफू सुरक्षित रहेर अरुको सुरक्षामा ध्यान दिने समय हो । त्यसो भन्दैमा हामीले समन्वयको काम गर्न छाडेका छैनौँ । कोभिड-१९ को संक्रमणलाई रोक्नकै लागि सरकारले लकडाउन गरेको हो । लकडाउन अरु बेला गरिएको जस्तो बन्द, हड्ताल होइन, आफ्नो, परिवारको, समुदायको र देशकै नागरिकको रक्षाको लागि पनि हामीले सहज र सचेत हुनु जरुरी छ । समन्वयको हिसावले कोही विरामी भए, अत्यावश्यक बस्तुको आपुर्तीमा समस्या भए टेलिफोनबाटै आफूले गर्न सक्ने सहयोग गरेर काम भइरहेको छ ।अहिले राहतको समस्या अलि बढी उठ्न थालेको छ । कतै राहत पक्षपात रुपमा वितरण भयो भन्ने सुनिन्छ कतै पाउनुपर्ने व्यक्तिले पाएन, नपाउनुपर्नेले पायो भन्ने गुनासो आउँछ । हामीले राहत वितरणलाई प्रभावकारी बनाइ विहान बेलुकीको छाक टार्न नसकेका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरणका लागि सम्वन्धित निकायलाई भनिरहेका छौँ ।

बेलैमा हामीलाई अनुशासनमा बस्न सिकायो, यसले ठूलो दुर्घटजनामा हामी जोगिएका छौँ

सरकारले कोरोनाको संक्रमणलाई बढ्न नदिनको लागि जुन कदम चालेको छ, यो एकदम सकारात्मक रहेको छ । यदि लकडाउन गर्न ४,५ दिन ढिला गरेको भए ठूलो महामारी फैलिन सक्ने रहेछ । अवस्था धेरै भयावह हुने रहेछ । हामीले अमेरिका, इटलीलगायतका देशलाई हेर्नुपर्छ । यति ठूला देशमा भएको भयावहको स्थिति नेपालमा आउन नदिनको लागि हामीलाई सरकारले सचेत गरायो, बेलैमा हामीलाई अनुशासनमा बस्न सिकायो, यसले ठूलो दुर्घटजनामा हामी जोगिएका छौँ जस्तो लाग्छ । टेष्ट गर्ने उपकरणको कुरा गर्दा यो विश्वभर नै अभाव रहेको छ । हामीले मात्र प्रयाप्त ल्याउन सकेनौँ भनेर गुनासो गर्ने ठाउँ छैन । यसो भन्दैमा हामीले चेकजाँचलाई बढाउँदै लैजानुपर्छ । उपकरणहरु कहाँ कसरी उपलब्ध हुन सक्छन्, यसबारेमा सरकारले चासो राख्नु उपयुक्त हुन्छ ।

अभियान नै बनाएर प्रत्येकको घरघरमा पुग्दा यसले झन जोखिम पो बढाउँछ कि भन्ने चिन्ता थपिएको छ ।

नुवाकोटका स्थानीय सरकारका तयारी कतिपयको चित्तबुझ्दो पनि छ कतिपयले कति सामान्य रुपमा हेरेका हुन् कि भन्ने आभास हुन्छ । केही पालिकाहरुमा दुई दिन अघि मात्रै कार्यालय खुलेको कुरा आइरहेको छ । वडाअध्यक्षहरुले केही तयारी गरेपनि पालिकाको तर्फबाट अध्यक्षहरु नै काठमाडौं गएर बसेको भन्ने जस्ता कुरा पनि सुनिँदैछ । साबुन, मास्क वितरण गरेर हिँडेको पनि सुनिएको छ । यसले झन संक्रमणको खतरा हुन्छ । नेपाली साबुन र मास्क किन्न नसक्ने छन् जस्तो लाग्दैन । कतिपय यस्ता व्यक्तिहरु छन् भने वितरण पनि गर्नुपर्छ । तर, अभियान नै बनाएर प्रत्येकको घरघरमा पुग्दा यसले झन जोखिम पो बढाउँछ कि भन्ने चिन्ता थपिएको छ । यस्तो गर्नु भन्दा आपतकालीन फण्ड बनाएर राख्दा यसको प्रयोग जहिले गाह्रो हुन्छ त्यो बेला प्रयोग गर्न सकिन्छ भन्ने सुझाव स्थानीय तहलाई दिन चाहन्छु । जिल्लास्तर र राष्ट्रियस्तरमा भइरहेका तयारी राम्रो छ । हामी सबै बाँच्ने हो, हामीले सबैलाई बचाउनुपर्छ भन्ने भावना सबैमा भयो भने हामी यो महामारीबाट बच्न सक्छौँ ।

निजी क्षेत्र, सामाजिक संघसंस्थाको भूमिका यो समयमा त्यति प्रभावकारी देखिएन कि भन्ने हो । यो सरकारकै काम हो, सरकारले नै गर्नुपर्छ भन्ने भावनाबाट हामी प्रेरित भयौँ कि भन्ने हो । सचेतनाको काममा निजी क्षेत्र, सामाजिक संघसंस्था, नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्थ्यो, तर, त्यति भइराखेको छैन ।

मेरो प्रमुख सुचनाको आधार भनेको सरकारी सञ्चारमाध्यम नै हो । सबै समाचार हेरेर स्व:मूल्याङ्कन गर्ने हो । सरकारको पक्षपोषण गरेका मात्रै पनि होइन, सरकारलाई गाली मात्रै गरेका पनि होइन । दुवैलाई सन्तुलित राखेर समन्वयात्मक रुपमा लेखिएका सामग्रीहरुलाई बढी विश्वास गर्ने गरेको छु ।


Trishuli Web

binda aryal nepali congress nuwakot leader

विन्दा अर्याल
महिला नेतृ, नेपाली कांग्रेस

जिल्लामै टेस्ट गर्ने सुबिधा बनाउनु पर्छ

लकडाउनको पहिलो चरणमा म त्रिशूलीमै थिएँ । त्रिशूलीमा श्रीमान विरामी भएका कारण म वीचमा काठमाडौं आए । बच्चाहरुसँग दिनचर्या वितिरहेको छ । जिल्लामा समन्वयको काम पनि गरिरहेको छु । सरकारले लकडाउन समयमै गराएर नेपालीहरुलाई ठूलो संकटबाट पार लगाउन भूमिका खेल्यो भन्ने मलाई लागेको छ । थुप्रै मान्छे संक्रमित हुन्थेँ, त्यसैले यो लकडाउनलाई पूर्ण पालना गरी घरमै बसिदिनको लागि मैले सामाजिक सञ्जाल तथा टेलिफोनबाट पनि भन्ने गरेको छु । स्वास्थ्यकर्मी नर्सिङस्टाप, डाक्टरलगायतका टिमको पूर्ण सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ भन्ने धारणा मेरो हो । स्वास्थ्यकर्मीको सुरक्षाको लागि राज्यले हिजो पनि एउटा निर्णय गरेको छ । त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु । निजी अस्पतालहरुको सन्दर्भमा कुरा गर्नुपर्दा उपचार गर्न पन्छिएको हो भने राज्यले आफ्नो नियन्त्रणमा लिएर त्यहाँबाट तत्काल सरकारी सेवा सञ्चालन गर्नुपर्छ ।

प्राइभेट अस्पतालमा पनि कोरोनाको ल्याव टेष्ट गर्ने वातावरण तयार बनाउनुपर्छ ।

नुवाकोटमा जिल्ला अस्पतालले आइसुलेसन बनाएको छ । त्यतिले मात्र पुग्दैन, विदुरमै रहेको हाम्रो सिटि अस्पताललाई १० वेडको आइसुलेसन बनाउनको लागि तयारी भइरहेको छ । यसको लागि सम्वन्धित सरोकारवाला सरकारी निकायले सहयोग गरिरहनु भएको छ ।

अहिले हामी कोरोनाको कुरा गरिरहेका छौँ । गर्मी बढेको छ, अव फेरी डेंगुको संक्रमण बढ्न सक्छ त्यसैले हामीले कोरोना र डेंगुको उपचारको लागि हामी तयार भएर यसको लागि पूर्व तयारी गर्नुपर्ने आवश्यकता छ । यसको लागि पनि सरोकारवाला निकायले ध्यान दिनु जरुरी छ । प्राइभेट अस्पतालमा पनि कोरोनाको ल्याव टेष्ट गर्ने वातावरण तयार बनाउनुपर्छ । नुवाकोटमा पनि यसको परीक्षणको व्यवस्था मिलाउनको लागि म सबैमा अनुरोध गर्दछु । कम्तिमा क्वारेन्टिनमा राखेका नागरिकको मात्रै जिल्लामै टेष्ट गर्न सकियो भने नुवाकोटको अवस्था झल्किनेछ । त्यसैले जिल्लामै परीक्षणको व्यवस्था मिलाउनुपर्छ ।

तपाई हामीको सुरक्षाकै लागि सरकारले लकडाउन गरेको हो, यो कुरा हामीले बुझ्नुपर्छ ।

सरकारले चाइनामा रोग फैलिएपछि पूर्व तयारी गरेको भए अहिले हामी पूर्ण तयारीको अवस्थामा हुन्थ्यौँ । सबै सामग्री अहिलेसम्म नेपाल आइसकेको हुन्थ्यो, सबै प्रदेशमा ल्याव बन्थ्यो अहिले यति धेरै हाहाकार हुँदैनथ्यो । अव हरेक ठाउँमा स्वास्थ्यको पढाई हुनुहुपर्छ । कम्तिमा एक पालिकामा सुविधा सम्पन्न अस्पतालको विकास गर्नुपर्छ भन्ने अव राज्यले पनि सोचेको होला । उपचारलाई काठमाडौं केन्द्रीत बनाउँदा अहिले यो समस्या आइरहेको छ । त्यसैले यी कुराहरुमा विचार गर्नुपर्छ जस्तो लाग्छ ।

एकले अर्कोलाई छुँदा सर्ने रोग भएकाले दूरी कायम गर्नुपर्छ भनिएको छ । सामाजिक दूरी कायम गर्नकै लागि राज्यले लकडाउन गरेको हो । घरमा बसेर सुरक्षित रहनुहोस् । घर बाहिर नगए तपाईलाई रोग आउँदैन । तपाई हामीको सुरक्षाकै लागि सरकारले लकडाउन गरेको हो, यो कुरा हामीले बुझ्नुपर्छ ।

घरको काम गर्ने, बालबच्चासँग खेल्ने, करेसाबारीको काम गर्ने र सामाजिक सञ्जाल चलाउने, सञ्चारमाध्यम हेर्ने गरेर नै मेरो दैनिकी वित्ने गरेको छ । आधिकारिक सुचनाको कुरा गर्नुपर्दा नेपाल सरकारले प्रदान गरेका सुचना नै अहिलेको लागि आधिकारिक सुचना हो । साँढे चार बजे सरकारले गर्ने अपडेटबाट नै देशको समग्र अवस्था झल्किने हुँदा सरकारको सुचना नै आधिकारिक मान्ने गरेको छु । कतिपय अनलाइनले पनि सही सुचना दिने गरेका छन् यी अनलाईन पनि हेर्ने गरेको छु ।

subhadra nepal cpuml nuwakot leader

सुभद्रा नेपाल
प्रदेश कमिटि सदस्य नेकपा

जिल्ला अस्पतालाई सुविधा सम्पन्न बनाउनुपर्छ

लक डाउनको समयमा अहिले हामी सदरमुकामसँगै जोडिएको बेलकोटगढी नगरपालिकामा छु। अहिले हाम्रो प्रमुख चुनौती भनेको विश्वमै सन्त्रास फैलाएको कोरोनाको महामारीबाट बच्ने हो । म, हामी र समाज सुरक्षित राख्नको लागि व्यक्तिगत भेटघाटबाट टाढा रहनु नै अहिलेको आवश्यकता हो । विश्वमै चुनौतीको रुपमा रहेको कोरोनाबाट बचाउनको लागि सरकारले जुन खालको कदम चालेका सकारात्मक छन् । विकशितहरुले त कोरोनाबाट बच्नको लागि गरेका उपायहरु खेर गइरहेको सन्दर्भमा अहिलेसम्मको नेपालको तयारी सन्तोषजनक नै देखिन्छ । हामी कहाँ उपकरणहको प्रयाप्तता छैन । सोही कारणले पनि महामारी फैलियो भने ठूलो मानवीय क्षति हुन सक्छ । त्यसैले गर्दा पनि हामीले सचेतना र सावधानी अपनाउने नै हो । सावधानी अपनाउनको लागि नै सरकारले लक डाउन गरेको हो । यो लकडाउन अरु कसैका लागि होइन, हामी र हामी नेपालीको अस्तित्व जोगाउनको लागि हामीले सोचेर सरकारले भने अनुसारका सावधानी अपनाउनु जरुरी रहेको छ । जिल्लाको अस्पताललाई कसरी स्तरोन्नती गर्न सकिन्छ भनेर सबै पालिकाले एकसाथ कदम उठाउनु जरुरी देखिन्छ ।

त्यतिधेरै समन्वयको काम गर्न सकिएको छैन । केही जिल्लाका विषयहरुमा सरोकारवाला निकायको ध्यानाकर्षण त गराइरहेको छु । स्थानीय तहले आफ्नो पालिकामा भएका असाहायहरुको तथ्याङ्क संकलन गरिरहेको छ । स्थानीय सरकारले सकेको जति गरेका होलान् । तर, यो प्रयाप्त भने छैन । कोरोनाले हामीलाई हामीले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पनि सचेत गराएको छ । स्वास्थ्य उपकरण र स्वास्थ्य संस्थाहरुलाई विस्तार गर्न सकिएमा भविष्यमा हुने ठूला महामारीलाई पनि हामीले सामना गर्न सक्छौँ भन्ने पाठ पनि यसले सिकाएको छ । घरमै बसेर हामीले कोरोना विरुद्धको यो लडाइ जित्न सक्छौँ । अर्को कुरा लकडाउनका कारण गरिव, असहाय विपन्न, मजदुरलाई समस्या भएको छ । उनीहरुको दैनिक गुजारामा स्थानीय तहका सरकारहरुले जति सक्दो चाडो राहतको व्यवस्था मिलाउनुपर्छ ।

लकडाउनको समयमा आफू सुरक्षित भएर दैनिक सरसफाई, खेतीपातीको काममा निरन्तरता दिने गरेको छु । सही सुचनाको कुरा गर्दा सरकारी सुचनाको साथै विश्वसनियक सुचनालाई स्रोत मानेर कुन चाँही तथ्यपरक हो भनेर विश्लेषण गरेर मात्रै ग्रहण गर्ने गरेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top