२०७७, ४ आश्विन आईतवार

“हामि स्वाधिन छौं, आत्मनिर्भर बन्ने दृढता चाहिँ आजको हाम्रो आवश्यकता हो”

डबली खबर     जेष्ठ १३ २०७७ १९:५७



harikrishna shrestha chrish honey nuwakot

कुनै पनि मुलुक स्वाधिन हुन दुई कुराको आवश्यकता पर्छ ।

पहिलो,

सार्वभौम भूगोल, त्यस भूगोल भित्र बस्ने नागरिकहरुले आफ्ना लागि आफ्ना प्रतिनिधीमार्फत् आफैले बनाएको संविधान र कानुन, भुगोलको सुरक्षा गर्ने आफ्नै सामरिक व्यवस्था, नागरिकको सुरक्षा गर्ने शान्ती सुरक्षा दस्ता, वैदेशिक हस्तक्षेप र प्रभाव विनाको प्रशासन र राजनिती ।

दोश्रो,

आत्मनिर्भर अर्थतन्त्र ।

पहिलोमा,

उल्लेखित कुराहरु हामिसँग ईतिहास देखि वर्तमानसम्म भएका विद्यमान कुराहरु हुन । इतिहासका केही कालखण्डमा राजनीतिमा केही कुरामा तलमाथि भएको भएता पनि हामिले राजनितिक मामिलामा घरभित्रकै शक्तिसँग लडेका छौं । आफ्नो फैसला आफैंले गरेका छौं । ईतिहासको कुनै कालखण्डमा पनि हाम्रो भूमिमा विदेशी सैनिकलाई टेक्न नदिएको ईतिहास हामिसँग छ, खेदेको ईतिहास हामिसँग छ । बेलायती साम्राज्यले धेरै मुलुकहरुलाई अधिनमा पार्दा समेत हामिले लडेर भुगोल बचाएका छौं । बेलायती साम्राज्यलाई सांध लगाएर रोक्ने ताकत तत्बखतको समकालिन ईतिहासमा नेपालभन्दा अरु थिएन होला सायद ।

यदि कुनै एउटा राष्ट्रले स्वाधिनताको लडाईं लड्नु छ भने, त्यहाँ त्यो राष्ट्रको सम्पुर्ण भुमिमा सैनिक बलसहित कुनै अन्य मुलुकले आफ्नो राजनिति लादेर प्राकृतिक श्रोत बलजफ्ती कब्जा गरी उपभोग गरेको परिस्थिती भएको हुनुपर्छ । त्यस्तो अवस्था ईतिहासमा हामि कहिल्यै थिएनौं र अहिले पनि हाम्रो सामु त्यो तहको चुनौती छैन, हामिले हुन दिएका छैनौं । कालापानी क्षेत्रकोे सम्बन्धमा हामिले आवाज उठाएका छौं । हामिले प्रमाण सहित दावि गरेका छौं । रक्त रंजित ईतिहासलाई साक्षी राखेर लल्कारेका छौं । भुगोल र जनसंख्यामा सानो भएता पनि छाती चौंडा पारेर न्य ब्धबथ भनि रहेका छौं, आजका दिनमा ।

भूपरिवेष्ठित मुलुकहरुले पनि आफ्नै साँध सिमानाभित्र एउटा सुन्दर सपना कोर्न सक्छ भन्ने एउटा ज्वलन्त उदाहरण हो युरोपका भूपरिवेष्ठित मुलुकहरु ।

हामिमा एउटा हिनता छ, हामि भूपरिवेष्ठित मुलुकको नागरिक हौं, छिमेकीसँग नझुकी धरै छैन आदी आदी । त्यो पुर्खाले बगाएको रगतको अपमान हो । हामी मात्र हैन, विश्वमा यस्ता भु-परिवेष्ठित मुलुकको संख्या ४४ वटा छन् । दक्षिण अमेरिका महादेशमा २, युरोप महादेशमा १४, अफ्रिका महादेशमा १६, एसिया महादेशमा १२ वटा छन् । ती हामि जस्तै समुन्द्री यातायातमा पहुँच नभएका मुलुकहरु हुन । त्यसका बाबजुद् पनि ति मुलुकहरु मध्ये कतिपय मुलुकहरुले तरक्की गरेका छन् । गृहयुद्धको चपेटामा परेका मुलुकहरु वाहेक अन्यको आर्थिक अवस्था हेर्ने हो भने उत्साहजनक रहेको पाईन्छ । कुल ग्राहस्थ उत्पादन (जिडिपी) को गणनामा उच्च जिडिपी भएको भूपरिवेष्ठित मुलुकहरुको सुचिमा नेपाल १८ औं नम्बरमा पर्न आउँछ भने जिडिपीको प्रति व्यक्ति आयमा उच्च जिडिपी भएको भूपरिवेष्ठित मुलुकहरुको सुचिमा नेपाल ३५ औं नम्बरमा पर्न आउँछ । अफ्रिकी महादेशको केही मुलुकहरुको आर्थिकस्थिती नेपालको भन्दा कमजोर छ भने, एशियामा हामि अफगानस्तान भन्दा मात्र अगाडी छौं । युरोप महादेशका भूपरिवेष्ठित मुलुकहरुको प्रति व्यक्ति आय भने समग्र विश्वको जनताको औसत आय भन्दा बढि नै हुन आउँछ । भूपरिवेष्ठित मुलुकहरुले पनि आफ्नै साँध सिमानाभित्र एउटा सुन्दर सपना कोर्न सक्छ भन्ने एउटा ज्वलन्त उदाहरण हो युरोपका भूपरिवेष्ठित मुलुकहरु । भूपरिवेष्ठित मुलुक हुनुको नाताले हामिले केही अप्ठेराहरु निश्चय नै भोग्नु पर्छ । तर पनि हामि हाम्रो अप्ठेराहरुभित्रै मुलुक सम्वृद्ध पार्ने र जनतामा खुशियाली ल्याउने उपाय खोजी गर्न सक्छौं । विकल्पहरु प्रयोग गर्न सक्छौं । त्यसका लागि युरोपका भूपरिवेष्ठित मुलुकहरुको कार्यशैली पछ्याउन सक्नुपर्छ ।

अहिले हामिले स्वाधिनताको लडाईं लड्ने भनेको परनिर्भरता विरुद्ध लड्ने हो । त्यसले हामिलाई पराधिन महशुस गराई रहेको छ । त्यो लडाईं हाम्रो आर्थिक सम्वृद्धिको लागि लड्ने हो । त्यो चुनौती अरु कसैले सृजना गरि दिएको हैन । त्यसको लागि दोषी हामि आफैं हौं । भारत न भै त हाम्रो केही पनि चल्दैन भन्ने लघुताभाष त्याग्न सक्नुपर्छ । गौंडामा बसेको कारणले केही समय झेल बखेडा त गर्ला नै ।

अन्तर्राष्ट्रिय कानुन अनुसार भूपरिवेष्ठित मुलुकले पाउने पारवाहन सुविधा उसले हामीलाई नदिई सुखै पाउँदैन । व्यापार हो, बजार जता पनि छ, विकल्प जता पनि छ भनेर सोचौं, जो सुकैको घमण्डलाई चकनाचुर पार्न सकिन्छ ।

दोश्रोमा,

आत्मनिर्भर अर्थतन्त्र

कृषि उद्यमबाट मनज्ञ आम्दानी लिन सक्ने वातावरण बनाई राष्ट्रिय आवश्यकता परिपूर्ती गर्ने मात्र हैन निर्यात समेत गर्न सक्ने गरी कृषिलाई आर्थिक मेरुदण्डको रुपमा विकास गरियो भने परनिर्भरता विरुद्धको लडाँइमा ठुलो विजय हासिल गर्न सकिन्छ ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि अत्यावश्यक प्राथमिक कुरा देशभित्रै रोजगारी बढाउनु हो । यो गर्न सकेको खण्डमा मुलुकमा उत्पादन बढ्छ र राष्ट्रिय आवश्यकता देशभित्रैबाट पूर्ति हुन्छ । यसो हुन सक्यो भने देश भित्रका उत्पादन र श्रमको मुल्य राष्ट्रिय अर्थतन्त्रमा जोडिन सक्छ । हामिले हेरि सक्यौं, वैदेशिक रोजगारी बाट प्राप्त रकम उपभोग्य सामान खरिदको लागी फेरी विदेश नै पुगी रहेको छ । यस्तोमा वैदेशिक रोजगारबाट आएको रकमको आधा हिस्सा मात्र राष्ट्रिय अर्थचक्रमा जोडिंदो रहेछ । देशभित्र उत्पादन न्युन भएको कारणले दैनिक उपभोग्य सामानको खरिदको लागि समेत राष्ट्रिय आय बाहिर पुगि रहेको छ । निर्माण क्षेत्रमा नेपालमा काम गर्न आउने विदेशी मजदुरहरु मार्फत बाहिरिने रकम त झन कहाली लाग्दो छ । यस्तै अवस्था रहि रहने हो भने हामि कहिल्यै माथि उठन सक्दैनौं । अब हामिले आफ्नै नागरिक श्रमलाई उपयोग गरिे मुलुकमा भएको प्राकृतिक श्रोत को उचित परिचालन र उपयोग गरी उत्पादन र रोजगारी सिर्जना गर्ने तर्फ ध्यान दिनु पर्छ । त्यसको लागि ठोस एवं रणनैतिक भौतिक पूर्वाधारहरुको पहिचान गरि प्राथमिकताका साथ विकास गर्नु जरुरी छ । भु-उपयोग निति ल्याई माटो, हावापानी अनुकुल कृषि र पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्ने योजना ल्याउन पर्छ । ब्यवसायिक कृषि कर्म गर्न चाहनेलाई आवश्यक भूमि, सिंचाई, ज्ञान, तालीम, स्वचालित कृषि औजार, पूँजी, बजार र मुल्यको सुनिश्चितता हुने गरी युवाहरुलाई यसमा आकर्षण गर्न सकिन्छ । परिकार, प्याकेजिङ र प्रशोधन उद्योगहरु स्थापना गरी कृषि उपजमा आधारित क्षेत्रमा थप रोजगारी सिर्जना गर्न सकिनुको साथै खाद्य सुरक्षामा समेत उल्लेख्य भुमिका निर्वाह गर्न सकिन्छ । कृषि उद्यमबाट मनज्ञ आम्दानी लिन सक्ने वातावरण बनाई राष्ट्रिय आवश्यकता परिपूर्ती गर्ने मात्र हैन निर्यात समेत गर्न सक्ने गरी कृषिलाई आर्थिक मेरुदण्डको रुपमा विकास गरियो भने परनिर्भरता विरुद्धको लडाँइमा ठुलो विजय हासिल गर्न सकिन्छ । त्यसै गरी वन पैदावार र जडिबुटीको उत्पादन र प्रशोधन गरी औषधीजन्य र श्रृंगारका प्रशाेधन उत्पादन गर्ने उद्योगहरु संचालन गरी रोजगारी सिर्जना गर्न सकिन्छ । हामि आत्म निर्भर हुने प्रशस्त बाटाहरु छन् । त्यसको हामिले खोजी गरेकै छैनौं ।

त्यस्तै निर्माण क्षेत्रमा जान चाहनेलाई समेत उचित तालिम, शीप उपलब्ध गराई सुचिकृत रोजगारदाता मार्फत सुचिकृत श्रमिक उपलब्ध गर्ने गराउने परिपाटी बसाल्न सकिन्छ । यसले श्रमिकहरुको रोजगारी ग्यारेन्टीका साथै श्रमिकहरुको आत्मसम्मान बढाउन मद्दत गर्छ । जो कोही एउटा मान्छेमा मसँग काम छ भन्ने गर्व गर्न सक्ने ठाउँ नभएसम्म राष्ट्रले गर्व गर्न सक्दैन ।

अहिले हाम्रो प्रमुख समस्या भनेको ईन्धन हो । जलविद्युतको उत्पादनले पेट्रोलियम पदार्थ माथिको पर निर्भरता धेरै हदसम्म न्यूनिकरण गर्न सकिन्छ । यसको स्वदेशमै उपलब्ध कच्चा पदार्थ उपयोग हुने अत्यावश्यक सामान र निर्यात गर्न सकिने सामानहरुको उद्योग स्थापना र रोजगारी सिर्जना गर्न मद्दत गर्छ । हाम्रो प्रविधी र हामिसँग नभएका खनिज र कच्चा पदार्थको अभावले हामिले विकास गर्न नसकेको वस्तुहरुको आयातलाई सन्तुलनमा ल्याउन निर्यात जन्य वस्तुहरुको खोजी गरी उत्पादन गर्न सक्नु पर्छ ।

पर्यटन क्षेत्र हाम्रो प्राथमिकतामा परेकै क्षेत्र हो । यसको लागी प्रचार गरेर पुग्दैन । आवश्यक पुर्वाधारहरुको पहिचान, विकास र सुविधा वृद्धि गर्ने तर्फ लाग्नुपर्छ ।

पुँजी र प्रविधीहरु लिएर बहुराष्ट्रिय कम्पनिहरुलाई आउन दिएर जीवनोपयोगी समानहरुको उत्पादन र निर्यात बढाउन सकिन्छ ।

हाम्रो विविध भू-बनौट, वन जंगल, हिमाल, हावापानी आदि, हामिलाई प्रकृतिले दिएका वरदान हुन् । हामिलाई आवश्यक पर्ने गाँस, बास र कपासको हामि यहींबाट जोहो गर्न सक्छौं । यसको अलावा शिक्षा र स्वास्थ्यको आधार तयार भई सकेको छ । यसमा पनि थप विकास गरेर हामि आत्मनिर्भर हुन सक्छौं । पुँजी र प्रविधीहरु लिएर बहुराष्ट्रिय कम्पनिहरुलाई आउन दिएर जीवनोपयोगी समानहरुको उत्पादन र निर्यात बढाउन सकिन्छ । यी र यस्ता अन्य कार्यहरु सम्पादन गर्दै जाँदा देशमा राष्ट्रिय आय बढ्दै जान्छ । रोजगारीको अवसर बढ्दै जान्छ । समृद्ध नेपालको खाका कोरिंदै जान्छ ।

विदेशीको थिचोमिचो र हस्तक्षेपले विश्वका धेरै मुलुकहरुमा राष्ट्रिय जागरण आएको उदाहरण छ । त्यहीँ जागरणले उनीहरु सम्मानतापूर्वक आफ्नो पहिचान स्थापित गर्न सफल भएका छन् । अहिले नेपालमा पनि ठिक त्यही खालको जागरण प्रस्फुटन भएको छ । यसलाई अहिले हामि आम नेपालीले परनिर्भरताको विरुद्धको युद्धको रुपमा अंगिकार गर्न सक्नुपर्छ । सरकारले त्यो खालको वातावरण बनाई दिएर युद्धभुमिमा मेहनतकामी जनताहरुलाई स्वतः स्फुर्त जान उत्प्रेरित गर्नुपर्छ । त्यो गर्न सकेको केहि बर्षमै हामि परनिर्भरताबाट मुक्त हुन सक्छौं । हामि स्वाधिन त छदैछौं, आत्मनिर्भरता पनि प्राप्त गरेको दिनमा हामिलाई हेप्न सक्ने बाँकी कोही रहन्नन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top