२०७७, ४ कार्तिक मंगलवार


KC Fancy Store Nuwakot

लकडाउन: वर्तमान शैक्षिक प्रणाली र भर्चुअल दुरशिक्षा

डबली खबर     बैशाख २२ २०७७ १३:०१



priya shah and soni sherpa student opinion article virtual class in nepalese education

कोरोनाभाईरसले निम्त्याएको महामारीले गर्दा आर्थिक, सामाजिक, मनोवैज्ञानिक साथसाथै शैक्षिकस्थितिमा प्रत्यक्ष रूपमा असर पारेको छ । वैशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्र निर्धारित समयमा सुरु हुन पाएन। त्यसै गरी २०७६ चैत्र ६ गते गरिने भनिएको एसईईको परिक्षा पनि स्थगित भएको छ भने माध्यमिक तहको कक्षा ११ र १२ को पनि बोर्ड परीक्षा रोकिएको छ। नेपालमा करिब ७ लाख ५० हजार भन्दा बढी विधार्थीहरु महामारीको कारणले मारमा परेका छन्। लकडाउनको कारण कक्षाहरु नियमित रूपमा सञ्चालन भएको छैन। तसर्थ यस महामारीले हालको शैक्षिक प्रणालीलाई नै उथलपुथल पारेको छ।

नेपालको विभिन्न यूनिभर्सिटी तथा शैक्षिक संस्थाहरुले पाठ्यक्रमको लक्ष्य प्राप्तिका निमित्त सूचना तथा सञ्चार प्रविधिमार्फत् अनलाईन कक्षाहरु सञ्चालन गरि रहेकाछन्। कक्षाकोठामा बसी “फेस टु फेस” पढ्ने वातावरणमा हुर्केका विधार्थीहरु अहिले मोबाइल, ट्याब, कम्प्यूटर आदि जस्ता सयन्त्रको माध्यमबाट र ईन्टरनेटको पहुँचले गर्दा शिक्षा आर्जन गरि रहेका छन्। भर्चुअल दुरशिक्षा जूम, गूगल क्लास रुम, लाइभ क्लास जस्ता एप्लिकेशनबाट कक्षाहरु सञ्चालन भईरहेका छन् जुन माध्यम शिक्षक र विद्यार्थी दुवैका लागि नौलो छ ।

नेपालको सन्दर्भमा अनलाईन कक्षाहरु भने भौगोलिक, आर्थिक,आदि दृस्टीकोणबाट वर्तमान समयमा असान्दर्भिक देखिएको छ।  नेपालका सबै शिक्षक तथा विधार्थीको पहुँच इन्टरनेट तथा इन्टरनेट चलाउन प्रयोग हुने यन्त्रको अभावले गर्दा अनलाईन कक्षा एकदमै चुनौतीपूर्ण देखिएको छ।

शिक्षक र विद्यार्थीहरु एकै ठाउँमा भेला भइ पढ्ने शैक्षिक संस्कृति जुन परम्पराको इतिहास गुरुकुल देखि नै चल्दै आइरहेको छ। यस संस्कृतिबाट डिजिटल युगमा सिक्न, सिकाउनका लागि अनलाईन कक्षाको बारेमा सोच्नुपर्ने बाध्यता महामारीले पैदा गरेको हाे । अहिलेको सन्दर्भमा अनलाइन कक्षाहरु त्यति प्रभावशाली नदेखिए तापनी लामो समय अन्तरालको लागी शैक्षिक प्रणालीमा सुधार ल्याउनका लागि यसले महत्त्वपूर्ण भमिका खेल्न सक्दछ।

विद्यार्थीको सिर्जनात्मक क्षमतालाइभन्दा मेमोरीलाई प्राथमिकता दिने हाम्रो शैक्षिक प्रणालीले बजारको आवश्यकतालाई बुझ्न सकेको छैन। साथसाथै विद्यार्थी आफैले नै नयाँ सीप, ज्ञान आर्जन नगरी स्थापित, पुराना ज्ञान मात्रै रठ्दै बस्नु परेको अवस्था छ। माइकल बारबर, डिरेक्टर अफ स्टडिज फर द इजावेल फारिङट्न कलेज अफ एजुकेसनका अनुसार भोलिका विधालयहरु आजका विद्यालय जस्तो हुने छैनन र ग्लोबलाइज समय भएको कारणले गर्दा शिक्षा प्रणालीमा विकास गर्नका लागि विज्ञान र प्रविधिको भूमिका धेरै भएको बताउनु भएको छ।

भौतिक निर्माणदेखि लिएर विभिन्न शिर्षकमा चार्ज लिदाँ अहिलेको शिक्षण प्रणाली दिनप्रतिदिन महँगो हुदै आएको छ।

अनलाइन कक्षाको माध्यमबाट विश्वका विधार्थीहरु एकै ठाउँमा बसी सिक्न सक्छन्। कुनै विषयमा छलफल गर्नसक्छ्न। नेपालको शिक्षकले पढाईरहदा नेपाली, भारतिय, अमेरिकी, चिनियाँ विधार्थीहरुले शिक्षा लिन पाउँछन्। त्यसैगरि नेपाली विद्यार्थीहरुले पनि विश्वका विद्यार्थीहरुसगँ सम्बन्ध बनाइ शैक्षिक सामाग्रीहरुको सजिलोआदानप्रदानका साथसाथै विश्वको ज्ञान प्रत्यक्ष रुपमा लिन सक्छन। अनलाइन कक्षाले समय सदुपयोग गर्नका साथसाथै यो शिक्षण प्रणाली अहिलेको शिक्षण प्रणालीभन्दा सस्तो हुन्छ। भौतिक निर्माणदेखि लिएर विभिन्न शिर्षकमा चार्ज लिदाँ अहिलेको शिक्षण प्रणाली दिनप्रतिदिन महँगो हुदै आएको छ। डिग्री पश्चात् पनि कमाउन नसक्ने खर्च र बजारमा टिक्न सकिने निश्चितता नभएको कारणले गर्दा अनलाईन शिक्षाको बारेमा एकचोटी मनन गर्नु पर्ने हुन्छ। त्यसै गरि हातमुख जोड्न काम गर्न बाध्य भएका तर पढ्न, सिक्न मन पराउनेका लागि अनलाइन एक्दमै लाभदायिक हुन्छ।

देश विकासका लागि उच्च चेतनायुक्त प्राविधिक दक्ष नागरिकको आवश्यकता रहन्छ र यी आवश्यकता परिपुर्ति गर्नका लागि परम्परागत शिक्षण प्रणालीबाट माथी उठि अनलाइन शिक्षण प्रणालीलाई जोड दिनुपर्छ।

अनलाइन कक्षा लकडाउनभन्दा अगाडि नै शैक्षिक प्रणालीमा विकल्पको रुपमा थियो तर यस महामारीले यो आवश्यकताको रुपमा सिर्जना गराइदिएको छ। भनिन्छ- बानी २१ दिनमा विकास हुन्छ र समयसङ्गै यो जिवनशैलीमा परिणत हुन्छ। अनलाईन कक्षा पनि सुरुको दिनमा असान्दर्भिक, चुनौतीपूर्ण लागेता पनि यसको महत्त्वलाई बुझी अङ्गाल्दै गएमा पठनपाठनको शैलीमा विकास हुन धेरै समय लाग्दैन।

विश्व आर्थिक फोरमको रिपोर्ट अनुसार अहिलेको प्राईमेरी स्कूलमा पढ्ने बच्चाहरुले भोलीको दिनमा ६५% यस्तो काम गर्नेछन् जुन अहिलेसम्म स्थापित नै भएको छैन। माईकल  बार्बोरको अनुसार हामी अहिले एजुकेशनल रेभोलुशन अर्थात् शैक्षिक क्रान्तिको अवस्थामा आईपुगेका छौँ। यसर्थ हामीले यस महामारीलाई मौकाको रूपमा लिई शिक्षादिक्षामा चाहिने आवश्यक परिवर्तन तिर सोँच विचारलाई ढाली विशेषत विधार्थीहरुको अनलाईन शिक्षण प्रणालीमा सहज पहुँच निश्चित गर्नुपर्दछ। विद्यार्थीहरुले अनलाईन शिक्षाको विभिन्न सानो ठुलो फाईदा कसरी लिन सक्छन् भन्ने तर्फ ध्यानाकर्षण गर्नुपर्दछ।

वर्तमान शिक्षण प्रणालीलाइ अनलाईन शिक्षण प्रणालीमा  परिणत गरी यसलाई औपचारिक रूपमा स्थापित गर्नको लागि विधार्थी, शिक्षक र अभिभावकको अहम भूमिका रहन्छ।शिक्षकहरुको यस प्रणाली प्रतिको जमर्को, लगनशिलता र उचित प्रयोगले नै  यसको प्रभावशीलता र निपुणतालाई देखाउन सक्छ। राम्रो शिक्षक हुनको लागि आफू पहिले राम्रो  विधार्थी हुन जरुरी  छ। कक्षा कोठामा बसी पढ्ने बानी भएको विधार्थीलाई मोबाईल, ल्यापटप, आदिबाट पढ्नको लागि प्रोत्साहन गर्न शिक्षकले सक्नु पर्दछ।  त्यसैले यस्तो कुराहरु मध्यनजर गरेर शिक्षकहरुले अनलाईन शिक्षण प्रयोग गर्दा हुन सक्ने कमजोरी, समाधान र मुख्यत विधार्थीको तन र मन कसरि यस पठनपाठनको विधि तर्फ केन्द्रित गर्न सकिन्छ जस्ता कुराहरुको बारेमा अगावै आवश्यक खोज, अनुसन्धान र छलफल गरी समाधान पनि निकाल्नु पर्दछ। अनलाईन शिक्षण विधि प्रयोग गरिरहँदा कत्तिको प्रभावकारी भईरहेको छ भन्ने कुराको जानकारी प्राप्त गर्नको लागि प्रतिक्रिया समयावधि छुट्ट्याउनु शिक्षकको दायित्व हो।

अनलाइन शिक्षण प्रणाली यस डिजिटल युगमा आफ्नो बालबच्चाको लागि आवश्यकता र उपयोगी छ भन्ने बुझाइ र यस शिक्षण प्रणालीतर्फ अभिभावकको विश्वास हुनु एक्दमै महत्त्वपूर्ण छ। शिक्षण प्रणालीलाई  कार्यान्वयनमा ल्याउनको लागि आफ्नो घरमा उपर्युक्त ईन्टरनेट जडान वा एन्सेल / एन्टिसी आदि जस्ता सेवा ग्राहिको ईन्टरनेट सेवा लिई त्यसको उपयोग पठनपाठनमा अभिभावकले गर्न सक्दछ ।अनलाइन कक्षामा ध्यान केन्द्रित गर्नु पर्ने कारणले गर्दा अभिभावकहरुले घरमा पढ्न सक्ने वातावरण बनाउनु पर्द्छ। अनलाईन शिक्षण प्रणाली मार्फत शिक्षाको आदानप्रदान सबै तहको विधार्थीहरुको लागि महत्वपुर्ण भएको कारणले गर्दा विशेष गरी प्राथमिक तहको विधार्थीलाई अभिभावकले सहशिक्षकको सरह भूमिका खेल्नु पर्दछ।

अनलाईन शिक्षण प्रणाली तर्फ विधार्थीको सोच, धारणा, आशा र उचित प्रतिक्रियाले नै यस प्रणालीलाइ औपचारिक रूपमा स्थापना गर्न विशेष मदत पुर्याउँदछ। विधार्थीहरुले यस प्रणाली प्रयोग गरिरहँदा देखिएका समस्याहरुलाई समाधान गर्नुको साथसाथै अनुशासित भई प्रतिबद्धता देखाउनु  नै विद्यार्थीको अहम भूमिका हुन्छ।

नेपालको विभिन्न शिक्षण संस्था जस्तै त्रिभुवन विश्वविद्यालय, काठमाडौं  विश्वविद्यालय लगायतका विद्यालयहरुले यस महामारीको अवस्थामा अनलाईन शिक्षाको सुविधा विद्यार्थीहरु माझ प्रकट गरि उनीहरुलाई सेवा गर्न सफल भएका छन् र यो प्रसंशनीय पनि छ। अनलाइन शिक्षाको महत्त्वलाई बुझी विद्यार्थी, शिक्षक र अभिभावकहरुले आ-आफ्नो भुमिकालाई निर्वाह गर्दा असम्भव ठानिएको यो शिक्षण प्रणाली केही समयपछि जिवनशैलीमा परिणत हुन सक्छ। तसर्थ शैक्षिक संस्था त्यसमा सङ्लग्न विभिन्न अधिकारी र विभिन्न तहका सरकार बीच सुमधुर सम्बन्ध कायम गर्दै अनलाइन शिक्षा प्रणालीको बारेमा आवश्यक छलफल र समन्वय गरी शैक्षिक प्रणालीमा परिवर्तन ल्याउनु आजको आवश्यकता बन्नुको साथसाथै वर्तमान समाजको माग पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top