२०७७, ४ आश्विन आईतवार

महामारीमा सामाजिक सञ्जाल

डबली खबर     बैशाख १४ २०७७ ००:१५



kushal duwadi

अहिले पूरा विश्व नै कोरोना नामक महामारीसँग जुधिरहेको छ। चीनको वुहानबाट फैलिएको कोभिड-१९ नामक भाइरस अहिले संसारभर फैलिसकेको छ। यो लेख लेखिरहदा अहिलेसम्म विश्वमा २८ लाख २६ हजार जना भन्दा बढी मानिस संक्रमित भईसकेका छन् भने १ लाख ९७ हजार भन्दा बढीको मृत्यु पनि भईसकेको छ। नेपालमा भने हालसम्म ४८ जनालाई कोरोना देखिसकिएको अवस्था छ भने ती मध्ये ११ जना यस बिरामीलाई जितेर घर फर्किसकेका छन्। पूरा विश्वले नै पहिला हलुका रुपमा लिएको यस भाइरसलाइ यदि समयमै सम्पूर्ण राष्ट्रले यसलाई निर्मुल पार्न तर्फ लागि परेका भए सायदै आज यो अवस्था आउदैन थियो होला।

कोरोना पुरा विश्वभरि फैलिरहदा पनि सामाजिक सञ्जालको प्रयोग भने दिनानुदिन बढ्दै गईरहेको हामि पाउन सक्दछौ। सामाजिक सञ्जाल पहिलेदेखि नै मानिसको जीवनको हिस्सा बनिसकेको थियो र यसलाई झन् मजबुत अहिले कोरोनाले बनाएको छ। २१औ शताब्दीमा मानिसहरुले सामाजिक सञ्जाल विभिन्न ध्येय राखेर प्रयोग गर्ने गरेको हामि पाउने गर्दछौ। कसैले यसलाई मनोरञ्जन, कसैले व्यापार व्यवसाय प्रवर्धन गर्नको निम्ति पनि प्रयोग गर्ने गरेको हामि पाउन सक्दछौ । यसको प्रयोग सँगसँगै यसको दुरुपयोग पनि बढ्दो रुपमा रहेको छ। यसको दुरुपयोगले भविष्यमा झन् समस्या ल्याउन सक्ने भन्दै त्यस्ता दुरुपयोगलाई रोक्न हाल लागुमा रहेको ऐनमा भन्दा बढि सजाय हुने गरि सुचना प्रविधि विधेयक ल्याइएको छ। अहिलेको यस अवस्थालाई मध्यनजर गरेर हेर्ने हो भने चाहि मानिसहरुले विशेषत: सामाजिक सञ्जाल मनोरञ्जन तथा दैनिक दिनचर्याकाे निम्ति प्रयोग गरेको हामि देख्न सक्दछौ । आज कसको घरमा के पाक्यो? कसकोमा के हुदैछ? भनेर पहिला जस्तो गाउँ डुल्दै जानुपर्दैन सामाजिक सञ्जालको प्रयोगले गर्दा एक क्लिकमै हामीलाई सबै कुरा थाहा हुन्छ। यसको प्रयोग हेर्दा थाहा हुन्छ नेपालीहरुले साच्चै सामाजिक दुरी कायम राखेर भएपनि जीवनसँग रमाइलो गरिरहेका छन्। यति भनिरहँदा घरजान नपाएर र राहत नपाएर रोइरहेका नेपालीको पिडा भने बिर्सनुहुदैन। उनीहरुलाई सामाजिक सञ्जालमा देख्दा जो कोही नेपालीको आँखामा आँशु आउँछ। समग्रमा सामाजिक सञ्जाल सुख, दु:ख साट्ने माध्यम बनेको हामी पाउन सक्छौ ।

सदुपयोग

समाजभन्दा पर गएर मोबाइल या कम्प्युटरको ‘भर्चुअल इमोसन’ मा रुमेका छौं।

सामाजिक सञ्जालले गर्दा देश तथा विदेशमा रहेका बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीलाई जोड्न र कुरा गर्न सजिलो भएको छ। विदेशमा रहेका वा लकडाउनमै परिवारसँग छुट्टिएका नेपालीलाई यस परिस्थितिमा पनि आफ्नो परिवारको अनुहार देख्न पाउँदा भने देशमै आउन नसके पनि वा देशभित्रै रहेर एउटै ठाउँमा जोडिन नसकेपनि केहि राहत भने पक्कै मिलेको छ। मानिसका विभिन्न प्रतिभा हुन्छन् कोही नाच्न जान्ने हुन्छन, कोही गीत गाउँन। कसैले आफ्नो कलालाई बाहिर ल्याउँछन् भने कसैले ल्याउँदैनन। यस खालि समयको बेलामा सामाजिक सञ्जालले  मानिसलाई आफ्नो कलालाई बाहिर ल्याउन पनि मद्दत गरेको छ र मानिसभित्र लुकेर बसेको कलालाई पनि यसको प्रयोगले निखार्नको निम्ति निकै नै सहयोग गर्ने गरेको छ। सञ्जालको सदुपयोग भएर आज सरकार पुग्न नसकेको देशको कुनाकाप्चामा भोको रहेका जनताको निम्ति पनि राहत लिएर विभिन्न व्यक्ति वा संघसंस्थाहरु पुगिसकेका छन्। यसको उचित प्रयोग गरौ फेरी टाउकोमा हात राखेर माल पाएर हामीले चाल पाएनौ भन्नुपर्ने हुन्छ। केहि शुल्क भुक्तान गरेपछि सामाजिक सञ्जालमा विश्वभर कुनै पनि व्यवसायले आफ्नो व्यापार, प्रडक्टको प्रवर्द्धन गर्न सहज भएको छ । कुनै पनि महामारी, आँधीबेहरी जस्ता प्राकृतिक दुर्घटनाकाे बारेमा सजक गराउन मद्दत गरेको छ भने पिडित र सकुशल रहेका व्यक्तिहरुको तथ्यांक संकलनमा सहज तुल्याएको छ । बाबुआमाले छोराछोरीको दुर्गुण यसैमा खोतल्ने, छोराछोरीले बाबुआमाप्रतिको गुनासो यसैमा पोस्ट गर्ने, कसैको मृत्युको दुःख यसैमा जनाउने, कसैलाई शुभकामना दिनुपरे यसैमा बताउने। समाजभन्दा पर गएर मोबाइल या कम्प्युटरको ‘भर्चुअल इमोसन’ मा रुमेका छौं।

दुरुपयोगको उच्च्कोटिमा सामाजिक सञ्जाल

“बाँदरको हातमा नरिवल” भनेझैँ जति नै राम्रो कुरा भएपनि हामि नराम्रो कुरा बढी आकर्षित हुन्छौ। सामाजिक सञ्जालको यति धेरै फाइदा हुँदाहुँदै पनि यसबाट नराम्रो र नचाहिँदो कुरा गर्न नै मानिसहरु बढि लागिपरेका छन्। पूरा विश्वमा नै संकटको अवस्था हुँदापनि फेक जानकारी (झुट) को खेति गर्नेहरुको कमि छैन। नेपालमा त अझ यस्तो गिरोहहरुको नै निर्माण भएको छ जसले गलत सूचना सामाजिक सञ्जालमा सम्प्रेषण गरिरहेका छन्।  हामि जानी नजानी सामाजिक सञ्जालमा आइरहेको गलत सूचनाहरुलाई समेत शेयर, लाइक र कमेन्ट गरिरहेका हुन्छौ। हामि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तालाई  भने “कागले कान लग्यो रे!” भनिसकेपछि आफ्नो कान छाम्दै नछामी कागको पछाडी लाग्ने रोग लागेको छ। हामि जुनसुकै कुरा सामाजिक सञ्जालमा आइसकेपछि त्यस्ता कुराहरुको खोज अन्वेषण नगरी त्यस्ता कुराहरु शेयर गर्न पुग्दछौ जस्तै “भेनेजुएलाको रोडमा छरिएको पैसा” लाई झुट्टो बनाइ “इटालीमा कोरोनाको प्रवाहले गर्दा मानिसहरुले अब पैसाको केही महत्व नरहेको भनी पैसा छरेको” भनि सामाजिक सञ्जालमा गलत प्रसारण गरिएको थियो। त्यतिमात्र नभई यदि त्यस्ता झुट्टा समाचार कुनै मानिसको बारेमा नराम्रो झल्काएर लेखिएको छ भने त त्यो मानिसको सात पुस्तासम्मलाई गाली गर्न पछाडि पर्दैनौ।

महामारीलाई लिएर कुनै धर्म, समुदायलाई दोषारोपण र त्रासमा सामाजिक सञ्जालमार्फत एकहरफका आधारमा धारणा बनाई अफवाह फैलायियो ।

अहिले त नेपाल धर्म निरपेक्ष राष्ट्र बन्यो । पहिले हिन्दु अधिराज्यहुँदैदेखि यहाँ रहेको धार्मिक सहिष्णुता विश्वमै उदाहरणीय छ । एकथरी व्यक्ति वा समूहलाई यो मन परेको छैन । यहाँको धार्मिक र जातीय सहिष्णुतामाथि निरन्तर प्रहार भइरहेको छ । सामाजिक सञ्जाल पनि यस काममा प्रयोग भइरहेका छन् । विदेशमा त सामाजिक सञ्जालमा राखिएको एउटै पोस्टले सस्प्रदायिक दंगा भड्किएका धेरै उदाहरण छन् । नेपाली सामाजमा द्वेष फैलाउन सामाजिक सञ्जाल कसरी प्रयोग हुनसक्छ भन्ने उदाहरणका यस महामारीमा दुई महिलाले पैसा चाट्दै फ्याँक्दै हिँडेको, मुसलमान समुदायको जमात लगायतको विषयलाई लिएर पनि हाम्रो समाजको ठूलो समूह त्यस्को सत्यता खोजबिन गर्नेतर्फ सोच्न पुगियो । महामारीलाई लिएर कुनै धर्म, समुदायलाई दोषारोपण र त्रासमा सामाजिक सञ्जालमार्फत एकहरफका आधारमा धारणा बनाई अफवाह फैलायियो । यस अघि नेपालका धेरै नेता, सामाजिक अभियन्ता, कलाकार, खेलाडी र अन्य पेसाकर्मीमात्र नभएर विभिन्न संघसंस्थासमेत यस्तै घटनाबाट पीडित भएका छन् ।

एउटा भनाइ नै “छ कानुनको अनभिज्ञता कसैलाई पनि क्षम्य हुदैन।” त्यसैले सामाजिक सञ्जालमा आइरहेको फेक (गलत) सूचनालाई आफुले रमाइलो ठानी प्रतिक्रिया दिँदा त्यस्ता पोस्टहरुले समेत हामीलाई कठघरा पछाडि उभ्याउन सक्छ। हाल नेपालमा सामाजिक सञ्जालबाट हुने अपराधलाई नियन्त्रण गर्नको निम्ति विधुतिय कारोबार ऐन, २०६३ मा “कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ” भन्ने व्यवस्था छ । देशमा कार्यन्वयनमा रहेको मुलुकी अपराध संहिता, २०७४ को दफा ३०७ ले समेत यदि कोही कसैले विधुतीय वा अन्य आमसञ्चारको माध्यमबाट बेइज्जती गरेमा त्यस्ता व्यक्तिलाई कायम रहेको सजाय भन्दा थप एक वर्षसम्म कैद र दश हजार रुपैंयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना तथा सञ्चार प्रविधिमा आएको द्रुत तर विकास सँगसँगै सार्वजनिक सञ्चारका साधन तथा मिडिया, फेसबुक, ट्विटर, इमो, भाइवर, मेसेन्जर जस्ता सामाजिक सञ्जालहरूको प्रयोगमा बढोत्तरी आएको भन्दै सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्ग निर्देशन, २०७५ पारित गरेको छ । सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने किसिमका कार्य कानुनले दण्डनीय हुन्छ भनी केही सञ्चारका माध्यमबाट यस सम्बन्धी जनचेतनाका कार्यक्रम समेत प्रवाह हुने गरेका छन् ।

राजनीतिज्ञको प्रयोगमा सामाजिक सञ्जाल

राजनैतिक दलहरुले चुनावको समयमा सामाजिक सञ्जालको प्रयोग गरि प्रचारप्रसार गरि सर्वसाधारणलाई क्रियाशील बनाउने गरेको छ ।

नेपाल संघियतामा प्रवेश गरेको दुई वर्ष पूरा भइसकेको छ। संघियतामा प्रवेश भैसकेपश्चात तीन तहको सरकारको स्थापना भएको छ। सदैव जनताको नजिक र जनताको आवाज पहिला सुन्ने भनेको स्थानिय तह नै हुन्छ। स्थानिय तहका विभिन्न व्यक्तिहरुले हामीले यति रकमको राहत यो स्थानमा बाड्यौ र अब हामि राहत यो स्थानमा बाढ्ने छौ भनेर बताइरहेको हामि पाउन सक्दछौ। कोही कोही राजनीतिज्ञले राहतमा गरेको अनिमियतता समेत यसबाट घोर विरोध भईरहेको छ। सामाजिक सञ्जाल राजनीतिज्ञहरुको लागि पनि जनतासँग अन्तरक्रिया गर्ने माध्यम बनेको छ। स्थानिय तहकामात्र नभई देशमा रहेका विशिष्ट राजनीतिज्ञहरु समेत यस विकारल अवस्थामा लाइभ (प्रत्यक्ष) आएर जनतासँग जोडिरहेका छन्। आफ्ना जिल्लाका जनतालाई घर फर्किन सकिने सूचनाहरु समेत सामाजिक सञ्जालबाट नै आइरहेको छ। यसले जनतामा पनि थोरै आशाको किरण भने पलाएको हामि देख्न सक्दछौ। सामाजिक सञ्जाल दलको प्रचार थलो मात्र नभएर सर्वसाधारणले पनि आफ्नो अभिव्यक्तिको माध्यम बनाएका छन् यसलाई । राजनैतिक दलहरुले चुनावको समयमा सामाजिक सञ्जालको प्रयोग गरि प्रचारप्रसार गरि सर्वसाधारणलाई क्रियाशील बनाउने गरेको छ । जसले गर्दा चुनावसम्बन्धी दलका निर्णय र प्रभाव सामाजिक सञ्जालमा तत्कालै देखिन्छन् ।

सरकारको तर्फबाट थुप्रै प्रयास भईरहदा पनि अझसम्म थुप्रै व्यक्तिहरुले राहत पाउन नसकिरहेको अवस्था छ। अहिलेसम्म थुप्रै व्यक्तिले सामाजिक सञ्जालकै कारणले गर्दा राहत पाइसकेका छन् भने अझ पनि कति जना व्यक्तिहरु राहत नपाएर भोकै बस्नुपर्ने अवस्था छ। हामि सबैजना यसको प्रयोग गरिरहेका छौ। त्यसैले पनि यसको प्रयोगकर्ताले स्वयमले पनि गरिब असहायलाइ सहयोग गर्नुपर्छ र यदि त्यस्ता व्यक्तिहरु थुप्रैको संख्यामा रहेका छन् भने यसको प्रयोगबाट नै त्यस्ता व्यक्तिहरुको हितको लागि केही गर्नुपर्ने देखिन्छ। अहिले खालि समयमा हामि सामाजिक संजाल साथीभाईसंग गफगाफ गर्नको निम्तिमात्र नभई सामाजिक सञ्जालबाट नै केही नया कुरा सिक्नको निम्ति प्रयोग गर्नुपर्दछ। यसको बढी प्रयोग गर्दा मानिसको आँखामा, निन्द्रामा समेत समस्या आउन सक्छ। “चिनी पनि बढी खायो भने तितो हुन्छ” भनेझै यसको हामीले समय मिलाएर प्रयोग गरेमा यसले हामीलाई नै राम्रो गर्छ नभए यसले हामीलाई नै हानि गर्दछ।

इन्टरनेट र सामाजिक सञ्जाल 

सर्वेक्षण प्रतिवेदनअनुसार यो समयमा बालबालिका सबैभन्दा बढी अनलाइन दुर्व्यवहार वा शोषणको उच्च जोखिममा छन् ।

स्वास्थ्य मन्त्रालयले पनि टेलिभिजन र सामाजिक सञ्जाल मार्फत नै नागरिकहरुलाई दिनहुँ अपडेट दिईरहेको छ । विश्व स्वास्थ्य संगठन, युनिसेफ, विकिपीडिया, गुगल लगायतले पनि महामारीको संक्रमणबाट जोगिन र सुरक्षित रहन जनचेतनामुलक तथा कोरोनाभाइरसका कारण विश्वमा भइरहेको जानकारी पनि सामाजिक सञ्जाल मार्फत नै दिईरहेको छ । लकडाउनको समयमा घरमा बसिरहँदा नेपालीहरुले दैनिक रुपमा औसत ६ घण्टा इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ । चाइल्ड सेफ नेटले सार्वजनिक गरेको सर्वेक्षण अनुसार यो समयमा इन्टरनेटमा समय बिताउनेको संख्या निकै बढेको छ । चाइल्ड सेफ नेटले कोभिड–१९ का कारण लकडाउन सुरु भएपछि परिवर्तित अनलाइन व्यवहारको सर्वेक्षण गरेको थियो । कुल १२ सय २८ जनाले सहभागी समेटिएको सर्वेक्षणबाट ३४.५३ प्रतिशत प्रयोगकर्ताले दैनिक ४ देखि ६ घण्टा इन्टरनेट प्रयोग गर्नेको देखिएको छ । जब कि लकडाउन अघिको समयमा ४ देखि ६ घण्टा इन्टरनेट प्रयोग गर्नेको हिस्सा २६.९५ प्रतिशत रहेको थियो । एक घण्टाभन्दा कम समय इन्टरनेट प्रयोग गर्नेको हिस्सा यो बेला ७.९८ प्रतिशतबाट घटेर १.३८ प्रतिशतमा झरेको छ । त्यसमध्ये ८७.१ प्रतिशतले मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने गरेको देखिएको छ । उनीहरुको पहिलो रोजाइ युट्युव हुने गरेको बताइएको छ । सबैभन्दा बढी प्रयोग हुने अनलाइन सामग्रीमा युट्युव पहिलो नम्बरमा छ । त्यसपछि फेसबुक, इन्स्टाग्राम, नेपाली समाचार साइट, टिकटक, ट्वीटर क्रमशः दोश्रो, तेश्रो, चौथो, पाचौँ र छैटौं स्थानमा रहेका छन् । सर्वेक्षण प्रतिवेदनअनुसार यो समयमा बालबालिका सबैभन्दा बढी अनलाइन दुर्व्यवहार वा शोषणको उच्च जोखिममा छन् ।

प्रयोग गर्नै नदिने गरी नियन्त्रण सम्भव नभएता पनि किशोरकिशोरीहरुको समूहलाई विद्यालय र अभिभावकले प्रयोगको सकारात्मक र नकारात्मक पाटोबारे बेलैमा जानकारी दिए सामाजिक सञ्जालबाट हुने सम्भावित दुर्घटनाको जोखिम न्यून गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top