२०७७, ९ आश्विन शुक्रबार

लकडाउन! विद्यार्थीका लागि एक अवसर: वर्षा पुडासैनी

डबली खबर     बैशाख १० २०७७ ०९:१९



barsha pudasaini nist kathmandu student

२०७२ सालको भूकम्पको समयमा म कक्षा ८ मा पढ्दै थिएँ । मैले उक्त्त भूकम्पको त्रासदीलाई प्रत्यक्ष अनुभव गरेकी छु । त्यस समयमा भूकम्पले क्षति भएका १४ जिल्लाका लाखौँ विद्यार्थीहरु विद्यालय जान पाएनन् । ठूल-ठूला घर र बङ्गला हुनेहरु पनि घर भित्र बस्न पाएनन् । भूकम्पले  सबै मानिसलाई घरबाट बाहिर निकालिदियो । त्यसबेला मलाई के लागेको थियो भने दशौँ हजारको ज्यान लिने र लाखौँ मानिसलाई घरबारविहिन बनाउने  यो भूकम्पभन्दा ठूलो अरु विपत्ति अरु केहि हुँदैन होला । तर मैले आफ्नो जीवनको छोटो समयमा त्यो भन्दा महाविपत्ति  देखिरहेकी छु, सामना गरिरहेकी छु । नोबेल कोरोना नामक भाइरसले मेरो देश मात्र हैन सम्पूर्ण विश्व नै ग्रसित भइरहेको छ । डिसेम्बर २०१९ देखि चीनको वुहान शहरबाट महामारीको रुपमा सुरु भएर हाल विश्वभर आतङ्क फैलाई रहेको कोरोनाभाइरस (काेभिड-१९) बाट विश्वमा मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ ।

आम मानसपटलमा “युद्ध” भन्ने  बित्तिकै गोली गट्ठाहरुसँग लडिने युद्ध भन्ने  बुझिन्थ्यो तर कोरोनाभाइरसको उदयसँगै  “युद्ध” शब्दको  परिभाषा नै परिवर्तन भएको जस्तो लाग्छ । पहिले युद्ध  भन्ने  वित्तिकै  सामाजिक वैमनस्यताकालागि लड्ने लडाई भन्ने बुझिन्थ्यो तर कोरोना भाइरस विरुद्ध युद्ध  भने  सामाजिक सौहार्दता, सहायता र सद्भावनाले लडिने रहेछ भन्ने देखियो । आधुनिक हातहतियारले  सुसज्जित  कयौं विकसित राष्ट्रहरु  जस्तै आमेरिका, इटाली, बेलायत आज आफ्नो आधुनिकतालाई लकरमा बन्द गरी पूर्वीय  सभ्यता अनुशरण गर्न बाध्य भएका छन् । पृथ्वी लोकमा नयाँ नयाँ खोज र आविष्कारहरु सम्पन्न गर्दै  पृथ्वीको बाहिर अन्य ग्रहमा नयाँ खोज र अनुसन्धानमा आफुलाई अब्बल स्थापित गरेको मानव जाति आज कोरोनाभाइरसलाई पराजित  गर्न नसकेर यसको ताण्डव नृत्य टुलुटुलु हेरी बस्नु परेको छ । यसले के पुष्टि हुन्छ भने मानव आविष्कार र अनुसन्धानले प्रकृतिलाई पराजित गर्न  सक्दैन।

नेपालमा पनि संक्रमित फेला परेकै कारण परीक्षाको मुखैमा एस्ईई परिक्षा स्थगित भएको थियो। यस विषम परिस्थितिमा विद्यालय र महाविद्यालयहरु सञ्चालन नभएकै कारणले वार्षिक परीक्षा दिने विद्यार्थी भाइबहिनीहरु साथसाथै +२ परिक्षा को तयारी गर्दै गरेका म लगायतका साथीहरु प्रायमा आफ्नो भविष्य नै के होला भन्ने चिन्तित भएका छन् । तर यो अवस्थालाई केवल संकटको रुपमा मात्र नलिएर एक अवसरको रुपमा पनि हामी लिन सक्छौँ। यस लकडाउनले परिवारका सबै सदस्यहरुलाई एकै ठाउँमा ल्याईदिएको छ । यो लकडाउनको समयलाई बिदामा मात्र सिमित नगरी हामीलाई परिवारसँग समय बिताउने सूवर्ण अवसर प्रदान गरेको छ । अहिलेका विद्यार्थीहरुमा किताबी ज्ञान मात्र रहेको छ। व्यवहारिक ज्ञान भने कमै मात्रामा देखिन्छ ।

यस फुर्सदको समयलाई हामीले आफुलाई निम्न कार्यहरुमा संलग्न गराउन सकेमा भविष्यमा हाम्रो जीवनमा यसले ठूलो सहयोग पुग्न सक्दछ ।

दैनिक क्रियाकलापको समय सूची बनाउने:
लकडाउनको अवधी कहिलेसम्म लम्बिन्छ भन्ने निश्चित नभएकाले आफ्नो दैनिक कार्यको समय सूची बनाएर पालना गर्नु महत्वपूर्ण र लाभदायी देखिन्छ । बिहान कति बजे उठ्ने, व्यायाम र योगाका लागि कति समय दिने, मनोरञ्जनका लागि कति समय दिने, कति बजे सुत्ने, आदि क्रियाकलापको सूची बनाउनाले हामी सही समयमा सही काम गर्ने बानीको विकास गर्न सक्छौ र साथै समय सूची बनाएर काम गर्नाले हामी जाँगरिलो र फुर्तिलो बन्न सक्छौँ।

भान्छाको काममा सहयोग गर्ने:
आफ्नो समय कसरी व्यतित गरौँ भनेर सोच्नेका लागि भान्छाको काम गर्नु एक उत्तम उपाय हुन सक्छ । यसो गर्नाले एक त आफ्ना अभिभावक लाई खुशी बनाउन सकियो साथै आफुले नयाँ नयाँ काम पनि सिकियो । भान्छाको काममा खाना बनाउने,  तरकारी  केलाउने, भाँडा माझ्ने , आदि काम गर्न सकिन्छ । यो हाम्रा लागि जीवन उपयोगी शिक्षा पनि हो ।

आफ्ना पाठ्य पुस्तक तथा मनोरञ्जनात्मक उपन्यासहरु नियमित अध्ययन गर्ने:
अहिले लकडाउनको अवधि लम्बिएको भएतापनि एक न एक दिन कोरोना सँग सँगै लकडाउनको पनि अन्त्य हुनेछ । यो कुरालाई मनन गरेर हामीले अहिलेदेखि नै पढ्दै गर्नु पर्छ ता कि पछिको लागि सजिलो होस् । परिक्षाको  बेलामा हतार गरेर पढ्नुको साटो अहिले फुर्सद को समयम पढ्दा दिमागलाई धेरै बोझ पनि पर्दैन । त्यसैले पाठ्यपुस्तकको अध्ययनका लागि हामीले निश्चित समय छुट्याउनु  पर्दछ । लकडाउनको उराठ लाग्दो समय कटाउनका  निम्ति किताब र ज्ञानवर्दक उपन्यासहरु   पढ्ने पनि एउटा राम्रो उपाय हुन सक्छ ।

रेडियो टेलिभिजन र सामाजिक संजालका लागि निश्चित समय दिने:
कोरोनाका कारणले विश्वभर नै असर परेकाले यसले निम्त्याएका असरहरुको बारेमा  जानकारी राख्नु महत्वपुर्ण हुन्छ । जुन काम हामि रेडियो, टेलीभिजन र सामाजिक संजालका माध्यमहरुबाट हेरेर, सुनेर थाहा पाउन सक्छौ। तर यसको मतलब मोबाईल, ल्यापटप र टिभी मै झुन्डिएर बस्नु चाहिँ होइन । अहिलेको परिस्थितिमा त यसको सदुपयोग भन्दा दुरुपयोग बढी गर्ने गरिन्छ । लकडाउनको  समयमा कहिलेकाहीँ समय व्यतित गर्न प्रयोग गर्नुको साटो हामी मध्य धेरैले यसमा लत बसाई रहेका छौ । उक्त बानीलाई सुधार्नु जरुरी छ ।

अन्तर्निहित प्रतिभालाई निखार्ने:
हरेक मानिसभित्र केहि न केहि प्रतिभा अवश्यनै हुन्छ । आफ्नो अन्तर्निहित प्रतिभालाई पहिचान गरेर यसलाई निखार्नु फाइदाजनक हुन्छ । आफु भित्र रहेको नाच्ने, गाउने, लेख्ने प्रतिभालाई यस लकडाउनको अवसरमा हामीले अझै विकास गर्न सक्छौँ।

स्मरण शक्ति वृद्धि गर्ने सामाग्री खोजी:
विद्यार्थी जिवनमा  स्मरण शक्ति बढाउनु निकै महत्वपुर्ण हुन्छ । यसका लागि आजकाल इन्टरनेटमार्फत सर्च इन्जिन गुगल र भिडीओ स्ट्रिमीङ युट्युबमा स्मरण शक्ति कसरी वृद्धि गर्ने भन्ने बारे विभिन्न उपायहरु छ्यप्छ्यप्ती पाइन्छन् । यी सामग्रीहरु हेरेर हामीले आफ्नो दिमागलाई अझ बढाउन र स्फुर्त बनाउन  सक्छौ ।

परिवारको सदस्यहरुसँग मनोरञ्जन गर्ने:
लकडाउनको कारणले आफ्ना साथीभाइहरुसँग भेट नहुने भएकोले आफ्नै परिवारका सदस्यहरुसँग गफ गरेर, खेल खेलेर मनोरञ्जन लिन सकिन्छ । यसको कारणले परिवारका सदस्यहरु  बिच प्रेम र सद्भाव पनि बढ्न जान्छ ।

योगा र व्यायाम गर्ने:
अहिलेको अवस्थामा बाहिर हिँडडुल गर्न नपाइने हुनाले हाम्रो ज्यान र मस्तिष्क नै आलस्य भएको हुन्छ । यस्तो अवस्थामा योगा र व्यायाम गर्नाले हाम्रो ज्यान र मस्तिष्क दुबै फुर्तिलो हुन्छ ।

त्यसैले  साथीहरु ! यो लकडाउनलाई संकटको रुपमा मात्र नलिगेर एक आवसरको रुपमा लिन सकिन्छ ।

सामाजिक दुरी कायम गरौं ।

कोरोना संक्रमण हुनबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔं ।

(लेखिका पुडासैनी निस्ट कलेज काठमाडौंमा कक्षा १२ मा अध्ययनरत छात्रा हुन् ।)

सूचना! सूचना!! सूचना!!!
लकडाउनको समयमा विद्यार्थीहरुले आफ्नो चित्र, कला, लेख रचना dabalikhabar@gmail.com मा पठाउन सक्नुहुनेछ।
समय सपेक्षा क्रमबद्ध रुपमा प्रकाशित गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top