२०७७, १४ आश्विन बुधबार

सम्बोधनले नगरेको सम्बोधन

डबली खबर     चैत्र २५ २०७६ १५:२३



babauram lamichhane civil society nuwakot chairman dabali khabar

प्रधानमन्त्री केपी ओलीको देशबासीको नाममा संशोधन आयो । मानवमात्रको जातिगत अस्तित्वमाथि गम्भीर सङ्कट उपस्थित भएको बेला, आम मानिसले जीवनको भविष्य, किसानले कृषि भविष्य, उद्योगीले औद्योगिक भविष्य, व्यापारीले व्यापारिक भविष्य, विद्यार्थीले शैक्षिक भविष्य, मजदुरले पेशागत भविष्य र रोजगारी वा अध्ययनका लागि विदेशमा रहेकाहरूले तत्कालका लागि जीवन र दीर्घकालका लागि रोजगारी वा शिक्षाको भविष्यका बारेमा चिन्ता लिएको समयमा भएको सरकार प्रमुखको सम्बोधनले पक्कै पनि आफ्ना चिन्ता र जिज्ञासाहरूलाई सम्बोधन गर्नेछ भन्ने सबैको अपेक्षा थियो, जुन स्वभाविक थियो ।

कोभिड-१९ विरुद्धको वर्तमानको लडाइँलाई प्रभावकारी बनाउने स्पष्ट कार्यक्रम, हाल सतहमा आएका भ्रष्टाचारका प्रश्नहरूको निवारण, कोरोनासँगको लडाइँ जितिसकेपछि पनि आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक क्षतिको पूर्तिका लागि बाँकी रहने लडाइँ र त्यसको कोर्स आदिको योजना थाहा पाउन चाहन्थे । पाएनन् ।

यत्रो महामारीविरुद्ध लडाइँ चलिरहँदा प्रायः सार्वजनिक सञ्चारमाध्यममा कम देखिइँदै आएका (आफैँ स्वास्थ्यलाभ गरिरहेका) प्रधानमन्त्रीको राष्ट्रका नामको सम्बोधनमा कला नभए पनि केही फरक पर्दैनथ्यो, विज्ञानचाहिँ हुनुपर्थ्यो । तर, त्यसो भएन । सम्बोधनमा कला बढी थियो र विज्ञान कम ।

समयमै गरिएको लकडाउन र अपनाइएको सतर्कताले गर्दा नेपालमा सङ्क्रमणले अहिलेसम्म भयावह रूप लिएको छैन । यसको जस सरकारले लिन पाउँछ । सम्बोधनमा समेटिएका यसको स्वामित्व लिने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई धन्यवाद दिने विषय स्वागतयोग्य छन् । तर, जनताको अपेक्षालाई यत्तिले मात्र समेट्दैन । जनता आफ्ना राष्ट्रिय अभिभावकबाट ब्याख्या र विवरण होइन, योजना र कार्यक्रम सुन्न चाहन्थे । विगतका यात्राको आख्यानात्मक प्रस्तुति होइन, आगतको यात्रा र गन्तव्यको स्पष्ट मार्गचित्र सुन्न चाहन्थे । कोभिड-१९ विरुद्धको वर्तमानको लडाइँलाई प्रभावकारी बनाउने स्पष्ट कार्यक्रम, हाल सतहमा आएका भ्रष्टाचारका प्रश्नहरूको निवारण, कोरोनासँगको लडाइँ जितिसकेपछि पनि आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक क्षतिको पूर्तिका लागि बाँकी रहने लडाइँ र त्यसको कोर्स आदिको योजना थाहा पाउन चाहन्थे । पाएनन् ।

केवल ‘धुलो टकटक्याउँदै उठौँला’ को अमुर्त आश्वासनले न जनताका अपेक्षाको सम्बोधन गर्न सक्छ न त युगीन राष्ट्रिय दायित्वको नै ।

यो सम्बोधनमा चालु आर्थिक वर्षमा काम सुरु हुन बाँकी रहेका पुँजीगत तर्फको बजेट रकमान्तर गरेर र सांसद विकास कोषको रकम रकमान्तर गरेरै भए पनि बृहत कोरोना उपचार कोष खडा गरी कोरोना परीक्षण र उपचारको दायरा बढाई देशब्यापी बनाउने विषय भ्रष्टाचार र अनियमिततालाई निरुत्साहित गर्ने विषय कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पर्ने प्रभाव, त्यसले विश्वको रोजगारीमा पार्ने असर र वैदेशिक रोजगारीमा रहेकाहरूको मानसिकतामा परेको प्रभावसमेतले आगामी दिनमा वैदेशिक रोजगारीमा पार्ने प्रभाव र रोजगारीको आगामी अवस्था तथा रेमिट्यान्समा आधारित अर्थतन्त्रको वैकल्पिक सवलीकरणका लागि अघि सारिने योजनाको विषय र हाल अध्ययनका लागि विदेशमा रहेका तर स्वस्थ जीवन र शैक्षिक जीवन दुवै अन्योलमा परेका विद्यार्थीहरूको सुरक्षा गर्न ल्याइने कार्यक्रमको विषयलाई सम्बोधनले सम्बोधन गर्नसक्नुपर्थ्यो । यही आम जनताको अपेक्षा थियो । केवल ‘धुलो टकटक्याउँदै उठौँला’ को अमुर्त आश्वासनले न जनताका अपेक्षाको सम्बोधन गर्न सक्छ न त युगीन राष्ट्रिय दायित्वको नै ।

समय फेरि पनि सकारात्मक सोच र आशावादी चेतनाको नै हो । कोरोनाभाइरस एकापटि र संसारभरिका मानवजाति अर्कापटि भएको यो युद्धमा सिङ्गो विश्व त एकजुट हुनु आवश्यक छ भने देशभित्र त झन् आलोचना, आग्रह र पूर्वाग्रहबाट माथि उठी हातेमालो गर्दै अघि बढ्नुको विकल्प छैन । छुटेका विषयलाई सम्झाउँदै र बिग्रेका विषयलाई सच्याउँदै अघि बढ्नु नागरिकको दायित्व हो । सरकार सबैको अभिभावक हो । उसले आफ्ना कमजोरी सच्याउँदै आम जनताको मानसिकतामा आशा र विश्वासको रक्तसञ्चार गराउन सक्नुपर्दछ । आशा गरौँ, सम्बोधनमा नसमेटिएका नागरिकका जिज्ञासाहरूको सरकारले छिट्टै सम्बोधन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top