२०७७, ५ आश्विन सोमबार

लकडाउन, विद्यार्थी र एकान्तबासको एसइई तयारी: बाबुराम लामिछाने

डबली खबर     चैत्र २२ २०७६ १३:५४



baburam lamichhane

कोरोनाभाइरसको महामारीले सिङ्गो विश्व आक्रान्त छ । मानव सभ्यतालाई नै चुनौती दिँदै सङ्ग्रालिएको यो डँढेलोसँग नेपाल पनि विश्व समुदायसँग एकाकार भएर जुध्दैछ, जसका लागि सिङ्गो विश्व लकडाउनमा छ र हामी पनि ।

लक डाउनसँगै हाम्रा शैक्षिक, औद्योगिक, व्यापारिक, सांस्कृतिक लगायत सम्पूर्ण प्रणाली पनि ‘लक’ भएका छन् । यसले वर्तमानमा अन्योल त निम्त्याएको छ नै भविष्य पनि सङ्कटतर्फ धकेलिँदै छ । कस्तो अन्योल र शङ्कट सिर्जना गर्छ त्यो भविष्यले देखाउँदै जाला तर प्रभावलाई कम गर्न वा कम क्षतिमा यसको सामना गर्ने तयारीचाहिँ हामीले आजै गर्नुपर्छ ।

लकडाउनको अवधि दुई साता पुग्नैलाग्दा यो कहिले खुल्छ भन्ने कुराको टुङ्गो छैन । विश्वव्यापीरूपमा सङ्क्रमणको जुन सुनामी देखिँदैछ, यसलाई हेर्दा मन आत्तिने तर नेपालभित्रको अहिलेसम्मको सङ्क्रमणको अवस्था हेर्दा बाछिटाजस्तो मात्रै देखिने र आशावादी हुने अवस्था देखिन्छ । यी दुबै दृश्यहरूको सापेक्षतामा लकको भविष्य निर्धारण हुने हुँदा यो कहिले खुल्छ वा कहिलेसम्म कायम रहन्छ भनेर अहिले नै ठोकुवा गर्नु डेढअक्क्लमात्र हुनेछ । तर, नेपालभित्रको अहिलेसम्मको अवस्थालाई हेर्दा यहाँको सङ्क्रमण छाल नभई बाछिटामात्रै भएको र छिटै यसबाट मुक्ति पाइने अनुमानसँगै लकडाउन पनि छिटै अन्त्य हुने कुराको अनुमान गर्नचाहिँ सकिन्छ ।

यो अन्योललाई असामान्य परिस्थितिको असामान्य परिणतिका रूपमा लिई आफ्नो परीक्षा तयारीलाई अझ तीव्र बनाउनुको कसैसँग विकल्प छैन ।

चीनको वुहानलाई इपिसेन्टर बनाएर फैलिएको कोरोनाको प्यान्डामिक प्रकोपबाट नेपाल पनि प्रभावित हुने अनुमान र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को चेतावनी पहिले नै थियो त्यसैले यो लकडाउन र मानव-मानवबीचको भौतिक दूरी कायम गर्ने विषय अनपेक्षित थिएन । तथापि, माध्यमिक शिक्षा परीक्षा (SEE) को अन्तिम तयारी सकेर परीक्षा केन्द्रमा पुगिसकेपछि स्थगनको सूचना हेरेर फर्कनुपरेका परीक्षार्थीका लागि भने यो पीडादायी बन्न पुग्यो । करिब पाँच लाख परीक्षार्थी, तिनका अभिभावक, तिनका विद्यालय र शिक्षक तथा सरोकारवालाहरूमा मनोवैज्ञानिक पीडा र अन्योल देखियो । तर, यो अन्योललाई असामान्य परिस्थितिको असामान्य परिणतिका रूपमा लिई आफ्नो परीक्षा तयारीलाई अझ तीव्र बनाउनुको कसैसँग विकल्प छैन ।

आफू पनि शिक्षाकर्मी र यो परीक्षामा प्रत्यक्ष जोडिएको सरोकारवाला हुनुका नाताले आजको यो बहस आफ्ना विद्यार्थी र अभिभावकहरूमा लकडाउनको यो अवधिमा एसइईको तयारीलाई कसरी निरन्तरता दिने र कसरी अझ तीव्र बनाउने भन्ने विषयमा केन्द्रित गर्ने प्रयास गरिएको छ ।

  1. प्रकोपसँग लड्ने अचुक अस्त्र मानिएको सामाजिक दूरी (Social Distance) को नियमलाई पालना गर्ने, लकडाउनलाई कष्ट वा यातनाको रूपमा नलिई अवसरको रूपमा लिने ।
  2. घरबाट बाहिर ननिस्कने । विद्यार्थीहरूले घरमै बसेर पढाइलेखाइलाई निरन्तरता दिने ।
  3. महामारीलाई नहेप्ने र योसँग भयभीत पनि नहुने । म सामाजिक दूरीको नियमलाई पालना गरेरै यो महामारीलाई परास्त गर्न सक्छु भन्ने आत्मविश्वास कायम राख्ने ।
  4. मनमा त्रास रहँदा, परीक्षाको विषयमा अन्योल कायम रहँदा र मृत्यु र महामारीका समाचार सुनिरहँदा/हेरिरहँदा मन एकाग्र नहुने र पढाइमा ध्यान नजाने अवस्था रहन्छ नै । त्यसैले, विद्यार्थीहरूले मनको त्रास हटाएर आत्मविश्वास जगाउने, मृत्यु र महामारीका छिनछिनका अपडेट लिन र त्यस्ता समाचारमा केन्द्रित हुन छाडेर तनावमुक्त हुने र परीक्षा कहिले हुन्छ भन्ने प्रश्न र अन्योल छाडेर परीक्षा भोलि नै हुन्छ भन्ने बुझाइ राख्ने ।
  5. चैत ५ गते साँझसम्ममा सबै विद्यार्थीहरू परीक्षाका लागि सबै किसिमले तयार थिए । फेरि परीक्षाको दिन/समय तोकिएपछि हालको मनोविज्ञान र अन्योल त अन्त्य हुन्छ नै नौ दिनमा नौलो लाग्ने र बीस दिनमा बिर्सने विषयगत ज्ञान र लेखाइ सीपमा हुने क्षतिको तत्काल पूर्ति सम्भव हुँदैन । यसको पुनर्ताजगी त्यतिबेलै गरौँला भनेर पनि सम्भव छैन । सामाजिक दूरी घटाउन सकेलगत्तै यो परीक्षा सुरु भइहाल्नेछ । तसर्थ, विद्यार्थीहरूले यो अवधिलाई सदुपयोग गरी आफ्नो तयारीमा अझ निखार ल्याउनुपर्दछ ।
  6. विद्यार्थीहरूले बिहान सबेरैदेखि साँझ अबेरसम्मको कार्यतालिका तयार गरी दैनिक १२ घन्टाभन्दा बढी अध्ययन गर्ने । प्रत्येक ३ घन्टाको पढाइपछि आधा घन्टाको विश्राम लिने ।
  7. अध्ययनको क्रममा सबै विषयलाई समान महत्व दिने । सबै विषयलाई विषयगत कठीनताका आधारमा समानुपातिक रूपमा समय छुट्याई अध्ययन गर्ने ।
  8. आफ्ना विषयगत शिक्षकहरूसँग फोन वा सामाजिक सञ्जालमार्फत नियमित सम्पर्कमा रहने । शिक्षकहरूले पनि आफ्ना विद्यार्थीसँग सम्पर्कमा रही समस्याको सहजीकरण गरिदिने । यसका अतिरिक्त आफूसँग भएका अन्य सामग्री तथा कतिपय भर्चुअल लर्निङका अवसरहरूलाई आवश्यकता अनुसार उपयोग गर्ने ।
  9. विद्यार्थीहरूले पढाइलाई भन्दा लेखाइलाई बढी महत्व दिने । आफूसँग भएका Complete Set हरू लिई निर्धारित समयभित्र हल गर्ने । यसले लेखाइ क्षमतामा ह्रास आउन पाउँदैन ।
  10. सबै अभिभावकहरूले आफ्ना बालबालिकालाई घरभित्रै रहेर पढाइमा केन्द्रित गराउनुपर्नेछ । घरमा त्रास र आतङ्कको नभई खुसी र उत्साहको वातावरण सिर्जना गराई बालबालिकालाई अध्ययनका लागि सहजीकरण र प्रेरित गर्ने ।
  11. अन्त्यमा, हामी छिटै महामारी विरुद्धको यो लडाइँ जित्दैछौँ र छिटै हाम्रो परीक्षा सुरु हुँदैछ भन्ने कुरालाई आत्मसात गर्दै एकान्तबासको यो समयलाई ज्ञान आर्जनको अवसरको रूपमा उपयोग गरूँ । नभुलौँ, सबै ज्ञानी, महर्षि, दार्शनिक र विद्वानहरूको ज्ञान आर्जनको केन्द्र भीडभाड र कोलाहलभन्दा टाढाको कुनै एकान्तबास नै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top