२०७७, ७ आश्विन बुधबार

१७औं दिनमा मलेसिया लकडाउनमा नेपाली: बसन्त न्यौपाने

डबली खबर     चैत्र २१ २०७६ ०९:४२



basanta neupane work in malaysia in lockdown coronavirus covid19 2020 april 4

चीनबाट सुरु भएको कोरोनाभाइरस (कोभिड-१९) संसारभर फैलिरहेको अवस्थामा मलेशिया पनि अछुतो रहेन । मलेसिया सरकारले पनि मार्च १८ तारिकदेखि मार्च ३१ तारिकसम्म लकडाउन घोषणा गरेको थियो। कोरोना सङक्रमितको सङख्या बढ्दै गएपछि फेरि दुई हप्ता थपेको छ । दुई हप्ता भनेको मार्च १८ देखि ३१ हुँदै अब अप्रिल १४ सम्म लम्बिएको छ ।

लकडाउन भए पनि हामीले काम गर्ने ठाउँ अहिले पनि २४ घण्टा चल्न सरकारले अनुमति दिएको हुनाले हामि यहाँ फ्रन्टलाइनमा बसेर काम गरिरहेका छौं । दैनिक १२ घण्टामा धेरै मान्छेसँग हाम्रो आमुन्ने सामुन्ने देखभेट हुन्छ । हामी साधारण सर्जिकल माक्स र साधारण ग्लोब्सको भरमा काम गरिरहेका छौं । तर पनि कहिले त डर लागेर आउँछ । तर पनि कम्पनीको नियमानुसार हामिले आफ्नो लागि गर्नुपर्ने स्वास्थ्य सुरक्षा र संयमका साथ गरिरहेका छौं ।

अहिले यहाँ दोस्रो चरणको लकडाउन सुरु भएको पनि दुई दिन भइ सक्यो । यहाँ सरकार अलि बढी कठोर निर्णयहरु लिँदैछ । तर पनि यहाँको जनताले सरकारको आदेश, नीतिनियमलाई अवज्ञा गर्दैनन् । आजसम्म मलेशियामा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ५० पुगिसकेको छ भने ३११६ जनालाई कोरोना लागेको पुष्टि भईसकेको र ७६७ जना उपचारपछि घर फर्किसकेका छन् ।

आफू जस्तो स्थितिमा गुज्रिएको भए पनि आफ्नो भन्दा पनि स्वदेशमा रहेका परिवार र नेपाल आमाको चिन्ता लाग्ने रहेछ । फेरि हाम्रा नेपालीहरु उस्तै छन् । लकडाउन कस्तो भयो भनेर मजाक गर्दै घर बाहिर हिँडिरहेका पनि मिडिया तथा सामाजिक संजालमार्फत देखिएको छ । विदेशबाट गए पछि सरकारले १४ दिन क्वारेन्टाइनमा बस्नु भनेर पठाएकाहरु पनि सरकारको आदेशलाई धोती लगाउँदै गाउँगाउँ चार्दै हिँडेको, रातमा मोटरसाइकल सवार गर्दै होहल्ला गर्दै हिँडेको भन्दै त्यस्ता अव्यवहारिक क्रियाकलापलाई रोक्न र सम्भावित जोखिम न्यूनीकरणको लागि स्थानीय तहले सूचना जारी गरेको सुनियो, देखियो ।

जे होस् मलेसियाको लकडाउन नेपालको जस्तो फितलो छैन । मंगलबार पार्कमा कुरा गरिरहेका चार जना नेपाली पक्राउ गरेर अदालतको आदेशमा तीन महिना जेल चलान र एक हजार रिगेट जरिवाना तिराएको छ । त्यसैले वैदेशिक रोजगारीको सिलसिलामा यहाँ आउनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सरकारी नियमको पालना गरौँ अन्यथा व्यर्थको जेल जीवन गुजार्न नपरोस् र आफ्नो स्वास्थ्यको सुरक्षा गरौँ ।

नेपाली नागरिकलाई त कोरोनाले छाडेन् सरकारलाई नलागोस् कामना गर्छु । विश्वका अन्य देशहरुमा राजकुमारी, राष्ट्रपति, मन्त्री, सरकारका प्रतिनिधीहरुलाई पनि सङक्रमण र केहिको मृत्यु समेत भएको छ । तर नेपालमा सरकारका प्रतिनिधिहरु अझै सुरक्षित छन् । आदेश दिएको भरमा प्रभावकारी काम गर्न सक्छन् । कोरोना सङ्क्रमण भए झैं मौन बस्न भएन नि । स्थानीय तहदेखि केन्द्रिय तहसम्मका जिम्मेवार मान्छेहरु जसरी तल्लीन भइरहेका छन् । अझ संक्रमणलाई न्यूनीकरण गर्न कुरामा भन्दा कार्यन्वयन ध्यान जानु जरुरी रहेको छ । अहिले नेपालका नागरिकहरुलाई कोरोनाको त्रासभन्दा भोकको डर ज्यादा छ । यो देशमा लाखौं श्रमिकको पीडा “बिहान काम नगरे बेलुका माम नपाईने” जति लुकाउन छिपाउन खोजे पनि वास्तविकता यही हो । सरकारबाट पनि दैनिक रोजगारी गर्नेको तथ्य लिई राहतका कार्यक्रम ल्याउन भनि सबै स्थानीय तहलाई आदेश दिएको छ ।

त्यस्तै, रोजगारीको क्रममा भारत पुगेका र लक डाउनको समयमा आफ्नो देशघर फर्कंदा सिमानामा बिचल्ली भएका हजारौं श्रमिकहरुलाई सम्बोधन गर्न धेरै ढिला भैसक्यो । त्यस्को बारेमा समयमै सरकारले र स्थानीय तहहरुले यथाशीघ्र नीतिगत कार्यक्रम सोच्नु पर्ने देखिन्छ । देश प्रवेश गर्न सिमाना आएका नागरिकहरुलाई स्वास्थ्य परीक्षण गरी तत् अनुसार क्वारेनटाईन वा सुरक्षाको विधि अपनाउनुपर्ने देखिन्छ । श्रमिकको हकहितका निमित्त भनेर नारा बोकेर हिँडेका संघ/संगठनका नेताहरु अर्बपति भए, चिल्ला गाडी चढ्ने हैसियत बनाए । पेट फुट्ला जस्तो गरि मोटाए !, टलक्क अनुहार चम्काए! तर श्रमिकको अवस्था उहि छ ।

अहिलेलाई कोभिड-१९ को आतंक छ । जसरी पनि कोरोनासँग लडौंला । भोकसँग लड्ने व्यवस्था सरकारले गर्दिनु पर्यो । छिटोभन्दा छिटो स्वास्थ्यकर्मीहरुलाई आवश्यक पिपिई र औषधी उपलब्ध गराउनु पर्यो । अहिले सरकार र व्यापारीहरु बीच भ्रस्टाचार गन्धको  ‘गाइजात्रा‘ भैरहेको छ त्यस्को अन्त्य छिटोभन्दा छिटो गुणस्तरीय सामानहरु किन्न पर्यो । सरकारले सस्तोको नाममा कतैबाट पनि गुणस्तरहित स्वास्थ्य उपचारको लागि औषधि र सामानहरु खरिद नगरोस् ।

अर्को कुरा सहयोगको नाममा सस्तो र गुणस्तरहिन सामान आउन सक्छ त्यस्ता सामानहरुमा सरकारले नियन्त्रण गर्दै स्वास्थ्यकर्मीहरुको जीवन सुरक्षीत बनाइयोस् । अहिले यो कोरोना भाइरससँग लड्नसम्पूर्ण नेपाली एक हुनपर्छ अनि मात्र कोरोना भाइरससँग लड्न सकिन्छ नत्र भने उहीँ शक्तिशाली कहलिएका युरोपको नियती हामीले विकराल परिस्थिती भोग्नुपर्ने छ।

हिजोआज हामी ईन्टरनेट साइटमा गएर मिनेट/मिनेटमा संसारभरि कहाँ कतिको मृत्यु, कतिको संक्रमण भएको सिवाय केही छैन । अब पनि हामीले लापरवाही गर्यौं भने हामीले अरु देशको जस्तै डिजिट ‘अंक’ थपिन धेरै बेर लाग्दैन । त्यसैले घमण्ड र लापरवाही चाहिँ एकरति नगरौं! “म बलियो छु, मलाई केहि हुँदैन” भन्ने भ्रमबाट माथि उठौं । जति सक्दो सुरक्षित रहने प्रयास गरौं। अझै पनि समय छ। यो समस्यासँग भागेर जित्न सकिन्न कसैलाई कोरोनाको लक्षण देखिए खुलेर भनौं । कुनै अपराध गरे जस्तो लुक्नु हुँदैन । धैर्यताको बाँध बलियो बनाएर सुरक्षित हुनुको विकल्प पनि छैन । समयमा उपचार गरे सम्भव छ कोरोनाको संक्रमणबाट निको हुनको लागि ।

सारा विश्व यति बेला कोरोनासँग प्रतिकार गरिरहेको छ। शक्तिशाली देशहरु, प्रविधिमा नेपाल भन्दा कयौं गुणा फड्को मारेका देशहरु, यतिबेला पीडाको आँशुमा डुबेका छन् । त्यसैले हामी नेपालीसँग सक्दो सुरक्षित हुनुबाहेक अन्य बच्ने उपाय केही छैन ।

नेपालमा हिजोको दिनसम्म ६ जनामा कोरोनाको संक्रमण देखियो । सङ्क्रमण भएका व्यक्ति विदेशबाट आएका मात्र भनिएको छ । सुरुवातदेखि नै बाहिरबाट आउनेलाई क्वारेनटाईनमा राख्ने ब्यवस्था भएको भए यो त्रास हुने थिएन कि? जो सङ्क्रमित भनेर अहिले भनिरहेका छन् तिनिहरु कहाँ कहाँ गए? क- कसलाई भेटे? समयमा सावधानी नअपनाउनुको कारण थप चुनोैति ब्यहोर्नु परेको छ।

अन्त्यमा

  • नियमित रूपमा आफ्नो हात साबुनपानीले मिचीमिची २० सेकेन्डसम्म धुने, हात नधोइकन आँखा, नाक र मुख नछुने ।
  • आफूले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाँडा, तौलिया, रुमाल, ओछ्यान वा अरु सामान साझा प्रयोग नगर्ने ।
  • अन्य व्यक्तिहरूसँगको प्रत्यक्ष सम्पर्क सकेसम्म कम गर्ने ।
  • अरु व्यक्तिहरूसँगको सम्पर्कमा आउनु पर्दा कम्तिमा १ मिटरको दूरी राख्ने र अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउने
  • खोक्दा वा हाच्छ्यूँ गर्दा टिस्यु पेपर, रुमाल वा कुहिनाले नाकमुख छोप्ने ।
  • आफूले प्रयोग गरिएको टिस्यु पेपर, रूमाल, मास्क लगायतलाई छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने । फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्म हात साबुनपानीले मिचीमिची धुने ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्ने र आवश्यक सहयोगको लागि सधैं तयार रहने ।

#StayAtHome
सुर्यगढी गाउँपालिका-५, नुवाकोट
हाल सेलेङर, मलेशिया
neupane.basanta3@gmail.com
+9779816705838/+60162467810

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top