२०७७, १२ आश्विन सोमबार

भानु जयन्ती, पुरस्कार र बागलुङ

डबली खबर     श्रावण २० २०७६ १३:४५



shreeram shrestha baglung

आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा यसपालि बागलुङ जाने अवसर जुर्यो । यस्तो अवसर जुराइदिएको थियो– धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङले । नेपाली भाषासाहित्य तथा भाषिक संस्कृतिका संवाहक, भावनात्मक एकीकरणका नायक आदिकविको जन्मजयन्तीका अवसरमा जुरेको यो यात्रा आफैँमा आनन्ददायक थियो । आत्मिक थियो । प्रेमिल थियो ।

धौलागिरि साहित्यि प्रतिष्ठानले भानु जयन्तीको उपलक्ष्य पारेर नेपाली भाषा–साहित्यमा उल्लेखनीय योगदान दिने स्रष्टालाई ‘बम–सरस्वती स्मृति पुरस्कार’द्वारा सम्मानित गर्ने गरेको रहेछ । यसपटक सो प्रतिष्ठानले मलाई चयन उक्त सम्मान ग्रहण गर्न निम्ता गरेको हुनाले म सपरिवार बागलुङ पुगेँको थिएँ ।

काम विशेषले म काठमाडौँ गएको थिएँ । काठमाडौँबाट नुवाकोट अर्थात् घर फ्रर्कने क्रममा स्थानीय लिखु गाउँपालिकाको छहरे बजारमा चिया पिइरहेका बेला मोबाइलको रिङ बज्यो । यसो हेरेँ नौलो अर्थात् नचिनेको नम्बर । फोन रिसिभ गरेँ । धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङका अध्यक्ष काजीरोशनको फोन रहेछ । उहाँले आफ्नो संस्थाको परिचय दिनुभयो र ‘बम–सरस्वती स्मृति पुरस्कार–२०७६’ मलाई प्रदान गरिने निर्णय भएको जानकारी दिँदै पुरस्कार ग्रहण गर्नका लागि भानु जयन्तीका दिन बागलुङ आउने निम्ता दिनुभयो । उहाँले प्रतिष्ठानको बैठक स्थलबाट नै मलाई फोन गर्नु भएको रहेछ । अप्रत्यासित रूपमा आएको सरप्राइज सूचनाले म नतमस्तक भएँ । कुनै साइनो–सम्बन्ध नभएको संस्था र ठाउँबाट मप्रति देखाएको स्नेह, माया, सद्भावलाई आत्मासात गरी मैले सो पुरस्कारप्रति स्वीकृति जनाएँ । पुरस्कारका लागि म योग्य छु कि छैन ? सोचेँ । भावुक पनि भएँ । यसलाई जीवनको ठूलै अवसर र उपलब्धिको रूपमा लिएँ । नेपाली भाषा–साहित्यको क्षेत्रमा अझ बढी  क्रियाशील बन्ने ऊर्जा मिलेको अनुभव गरेँ ।

बर्सादी दिन । दिनहुँजसोे परिरहेको पानी–झरी । देशका विभिन्न ठाउँमा बाढी–पहिरो गइरहेको समाचार आइरहेको छ । तराई जलमग्न बनिरहेको सुनिन्छ । बागलुङ जाने दिन नजिँकिदै छ । अन्ततः जीवनकी सहयात्री समिता, छोरी साहेरा, छोरा साइरस र मसमेत चार जनाको टोली अर्थात् सपरिवार नै बागलुङ जाने निधो भयो । छोरा–छोरीको स्कुल विदा भएको कारण पनि सपरिवार सहयात्राको अवसर जुर्यो। असार २८ गते बिहान ७ः०० बजे काठमाडौँ, बालाजु, नयाँ बसपार्कमा बागलुङ जाने डिलक्स बसबाट हामी बागलुङतर्फ प्रस्थान गर्‍यौँ।

डिलक्स बस । सिसाका झ्याल–धोका सबै बन्द छन् । एसीबस । प्रचण्ड गर्मीमा राहत मिलेको छ । काठमाडौँको बाटो न हो ठाउँ ठाउँमा जामले खल्लो महसुस हुने । बलतल्ल पुगियो थानकोट । प्रहरीले बसमा चेकजाँच गर्दै गर्दा केही ड्राइफुड र मिनरल वाटर किन्न भ्याएँ मैले । पानी निरन्तर परिरहेकै छ । पहिरोले बाटो अवरुद्ध गर्ला कि भन्ने पीर पनि उस्तै छ मनमा ।

बस आफ्नै रफ्तारमा एकनासले कुदिरहेको छ । धादिङको नौबिसे आएपछि गाडी एउटा होटलको अगाडि रोकियो, बिहानको चिया–खाजाका लागि । हामीले हल्का खाजा खायौँ । ओहो ! कस्तो महङ्गो । झन्डै दोब्बर मूल्य । होइन राजमार्गका यी होटलहरूले किन यस्तो अचाक्ली महङ्गो मूल्य असुलेका होलान् ? कस्तो लुटाह प्रबृत्ति ! तर, गुनासो गर्नु कसलाई ? हामी आफैँभित्र असन्तुष्टी व्यक्त गर्दै बस छिर्‍यौँ। बसले आफ्नो लय समात्यो ।

मलेखुमा पुनः ट्राफिक जाममा परियो । करिब आधा घण्टापछि मात्रै बसले रफ्तार लियो । मुग्लिङ आइपुग्गो । गाडी रोकिएन । मैले चालकलाई भनेँ, “खाना खानु पर्दैन र गुरुजी ।” उसले एक्लेफाँटमा खाने बतायो । बर्सादी झरी र ठाउँठाउँको जाम । मध्यान्ह १२ः०० बजेतिर मात्रै खाना खाने ठाउँ आइपुग्यो ।

बसका सहचालक राम्रै बानीव्यहोराका रहेछन् । स्पष्ट बोल्ने । ‘बर्साद्को समय । पानी परिहरन्छ, ठाउँठाउँमा पहिरो आइरहन्छ । तसर्थ, गाडी हत्तपत्त रोकिँदैन । साह्रै समस्या पर्यो भने भन्नुहोला है’ भन्थे ती भाइ । यात्रुहरूलाई पट्याएर नलागोस् भनेर मनोरन्जनात्मक किसिमका फिल्मी गीतका भिडियो लगाइदिन्थे ।

दमौली, पोखरा हुँदै दिउँसोको खाजाका लागि लुम्लेको एक होटेलमा गाडी रोकियो । बस बाहिर ओर्लियौँ । पानी पर्न रोकिएको थियो । हुस्सु भने ड्याम्म लागेको थियो र मौसम चिसो थियो । होटेलमा ताततातो समोसा रहेछ । खायौँ । चिया पियौँ । पर्यटकीय क्षेत्र लुम्ले । केही समय लुम्लेको दृश्यलाई स्पर्श गर्ने मौका मिल्यो । लुम्लेको हावापानी र वातावरण नुवाकोटको ककनीसँग तुलना गर्न मिल्ने रहेछ । क्षणभरमै हुस्सुले ढाक्ने, क्षणभरमै घाम लागेर चारैतिर उज्यालो देखिने । सुन्दर दृश्यको रसपान गरियो ।

बसको हर्न बज्यो । सबै यात्रुहरू बसमा चढियो । बस अगाडि बढ्यो । कास्कीपर्वत जिल्ला छुटिने नयाँ पुल हुँदै कुश्मा बजार आइपुग्यो । दश बर्ष अगाडि द्वन्द्वकाल आएँको थिए, कुश्मा बजार । त्यसबेला भन्दा अहिले निकै फरक देखियो । जताततै घरै घर । बस रफ्तारमा कुदिरहेको छ । एकैछिन्मा आइपुग्यो मालढुङ्गा पुल अर्थात् सीमाक्षेत्र, पर्वत र बागलुङको । त्यहाँ उत्रने यात्रुलाई खसालेर अगाडि मात्र बढेका थियौँ, आइपुग्यो बागलुङ बजार ।

बसबाट ओर्लियौँ र बास बस्न एउटा होटेलमा गयौँ । काजीरोशन सर स्वागत गर्न आइपुग्नुभएको रहेछ । हार्दिकता आदान–प्रदान भयो । फ्रेस भएर बजार घुम्न निस्कियौँ । घुमफिर गराउन सहयोग गर्नु भएको छ–धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले । बजार हाता अगाडिबाटै हेर्दा बस्ती खासै देखिएन । हामीले बजार अवलोकन गर्यौं गोडा थाकुन्जेल र होटल फर्कियौँ ।

काजीरोशनले हामीलाई आफ्नो घरमा लानुभयो । घरमै धौलागिरि साहित्य प्रतिष्ठानको साइनबोर्ड देखियो । वि.सं. २०४१ सालमा स्थापना भएको रहेछ उक्त संस्था । बर्सेनी विविध साहित्यिक गतिविधि गर्दै आउनुभएको छ–काजी रोशनले । अझ प्रतिष्ठानको आफ्नो भवन निर्माणका साथै संसार छाडेर जाने अग्रज साहित्यकारहरूको प्रतिमा नगरका विभिन्न सार्वजनिक स्थानमा राख्ने योजनाका साथ लागी पर्नुभएको रहेछ । उहाँको सोच, लगानशीलताबाट हामीले धेरै कुराको अनुशरण गर्न सक्ने ठान्यौँ ।

नगर भित्री बाटो पनि फराकिलो नै देखिन्छ । बीचमा डबलीजस्तो अनि घरको कुनामा मन्दिर । धेरै ठाउँमा यस्तै दृश्यहरू देखियो । बजारमा नेवार समुदायका साथै विभिन्न जातजातिको मिश्रित बसोबास रहेको रोशन सरले जानकारी दिनुभयो । कतै हाम्रा पुर्खाहरूको थाकथलो पनि यहीँ त होइन ? मेरो मनमा कुरा खेल्न थाल्यो ।

लोकतान्त्रिक चोक । चोकको बीचमा पाटेबाघको सालिक राखिएको छ । बाटोकोे बीच भागमा सबै जसो ठाउँमा मान्छेहरूको सालिक राखिन्थ्यो तर यहाँ फरक देखियो । पहिले यस ठाउँको नाम महेन्द्रचोक थियो रे । तर, जनआन्दोलन २०६२/२०६३ पछि यो ठाउँको नाम परिवर्तन भएर लोकतान्त्रिक चोक राखी तत्कालीन राजा महेन्द्रको शालिक निकालेर बाघको मूर्ति राखिएको रहेछ ।

काजी रोशनसरले अवलोकन गर्नका लागि विद्यामन्दिर पुस्तकालय लग्नु भयो । वि.स. २००३ सालमा स्थापना भएको उक्त पुस्तकालयको आफ्नो छुट्टै इतिहास छ । राणा शासन कालमा आम नागरिकले पढ्न बन्देज थियो । राणाहरूको भक्तहरूले मात्र अनौपचारिक शिक्षा प्राप्त गर्दथे । आम नागरिकको चेतनामा परिवर्तन गर्नका लागि पुस्ताकालय स्थापना गरिएको हुनुपर्छ ।

सो पुस्तकालयका संस्थापक अध्यक्ष रहेछन्, ओमप्रसाद गौचन र मेघप्रसाद वैद्य । ३५औँ अधिवेशनबाट रामप्रसाद शर्मा निर्वाचित भएका रहेछन्– अध्यक्ष पदमा । पुस्ताकालय आफ्नै भवनमा सञ्चालित रहेको रहेछ । पुस्ताकलयका र्याकमा अनगिन्ती पुस्तकरू सजिएका छन् । धार्मिक, ऐतिहासिक, साहित्य, दर्शन, लोकसेवा, शिक्षा सेवा, कानुन, विद्यालय तथा क्याम्पसका । पुस्तकालयमा बसेर पढ्ने व्यबस्था मिलाइएको रहेछ सबैलाई । घरमै पुस्तक लानका लागि पुस्तकालयले परिचयपत्र कार्ड बनाएको रहेछ । पुस्ताकालय सार्वजनिक बिदा बाहेक बिहान १० बजेदेखि ४ बजेसम्म खुल्दो रहेछ । पुस्ताकलयको आफ्नै व्यबसायिक कोठाको भाडा नै मुख्य आम्दानीको स्रोत रहेछ । त्यही सङ्कलन रकमले पुस्ताकालय सञ्चालन, कर्मचारी र अन्य खर्च समेत धान्दै आएको रहेछ । केही समय यता रूम टु रिड नामक संस्थाको सहयोगले निकैनै राहत मिलेको कुरा अध्यक्ष शम्भुप्रसाद शर्माले बताए ।

वि.सं. १९९७ मा स्थापना भएको विद्यामन्दिरका बारेमा जानकारी लिन पुग्यौँ विद्यालय परिसर तर विद्यालय बन्द भइसकेको थियो । समग्र बागलुङ जिल्लाकै शैक्षिक स्थलमध्ये जेठोको मानिँदो रहेछ । प्रयाप्त कक्षाकोठा छ तर अतिरिक्त क्रियाकलापका लागि जग्गा जमिन अभाव देखिन्छ । माध्यमिक विद्यालयसम्मको पढाइ हुने गरेको रहेछ । स्थानीय बासीको गुनासो सुनिया, “विद्यालयको स्तरोन्नति केले रोक्यो ।” पक्कै पनि यति लामो इतिहास बोकेको र आफ्नो भवन रहेको ठाउँमा सम्बन्धित क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूको पहलमा पढाईको गुणस्तरमा बृद्घि गर्नुका साथै विद्यालयलाई अपग्रेड गराउँदा हुने हो भन्ने मनमा लाग्यो ।

वीरेन्द्र ऐश्वर्य पार्क बजार प्रवेशद्घारमै रहेको छ । खुल्ला ठाउँमा चारैतिर बारबन्देज गरिएको जनआन्दोलन २०६२/२०६३ भन्दा अगाडि उक्त पार्क सञ्चालनमा आएको थियो तर अहिले बेवास्ताका कारण व्यबस्थित हुन सकेको छैन । पार्कको स्तम्भ र बारबन्देजमा लगाइएको रङ्ग खुइलिएको छ । ठाउँठाउँमा भत्कने क्रम जारी छ । बगैँचामा झाडी पलाएको छ । बजारको मुख्य स्थलमा यस्तो बिजोग देख्दा सबैको मन कुडिँन्छ नै । रोशन सरले ‘नगरपालिकलाई पार्क व्यबस्थित गर्न र पार्कमा बितेका अग्रज साहित्यकारको मूर्ति राख्ने प्रस्ताव गरेका छौँ । नगर परिषद्ले पनि पास गरेको छ । पक्कै पनि छिट्टै कार्यान्वयन भई पार्कले मूर्तरूप लिने विश्वास छ’ भन्नुभयो ।

बजार घुमफिरमा गफिँदै जाँदा साँझ परिसकेछ । काजी रोशन सरसँग विदा मागी हामी होटेलतर्फ आयौँ । खाना खायौँ । दिनभरिको बसको यात्रा, बागलुङ बजारको घुमाइले गर्दा थाकिएछ । अब भने आरम गर्न लाग्यौँ ।

बिहान पाँच बजे मोबाइलको आर्लमसँगै उठ्यौँ । छोरा–छोरी घरमा बिहानको ७ः०० बजेसम्म सुत्ने । कर लगाएर भएपनि उठायौँँ । नुवाइधुवाई गरेर बागलुङ कालिका भगवतीको दर्शन गर्न निस्कियौँ । पैदलले हिँडेर मन्दिर गयौँ । प्रवेशद्वार भित्र पस्यौँ । शान्त । सुनसान रमाइलो वातावरण । किराफट्याङग्राको एकनासे आवाज । बाटो सफा सुग्घर । बाटोको दायाँबायाँ हरियाली दृश्य । स्वर्गको अनुभूति भयो । दर्शन गर्नका लािग मन्दिरमा गयौँ । हामीभन्दा पहिले नै धेरै दर्शालु पुगिसकेका रहेछन् ।

दर्शालुहरूमा स्वदेशीका साथमा छिमेकी भारतका धेरै पर्यटकहरूको भीडभाड देखिन्थ्यो । पूजा–पाठ गर्नलाई पनि लाइन बस्नु पर्ने । मन्दिरका बाहिरबाट दर्शन गर्नुपर्ने रहेछ । साथमा लगिएको पूजाका सामाग्री पुजारीलाई दिएपछि पुजारीले नै पूजा गरी फूल–अक्षता फिर्ता दिने रहेछन् । । कालिका भगवतीलाई प्रसिद्ध शाक्तिपीठमध्ये एक मानिन्छ । मनोकांक्षा पूरा हुने उद्देश्यले यहाँ दर्शन गर्न आउछन्— तीर्थयात्रीहरू । मन्दिरभित्र बाघको मूर्तिमाथि बिराजमान दुर्गादेवीको मूर्ति सजीव लाग्छ । भगवतीको दर्शन पश्चात् मन आनन्दित भयो । मन्दिरवरिपरि तस्बिर खिच्दै हामी एक छिन् टहलियौँ । कार्यक्रम आरम्भ हुने बेला भयो भनेर रोशन सरले फोन गरेपछि हामी त्यहाँबाट फर्कियौँ ।

पुग्नु छ कार्यक्रम स्थलतिर । बिहान ७ः०० बज्नै लागिसक्यो । ट्याक्सीद्वारा कार्यक्रमस्थल चिप्लेटी बसपार्क गयौँ । ट्याक्सीबाट झर्नासाथ आयोजक संस्थाबाट दिइएको न्यानो आतिथ्य ग्रहण गर्यौं । पुल नजिकै टेण्टमा प्लाष्टिकका कुर्सीहरु राखिएका छन् । कार्यक्रम खुल्ला स्थानमा रहेछ ।

आयोजक संस्थाले स्थानीय संघसस्थाहरूलाई मूल समारोह समितिमा राखेको रहेछ । ती संघसंस्थाले अपनत्व ग्रहण गरेर कार्यक्रमलाई भव्य बनाउन खटेको देखियो । बर्खाको दिन न हो क्षणभरमै मुसलधारे पानी परिहाल्यो । टेण्टमा बस्न नमिल्ने भयो । टेण्टभरि पानी नै पानी भयो । अब तत्कालै कार्यक्रमस्थल परिवर्त गर्नुपर्ने भयो । नजिकै भर्खर निर्माण गर्न लागिएको ट्रष्ट भवनमा तुरून्तै कार्यक्रमको तयारी गरियो । सहभागी आउने क्रम जारी थियो । प्रमुख अतिथि एवम् नगर प्रमुख जनकराज पौडेलको आगमन पश्चात् कार्यक्रम शुरू भयो । कार्यक्रम सञ्चालन गर्नु भएको थियो संस्थाका सचिव राम थापाले ।

नेपाली भाषा र साहित्यको उन्नयनमा उल्लेखनीय योगदान पुर्‍याएको भनेर मलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पौडेलले नगद रू. १० हजार राशिसहित सम्मानपत्रका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उक्त पुरस्कार बागलुङ मूलापनी घर भई बैदेशिक रोजगारका लागि बेल्जियममा रहनुभएका कवि दीपेन्द्र केसीद्वारा हजुरबुवा बमबहादुर के.सी. र हजुर आमा सरस्वती के.सी.को स्मृतिमा स्थापना गरिएको रहेछ । कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेले मेराबारेमा प्रकाश पार्नुभएको थियो ।

धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङले मलाई गरेको सम्मान सिङ्गो मेरो मातृभूमि, भाषा र साहित्यकै सम्मान हो भन्ने मैले महसुस गरेको छु । आगामी दिनमा मैले यस क्षेत्रमा अझै धेरै योगदान दिनुछ भन्ने दायित्वबोध भएर आएको छ । मान–सम्मान र पुरस्कार प्राप्त गर्न जुनसुकै मूल्य चुकाउन तयार हुने मानिसहरूको यो घनाजङ्गलमा प्रत्यक्ष रूपमा कुनै साइनो–सम्बन्ध स्थापित नभएको संस्थाबाट सरप्राइज ढङ्गले सम्मानित हुनु साँच्चिकै गौरवको कुरा हो । यसरी सम्मानित र पुरस्कृत भएर, बर्सादी दिनमा प्रिय बागलुङको न्यानो माया र सद्भावले लक्षप्पै रुझेर फर्किंदा हार्दिकता र प्रशन्नताले म त्यसै–त्यसै भावविभोर भइरहेँ….।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top