२०७७, ७ आश्विन बुधबार

धनकुटेली आठपहरिया राईको जनजीवन

डबली खबर     मंसिर ७ २०७५ १२:३७



Shreeram Shrestha

– श्रीराम श्रेष्ठ

नेपालमा रहेको अल्पसंङ्ख्यक जातिमध्ये आठपहरिया राई पनि एउटा जाति हो । धनकुटा जिल्लाको जलहरा, खाल्सा, बेलहरा र भीरगाउँमा समाजदेखि नै बिस्थापित आठपहरिया राई जाति स्थायी रूपमा बसोबास गर्दै आएका छन् । यी जाति धनकुटा बाहेक अन्य जिल्लामा कतै नभएको बताइन्छ । युगौ युगदेखि एउटै थाकथलोमा बसोबास गर्दै आएको हुनाले यस जातिलाई भूमि पुत्रको रूपमा लिइन्छ ।

aathahariya village nepal

नेपालको जनगणना २०६८ ले आठपहरिया राईको सङ्ख्या ५,३७७ देखाएको छ । जसमा महिला ३२९० र पुरूष २६८७ रहेको छ । आठपहरिया राईहरूको इतिहास लिपिबद्ध रूपमा भेटिएको छैन । यिनीहरूको इतिहास, सामाजिक मूल्य, मान्यता र धर्मको बारेमा अनुसन्धानको विषय बनेको छ । यो जातिको धनकुटा जिल्लामा केही सीमित स्थानमा बसोबास रहेको हुँदा धनकुटा र आठपहरिया राईहरूको सम्बन्धमा लोककथा, किम्वदन्तीहरू पर्याप्त मात्रामा सुनिन्छ । स्थानीयहरूको भनाइअनुसार धनकुटा बजारलाई खलङ्गा कोत भनिन्थ्यो । त्यो कोत आठपहरिया राईहरूकै थियो । कागते पोखरीको संरचनालाई हेर्दा धान कुट्ने आकारको दुबैतर्फ ढिस्का खम्बा रहेको र अगाडि ओखल जस्तो पोखरी रहेको छ । तसर्थ धान कुट्ने आकारको रहेको हुँदा सो ठाउँको नाम धनकुटा रहन गएको हो भन्ने भनाइ प्रचलित छ ।

इमानसिंह चेमजोङ्का अनुसार ‘‘आठपहरिया राईहरूको इतिहास सफल छैन । उनीहरू अरूलाई अन्य धनकुटाका आदिबासी हो भन्दछन् । धनकुटामा अरू जातिहरूको आगमन (खासगरी नेवार र मगर) पृथ्वीनारायण शाहको पूर्व नेपालको विजयका साथ साथै भएको देखिन्छ । तर बाहुन्, क्षेत्री र तामाङहरू संभवत इं.स. १७७० भन्दा अगाडि नै यस क्षेत्रमा बसोबास गरेको हुनुपर्छ । आठपहरिया भन्ने शब्द राईहरूको आफ्नो देखिदैन । प्रचलित जन श्रुतिअनुसार पृथ्वीनारायण शाहले उनीहरूलाई ‘निशान थान’ रूङ्न लगाएको र सो काम फत्ते गरेवापत आठपहरिया पदकी दिएको भन्ने छ । आठपहरियाराइहरू आफूलाई हामी दश लिम्वूमध्ये एक हौं भन्दछन् तर लिम्बुहरूको बंशवलीमा दशलिम्वू (फलानो फलानो थरको) भनेर स्पष्टसँग कही उल्लेख गरिएको छैन ।’’ चोमजोङ भनाइअनुसार ‘‘नागा सरदार छोङ्देन हाङगलाई उसको राज्य हात्तिखर्क (हालको धनकुटा जिल्लाको एउटा गाउँ पञ्चायत)बाट खेवा लिम्वु राजाले पराजित गरी भगाएकोले उनी असाम पसे र उनकै शाखा सन्तान नै आठपहरिया राई हुन् भनेका छन् ।’’

धनकुटा र आठपहरिया राईको बारेमा अनुसन्धानकर्ता खगेन्द्रकुमार प्रधानङ्ग यस्तो लेख्छन् –‘‘आठपहरिया राईहरू भृङ्गीका सन्तानहरू हुन् । यी भृङ्गीहरू दक्षिण भारतको आन्ध्र प्रदेश अन्तर्गतको धान्यकुट भन्ने ठाउँदेखि कार्य कारणबस उत्तर प्रदेशको गोरखपुरको आसपासमा पुगी राजकाज गर्न लागे । त्यहाँ पनि उनीहरूले आफ्नो पुरानो पूर्वथलोको स्मरणमा आफ्नो बसोबास गरेको स्थानको नाम धनकुटी नै राखे । तिनै धनकुटीका भृङ्गीहरू केही समयपछि पश्चिम नेपालका मलयबम राजाको राज्य कालताक दुल्लु, दैलेख, सुर्खेततिर पुगी केही काल राजकाज गर्न लागे । केही समय उक्त स्थानमा राजकाज गरी तिनै भृङ्गीहरू वा तिनका शाखा सन्तानहरू परिस्थितिबस शनै: शनै: पूर्वतर्फ धकेलिई काठमाडौं पुगेर भृङ्गेश्वर महादेवको स्थापना गर्न सफल भए । त्यहींबाट पनि कार्य कारणबस ती भृङ्गीका शाखा सन्तानहरू मैनामैनी, बराह क्षेत्र त्रिवेणी हुँदै धनकुटा पुगी बसोबास गर्न लागेका हुन् र आफ्नो आदि बासस्थान आन्ध्र प्रदेशका धान्यकुटकै सम्झनामा आफू बसेको ठाउँको नाम नै धान्यकुट वा धनकुटी राखेका हुन् । कलान्तरमा धान्यकुट वा धनकटीबाट नै जनजिव्रोमा धनकुटा हुन पुगी हालसम्म त्यसै नामले मान्यता पाई आएको हो ।’’

विद्वान डा. डिल्लीराम आठपहरिया राईहरूको बारेमा यस्तो लेख्छन् ‘‘भृङ्गी ऋषिका ७ भाइ छोराहरू मध्ये चौथो वा काइलाचाहिँ बाराहजी र पाचौँ वा अन्तरे भाइ चाहिँ मार्ग हुन् । प्रथम चार भाइले बसोबास गर्नका लागि क्षेत्र पाए र बाँकी तीन भाइले भने राज्य पाए । पाचौँ भाइ मार्गले धनकुटाको राज्य पाए र काइँलो वा चौथो भाइ बाराहजी क्षेत्र पाए । बाराहाजीको क्षेत्र र मार्गको राज्य सँगसँगै एकै दिशामा पर्न गएकाले उनीहरू दुईमा विशेष सम्बन्ध र सम्पर्क रहन गयो भने अन्य भाइहरूसित त्यस्तो सम्पर्क र सम्बन्ध रहन सकेन । त्यसैले आठपहरिया राईहरूका मुख्य–मुख्य पर्वहरू ओमडाक, बैशाखी चाड, चामनुंगी वा भदौरे चाड र छोङ्ला राङमा वा मङ्सिरे चाडका अवसरमा बाराहजी र मार्गको नाममा पूजापाठ, आराधना प्रार्थनाहरू संयुक्त रूपमा नै गरिन्छ र दुबैका नाममा सामूहिक रूपमा आठपहरिया राईहरू भक्तिगीत वा आराधना गर्ने र नाच कीर्तनहरू गर्दछन् ।’’

विदेशी ख्याती प्राप्त लेखक ह्यामिल्टन लेख्छन्–‘‘लोहाङसेनले विजयपुर अधिकरण गर्नु भन्दा अगाडि विजयपुरमा राज्य गर्ने विजय नारायणको बंशको अन्तिम राजा विजय भारत थिए र विजय भारतकी श्रीमतिको माइती गाउ मोरङको सोराभाग थियो । विजय भारत नै त्यस बंशका अन्तिम राजा थिए । तिनलाई नै विजय गरेर लोहाङसेनले विजयपुर आफ्ना अधिकारमा गराएका थिए ।’’

काजीमान कन्दङवाको भनाइअनुसार ‘‘महाभारतमा पाण्डवहरू जुवामा हारेपछि १३ वर्षको बनवासको अन्तिम वर्षमा गुप्तवास गर्न मत्स्य देशको विराटनगरमा गएको र सो विराटनगर जङ्गलबाट निस्कने बित्तिकै पुगिने भन्ने चर्चा आउँछ । मत्स्य देशको राजधानी विराटनगर भएको र त्यहाँ मत्स्य देशका किचक राजा विराटको राजधानी भएको कुरा आउँछ । विराट राजा किचकको गाई गोठ दुहवीमा भएको प्रसङ्ग पनि आउँछ । विराटनगरको उत्तरतर्फ हरैचा छ । हरैचाको पूर्वतर्फ मत्स्य नरेश विराटको सालोको वासगृह थियो र त्यसलाई किचक झार आजसम्म मानिँदै छ ।

यस जातिका मान्छेहरूलाई निशान थान रूङ्न लगाएको र काम फत्ते गरेका हुनाले पृथ्वीनारायण शाहले पदावी स्वरूप आठपहरिया दिएको भनाई छ । कोही आफ्नो जातिको गोत्र नभएको माग हामी भूइफुट्टा भएको समेत बताइन्छ । जनश्रुती अनुसार खामन्माय ओङबाबाट फुटी छुट्टिएर उकालो लाग्दा आठपहरिया भएको र तल हुनेहरू । धिमाल भए । छुट्टिने क्रममा अरूण पारी चरिङमा हिडेको इतिहास पनि सुनिन्छ ।

यसरी विभिन्न लेखक विद्वानका साथै स्थानीय जनधारणालाई हेर्दा आठपहरिया राई जातिको बारेमा फरक फरक मत देखिन्छ । यद्यपि यो जातिको बारेमा सूक्ष्म ढङ्गले अनुसन्धान गर्नुपर्ने देखिन्छ । आठपहरिया राईहरूको शारीरिक आकृति हेर्दा मगरजस्ता देखिए तापनि रीतिरिवाज, भेषभूषा, भाषा तथा व्यवहार मगर जातिभन्दा पृथक् रहेको छ । यो जातिका पुरूषहरू दौरा सुरूवाल इष्टकोट, टोपी, कट्टु लगाउँछन् भने महिलाहरू साडी, चोलो, गलामा माला लगाउनुको साथै टाउकोमा कपडाको घुम्टो ओड्छन् । धेरै वर्ष पहिले आठपहरिया राईका महिला तथा पुरूष सबैले आफ्नो घरमा नै बनाएको खाँडीका लुगाहरू लगाउँथे । तर खाँडीको लुगा तयार गर्न धेरै नै झन्झटिलो भएको हुँदा अहिले बजारमा उपलब्ध आधुनिक लुगा पहिरन थालिसकेका छन् । गहनाको हकमा पूरूषहरू प्रयोग गर्दैनन् । तर अहिले फाटफूट रूपमा पूरूषले पनि गहना लगाएको देखिन्छ । त्यस्तै महिलाहरू मून्द्री, ढुङ्ग्री, बुलाकी, कर्णफूल, किलिप, टीका, माला, पोते, मुगा, चुराजस्ता गहना लगाउछन् । गरगहना लगाउने महिलालाई विवाहित र अविवाहित छुट्याउन सकिदैन ।

आठपहरिया महिलाले लगाउने गरगहना विशेष त टाउको, घाटी र हातमा प्रयोग गर्दछन् । पहिरनको सवालमा खोजी गर्दा महाभारतको युद्ध जोडिएको कथन सुनिन्छ । महाभारत युद्ध ताक आठपहरिया राइका पूरूषहरू होमिए । युद्धबाट फर्केर कोही पनि आएनन् । कुर्दाकुर्दै धेरै समय बित्यो । धार्मिक संस्कारअनुसार आफूहरू पति बिहिन महसुस् गरी सेतो पहिरन र चाँदीको गहना लगाउन शुरू गरे आठपहरिया राई महिलाहरू । आठपहरिया राई समाजमा अहिले पनि सेतो पहिरन र चादीका गहना लगाउने चलन निरन्तर रूपमा भईरहेको छ ।

शिक्षा क्षेत्रमा आठपहरिया राईहरू निकै नै पछाडि परेका छन् । गाउँघरमा नै विद्यालय स्थापित छन् तर यो जातिले आफ्ना बालबालिकाहरूलाई पठनपाठन गराउन विद्यालय नपठाई घाँसपात र वस्तु चराउन पठाउँछन् । उच्च शिक्षा हासिल गर्नेको सङ्ख्या ज्यादै नै न्यून अवस्थामा छ यो जातिमा ।

आठपहरियाहरू देवदेवता, भूतप्रेत, पिचास, बोक्सी छन् भन्ने कुरामा विश्वास राख्दछन् । आफ्नो दैनिक जीवनमा राम्रो तथा नराम्रो प्रभाव पर्न सक्छ । त्यसका लागि धर्मकर्म गर्नका लागि पुजारी तथा झाँक्रीको ब्यवस्था गरेको हुन्छ । यस जातिमा पुजारीले ठूलो महत्व राख्दछ । पुजारीलाई माङबुङ भनिन्छ । पुजारी हजुरबुबादेखि छोरा, नाति पुस्तामा हस्तान्तरण हुन्छ । पुजारीले धार्मिक कार्य अन्तर्गत जप गर्ने तथा देवदेवताहरूको उठान तथा बैठान गर्ने काम गर्दछ । पुजारीलाई तालिम दिइदैन । बंश परिवर्तन सँगै पूजारी हुने गर्दछ । पुजारीले दैनिकी लगाउने लुगा लगाएर नै पूजापाठ गर्ने गर्दछ । पूजा खास गरेर देवस्थल, घरभित्र, घरबाहिर गरिन्छ । झाँक्रीलाई माङ्काटा भनिन्छ, आठपहरिया समाजमा । झाँक्रीले देवदेवताहरूको पूजा गर्दा काम्ने गर्दछन् । कामेको समयमा विभिन्न मन्त्र उच्चारण गरी जोखान हेर्ने काम पनि गर्दछन् । झाँक्रीलाई आठपहरिया राईहरू धर्मगुरूको रूपमा मान्दै आएका छन् ।

यस जातिको समाजमा सुब्बा र पुजारी राखिने चलन छ । छिलिङ्गे थरमध्येबाट सुब्बा र माङबुङ थरमध्येबाट पूजारी राखिन्छ । समूदायमा हुने सामाजिक सांस्कृतिक, धार्मिकजस्ता कार्यमा सुब्बा र पुजारीको उपस्थिति अनिवार्य रहन जान्छ । यदि सुब्बा र पुजारी उपस्थिति हुन नसकेमा सोही थरका प्रतिनिधि पठाइन्छ । यसरी यस जातिमा सुब्बा र पूजारीलाई महत्व दिएको देखिन्छ ।

यस जातिमा ठेनपाङ महत्वपूर्ण धार्मिक एवम् सांस्कृतिक विधिको रूपमा लिन गरिन्छ । ठेनपाङ भन्नाले गद्दी अर्थात् दरवार । दरवारमा धेरै मान्छे अट्न खालको हुन्छ । सो घरलाई साझा मानिन्छ । वर्षमा तीन पटक ठेनपाङमा जम्मा भई आफ्नो जातीय धर्म अनुसार धार्मिक गतिविधी सञ्चालन गर्दै आएका छन् । ठेनपाङ दरवारभित्र रहेको गद्दी हो । गद्दीमा बस्दा देउता जीउमा आई काम्ने र आफ्नो उत्पत्तिको बारेमा बग्न सक्ने नै गद्दीमा राख्ने चलन छ । उ भन्दा पछिका उत्ताराधिकार उनकै साखा सन्तान हुने चलन छैन । अन्य ब्यक्ति पनि हुन सक्छ । ठेनपाङमा मेला, पर्वको बखत जम्मा भई नाचगान, धार्मिक उत्सव मनाउने गर्छन् आठपहरिया राईहरू ।

यस जातिमा स्वास्थ्यमा खासै सुधार भएको देखिँदैन । बिरामी भएको बेला देवदेवता र भूतप्रेत पिचासको कैफियतले गर्दा हो भन्छन् । बिरामी पर्दा चेक जाँच गर्ने काम जानपाले गर्छ । जानपा भनेको यस जातिको स्थानीय चिकित्सक हो । जानपाले रोग व्याधी अर्थात् बिरामीहरूलाई धूप धुवार र जोखान खुट्याउने कार्य गर्छ । स्थानीय स्तरमा पाउने जडीबुटी, फूल तथा रूखका बोक्राहरू पिँधी औषधी निर्माण गरी बिरामीलाई खुवाउने काम गर्दछ । यस्तो कार्य गाउँघरमा अझ पनि यथावत छ भने केही आठपहरिया राईहरू आफ्नो स्वास्थ्य उपचारका लागि स्वास्थ्य चौकीतर्फ जान पनि थालेका छन् ।

आठपहरिया राईहरू तान्त्रिकमा बढी विश्वास राख्छन् । तान्त्रिक विधा जान्नेहरूलाई नै यावा भनिन्छ । यावाहरू दूई वटा छन् –छारा र होम्बारक । यी दूबै शक्तिशाली थिए । यावाले ढोल, ढ्याङ्ग्रो बजाउदैनन् । बजाउछन् त केवल थाल । सिम्किनाले थालमा ठोकेर जोखानबताउने काम गर्दछ । यावाको पहिरन बिशेष किसिमको हुँदैन । सामान्य नै हुन्छ । तर सुकिला हुन्छन् । यावाको सन्दर्भलाई लिएर धेरै लोककथा जोडिन गएको छ । लोक कथामा ढुङ्गाको गुयत्रो र बादरको घटना क्रमको विषयवस्तुको उत्थान गरिएको हुन्छ ।

आफ्नो जातिको भाषालाई आठपहरिया भाषा भन्छन् । उक्त भाषा भोट बर्मेली भाषा अन्र्तगत पर्दछ भने बेलहारे, छत्येल, लिम्बू र याक्खा भाषासँग सामीप्यता रहेको छ । केरन एच. एवर्ट (१९९७)ले अ ग्रामर अफ आठपरे राई भन्ने व्याकरण लेखेर यो भाषाको वर्ण, रूप र वाक्य संरचनाको जानकारी दिने प्रयास गर्नु भएको छ । आठपहरिया नेपाली अङ्ग्रेजी शब्दकोष प्रकाशन पनि भएको छ । लोपहुन लागेको आठपहरिया भाषालाई उक्त शब्द कोषले बचाउने काम गरेको छ । डा.गोबिन्दबहादुर तुम्बाहाङ लेख्छन् जिव्रोको उचाइका आधारमा उच्च, मध्य र निम्न जिव्राको भागको सक्रियताको आधारमा अग्र, केन्द्रीय र पश्चगरी छ ओटा स्वर वर्णहरू पाइन्छ । मूर्धन्य, स्पर्शी, ब्यजन वर्णहरू यसमा पाइन्छन् । क्रियामा कर्ता र कर्मको रूप, प्रथम पूरूष दूई वचन र बहुवचनमा समाबेशी र असमाबेशी रूप, एक वचन, दूई वचन र बहुवचन रूप, भूत र अभूत रूप, अकरण आदि पाइन्छ । ‘‘आठपहरिया भाषालाई असुरक्षित भाषाको सूचिमा राखिएको छ । यस अवस्थामा सुरक्षित राख्न आठपहरिया जातिका सदस्यहरूले मेहनत गरी तयार पारेको यो आठपहरिया नेपाली अङ्ग्रेजी शब्दकोष एउटा महत्वपूर्ण त्रैभााषिक शब्दकोष हो । यसले देवनागरिक लिपिमा आठपहरिया शब्दहरूलाई प्रवेष्ट गरेको छ । र आइ.पि.ए. मा ती शब्दहरूको उच्चारण र त्यसपछि तिनीहरूको ब्याकरणीय कोटी नेपालमा, अर्थ नेपाली र अङ्ग्रेजी दूबैमा दिएको छ । नेपाली शब्दको प्रवेष्ट देवनागरिकमा र त्यसको अर्थ आठपहरियामा दिइएको छ । त्यसपछि अङग्रेजी शब्द प्रबेष्टमा र त्यसको अर्थ देवनागरीक लिपिमा आठपहरियामा दिइएको छ र त्यो आठपहरिया शब्दको उच्चारण आइ.पि.ए. मा दिइएको छ । परिशिष्टमा गन्ती, साइनो, शरीरको अङ्ग, चरा, किरा, बार, महिना, आठपहरिया जातिका मुख्य चाडपर्व, आठपहरिया जातिको पाछा, उपपाछा र सामेट्लिङ जनाउने शब्दहरू र तिनीहरूको अर्थ प्रस्तुत गरिएको छ । यो शब्दकोश आठपहरिया भाषा सिक्न चाहने आठपहरिया वा गैर आठपहरिया सबैलाई मद्दत गर्नेछ । आठपहरिया भाषालाई ब्यापकता दिनका लागि नेपाल सरकारले कक्षा ५ सम्ममा मातृभाषी शिक्षा लागू गरेको छ तर वृहत शब्दकोष नहुँदा पठनपाठन गर्न समस्या भएको छ । सङ्ख्यालाई के भनिन्छ आठपहरिया भाषा तल हेरौँ:

आठपहरिया राई भाषा नेपाली भाषा
थोक– एक
इपोङ– दुई
सुम्वोङ– तीन
चार– चार
मुक्ताक्वे– पाँच

पाँचभन्दा माथि अर्थात् छबाट सबै नेपाली भाषा अनुसार नै गन्ती गर्ने काम गरिन्छ । आठपहरिया भाषा अन्य भाषाको तुलनामा कम शब्दहरू प्रयोग भएको हुन्छन् । सूचना विभागबाट प्राप्त स्रोत अनुसार केही नमुना तल हेरौं:

आठपहरिया राई भाषा नेपाली भाषा
पुख्कुङमी मैले उसलाई उठाए
पुख्कुङछेम मैले उनीहरू दुई जनालाई उठाए

पुख्कुङमेम मैले उनीहरूलाई उठाए
पुङनोम मैले तिमीलाई उठाए
पुङनोछेम मैले तिमी दुइ जनालाई उठाए
पुङनोनेम मैले तिमीहरूलाई उठाए ।

आठपहरिया राईहरूको सामाजिक बनोट हेर्दा यिनीहरूलाई धनकुटेली आठपहरिया राई र खालसाली आठपहरिया राई भनी छुट्याउन सकिन्छ तर खालसाली आठपहरिया राईहरूको भाषा र संस्कृति धनकुटेली आठपहरिया राईहरूसँग नमिल्ने हुनाले यहाँ चर्चा गरिएको छैन । धनकुटेली आठपहरिया राईहरूमा बाह्रवटा थरहरू रहेको हुन्छ ।

आठपहरिया राईहरूको महत्वपूर्ण चाड भनेको चामनुंगी हो । यो चाड भदौ महिनामा पर्दछ । चामनुंगीको अर्थ नयाँ वस्तु घरमा भित्र्याउनु हो । भाद्र महिनामा खेतबारीमा पाकेको मकै घर भित्र्याउनु पूर्व पितृलाई चढाउनु पर्छ भन्ने मान्यता रहेको छ । पितृलाई मकै र धान चढाउने रीतलाई नै यिनीहरूको भाषामा चामनुंगी भनिन्छ । चामनुंगीको चाडमा यिनीहरू आ-आफ्नो घरभित्रको मूल देवताहरूलाई पूजाआजा गर्ने चलन छ । पूजा गर्दा जाँड, रक्सी, फुल, लसुन, सुँगुरको मासु चढाइन्छ । त्यसबेला आफ्नो परिवारमा सुख शान्ति मिलोस् भनेर पूजाआजा गर्ने चलन छ । चामनुंगी पर्व घरको मूल चुलोमा पूजाआजा गरिन्छ । अगेनामा तीन दीशामा तीन चम्का राखिएको हुन्छ । चम्का उत्तर, दक्षिण र पश्चिम दिशातर्फ फर्काएर राखिन्छ । चम्काको पनि अर्थ लुकेको छ । उत्तर, दक्षिण र पश्चिम पट्टी राखिएको चम्कालाई आठपहरियाहरू भोटे, मगर र बाहुन चम्का भनिन्छ । ती चम्कामा सागसब्जी, अन्न, फलफूल, जाँडरक्सी तथा सुँगुरको मासु राखिन्छ । यसरी विधिसम्मत तरिकाले पूजा आजा गरिसके पछि पितृहरूको नाम लिदै विदा दिने गरिन्छ । सो चाडको बेलामा गाउँघरमा पिङहरू राखिएका हुन्छन् । पिङ खेलेर रमाइलो गर्छन् । बच्चादेखि बृद्धासम्मले पिङ खेल्दछन् । त्यसबेला मनुष्यले जमिन छाड्नु पर्ने भनाई छ । यस जातिले धर्मलाई आस्थाको केन्द्रको रूपमा मान्दछ । धर्म प्राप्तिका लागि आठपहरिया राईहरू घरदेखि बाहिर रहेको देवस्थलमा जाने गर्दछन् । विशेष त देवस्थल चार किसिमको हुन्छ । ती छन् –मार्ग थान, जिमी थान, थानीको थान र अस्थायी थान । यी चार थानमध्ये मार्ग थानलाई ज्यादै महत्वपूर्णको रूपमा लिइन्छ । उच्च अर्थात् डाडाँमा मार्ग थान देवस्थलको स्थापना गरिएको हुन्छ । उच्च ठाउँ हुनाले बोटबिरूवा त भइनै हाल्छ । देवस्थलमा पानीको पनि ब्यवस्था गरेको हुन्छ । देवस्थलमा देवदेवताका मूर्तिहरू हुँदैन । मात्र त्रिशूल गाडिएको हुन्छ । देवस्थलमा काटमार गरिदैन । अक्षता, धूप, नैवेधजस्ता पवित्र सामाग्रीले पूजा गरिन्छ भने पानी, जाड, रक्सी पनि चढाउने गरिन्छ । मार्ग स्थानमा चढाइएका खानेकुरा घरमा लान बर्जित छ । त्यही बसेर खाई सक्नु पर्ने जनधारणा रहेको छ ।

यस जातिको अर्को महत्वपूर्ण चाड ओमडाक हो । यो चाड बैशाख महिनाको बौद्ध जयन्तीको समयमा पर्दछ । ओमडाक चाड चामनुंगी र छाङलाराङमा गरेको विधिले जस्तै ‘पाङदाङ्वा’को पूजाआजा गरिन्छ । ओमडाक एक हप्तासम्म मानिन्छ । पहिलो दिनको बिहानी पख आठपहरिया राईहरू सबै नुवाई धुवाई गरी धुले पूजाको कार्यपछि खीर खान्छन् । पाङदाङवाको पूजा गर्दा चारै सुरूमा दियो कलश राखिन्छ । केराको पातमाथि जाडरक्सी, मासु, फूल अक्षता र अन्य परिकारको मिश्रणले पूजा गरिन्छ । चढाइएको सबै खानेकुरा सोही ठाउँमा बसेर प्रसादको रूपमा खान्छन् । ओमडाकपछि बालीनाली सप्रन्छ भन्ने जनविश्वास छ । यो चाडको समयमा धनुष बाण हान्ने खेलको मनोरन्जन आकर्षक देखिन्छ ।

आठपहरिया राईहरूको समूदायमा वर्षभरिमा परेको मृत्यू शोक सामूहिक रूपमा उतार्ने वाडाङ्गी पर्व एक महत्वपूर्ण पर्वका रूपमा लिदै आएको छ । वर्षभरिमा मृत्यू हुनेका परिवारमा सम्पूर्ण सदस्य तीन दिन हिडेर सुनसरीको वराहक्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री, खौरेर भगवान् बराहको दर्शन गरी वरखी फुकाउने चलन छ । यो चाडमा बुवा आमाको दुःख बोक्नेले कपाल काट्ने, ‘दसि’ सहित केश बगाउने र छोराछोरी मर्नेका बुवा आमा आएर पनि ती छोराछोरीको नाममा दसि बगाउने प्रचलन रहेको स्थानीय डंगबहादुर राईले बताए ।

तीन दिन यात्राको क्रममा बरखी फुकाउने ब्यक्तिले खोलाको वगर तथा खुल्ला ठाउँमा बस्ने चलन छ । अरूले निर्माण गरेको पाटीपौवा तथा भवन प्रयोग गर्न नमिल्ने यो चाडमा बास बसेको ठाउमा अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाइन्छ । बरखी सम्पन्न गरी चौथो दिन घर फर्किएर नाचगान गरेर यो चाड मनाउने चलन छ । भक्ति गाउने, ढोल, मारूनी, डल्लो नाच नाच्ने यो चाडको विशेषता हो । रागाँको मासु, कुभिण्डो र फिलुंगे अचार लगायत यो चाडका परिकार हुन् (थाहा खवर २०७४, कार्तिक २४) ।

जिमी थान देवस्थल पनि यस जातिको त्यतिकै धार्मिक शक्ति केन्द्रको रूपमा पूजिन्छ । जिमी थानको बारेमा डा.डिल्लीराम दाहाल लेख्नु हुन्छ –जिमी थानका तीन तह हुन्छन् । सबैभन्दा माथि उत्तरतर्फ गाइने देव स्थापित हुन्छन् । त्यसैका मूनि दक्षिण –पश्चिमतर्फ फिजाएर राखिएका जिमी हुन्छन् । पूर्वतर्फ सिदा फिराएर कैलाश गुम्बा वा लामा देव राखिएको हुन्छ । यसरी जिमी थानमा देवदेवताको स्थापना हुन्छन् ।

पानीको स्रोतको उपलब्धता र हरियाली जङ्गलको बीचमा आठपहरिया राईको थानीको थान देवस्थल स्थापित रहन्छ । एकान्त परिबेशमा रहेको देवस्थलमा यी जातिका मान्छेहरू बाहेक अन्य जाने गरिदैन । देवस्थलमा त्रिशूल र घण्टाहरू प्रशस्त राखिन्छ । देवदेवतालाई खुशी पार्न पशु–वलि दिने चलन छ । माथि उल्लेखित तीन वटा थान अर्थात् देवस्थल निश्चित ठाउँमा स्थापना गरिएको हुन्छ तर अस्थायी रूपमा थान वा देवस्थल स्थापना आठपहरिया राईहरूले गर्ने गरेको पाइन्छ । विशेष त अस्थायी रूपमा बारीको डील, नदी खोल्साको किनारमा बनाउँछन् । ढुङ्गाका साथै काठको लिङ्गहरू गाडी काचो धागोले चारैतिर बेरी देवस्थल बनाइन्छ । देवस्थलमा आफ्ना कूलायन देवदेवताका साथै भूतप्रेत, पिचासलाई पशुको बलि दिने चलन छ । आठपहरिया राईहरूको छिलिङ्गे, माङ्बुङ, होम्वारक, छारा, पाङ्सुङ, फोक्खिम, खावादुक, लेङ्सुहाङ, किम्दाङ, चरिङ्मे, छोङ्देन, पात्रे, छिगेवा, रादुवा, चल्ले गरी जम्मा पन्ध्र थरहरू हुन्छन् ।

काजीमान कन्दङवाका भनाइ अनुसार ‘‘माथि लेखिए अनुसारको थरहरू र थरहरू पनि उपथरहरूमा विभाजित भएका र उनीहरूका साम्मेत पनि आ–आफ्नै छन् । यसरी थर उपथर सम्मेतमा खण्ड–खण्ड भए तापनि उनीहरू सबैका किपट भने छन् र सम्बन्धित थर–साम्मेत वा उपथरका किपटहरू आ–आफ्नो क्षेत्र क्षेत्रमा सल्लाह वा सँगसँगै नै छन् । आ–आफ्नो किपट क्षेत्रमा सम्बन्धित थरको बसोबास र उपथरहरूका बसोबासमा केही अन्तर भएको देखिदैन ।

भिन्न भिन्न थर उपथर वा साम्मेत भएका आठपहरिया राईहरू भए तापनि आ–आफ्ना थर–उपथर वा साम्मेतका किपट क्षेत्रहरू आ–आफूले नै उपयोग गरी आएका छन् । यसरी समान थर, समान उपथर र समान साम्मेत भएकाहरूको आ–आफ्नो समूहमा बसेको भने देखिन्छ । आज भोलि भने सल्लाह भई घुलमिल गरी बस्न थालेका छन् ।

डा.काजीमान लेख्छन् – बाहुनहरूको गोत्र भने जस्तै लिम्वुहरूमा साम्मेत मिङश्रा, राईहरूमा पाछा र आठपहरियाहरूमा साम्मेत भनिन्छ । गोत्र वा मिङश्रा, पाछा वा साम्मेत सम्बन्धित जातजातिहरू प्रत्येक थरका आ–आफ्नै छन् । बाहुनबादले ग्रसित वा प्रभावित लेखक विद्धानहरूले अन्य जातजाति गोत्र छैनन् भनी लेख्ने गरेका छन्– त्यो उनीहरूको अज्ञानता नै हो । अज्ञानता कै कारणले भन्दा बढी स्वार्थवश काश्यप गोत्रमा राखिदिन्छन् । यो अनर्थ हो । बाहुन संस्कार भित्र नपर्ने जातजातिहरू बास्तविकतालाई बुझ्न नसकेर उनीहरूले काश्यप गोत्र नामकरण कसरी, किन गरिदिएका हुन् – त्यसको छुट्टै अनुसन्धान हुन आवश्यक छ । किरातीहरूमा वा राईहरूमा पनि सुब्बा वा पुजारीले ठहर गरी साम्मेत दिए गरेका छन् र साम्मेत दिएपछि जुनसुकै जातजाति पनि आठपहरिया राई बन्दछ र उनीहरूमा समान मान्यता मिल्दछ । आठपहरिया राई बाहेक अन्य जातजातिबाट बनेका वा जात पाएकाहरूको साम्मेत अलग दिने गरेका छन् । त्यसलाई बाहुनहरूले सबैलाई काश्यव गोत्र बनाए जस्तै चाचाला चायादोबा नामको साम्मेत पूरूष भए, चायाला चायादोमा नामको साम्मेत स्त्रीलाई दिने गरिन्छ । यो साम्मेत दिनुलाई नै जात दिनु भन्दछन् ।

आठपहरिया राईहरूको प्रमुख पेशा भनेको नै कृषि हो । जमिन खनी खोस्री गरी जीवन चलाउदै आएका छन् । खेतीको अलवा बासको चोयाबाट डोको, नाङ्लो, थुन्चे, मान्द्रो बनाई स्थानीय बजारमा बेचिबिखन गर्छन् । त्यस्तै, पशुपालन, तरकारी खेतीका साथै स्थानीय नदीनालामा गई माछा मार्ने काम पनि गर्दछन् ।

यिनीहरूको जीवनचक्र अन्य जातिको तुलनामा भिन्न किसिमको छ । गर्भ रक्षाको लागि आठपहरिया राई जाति पितृ पूजा गर्दछन् । यदि बच्चा सकुशल जन्मेमा इष्ट देवीलाई सुँगुर कुखुरा बलि दिइन्छ । महिला गर्भिणी भइसकेपछि राम्रोसँग हेरविचार गरिन्छ । गाउँको जानेसुनेका कुनै एक महिलाद्वारा बच्चाको नाइटो काटिन्छ । नाइटो छोरा भए चार र छोरी भए तीन गाँठो पार्ने चलन छ । त्यस्तै, न्वारन पनि छोरी भए तीन दिनमा र छोरा भए चार दिनमा गरिन्छ । नाइटो काट्ने दिन सुनपानीले घर चोख्याइन्छ । इष्ट देवीलाई बलिस्वरूप छोरा भए भाले र छोरी भए कुखुरी बलि दिइन्छ । बच्चाको नाम फुपू वा मामाले राखिदिन्छन् । बच्चालाई भात खुवाउने चलन पनि छोरी भए तीन महिनामा र छोरा भए चार महिनामा गरिन्छ । बच्चाको छेवरचाहिँ दुई वर्षदेखि छ वर्षको बीचमा मामाद्वारा कपाल काटिन्छ । परिवारमा जेठो छोराको निम्ति मंसिर चाडमा ‘पुतबारो’ पर्व धुमधामले मनाउछन् । यस पर्वमा गाउँमा स्थानीय भेला भई नाच गान गर्ने गर्दछन् ।

यस जातिको बालिका रजस्वला भएको बेलामा ३ दिनसम्म बार्ने चलन छ । त्यस बेलामा रजस्वला हुने बालिकाले कोही कसैलाई छुन नहुने र बेग्लै बस्नुपर्ने हुन्छ । जब यस समुदायको बालिका रजस्वला हुन्छ तब मात्र सो बालिका परिपक्क अर्थात् युवती भएको मानिन्छ । यस जातिमा मागी विवाह बढी प्रचलित छ । तर चोरी विवाह र प्रेम विवाह पनि हुने गर्दछ । मागी विवाहको कार्य गर्दा सर्वप्रथम केटी माग्न जानुभन्दा अगाडि केटीको मामाघरमा कुखुराको भाले र रक्सी लिएर जाने चलन छ । केटालाई साथमा लिई केटीको मामा केटी (भान्जी) को घरमा गई केटीको बुबाआमा समक्ष विवाहको प्रस्ताव राखिन्छ । त्यसपछि केटीको आमाबुबा, घरपरिवार र मामा एक आपसमा छुट्टै कोठामा छलफल गरी केटी दिने वा नदिने निधो गर्छन् । यदि दिने भए सोही दिन विवाहको मिति तय गरिन्छ । उनीहरूको जातिमा विवाह गर्न सुडेनीको रीतअनुसार केही वस्तुहरू केटाले केटी पक्षलाई दिने गर्छन् । विवाह हुनु अघि आठपहरिया राईको दुलाहा वा दुलही दुवै पक्षको गाउँघरको घरअाँगन, बाटोघाटो, पानी पँधेरो गाउँले सबै मिलेर सरसफाई गर्दछन् । विवाह गर्दा दुलाहालाई पितृको पूजापाठ गर्नुको साथै कुखुराको बलि दिई दुलाहालाई दुलही जिम्मा लगाउने रीत छ । जिम्मा लगाउनु पूर्व दूलाहा र दूलहीबीच फुङ मिलाउने काम गरिन्छ । भोजभतेरमा पकाइएको खानेकुरा एउटा भाडामा राखी दूलाहलाई खाना दिन्छ । दूलाहले जुठो लगाए र दुलही पट्टी सारिदिन्छ । दूलाहको जुठो दूलहीले खाएपछि दूबै एक भएको महसुस गर्छन् । यो चलनलाई आठपहरिया राईहरू पुरू मिलाउने भन्दछन् । पूरू मिलाउने विवाहको महत्वपूर्ण कार्य हो । पुरू मिलाइसके पछि भोज भतेरमा सबै जना सरिक हुन्छन् । माछा, मासु, जाडरक्सिका साथमा भोज खान्छन् । भोज गर्ने क्रममा भब्य रूपमा नाच गान गर्छन् । नाचगानमा महिला पूरूष दूवैको सहभागिता रहन जान्छ । जन्ती विदा गर्ने क्रममा दूलहीको चेलिबेटीहरूले दुलाहा र दूलहीलाई बाटो छेक्ने काम गरिन्छ । चित्तबुझ्दो रूपैँया पैसा दिए पश्चात् बाटो छोडिदिन्छ । दुलही पक्षका मान्छेहरूले जन्तीहरूलाई दुलहीको घरगाउँलेहरूले बिदावारी गरेपछि जन्ती दुलाहाको घरतर्फ आउँछन् । दुलाहा दुलहीलाई घरको अाँगनमा दुईवटा कलश राखी दुलाहाको आमाले पूजा गरी भित्र्याइन्छ । दुलाहा दुलही दुबैलाई अगेनाको छेउमा राखी कुखुराको भालेलाई ढाडमा हानी रगत छदाउँदै दुबैको फेरो मिलाउने काम गरिन्छ । विवाह गर्दा बाहुनको आवश्यक पर्दैन ।

यस जातिमा अकालमा र काल गतिले मृत्यू भएमा गरिने मृत्यू संस्कार फरक फरक ढङ्गले गर्दै आएको छ । अकालमा मोरे पश्चात गर्ने गतिविधिका बारेमा डी.वी.राई विरही लेख्छन्– यस जातिमा दाँत नउम्रेका दुधे बालबालिका मोरेको खण्डमा शवलाई एउटा ठूलो माटोको हाँडीमा राखिन्छ । र त्यो हाँडी सहितको शवलाई जङ्गलमा रहेको ठूलो ओढारमा लगेर राखिन्छ । शवयात्रामा पनि धेरै मलामी आवश्यकता पर्दैन । यस्तो बालक वा बालिकाको शवयात्रामा चार÷पाँच जना मात्र मलामी भए हुन्छ । यस्ता बालबालिका मर्दा जुठो बार्ने तथा काजक्रिया गर्ने चलन छैन । तर शुद्धताका लागि भने मार्गथान र आठपहरियाहरूको मन्दिर, मा गएर सुगुँरको पाठो, कुखुराको चल्ला र कुखुराको फुल लगेर पूजा गरिन्छ । यस प्रकारको पूजालाई चिछामाङ भनिन्छ । यसरी मार्गथानमा गएर चिछामाङ गरिसकेपछि मर्ने बालक वा बालिकाको मृत्यू संस्कार पूजा हुन्छ ।

कुनै पनि दुर्घटनामा परेर वा चोटपटक लागि मरेको ब्यक्तिलाई अकालमा मरेको वा काल नआएर मरेको भनिन्छ । आठपहरिया राइहरू यसप्रकारको मृत्युलाई राम्रो मान्दैनन् । अशुभ मृत्यू ठान्दछन् । यसरी अकालमा मरेको ब्यक्तिको मृत्यू संस्कार पनि बेग्लै तरिकाले गरिन्छ । अकालमा मरेको ब्यक्तिको शव ढाक्नको लागि नयाँ कात्रो प्रयोग गरिदैन । मृतकको शवलाई पुरानै कपडाले ढाकिन्छ । शवयात्रामा मृतकलाई घोप्टो पारेर राखिन्छ । अकालमा मरेको कारण कुल भाँडिने भयले गर्दा मृतकलाई नाना थरिको गाली गलौज गर्दै लगिन्छ । त्यसैले अकालबाट मरेको ब्यक्तिलाई कुलबाट सधैको लागि निकालिन्छ । यस्तो ब्यक्तिलाई आफ्नो गाउ वा टोलभन्दा निकै टाढा अर्थात् एउटा पानी बगेको खोला कटाएर चिहान खनी गाडिन्छ । गाड्दा पनि घोप्टो पारेर नै राखिन्छ । शवमाथि विभिन्न काडाँहरू राखेर पुरिन्छ । शवलाई चिहानमा राखेर मलामीहरू घर फर्कदा पनि मृतकको प्रेतात्मा आफूसँगै नफर्कियोस् भनी ठाउँ ठाउँमा काँडा राख्दै मलामीहरू फर्कन्छ । यसरी अकालमा मर्ने मृतकको सम्पूर्ण मृत्यू संस्कार दाह संस्कार कै दिन सकिन्छ । अर्थात् यस्तो मृतकको नाममा जुठो बार्ने किरियापुत्री बस्ने, बरखी बार्ने, काजक्रिया जस्ता कुनै पनि कार्य गरिदैन । शवलाई चिहानमा पुर्न लगेको दिन एउटा सुँगुर वा बाख्रा साथमा लगेर शवयात्राको लागि गएका मलामीहरूलाई त्यही दिन उक्त सुँगुर वा बाख्रा काटेर भोज खुवाएपछि मृतकको नाममा गरिने सम्पूर्ण ‘मृत्यू संस्कार’ त्यसै दिन सकिन्छ ।

आठपहरिया राई समाजमा काल गतिले कसैको मृत्यु भएपछि मृतकको लाशलाई नुहाईधुवाई गरी नयाँ लुगा लगाउन दिइन्छ । लाशलाई सुनपानी छर्की घरको अाँगनमा लाश राख्ने ठाउँमा पनि सुनपानी छर्किने चलन छ ।

मृतकको लाशको नजिक धनुष वाण वा तरवार राख्नुपर्ने चलन छ । मृतकको शरीरलाई आफन्तहरूले टीकाटाला गरी बिदा गरिन्छ । लाशलाई बाँसको घारोमा हालिन्छ । लाश उठाउदा आफ्नो १३ दिने दाजू भाइ नै हुनु पर्दछ । छोरी ज्वाइलाई लास छुन दिइदैन । लास उठाउने क्रममा घर गाउँलेहरू मलामीलाई खाजा खुवाउनका लागि खाजाको तयारीमा जुट्छन् । लाश उठाउँदा आफ्नै भाषाको शब्द होण्डी तीन पटक भनेर बन्दुक बिजोड पड्काई जलाउनका लागि खोलातिर लगिन्छ । लाश गाड्नका लागि डेढ हात चौडाई र छ हात लम्वाई भएको खाडल खनिन्छ । मलामी गएकामध्ये पूरूषहरू ढुङ्गा बटुल्न लाग्दछन् भने महिला र पूजारी लासलाई कुरेर बस्छन् । खाडल आफ्नै जग्गा अर्थात् किपटमा राख्दछन् । लासलाई खाल्टेमा राख्दा पूजारीले आफ्नै भाषामा मन्त्र उच्चारण गरी मलामीका साथै मृतकका छोराहरूले माटो छर्कने काम गर्दछ । लासलाई पुरपार गरी बास गाडेर सेतो कपडाको झण्डा राखिन्छ । लाशको अन्तिम संस्कार गरेर मलामीहरू फर्कदा बीच बाटोमा खाजा खुवाउनुपर्ने हुन्छ । त्यसैले यस समाजका महिलाहरूले खाजा लिई मलामीहरूलाई खुवाउँछन् । आफ्ना भाइ खलक बाहेक अन्य कसैले खाजाको सामान जुटाएको रहेछ भने काजकिरियापछि सामान फिर्ता गर्नुपर्छ वा नगद रकम दिनुपर्छ । यदि फिर्ता नगरेको खण्डमा मृतकको आत्माले शान्ति पाउँदैन भन्ने विश्वास रहेको छ । मृतक पूरूष भए ज्वाईलाई र महिला भए छोरीलाई नयाँ कपडा दिनु पर्ने चलन छ । मृतकको परिवारले नुन तेल बार्छन् । छोरा भए चार दिन र छोरी भए तीन दिन । वर्षको अन्तिम दिनमा फरान्ले गरिन्छ । त्यसबेला इष्ट मित्र नातेदार सबैलाई डाकिन्छ । मृत्युको अन्तिम कार्यको रूपमा फराक्लो कार्य गर्छन् । फराक्लो गर्ने दिन अगाडि नै आफन्त इष्टमित्रहरूलाई निमन्त्रणा गरिन्छ । निम्त्याएकाहरूले आफूले सकेको माछा, मासु, जाडरक्सी, फलफूल, अन्नपातका साथै रूपैँयापैसा मृतकका ल्याउने चलन छ । दुःखको बेलामा यस्तो सहयोगको भावनाले समाजमा भाइचराको सम्बन्ध गाढा पार्ने काम गरेको छ । इष्टमित्रले उपहार स्वरूप ल्याइएको खानेकुराको रूपमा प्रयोग गरिन्छ ।

निष्कर्ष
धनकुटा जिल्लामा मात्रै बसोबास गर्ने आठपहरिया राई आदिबासी नै हुन् । आफ्नै समाजमा धेरै र बाहिरी भौगोलिक परिबेशमा खासै घुलमिल हुन नसकेका यिनीहरूको सांस्कृतिले जीवन्त पाएको छ । समाज नै बिखण्डन हुने मान्यताहरू बहिस्कृत गर्ने आठपहरिया राईहरूको लिखित ऐतिहासिक दस्ताबेज प्राप्त छैन । तसर्थ, यस जातिको बारेमा गहन रूपमा खोजी तथा अनुसन्धान गर्नु पर्ने देखिन्छ ।

लेखक: नुवाकोट आदर्श बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top