२०७७, ५ आश्विन सोमबार

विश्वकपमा खोइ महिला ?

डबली खबर     श्रावण ९ २०७५ १२:३९



Laxmi Rubma Nuwakot Trishuli Web

लक्ष्मी रुम्बा/भर्खरै सन् २०१८ को विश्वकपले बिट मारेको छ। पूर्व विश्वकप विजेता देशहरूसँग जोडिएका कति अनुमान गलत साबित भएका छन्। पेलेसँग तुलना गरिएको फ्रान्सका केलिएन एमबाप्पे, क्रोएसियाका लुका मोड्रिच, इङल्यान्डका ह्यारी केन, बेल्जियमका थियाबाउट कोर्टियसको नाम क्रमशः उत्कृष्ट खेलाडी, गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोभ्स विजेताका रूपमा सबैको जिब्रोमा झुन्डिएको छ। जे होस्, विश्वकप फुटबलले हामी सबैको तन, मन र ध्यान तानेर बिदा भएको धेरै भएको छैन।

टीभीमा विश्वकपका म्याचहरू हेर्दै गर्दा हो मेरी सानी छोरीले सोधेकी थिइन्, ‘केटी मान्छेले फुटबल खेल्दैनन् हो ?’ सायद झन्डै एक महिना पुरुष खेलाडी मात्रै फुटबलमा झुत्तिएपछि उब्जिएको कलिलो जिज्ञासा हुनुपर्छ यो। तर यो बालसुलभ प्रश्नमा हामी घोत्लिउँ त– के फुटबलको मैदान महिलाको पहुँच बाहिर छ ? महिला विश्वकपले किन विश्वको ध्यान खिच्न सकिरहेको छैन ? पुरुषवादी व्यवस्थाले महिला प्रतिभालाई गाँजिरहेको पृष्ठभूमिमा एउटा काँचो प्रश्नमाथि उब्जिन्छन् सदियौंदेखि रोपिएका प्रश्नका बीउ।

विकसित होस् वा विकासोन्मुख विभेदको बारभित्र बन्दी छन् महिला। मान्यताको जगमै छ विभेद। यसबाट अछूतो छैन विश्वकप पनि। परिणामस्वरूप समान खेल, समान प्रतिस्पर्धामा महिलालाई असमान हैसियतमा उभ्याइएको छ। विश्वकपको चर्चा चुलिँदै गर्दा पहिलोचोटि अरब राष्ट्र कतारमा हुन लागेको आगामी विश्वकपप्रतिको कूतुहलता सञ्चारमाध्यममा सुरु भइसकेको छ। तर सन् २०१९ मा फ्रान्समा हुने फिफा महिला विश्वकप फुटबलप्रति सायदै कसैको ध्यान पुगेको छ। सन् १९९१ देखि हुँदै आएको महिला विश्वकप फुटबल आठौं संस्करणसम्म पनि चर्चामा छैन।

विश्वका धेरै महिलाका लागि फुटबल खेल्नु एउटा सपना हो, फगत सपना। आधा विश्वका महिला फुटबलको पहुँच बाहिर छन्। धर्म, संस्कार र सामाजिक मान्यताका छेकबारले महिला रहरको घाँटी निमोठिदिएको छ। पुरुषका लागि स्वाभाविक रहर महिलाका लागि अस्वाभाविक पनि बनिदिन्छ। खेल्नु त परको कुरा, दर्शकदीर्घामा उभिन साउदी अरबलगायत मध्यपूर्वी देशका महिलाले लामो समय पर्खिनुपर्‍यो। अझै पनि फुटबलमा चासो राख्ने महिला प्रशंसकमाथि पनि शंकालु नजर हुत्याइन्छ।

वालस्ट्रिट जर्नलका अनुसार सन् २०१४ मा पुरुषको विश्वकपमा पाँच सय २९ मिलियन डलर खर्चिने कर्पोरेट प्रायोजकले महिला विश्वकपमा भने केवल चालीस मिलियन डलर खर्चेको पाइन्छ। यो असमानताको लहरो पुरुषवादी व्यवस्थाको जराबाट फैलिएको छ। महिला फुटबलरप्रति प्रायोजक, सञ्चारमाध्यम, विज्ञापन र बजारीकरणको नीति नै फितलो छ। तसर्थ महिला फुटबलरको व्यावसायिक खाता समृद्ध हुन सकेको छैन। युरोपमा महिला फुटबल लिगको विकास भए पनि व्यावसायिकताको घेरामा कमजोर नै पाइन्छ। यद्यपि फुटबलप्रतिको महिला लगावले सकारात्मक संकेत भने देखाएको छ। महिला फुटबलको कोचिङमा पुरुषले निरन्तरता पाइरहनुले पुरानो परम्परालाई पछ्याइरहेको पाइन्छ। महिला फुटबलको राष्ट्रिय लिग, राष्ट्रिय टोली, महिला रेफ्री, कोच आदिको व्यवस्थापन हुन नसक्नुले महिला फुटबलको अस्तित्व संकटमा देखिन्छ।

महिलाको स्वतन्त्र अस्तित्वलाई सधैं अस्वीकार गर्ने पुरुषवादले महिलाको शरीरलाई केवल विकाउ माल बनाउन खोज्छ। महिला शारीरिक रूपमा कमजोर हुन्छन्, उनीहरूको प्रयोजन केवल भोगका लागि हो भन्ने मानसिकता अझै पनि जीवित छ। जबकि प्राकृतिक रूपमै महिला कमजोर छन् भन्ने धारणाको खण्डन उहिल्यै भएको हो। अमेरिकी मानवशास्त्री एभलिन रिडले जीवविज्ञान नारी जातिको नियति होइन भन्ने पुष्टि गरेकी छिन्। उनका अनुसार ‘निजी सम्पत्ति, पारिवारिक संगठन तथा पुरुष श्रेष्ठतामा आधारित समाजमा स्त्री जातिको प्राकृतिक सम्पदा– गर्भाशय र मातृत्व कार्यलाई आजसम्म उनीहरूमाथि शोषण तथा उत्पीडन लाद्ने साङ्लोमा परिवर्तन गरिएको छ। तर यस्तो परिस्थिति मानवनिर्मित कुरा हो, प्रकृतिबाट निर्मित तत्व होइन।’ रिडले शारीरिक बनोटका कारण नै महिला पुरुषभन्दा कमजोर हुन्छन् भन्ने मिथ्या तर्कमा बुझो लगाइदिएकी छन्। तर पुरुषवादी समाज विकासका निम्ति महिलामाथिको यस्तो भ्रमात्मक प्रचार निकै सहयोगीसिद्ध भएको छ।

विश्वका धेरै महिलाका लागि फुटबलको मैदान अझै निषेधित घेरामा छ। फुटबल भन्नेबित्तिकै हाम्रा अगाडि पुरुषकै बिम्ब आउँछ। विगतदेखि वर्तमानसम्मका कण्ठस्थ आउँछन् आफ्ना प्रिय फुटबलरहरू– पेले, म्याराडोना, रोनाल्डो, मेस्सी, नेमार, केलिएन एमबाप्पे आदि। तर आउँदैनन् कहिल्यै हाम्रो सम्झनामा विश्वकपका अब्बल महिला फुटबलर मार्टा, बिर्गिट प्रिन्ज, एब्बी वाम्बच, होमारे सावा। जसलाई उस्तै खेल, उस्तै प्रतिस्पर्धामा समान विन्दुमा कहिल्यै उभ्याइँदैन। महिला शरीरको वस्तुकरणमा चासो लिने विभेदी समाजले फुटबल मैदानमा महिलालाई अर्को ढाँचामा उभ्याइदिन्छ। महिला विश्वकप लोकप्रियता, व्यावसायिकता र चर्चाको घेराभन्दा पर छ।

जब सेरेना विलियम्स टेनिस कोर्टमा उभिन्छन्, साराका आँखा टक्क त्यहीं अडिन्छ। तर त्यस्तै चर्चा फुटबल मैदानमा फिफाद्वारा लगातार पाँचपटक विश्वको सर्व श्रेष्ठ महिला खेलाडी घोषित मार्टाको किन हुँदैन ?

भोग्या चिन्तनबाट ग्रसित समाजले महिला फुटबलरलाई सधैं कमजोर देख्छ। विश्वकपको लिंगवादी समस्या यही रुढ चिन्तनबाट प्रभावित छ। समाज महिलालाई शो पिसकै रूपमा राख्न चाहन्छ। टेनिस मात्र यस्तो खेल हो, जहाँ महिलालाई बराबर भुक्तानी दिइन्छ। टेनिस खेलमा महिला लोकप्रियता अडिएको छ। सुन्दरी प्रतियोगिताको होडबाजीले विश्व अलमलिइरहेको सन्दर्भमा टेनिस सुन्दरी भनेर महिला खेलाडीमाथि सतही ट्याग झुन्ड्याइएको छ। टेनिस खेल कौशल मात्र नभई यहाँ पहिरनले ठूलो अर्थ राख्छ। महिलाको प्रतिभालाई शरीर र सुन्दरतासँग गाँसेर हेर्ने प्रवृत्ति पुरानै हो। जब सेरेना विलियम्स टेनिस कोर्टमा उभिन्छिन्, साराको आँखा टक्क त्यहीं अडिन्छ। तर त्यस्तै चर्चा फुटबल मैदानमा फिफाद्वारा लगातार पाँचपटक विश्वको सर्व श्रेष्ठ महिला खेलाडी घोषित मार्टाको किन हुँदैन ? खेलका कैयौं शीर्ष उपलब्धि हुँदाहुँदै पनि उल्टै मार्टालाई ‘पेले इन दि स्कर्ट’ को उपमा दिएर उनको तुलना पुरुष श्रेष्ठतासँग गरिएको छ। महिलालाई सधैं पुरुषसँग तुलना गर्ने पुरातन प्रवृत्तिलाई यहाँनेर पछ्याइएको देखिन्छ।

महिलाको भूमिकालाई सधैं शरीरको मनोविज्ञानसँग गाँसिएर मूल्यांकन गरिन्छ। पितृसत्ताको जरा गाडिएदेखि महिलालाई भोग्या र दासी बनाइएको छ। पुँजीवादी नाफा प्रणालीले हर कुराको बजारीकरण गर्छ। यहाँ प्रतिभा, कला, सिर्जना सब विनिमयको लस्करमा हुन्छन्। प्रतिभाको बजारमा पनि महिलाको कलाकौशल, रूप र सौन्दर्यको चर्को मिसावट गरिन्छ। निरंकुश पितृसत्तात्मक व्यवस्थाले महिलालाई प्रसाधनका रूपमा अघि सारेको छ। आधुनिक पुँजीवादले सधैं क्रयविक्रयको तराजुमा महिलालाई जोखिरहन्छ। भनिन्छ– कुनै पनि कुरालाई दीर्घकालसम्म टिकाउन राजनीतिक अस्त्र सबैभन्दा प्रभावशाली माध्यम हो। पुरुषतन्त्र टिकाउन महिला शरीरको वस्तुकरणको फरकफरक मोडेलले ठूलो भूमिका खेलेको छ। पुरुषनिर्मित सौन्दर्यको मिथले जहींतहीं अड्डा जमाएको छ। महिला शरीरको प्रदर्शन हुने भएकैले टेनिसबाहेक जिम्न्यास्टिक, आइस स्केटिङ जस्ता खेल सधैं गसिप बनिरहन्छ। सधैं पुरुषतन्त्रको घेराभित्र कैद महिला विश्वकप असमान स्तरको घाटा खेपिरहन्छ। महिला क्रिकेट पनि यस्तै विभेदबाट प्रभावित छ। कति लज्जास्पद कुरा छ मान्छेको क्षमता, प्रतिभालाई लिंगभेदको आडमा मूल्यांकन गरिन्छ।

खेलमा समानताको कुरो उठाउँदा महिलाका तमाम मुद्दाअघि मामुली लाग्न सक्ला, तर यो सामान्य सवाल होइन। यही सवालले लैंगिक असमानतामाथि तिखो प्रहार गर्छ। अन्य क्षेत्रमा झैं खेल क्षेत्रमा पनि महिलामाथिको दृष्टिकोण र मानसिकतामा बदलाब आउनु जरुरी छ।

कम रोमाञ्चक र स्लो गेमका रूपमा विश्लेषण गर्दै महिला खेललाई ऐतिहासिक रूपमै कम ध्यान दिइन्छ। पुरातन समयदेखि हाबी हुँदै आएको लिंगवादी सोचले फुटबलको मैदानलाई पनि जकडेको छ। नेपालमा पनि त्यस्तो विभेद कायम छ। साम्भाको नामबाट चर्चित अब्बल महिला फुटबलर सावित्रा भण्डारी अवसर र प्रशिक्षणको कमीले महिला खेलाडी पलायन भइरहेको बताउँछिन्। वर्षैभरि दर्जनौं राष्ट्रिय प्रतियोगितामा पुरुष फुटबलर व्यस्त भइरहँदा नेपालमा मुस्किलैले वर्षमा दुई महिला फुटबल राष्ट्रिय प्रतियोगिता हुने गरेको छ। महिलालाई वस्तु र सौन्दर्यको आवरणमा उतार्ने मिडियाले महिलाको खेल दुनियाँँलाई भने बेवास्ता गरिदिन्छ। कतिपय अवस्थामा खेल मिडियाले नै महिलाको खेल कभरेज गर्न कन्जुस्याइँ गर्छ।

भाषिक, सांस्कृतिक र राजनीतिक सीमा जोड्ने विश्वकपमा महिला फुटबलरको सहभागिता हुनु सकारात्मक पाटो हो। तर पुरुषतन्त्रको आडम्बरी खोलबाट महिला विश्वकप टाढिन सकेको छैन। सामाजिक र सांस्कृतिक रुढिवादले महिला खेलाडीहरू अझै अस्तित्वको संघर्षमा छन् जब कि पुरुष खेलाडी मात्रै आफ्नो कलाकौशलता निखार्नमा तल्लीन छन्। पुँजीवादीहरू हर क्षेत्रमा आफ्नो नाफामूलक सम्भावना खोजिरहन्छन्। विश्वकपलाई लिएर बहुराष्ट्रिय कम्पनीको अतिक्रमण, महिला फुटबलरलाई कम भुक्तानी तथा कर्पोरेट प्रायोजकको कम लगानी आदि पक्षले महिला फुटबलरको स्तर गिराउन पुँजीवादी समाज हरदम प्रयासरत रहेको प्रस्ट्याउँछ। महिलाका लागि असामान्य ठानिने फुटबलमाथिको लिंगवादी राजनीतिक अर्थव्यवस्थाले महिला फुटबलरको तस्बिर ओझेलमा पारेको छ।

संघर्षमय पृष्ठभूमिबाट नवीन अध्यायमा महिला विश्वकप झाँगिदैछ। थुप्रै चुनौती र निषेधमाझ महिला फुटबलर मैदानमा छन्। आशा गरौं– सबै असमानतालाई छिचोल्दै एक दिन महिला विश्वकपले विश्वको ध्यान खिच्नेछ र हामी जितको मैदानबाट सानदार चियर्स गर्न सक्नेछौं। अन्नपूर्णपोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top