२०७७, १४ माघ बुधबार
Election Office Nuwakot Notice
Bachchhaladevi Suppliers

माघे संक्रान्ति : तारुका र तारुके

    माघ १ २०७४ ०५:४२


Election Office Nuwakot Notice
Trishuli Web Design Services in Nuwakot

तारुका र तारुकेको सम्झना कुनै जमाना थियो नुवाकोटको तारुकामा माघे संक्रान्तिमा गोरु जुधाएर मनाइन्छ भन्ने कुरा समाचार नै थिएन । बस गाउँलेका खबर थिए । र, खबर पनि तारुका र आसपासका केही गाउँठाउँमा मात्र सीमित थियो । आयो छोरो, खायो पियो, भोलीपल्टै गयो भने जस्तै । जिल्लामा अखबारको मेरुदण्ड थियो रुपरेखा । रुपरेखामा धुमिल तस्वीरमा भने पनि समाचार आउँथ्यो । गाउँलेका लागि त्यही नै बहार थियो खुसीको । बढी आए गोरखापत्रको भित्री कुनै कुनो र दूलोमा ‘संक्षिप्त’ एक कोलम ।

उन्नाइस वर्ष अगाडिको कुरा । त्यतिबेलाको चल्तीको साप्ताहिकमा जोडिएको थिएँ । केटौले पनि सिकारु पनि । तारुकाको मेलाको फिचर बन्छ, जाउँ कि के हो भनेर चिया पसलमै कुरो उप्कियो । चिया पसल थियो बागबजारको गल्लीमा । जनादेश, प्रकाश, खबरकागज, जनधारणा र साँघुसमेतका घाघडान पत्रकारहरुको चिया अड्डाजस्तो । त्यो बेला पुलिस पत्रकार भनेर चिनिने एकजना ठूला पत्रकारले मेरो खुब खिल्ली उडाए । अहिले राष्ट्रिय दैनिकमै सम्पादक भइसकेका अर्का मनुवा पनि थिए त्यहाँ हाँस्नेमा । ती अट्टहास हाँसे, ‘गोरु जुधाएको पनि फिचर हुन्छ ?’ भनेर ।

अहिले संयोग कस्तो छ भने ती पुलिस पत्रकारको नामोनिशान छैन तर गोरु जुधाएको समाचार सम्भवतः सबै टेलिभिजनको समेत मुख्य समाचारको शीर्षकभित्र, सबै राष्ट्रिय दैनिकको प्रथम पृष्ठमा अझै तस्वीरसहित नै समाचार अटाउँछ । र, माघे संक्रान्तिमा तारुका जाने ‘स्केज्ययल’ बन्छ पत्रिका र टेलिभिजनका समाचारकक्षमा । आहा ! अहो !!

अब तारुकेको कुरा । कतिलाई त विष्णु तारुके भन्ने मान्छे विष्णु जमकट्टेल हो भन्ने पनि थाहा नहोला । तारुकाको मेलालाई, चन्दनीको पाटोलाई, गोरु जुधाउने संस्कृतिलाई राष्ट्रिय आयतनमा ल्याउने सेतु हुन् तिनी । तारुकाबाट शहर छिरेपछि तिनका दुःखका गाथाको एउटा साक्षी भएको नाताले म गर्वका साथ भन्छु ‘तारुकाको त्यो संस्कृतिलाई राष्ट्रिय रुप र आकार दिन तारुकेले गरेको दुःख सम्झनायोग्य छ ।’

अब पुराना समाचारको कटिंग, केही थान तस्वीर लिएर तारुकेले साप्ताहिक पत्रिकाका हाकिमहरुलाई ‘लौ न हजुर’ भन्दै बिन्ती बिसाउन जान पर्दैन । तारुकाको समाचार र फोटो हालिदेला भनेर ध्वाँसेहरुलाई भेला गरी चिया, समोसा र तरकारीको पैसा तिर्न पनि पर्दैन । बिहान तीन बजेर उठेर घोडे साइकलमा धर्मपथ पुगेर त्रिशुली पत्रिका पठाएर शुरु हुने उसको दिनचर्यामाझ पुस लागेपछि सकेसम्म दुई चार जना भाइसाथी पत्रकार तारुका लैजान पाए हुन्थ्यो भन्ने ध्याउन्न अब तारुकेसँग नहोला । अब दुनिंयालाई देखाउने पत्रकार सम्मेलन गर्न पर्यटन बोर्डमा ‘जिउ हजुरी’ गर्न जान पनि नपर्ला । पसिना काडेर जोगाएको ‘पकेट मनी’ मात्र होइन बाउले तारुकाको माटो खोस्रेर, उधिनेर र भकारो सोहोरेर जोगाड गरेको द्रव्य पनि अब तारुकेले खर्च गर्न नपर्ला । किनकि, अब तारुकाको माघे संक्रान्ति मेला संस्थागत भइसकेको छ ।

अब देशभर खबर पुग्ने भएपछि मेला चुस्त बनाउन गाउँलेलाई पनि करै लाग्यो । विस्तारै मेलाको व्यवस्थापनको पाटो चुस्त हुँदै गयो । उत्साह स्थायी बन्दै गयो । अन्यत्र पनि तारुकाको अभ्यास अनुशरण गरेर रोकिएका थिति पुनःआरम्भ हुन थाल्यो । प्रमाणपत्र र प्रशंसाको संस्कार बन्दै गयो । हरेक वर्ष क्यामरा, टेप, रेकर्डर र कलम थप हुँदै गए । हुँदा हुँदा मेला व्यवस्थापनमै महाराजनीतिसमेत हुन थाल्यो । अर्थात् माघ १ गाउँमा अनुहार देखाउने ठूलो अवसर छोप्न जो कोही अघि सर्न थाल्नु पनि अनौठो भएन ।

bull-fight-nuwakot-bidur-trisuli-trishuli

एउटा कुरामा अझ जोड दिनपर्ने हुन्छ, गोरु जुधाउने परम्परा र संस्कृतिलाइ विस्तार गर्ने नाममा अनेक थरीका उत्सव र महोत्सवमा, दुनियाँका भोज र भतेरमा गोरुहरुको दुरुपयोग हुनु दीर्घकालीन हितमा हुँदैन। गोरु जुधाएवापत किसानलाइ द्रव्यको मोहबाट बचाएर राख्ने चुनौती तारुकावासीमा छ अबका दिनमा। किनकि, अबका दिनमा सांस्कृतिक अन्तर्राष्ट्रियकरणको पाटो प्रवेश गर्नेछ जुनबेला व्यवसायिकभन्दा साँस्कृतिक तथा परम्परागत मूल्यको खोजी बढी हुनेछ।

तारुकावासीलेले तारुकामै रहेर गर्ने र गरेको व्यवस्थापनमा एउटा चुस्त पक्ष देखेको थिएँ मैले। त्यो के भने ‘मिडियाले कस्तो प्रश्न सोध्यो भने कस्तो उत्तर दिने’ भनेर सब तयार। लेखेको वा कण्ठ गरेर होइन हरेक वर्षको अनुभवले। गाउँका किसानको यही एकतालाइ तारुकावासीले जोगाए र पो आज व्यवस्थित मेलाका सन्दर्भ उधिन्न पाइएको छ। हरेक जात्रा र सक्रान्तिमा उठेका विवादमा अल्झिएर सबैले ‘लौ तँ गर’ भन्दिएको भए आज किन तारुकाको मेला राष्ट्रिय ‘कभरेज’मा पर्दथ्यो ?

र, मैले जानेको के हो भने संस्कृतिको लुप्त हुन लागेको पाटोको उत्खनन गर्न, त्यसको स्तरोन्नती गर्न, जागरण ल्याउन र सुदृढीकरण गर्न मिडियाको भूमिका नहुँदो हो त तारुकाको गोरु जुधाउने चलन त्यही चन्दनीको पाटोमै सीमित हुँदै लोपोन्मुख हुने सम्भावना हुन्थ्यो। भन्नलाई त जिल्लाका सबै पत्रकारले ‘हामीले गर्दा’ भन्दा हुन् । ‘त्यो त अस्तीबाट समाचार लेख्न आको’ पनि भन्दा हुन् । तर पत्रकारितामै जोडिएर तारुकेले निभाएको समन्वयकारी भूमिका, निरन्तर चासोको तारिफ गर्दा सानो भइन्न। क्याबात तारुके ! ‘मैले यो गरें ऊ गरें’ केही नभनी गाउँ र गाउँको पहिचानलाई जे दिएका छौ त्यही पर्याप्त छ ।

मलाई त अरु याद छैन, तारुकेको पछिपछि लागेर उकालो काटेको याद छ । घरैपिच्छे ‘यस्ता यस्ता गोरु छन्, यिनले यो खुवाउँछन्, तिनले त्यो खुवाउँछन्’ भनेर तारुकेले दिएको बिवरण याद छ । अनि उकालो कटेपछिको चौतारीमा दालमोठ र चिउराको पोको खोलेर नजिकैको पसलमा मोही सोध्न गएको याद छ । यो अधिकारी, यो मगर, यो नेवार, यो बाहुन्, यो क्षेत्री अनि यी सप्पैजना तारुकाको मेलामा जुधाउन गोरु ल्याउने धनीहरु भनेर हरेकसँग कथा लिएको याद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top