२०७७, ९ आश्विन शुक्रबार

कृषि मन्त्रीलाई पत्र

खुला पत्र

डबली खबर     जेष्ठ २२ २०७७ १३:४६



pusparaj ghimire open letter to agriculture minister of nepal

माननीय मन्त्रीज्यू,
नमस्कार ।

कृषि, मेरो अध्ययन वा विशेषज्ञता क्षेत्र नभएता पनी कृषि क्रान्ति मार्फत मात्र यो देशको सम्बृद्धि वा कायापलट हुन्छ भन्ने कुरामा सदैव विश्वस्त रहँदै आएको व्यक्ति हुँ । केही समय अघि तपाईंले कृषि मन्त्रालयको बागडोर सम्हाल्दै गर्दा मेरो मनमा तपाईको कार्यकुशलता हेर्ने कौतुहलता मात्रै हैन तपाई प्रतिको आशा तथा भरोसाले ढाडस पाई मन पुलक्कीत भएको थियो । तपाईका लेख, रचना, विचार पढ्दै तथा तपाईका भाषण, बहस र अन्तर्वार्तासंगै दिनहुँ समाचार बनेर आउने पार्टि वा वाह्य सामाजिक जिवनका विद्रोहि भाषण पढेर तपाई प्रति आशावादी हुने गर्थें । तपाईले शासनशक्ताको बागडोर अर्थात मन्त्रालय सम्हाल्दै गरेको अवस्था र अहिलेको महामारीको अवस्थाले सृजित परीवेशले व्यक्ति, समाज, देश तथा विश्वकै परीस्थितिमा फेरबदल ल्याइदिएको छ । सोको प्रभाव हाम्रा व्यक्तिगत सामाजिक तथा राष्ट्रिय प्राथमिकता समेत बदलिएका छन् ।

अत्यधिक व्यापार घाटा रहेको तथा व्यापार घाटा मार्फत सोधानान्तर स्थितिमा पर्ने चापलाई सन्तुलनमा राख्न लाखौं युवा शक्ति अदक्ष श्रमिकको रुपमा विशेष गरी खाडी तथा भारत निर्यात गरी जेनतेन घिस्रिरहेको अर्थतन्त्रलाई महामारीले जटिल अवस्था सृजना गर्नेनै छ । आगामी दिनका लागी महामारी भन्दा भोकमरीको व्यवस्थापन जटिल चुनौति बन्ने निश्चित छ । महामारी पश्चात झण्डै १० लाख युवाहरु बाह्य श्रमबजारबाट बेरोजगार भई फर्किने छन् भने आन्तरीक बजारमा होटल, रेष्टुरेण्ट, पर्यटन, मनोरञ्जनका क्षेत्रमा पर्ने दिर्घकालिन असर तथा यातायात निर्माण तथा उद्योगमा आउने सुस्तताको कारण अरु लाखौं युवाहरु बेरोजगार बन्दैछन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार १९३० को महामन्दी तथा २००९ को वित्तिय संकट भन्दा बढी कोभिड १९ को महामारीको प्रभाव विश्व अर्थतन्त्रमा बढी हुने अनुमान संगै आर्थीक वृद्धिदरमा आउने गिरावट ले बेरोजगारीमा थप चाप पर्दै त्यसको चक्रिय प्रभाव भयावह हुने सम्भावना छ । जसको प्रभाव हाम्रा जस्तो विप्रेषणमा अधिक निर्भर अतिकम विकसित अर्थतन्त्रमा बेरोजगारी तथा गरीबीका आंकडा थप बढोत्तरी हुने निश्चीत छ । अर्कोतर्फ तत्काल वाह्य लगानीको साथै द्धिपक्षिय सहयोग को समेत न्यून सभ्मावनाका विच औद्योगीक उत्पादनमा तत्काल गुणात्मक वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धन गर्र्ने सम्भावना समेत छैन । यस्तो अवस्थामा तत्कालका लागी खाद्य सुरक्षा तथा संप्रुभुता, बेरोजगार युवाहरुको व्यवस्थापन, गरीबिमा पर्ने चापको न्यूनिकरण, आयात प्रतिस्थापन आदिका माध्यम मार्फत अर्थतन्त्रको त्राण धान्ने एकमात्र क्षेत्र कृषि हुनसक्ने संभावनाको विकल्प समेत देखिदैन ।

यो विषम परीस्थितिमा देशले तपाई जस्तो विद्धान, अध्ययनशिल, जुझारु, युवा नेतालाई कृषिमन्त्रीको रुपमा पाएको छ । वर्तमान परीवेशमा तपाई सफल हुनुपर्दछ । तपाई सफल हुँदै गर्दा आमनेपालीले तपाईले बेलाबेलामा भाषण तथा लेख मार्फत अभिव्यक्त गर्ने विचारत्तेजक समाजवादी समाजको सुनौलो परीकल्पना नै त गर्न नपाउलान यद्यपी केहि हदसम्म थोरै भएपनी गरीब तथा बिपन्न कृषकले हातमुखको जोहो गर्ने वातावरण संगै दिर्घकालमा देशको औद्योगिक क्रान्ती तर्फको यात्राको सुनिश्चित गर्न सकिन्थ्यो कि भन्ने कुरामा आशावादी छु । यो परीवेशमा सामान्य नागरीकको तर्फबाट निम्न सुझावहरु पेश गर्न चाहान्छु ।

१. तत्काल सिमा नाकाहरुमा तरकारी तथा फलफुल तथा माछामासु को गुणस्तर तथा विषादी जांच प्रयोगशालाको स्थापना गरी विदेशी कृषि उपजहरु आयातमा निरुत्साहित गरौं । साथै आन्तरीक उत्पादनको सहज परीवहनका लागी प्रदेश तथा स्थानिय सरकार मार्फत सहज आवागमनको व्यवस्था गरौं । आन्तरीक उत्पादनको बजारीकरणका लागी सरकारी निजी साझेदारी संयन्त्रको विभिन्न तहमा विकास गरौं । आन्तरीक उत्पादनको खपतका लागी आमसञ्चार माध्यम मार्फत सुचनाको संप्रेषण गरौं । न्यूनतम समर्थन मूल्य तोकौं । समर्थन मूल्य भन्दा बजार मूल्य घटी भएमा उत्पादनमा स्थानिय सरकार मार्फत अनुदानको व्यवस्था गरौँ ।

२. वर्षेबाली लगाउने बेला आइसकेको अवस्थामा तत्काल युद्धस्तरमा रासायनिक मलखाद्य, विषादी तथा विउबिजनको व्यवस्थापन गरौं । रासायनिक मलखाद्य विषादी,बिउबिजन तथा पशुपंक्षीको दानामा अनुदान दिई त्यसको प्रभावकारी कार्यान्वयनका लागी स्थानिय सरकारलाई निर्देशन दिनुस ।

३. कृषि क्षेत्रमा विशेषज्ञता हासिल गरेका सम्बन्धीत विज्ञहरु तथा नविनतम सोच भएका उद्यमीहरुलाई आफ्ना सोच तथा विचारका लागी आव्हान गरौं । उच्चस्तरीय कृषि आधुनिकिकरण तथा व्यवसायिकरण कार्यदल बनाई ३ महिनाको समयसिमा प्रदान गरौं । कुन, कुन स्थानमा कस्तो प्रकारको कृषिबाली, फलफुल, तरकारी, जडिबुटि, बन पैदावार वा पशुपंक्षि पालन गर्न सकिन्छ तथा त्यसको तुलनात्मक लाभ तथा बजारको संभावना पहिचान सहितको प्रतिवेदन तयार गरौं । सबै खालका खाली बाँझो जग्गाहरुको पुर्णरुपमा उपयोग गर्ने गरी नीति बनाउँ ।

४. तत्काल निजि क्षेत्रको समेत सहभागितामा रासायनिक मल उत्पादन गर्ने कम्पनी स्थापना गरौं । रासायनिक मलको आन्तरीक बजार अपुग हुने भएमा भारतमा समेत निकासी गरी लाभ लिन सकिन्छ ।

५. कृषि अनुसन्धान परीषदको क्षमता तथा सञ्जाल विस्तार संगै स्रोतसाधन सम्पन्न बनाउँ । कृषि तथा बनविज्ञान विश्वविद्यालय तथा क्याम्पसलाई अनुसन्धान केन्द्रित गर्न स्रोतसाधनको व्यवस्थापन गरौं । कृषि, बनविज्ञान तथा पशुविज्ञान संकाय अध्ययन गर्ने डिप्लोमा तहका विद्यार्थिलाई कम्तिमा ६ महिना तथा स्नातक तहका विद्यार्थीहरुलाई १ वर्षको अनिवार्य शुल्क सहितको इन्टर्नशिपको व्यवस्था गरौं । यसले एकातर्फ प्राविधिक जनशक्तिको व्यवस्थापन गर्न सहज हुन्छ भने अर्कोतर्फ युवा कृषि उद्यमी विकासकालागी कोषेढुङगा सावित हुन सक्दछ ।

६. कृषि सामाग्री कम्पनीलाई कृषि सम्बन्धी यन्त्र तथा उपकरण उत्पादन गर्ने कम्पनीको रुपमा विकास गरौं ।

७. हरेक स्थानिय निकायमा एक एक जना कृषि, पशु तथा वन विज्ञानमा स्नातक गरेका विज्ञ जनशक्ति तथा हरेक वडा तहमा कम्तिमा एक एक जना कृषि तथा पशु प्राविधिकको व्यवस्था गरौ । कृषकलाई निशुल्क सेवाको व्यवस्था गरौं ।

८. हरेक स्थानिय निकायमा कृषक विकास घुम्ति कोष को व्यवस्था गरी सुरुवाती बिउ पुँजी (StartUp Capital) को व्यवस्था गरौं । बिना व्याज साना किसानहरुलाई घुम्तिकोषको परीचालन गरौ । प्रत्येक आ.व.मा निश्चित बजेट बिनियोजन गर्दै कोषको आकार बढाउँदै लैजाउँ ।

९. विभिन्न तहका सरकारी संयन्त्र तथा गैह्रसरकारी निकाय मार्फत वितरण हुने पुँजी, प्रविधि, बिउको अनुदान सहयोग तथा तालिम गोष्ठि, अध्ययन भ्रमण जस्ता कार्यक्रम अनिवार्य रुपमा स्थानिय निकाय मार्फत एकद्धार प्रणालीमा वितरण हुने व्यवस्था गरौं । पहुँचवाला शहरीया झोले कृषकले पाप्त गरीरहेको दोहोरो तेहोरो सुविधा अन्त्य गरौं ।

१०. तत्काल अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक संगको समन्वयमा व्याज अनुदान सहितको सहुलियतपुर्ण कृषि कर्जाको कार्यविधि परीमार्जन गरी स्थानिय निकायको समेत सहभागिता रहने संयन्त्रको विकास गरी पारदर्शि किसिमले वितरण गरौं । हरेक वडामा तयार हुने कृषि सुचना केन्द्र तथा अन्य सरकारी संयन्त्र मार्फत त्यसरी वितरण हुने ऋण, अनुदान, सहुलियतको सार्वजनिक रुपमा संप्रेषण गरौं। दुरुपयोग गर्नेलाई सरकारी संयन्त्र मार्फत प्रदान गर्ने सेवा सुविधामा बञ्चित हुने व्यवस्था गरौं । साथै यस्तो संयन्त्र मार्फत कृषकलाई सहुलियतपुर्ण कर्जा लिन प्रोत्साहित समेत गरौं । यसले स्व अनुगमन तथा सामुहिक मुल्याङकनलाई सहयोग गरी पारदर्शिता तथा सदुपयोगको सुनिश्चितता प्रदान गर्दछ ।

११. तराइका कृषियोग्य भुभागहरुमा स्यालो ट्युब, तथा डिप ट्युववेल साथै पहाडी एवम हिमालि भुभागमा लिफ्ट सिंचाई, प्लाष्टिक पोखरी निर्माणका लागी अनुदानको व्यवस्था तत्काल गरौं ।

१२. स्थानिय स्तरमा कृषि उपज हाटबजार, अनुदान सहितको शित भण्डार निर्माण, कृषक समुह तथा कृषि सहकारीका माध्यम मार्फत कृषि उपज प्रशोधन केन्द्र, ढुवानीका साधनहरु खरीदमा अनुदान प्रदान गरौं ।

१३. हरेक नेपालीको हात हातमा पुगिसकेको मोबाइलका साथै स्थानिय सञ्चारका माध्यम तथा स्थानिय स्तरमा कृषि सुचना केन्द्रको स्थापना गरी कृषिका सम्बन्धमा उत्पादन, विउविजन, प्रबिधि, बजार, बजार मुल्य आदि सुचनाहरु सम्प्रेषण गर्ने व्यवस्था गरौं ।

१४. कृषिमा तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गरौं । कृषिका विभिद विधाको व्यवसायिकरण तथा विशिष्टिकरण गरौं । कृषिमा विविधिकरण मार्फत अधिक लाभ लिन सकिने अवस्थाको सृजना गर्न सकिन्छ ।

१५. राज्यले लिएका हरेक निती तथा योजनाको कार्यान्वयन गर्ने प्रशासनिक संयन्त्र अपवाद वाहेक नितान्त प्रक्रियामुखी, जागीरे मनोविज्ञान र अहमताको मानसिकता बाट ग्रसित छन् । अर्कोतर्फ निर्वाचित जनप्रतिनिधिहरुको अल्पज्ञान तर सर्वज्ञ प्रवृती पनि विकास प्रशासनको सुस्तता लागी जिम्मेवार छन् । जनप्रतिनिधि तथा प्रशासन संयन्त्रको कुशल तथा प्रभावकारी समन्वयका माध्यम मार्फत कार्यकुशलता तथा प्रभावकारीता वृद्धि संगै अपेक्षित नतिजा प्राप्त गर्न तर्फ केन्द्रित हुन जरुरी छ । सुशासन सहितको नतिजामुखी प्रशासन संयन्त्र राष्ट्र सम्बृद्धिको आधारशिला हो ।

इतिहासको संगिन मोडमा कृषि मन्त्रालयको बागडोरको नेतृत्व गर्न पाउनु तपाईको राजनितिक जिवनको परीक्षा हो । चुनौतिका चटानी पहाड फोर्नु छ , तर दृढ इच्छाशक्ति भए यो सम्भव छ । तपाईको राजनितिक जिवनको परीक्षाको घडि मात्रै हैन राजनितिक पुस्तान्तरणको अवसर पनि हो । तपाई सफल हुँदै गर्दा मुलुकले तपाई संग यो देशको अर्थतन्त्रको प्राण भर्ने तथा आम जनताको भोको पेट भर्ने मात्र हैन, भोलिको बिचार र बिबेक ले सुसज्जित युवा जमातको राजनितिक यात्राको खुट्कीलो तयार पार्ने अभिभारा पुरा गरेको सफल राजनितिज्ञ पाउनेछ । दृढ सङकल्प सहित अघि बढ्नुस । नीति लागु गर्न कठिनाई भए जनतालाई सुसुचित गर्नुस् । सकिन्न भने विद्रोह गर्नुस, मैदान छाड्नुस । किनकी तपाईलाई असफल हुने छुट कदापी छैन । जसले युवा पुस्तामा आशाको किरण जाग्न छाड्छ नै व्यवस्थामाथी नै प्रश्न चिन्ह खडा हुँदै जनता सडकमा निस्कने अवस्था सिर्जना भयो भने देशले धेरै चुकाउनु पर्ने निश्चित छ ।

अन्त्यमा, यि सुझावहरु कृषिको क्षेत्रमा अत्यन्तै न्यून जानकारी राख्ने सामान्य नागरीकका हुन् । सम्बन्धीत क्षेत्रका अनुभवी तथा विज्ञ व्यक्तिहरुबाट प्राप्त सुझाव तथा कार्ययोजनाको तुलनामा यी अत्यन्तै सतही मात्र हुन्छन भन्ने कुरा जान्दा जान्दै पनी सचेत नागरीकको तर्फबाट सुझाव दिने प्रयास मात्र गरेको हुँ । आगे हजुरकै मर्जि ।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top