२०७७, १२ आश्विन सोमबार

सिभिल ईन्जिनीयरिङ कक्षा सञ्चालनको लागि त्रिशुली महोत्सव हुने

डबली खबर     मंसिर १९ २०७५ १९:४०



विदुर / त्रिभूवन त्रिशुली माविमा सिभिल ईन्जिनीयरिङ कक्षा सञ्चालनको लागि रकम जुटाउने उद्देश्यका साथ नुवाकोट त्रिशुली महोत्सव आगामी पुस २ गतेदेखि १० गतेसम्म हुने भएको छ ।

गत असोज २२ गतेदेखि ३० गतेसम्म दशैँलाई लक्षित गरी तय गरिएको महोत्सव नुवाकोट कपडा व्यवसायी संघ र नुवाकोट उद्योग वाणिज्य संघको विरोधका कारण स्थगित भएको थियो । तत्कालीन समयमा महोत्सव गर्दा दशैँको समयमा बजारका व्यापारीहरुको व्यापारमा असर पर्ने भन्दै महोत्सव नगर्न पटक पटक आग्रह गरिएको थियो । ईन्जिनीयरिङ कक्षा संचालनको  लागि नगरपालिकाले ५ लाख रुपैया र नुवाकोट कपडा व्यवसायी संघले महोत्सव स्थगित गराए बापत् क्षतिपुर्तिको रुपमा ३ लाख दिने मौखिक सहमति भएपनि अहिलेसम्म केही रुपैयामा पनि उपलब्ध नगराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले बताउनुभयो । महोत्सवमा जिल्लाभरका अन्तरविद्यालय बीच हाजिरजवाफ, वक्तित्वकला लगायत ज्ञानबर्दन शैक्षिक प्रतियोगिता सञ्चालन गरिने लक्ष्य राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले बताउनुभयो ।

जिल्लामै पहिलोपटक संचालन हुनलागेको सिभिलि इन्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गर्न आवश्यक रकम जुटाउन महोत्सव आयोजना गर्न लागेको हो । विविध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो बजार, शिक्षा कृषि पर्यटन तथा व्यापार महोत्सव भन्ने मुल नाराका साथ त्रिभूवन त्रिशुली माविकै आयोजनामा हुन गईरहेको महोत्सवमा शैक्षिक गतिविधीले प्राथमिकता पाउने विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले बताउनुभयो ।

त्रिभूबन त्रिशूली मावि कै खेलमैदानमा हुन लागेको महोत्सव शैक्षिक गतिविधिसँगै स्थानीयस्तरमा उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न स्थानीय तथा राष्ट्रियस्तरमा ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने विद्यालयले जानकारी दिएको छ ।

सिभिल इन्जिनियरिङको पढाई सञ्चालन गर्न तीन वर्षमा ४५ लाख खर्च हुने र पहिलो वर्ष १५ लाख खर्च हुने भएकोले रकम जुटाउन सहज बनाउन महोत्सव सञ्चालन गर्न लागेको हो । वि.सं. २००७ सालमा स्थापना भएको तत्कालिन पश्चिम १ नंम्बर नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविमा यसै शैक्षिक सत्रदेखि तीन वर्षे सिभिल इन्जिनियरिङको स्नातक तहको पठनपाठन शुरु हुन लागेको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)ले तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयको कक्षा सञ्चालन गर्न अनुमति दिइसकेकोले यसै वर्षदेखि पढाई शुरु गरिएको छ । नुवाकोटमा १६ वटा विद्यालय नमुना विद्यालयको रुपमा छनौट भएकोमा त्रिभूवन त्रिशुली मावि पनि छनौटमा परेकाले विद्यालयको शैक्षिक गुणस्तरलाई उच्च बनाइराख्न चुनौती थपिएको छ ।

यस्तै, पहिलो एक शैक्षिक सत्रमा ४८ जना विद्यार्थीले सिभिल ईन्जिनियरिङ पढ्न पाउने भएतापनि सम्बन्धन ढिलाई भएका कारण अहिले बिभिन्न जिल्लाका २४ जना बिद्यार्थीहरुले डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ पठनपाठन गरिरहेको बिद्यालय शिक्षक राजेन्द्र दवाडीले जानकारी दिनुभएको छ । कक्षा ११ र १२ मा विज्ञान विषयको पठनपाठन सञ्चालन गरेर जिल्लाका विद्यार्थीलाई विज्ञान अध्ययन गर्ने अवसर दिएको विद्यालयले अब सिभिल इन्जिनियरिङ विषयको पढाई समेत सञ्चालन गरेर सिभिल इन्जिनियरिङ अध्ययन गर्ने चाहनेले जिल्ला बाहिर जान नपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top