२०७७, ५ आश्विन सोमबार

जिल्ला अस्पताललाई एनेस्थेसिया उपकरण सहयोग, के हो ऐनेस्थेसिया ?

डबली खबर     असार ८ २०७७ २२:११



Anesthesia machine handover to district hospital nuwakot

नुवाकोट – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विना अक्सिजन शल्यक्रिया गर्न सकिने एनेस्थेसिया उपकरण जिल्ला अस्पताललाई उपलब्ध गराएको छ । उक्त उपकरण निक साइमन फाउण्डेशनले मन्त्रालयलाई उपलब्ध गराएको हो।

आइतबार सांसदद्वय केशवराज पाण्डे र बद्री मैनालीले संयुक्त रुपमा त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राईलाई संयुक्त रुपमा उक्त उपकरण हस्तान्तरण गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारमा आवश्यकपर्ने भेन्टिलेटरसहितको उक्त उपकरणको मूल्य करिब रु २३ लाख पर्ने बताइएको छ ।

विना अक्सिजन शल्यक्रिया गर्न सकिने उक्त उपकरण नुवाकोटको जिल्ला अस्पताल बाहेक सङ्खुवासभा, उदयपुर, दमक, लहान, कलैया, दोलखा, काठमाडौं (वीर), भरतपुर, गुल्मी, पृथ्वीचन्द्र र कालीकोट अस्पतालमा पठाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

किन गराइन्छ विरामी लाई बेहोस ?

के हो ऐनेस्थेसिया ?

-डा. नविन्द्रराज विष्ट

शल्यक्रिया गर्दा आवश्यकताअनुसार चेत अथवा अचेत अवस्थामा बिरामीलाई राखी दुखाई महसुस नगर्ने औषधिको आविष्कार गरी चिकित्सा सेवालाई सहज र सफल बनाउन विशेष योगदान पुर्‍याउने महत्वपूर्ण विधाको नाम एनेस्थेसिया हो। यो विधाको प्रयोगसँगै परम्परागत चिकित्सा विज्ञानलाई नै आमूल परिवर्तन गरी बिरामीहरुको सेवामा गुणात्मक बृद्धि गर्दै जीवनरक्षाका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरिएको छ। 

कुनै पनि शल्यक्रिया गर्दा बिरामीलाई दुखेको भान नपर्ने गरी बिरामीको तत्कालीन अवस्थालाई मध्यनजर गर्दै शरीरको मुख्य भाग जहाँ शल्यक्रिया गर्ने हो त्यो भागलाई मात्र लठ्याई वा पूरै शरीरलाई केही क्षणका लागि बेहोस पारी शल्यक्रिया सफल पार्ने बिधा हो। जसमा शल्यक्रिया पूर्वको अवस्थादेखि शल्यक्रिया सम्पन्न भएपश्चात् बिरामीलाई पहिलेकै अवस्थामा ल्याउने महत्वपूर्ण जिम्मेवारी ऐनेस्थेसिया विषयमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकहरुको नेतृत्वमा सम्पन्न गरिएको हुन्छ।

मुख्यतः शल्यक्रिया गर्नुभन्दा अगाडि उक्त बिरामीमा केकस्ता अन्य लुकेका रोगहरु रहेका छन् भनी पत्ता लगाउने, उक्त बिरामीको सम्पूर्ण शारीरिक अवस्थालाई पूर्ण परीक्षण गरी शल्यक्रिया गर्न उपयुक्त छ वा छैन भनी सुनिश्चित गर्ने कार्यसमेत ऐनेस्थेसियोलोजिष्टहरुले गर्दछन्। 

यस्तो प्रक्रियाका सम्बन्धमा सर्व साधारणहरुमा ऐनेस्थेसियोलोजिस्टहरुले केबल शल्यक्रिया गर्नुभन्दा अगाडि बिरामीलाई बेहोस पार्ने मात्र काम गर्दछन् भन्ने भ्रम रहेको पाइन्छ। वास्तवमा शल्यक्रियाको दौरानमा बिरामीको प्रभावित अंगलाई शल्यक्रिया गर्नुबाहेक शरीरका अन्य महत्वपूर्ण अंगहरु जस्तै फोक्सोमा जाने अक्सिजनको मात्रा, मुटुको चाल, मिर्गौलाले पाउने पानीको अवस्था, ब्रेन र कलेजोको उचित सन्तुलन भएको छ वा छैन, रक्तचापको उचारचढाव तथा शल्यक्रियापश्चात् बिरामीलाई पुरानै अवस्थामा ल्याउन सकिन्छ कि सकिंदैन जस्ता चुनौतीपूर्ण कार्यहरुको अनुगमन र उपचार गरी बिरामीको जीवन रक्षाका निम्ति ऐनेस्थेसियोलोजिस्टले नै गहन जिम्मेवारी निर्वाह गरेको हुन्छ।

त्यसका साथै बिरामीहरुलाई पर्न सक्ने आपतकालीन अवस्था जस्तै मुटुको चाल बन्द भएको अवस्थामा दिने सिपिआर अर्थात् बिरामीको छाती थिची फोक्सोलाई मुखको माध्यमबाट चिकित्सककै श्वास दिई पुनर्जीवन दिने काम पनि गरिएको हुन्छ। त्यसैले एकातिर बिरामीको जीवनमरणसँग सरोकार राख्ने महत्वपूर्ण पक्ष नै एनेस्थेसिया हो भने अर्कोतिर बिरामीको जीवनमरणको दोसाँधमा काम गर्ने चिकित्सकहरु नै एनेस्थेसियोलोजिस्ट हुन्। 

अपरेसन थिएटरमा हुने कामका अतिरिक्त अन्य बिरामीहरुमा हुने असहैय दुखाई, क्यान्सरका दुखाई, विभिन्न परीक्षणको दौरानमा बिरामीलाई छोटो समयावधिका लागि स्थीर राख्न प्रयोग गरिने औषधि पनि दिने काम गरिएको हुन्छ। त्यस्तैगरी प्राकृतिक विपत्तिका समयमा होस् वा अस्पतालभित्र पर्नसक्ने आपतकालीन अवस्थामा ऐनेस्थेसियोलोजिस्टहरुले बिरामीको उद्धारमा सक्रिय सहभागिता जनाइएको हुन्छ। त्यसैले कुनै पनि अस्पतालको मेरुदन्डको रुपमा ऐनेस्थेसियोलोजिस्ट नै रहेको हुन्छ भन्दा अतियुक्ति नहोला। 

विश्वको इतिहास
इतिहासकारका अनुसार ४००० विसीपूर्व सुमेरियनहरुले अफिमको पप्पीलाई एनेस्थेसियाको रुपमा प्रयोग गरेको पाइन्छ। त्यस्तै सन् १८४२ मा क्रफोर्ट डब्लुलङ र विलियम कलार्कले शल्यक्रियाका लागि इथर दिएको इतिहास पाउन सकिन्छ। यसको चार वर्षपछि औपचारिक रुपमा सन् १८४६ अक्टुबर १६ का दिन विलियम टिजी मोर्टनले अमेरिकाको बस्र्टनमा विश्वलाई देखाउँदै इथर एनेस्थेसिया घाँटीमा रहेका टिउमर निकाल्नका लागि प्रयोग गरेका थिए। जसका कारण बिरामीलाई बिनादुखाइ शल्यक्रिया गर्ने प्रचलनको ऐतिहासिक सफलताका कारण विश्वमा एनेस्थेसियाका सम्बन्धमा आधुनिक पद्धतिको खोजी र प्रयोगको प्रचलन बढेको पाइन्छ। 
 
नेपालको इतिहास
नेपालमा सन् १९५५ मा डा भवानीभक्त सिंह प्रधान एनेस्थेसिया विशेषज्ञ चिकित्सकको रुपमा वीर अस्पतालमा काम गर्नुअघिसम्म एनेस्थेसिया दिने काम अन्य प्राविधिक क्षेत्रका व्यक्तिहरुबाट भएको पाइन्छ। नेपालमा शल्य चिकित्सकहरु आउनुभन्दा करिब ४ वर्षअगाडि नै उहाँले विशेषज्ञ सेवा प्रदान गरेको इतिहास छ।

डा प्रधानले हर्लिक्सको बोतल प्रयोग गरी ओपन ड्रप इथरको शुरुवात गरेकोले उहाँलाई नेपालमा एनेस्थेसियाको पिताको रुपमा स्मरण गरिन्छ। त्यस्तै सन् १९६६मा डा नरेन्द्रबहादुर राणाले मसल रिल्याक्ससेनका औषधि प्रयोग गरी ब्यालेन्स एनेस्थेसियाको सुरुवात गरेकोले उनको योगदानलाई अनुकरणीय मानिएको छ। वीर अस्पतालमा रानी ऐश्वर्यको शल्यक्रियाका निम्ति तत्कालीन समयमा विदेशबाट एनेस्थेसियाको उपकरण झिकाई सफलतापूर्वक शल्यक्रिया गरेको इतिहाससमेत पाउन सकिन्छ। 

यसै क्रममा एनेस्थेसियाको विकासक्रमलाई आजको अवस्थासम्म ल्याउने अग्रज चिकित्सकहरुको योगदान अतुलनीय रहेको छ। सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपालमा दर्ता भएका चिकित्सकहरुको संख्या ३२१ पुगेको छ जुन प्रतिलाख जनसंख्याको लागि १ जनाभन्दा कम अनुपात हुन्छ।

विकसित देशहरुको अवस्थालाई उदाहरणको रुपमा लिने हो भने अमेरिकामा प्रतिलाख जनसंख्याका लागि २०.८ अनुपातमा एनेस्थेसिओलोजिीटहरु पर्दछन्। विश्वमा प्रयोग हुने नयाँनयाँ औषधिको प्रयोग गर्दै नेपालका विशेषज्ञ चिकित्सकहरुले आफ्नो क्षमता र दक्षताबमोजिम गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेका छन् तर पनि विकसित देशहरुमा एनेस्थेसियाका क्षेत्रमा प्रयोग हुने आधुनिक उपकरणको तुलना गरी हेर्ने हो भने नेपाल केही पछाडि परेको देखिन्छ। 

स्वास्थ्य क्षेत्रको केन्द्रीकृत संरचना र योजनालाई नेपालले बल्लतल्ल विकेन्द्रीकृत गर्दै दुर्गम स्थानहरुमा स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीको स्थापनादेखि लिएर जिल्ला अस्पतालहरु सञ्चालन गर्दै आएको छ। नेपालका दुर्गम जिल्लाका अस्पतालहरुको शल्यक्रियाका लागि आवश्यक पर्ने उपकरण र जनशक्ति समेत पर्याप्त मात्रामा पुग्न सकेको छैन। अझ त्यसमा पनि एनेस्थेसियाका क्षेत्रमा काम गर्ने चिकित्सकहरुको दरबन्दी अपुग भएको विद्यमान अवस्था छ।

क्रमिक रुपमा उत्पादन भएको एनेस्थेसिया क्षेत्रको दक्ष जनशक्ति सहरकेन्द्रित हुन बाध्य हुनु, शल्यचिकित्सकहरुको तुलनामा यस क्षेत्रका विशेषज्ञहरुको पारिश्रमिकमा असन्तुलन, विशेषज्ञ समाजले तयार पारेको आफ्नै पारिश्रमिक मापदण्ड कार्यान्वयन हुन नसक्नु तथा शल्यक्रियाका लागि बल्लतल्ल तयार भएका स्वास्थ्य संस्थाहरुमा समेत एनेस्थेसियाका उपकरणहरुको न्यून उपलब्धता र पुराना उपकरणहरुको सहयोगमा काम गर्नुपर्ने बाध्यात्मक परिस्थितिले स्वास्थ्य क्षेत्रको आशातित प्रतिफललाई सहज मापन गर्न नसकिएको यथार्थ हो। 

एनेस्थेसियाका क्षेत्रमा प्रयोग हुने औषधि र उपकरणहरुका सम्बन्धमा सरोकारवाला निकायबाट स्तरीय मापदण्ड निर्धारण गरी कम्तीमा सहरकेन्द्रित एनेस्थेसियाका उपकरणहरुलाई ग्रामीण स्तरसम्म पुर्‍याउने र सहरमा सुविधा सम्पन्न उपकरणहरु जस्तै फोक्सोले फालेको ग्यासलाई मापन गर्ने इटिसिओटू, मसल रिल्याक्ससेनको अनुगमनका लागि टिओएफ मेसिन, सुताइको गहिराइ मापन गर्ने बाई स्प्रेक्टल इन्डेक्स मोनिटर, दिमागमा अक्सिजनको मात्रा एकिन गर्ने सेरेबल नियर इन्फ्रारेट स्पेक्ट्रोस्कोपी मोनिटर, महत्वपूर्ण औषधिहरु दिनका लागि अटोमेटिक सिरिन्ज पम्प र टार्गेट कन्ट्रोल इनफिउजन पम्प, विभिन्न नशा पत्ता लगाउनका लागि आधुनिक अल्ट्रासाउन्ड, मुटु र रक्तचापको विशेष स्थिति अवलोकनका लागि कार्डियाक आउटपुट मनिटरिङ डिभाइस, शल्यक्रियापश्चात् दुखाइको आवश्यकताअनुसार बिरामी आफैंले दिन मिल्ने पेसेन्ट कन्ट्रोल एनलजेसिया (पिसिए) मेसिन र बिरामीको सम्पूर्ण रिपोर्ट राख्नसक्ने इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम (इएमआर) जस्ता उपकरणहरुको सहज व्यवस्थापन गर्न सकेको खण्डमा अझ बढी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने र स्वास्थ्य सेवाग्राहीहरुले समेत विशेष राहत महसुस गर्न सक्दछन् भन्ने सन्देशलाई नेपालले पनि आत्मसात गर्न सकेको खण्डमा नेपालको स्वास्थ्य क्षेत्रले सहज रुपमा काँचुली फेर्न कुरामा कुनै द्विविधा छैन। 

त्यसले यस क्षेत्रमा प्रयोग हुने स्तरीय मापदण्ड र आधुनिक उच्चस्तरीय उपकरणहरुलाई स्वास्थ्य संस्थाहरुले प्रयोगमा ल्याई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ठूलो योगदान पुर्‍याउन सकिने र विद्यमान बिरामी, चिकित्सक तथा अस्पतालबीचको असमनजस्य न्यूनीकरण गर्न ठूलो मद्दत पुग्ने र एनेस्थेसिओलोजिस्टहरुको अटुट मेहनतको कदर हुनसक्ने सन्देश प्रवाह गर्नसक्नु नै यस दिवसको सान्दर्भिकता रहन्छ। -हेल्प पब्लिकेशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top