विदुर, नुवाकोट – मुलुकमा बढ्दो बलात्कारको घटनालाई खबरदारी गर्न नुवाकोटमा बलात्कार विरुद्ध र्याली भएको छ । विभिन्न सामाजिक सञ्जालका सामाजिक कार्यमा सक्रिय युवा समूहहरूको संयुक्त प्रयासमा बलात्कार विरुद्ध र्याली भएको हो ।
बढ्दो बलात्कारको घटनाले आम सर्वसाधारणमा मानसिक त्रास बढिरहेको बेला सरकारलाई खबरदारी गर्न विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको युवा अभियन्ता रामेश्वर गजुरेलले बताए ।
बढ्दो महिला हिंसा र बलात्कारको घटनाको न्यूनीकरणका लागि सरकारले कडा भन्दा कडा कदम चाल्नु पर्ने, संविधान संशोधन गरी बलात्कारीलाई आजिवन कारावासको सजाय नेपाल कानुनमा राख्नु पर्ने माग रहेको बताए ।
करिब ५० जनाको उपस्थिति रहेको र्याली विदुर नगरपालिकाको बट्टार बजारदेखि विदुरको लोकतान्त्रिक चौतारासम्म पुगि कोणसभामा परिणत भएको थियो ।
मुलुकभरको तथ्यांकमा आर्थिक वर्ष २०७६/७७ मा २ हजार १ सय ४४ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए। चालु आर्थिक वर्षको साउनमा मात्रै देशभर २ सय ६० वटा बलात्कारका मुद्दा दर्ता भएका छन्।
नुवाकोटमा भने चालुआर्थिक वर्षमा आधा दर्जनभन्दा बढी बलात्कारको घटना घटेको प्रहरीको तथ्यांक रहेको छ।
प्रतिक्रिया