२०७७, ४ आश्विन आईतवार

इन्सेकले गर्यो वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

डबली खबर     असार १५ २०७५ ०९:५१



Insec Nuwakot

विदुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत सोमबार विदुरमा नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले अदालतले मानव अधिकार संरक्षणको लागि खेल्नु पर्ने भूमिका निर्वाह गरिरहेको बताउनुभयो । नागरिकको अधिकारको संरक्षण तथा कानुनी संरक्षणका लागि अदालतको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले न्याय सम्पादनको कामहरू छिटो छरितो रूपमा गरिने बताउनुभयो । ‘प्रक्रिया पुरा गर्दा केही न्याय सम्पादन ढिला भएको पनि हुनसक्छ । छिटो न्याय दिने नाममा गम्भीर नहुँदा अन्याय पनि हुनसक्छ । त्यसैले न्याय सम्पादनमा गम्भीर हुनुपर्छ’ न्यायाधीश ऋषिकेश वाग्लेले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजाराम खड्काले प्रहरी मानव अधिकार संरक्षणमा लागिरहेको बताउँदै हिरासतमा समेत कुनै गम्भीर घटना नहोस् र भई हालेमा को दोषी हो भनी थाहा पाउनका लागि सीसी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो । अहिले प्रहरी हिरासतमा, बयानका क्रममा यातना दिने जस्ता कार्य बन्द भएको उनले बताउनुभयो।

जिल्ला बार एशोसिएशनका अध्यक्ष देवराज कँडेलले प्रहरी, अदालत र प्रशासन जस्ता निकायमा परेका मुद्दा, उजुरीको मात्र नभई सामाजिक रूपमा भइरहेका मानव अधिकार उल्लङ्घनका घटनाहरूको पनि खोजी गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरिएका १९ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रस्तुत गर्नुभएको थियो । अभिलेखित घटना अनुसार हत्याका चार, बलात्कारका आठ, बलात्कार प्रयासका पाँच, बहुविवाहको एउटा लगायतका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top