२०७७, १३ आश्विन मंगलवार

सरसफाइको ग्राफ कुन प्रदेशको कति ?

डबली खबर     जेष्ठ ११ २०७५ १२:२८



काठमाडौ/देशको हरेक नेपालीको घरमा आधारभूत तहको सरसफाइ सुविधा पु-याउन सरकार प्रयत्नशील छ । सरसफाइको अवस्था हेरेर कुन प्रदेश कति सभ्य, सरसफाइ र स्वच्छ छ भनेर विश्लेषण गर्ने हो भने प्रदेश नं. ४, ६ र ७ अग्रस्थानमा छन् । प्रदेश नं. ४ को सबै जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् । प्रदेश ४ मा पूर्वी नवलपरासीको दाउन्ने पूर्व, बागलुङको पूर्वी क्षेत्र, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र पर्वत पर्दछन् ।

प्रदेश नंं. १ को ९८.९९ प्रतिशत

प्रदेश नं. १ को इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, खोटाङ, उदयपुर र ओखलढुंगा खुला दिसामुक्त भइसकेपनि झापा, मोरङ, सुनसरी, भोजपुर, संखुवासभा र सोलुखुम्बु अझै खुला दिसामुक्त घोषणा हुन बाँकी छ । सोलुखुम्बु, भोजपुर र संखुवासभाको सरसफाइको अवस्था १०० प्रतिशत पुगेपनि अझै खुला दिसामुक्त हुन सकेका छैनन् ।

प्रदेश २ को सबैभन्दा कम प्रगति

प्रदेश नं. २ को सिरहा र सप्तरी जिल्ला बाहेक अन्य ६ वटा जिल्ला खुला दिसामुक्त घोषणा हुन बाँकी छ । ८ जिल्ला रहेको प्रदेश नं. २ को पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको सरसफाइको अवस्था पनि निक्कै कम हुँदा यसले समग्र देशकै सरसफाइको अवस्थालाई समेत कम देखाएको छ ।

प्रदेश नं. २ को सरसफाइ कभरेज ९२.३८ प्रतिशत पुगेको खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाले जनाएको छ ।

प्रदेश नं. ३ को आठ जिल्ला खुला दिसामुक्त घोषणा हुन बाँकी

देशको राजधानी समेत रहेको प्रदेश ३ को सरसफाइ कभरेज ९८.६७ प्रतिशत पुगेको छ । चितवन, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली गरी १३ जिल्ला रहेको प्रदेश नं. ३ को काठमाडौं, ललितपुर, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखा अझै खुला दिसामुक्त घोषणा हुन बाँकी छ ।

प्रदेश ५ को सरसफाइ १०० प्रतिशत नजिक

नवलपरासीको दाउन्ने पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङको पश्चिम क्षेत्र, दाङ, प्युठान, रोल्पा, रुकुमको रुकुमकोट पूर्व, बाँके र बर्दिया मिलेर बनेको प्रदेश नं. ५ को रुपन्देही, कपिलवस्तु र बाँके मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । प्रदेश नं. ५ को सरसफाइको अवस्था ९९.१७ प्रतिशत पुगेको खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाले जनाएको छ ।

कर्णाली प्रदेशको मुगु मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी

कर्णाली अञ्चलको विकट जिल्लाहरु समेत समाविष्ट कर्णाली प्रदेशको सरसफाइको अवस्था १०० प्रतिशत पुगेको छ । यद्यपि मुगु जिल्ला भने खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । डोल्पा, जुम्ला, हुम्ला, कालिकोट, सल्यान, रुकुमको रुकुमकोट पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला मिलेर कर्णाली प्रदेश बनेको छ ।

प्रदेश ७ को सबै जिल्ला खुलादिसामुक्त

प्रदेश नंं. ७ को बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला पनि खुला दिसामुक्त घोषणा भइसकेका छन् । कैलाली देशको ७७ जिल्ला मध्ये ५३ औं खुला दिसामुक्त जिल्ला हो । (सम्पन्नसंचार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top