नुवाकोट – माघे सङ्क्रान्तिमा नुवाकोटका चार स्थानमा ३१ हल गोरु जुधाइने भएको छ ।
सोमबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा गोरु जुधाई मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर गाउँपालिका–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले तारुका चन्दनीमा १७ हल गोरु जुधाइने बताए । ०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै स्थानमा गोरु जुधाउन थालिएको हो ।
नुवाकोटर रसुवाको संगमस्थल विदुर नगरपालिका–१० बेत्रावतीमा यसवर्ष चार हल मात्र गोरु जुधाइने मेला आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले जानकारी दिए ।
त्यस्तै पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा ६ हल गोरु जुधाईने आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले जानकारी दिए । मेलामा विजेता तथा सहभागी गोरुका धनीलाई रु १५, १० र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
शिवपुरी गाउँपालिका-५, शेराबगरमा चार हल गोरु जुधाइने आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले जानकारी दिए ।
नुवाकोटमा हुने गोरु जुधाई मेलामा देश तथा विदेशी पर्यटकहरु आउने गर्दछन् ।
प्रतिक्रिया