२०७७, १० आश्विन शनिबार

प्रौढ शिक्षाबाट सहकारी हाक्दै धनकुमारी

डबली खबर     असार २९ २०७५ १४:२९



Dhana kumari rijal nuwakot

भगवती लामा । भनिन्छ, जीवन नै सिकाई हो । सिकाईमा लगाव भयो भने प्रगतिका पाईलाहरु आफैँ अघि वढ्न थाल्छन् । यस उखानलाई बास्तविकतामा परिणत गर्ने एक उदाहरण हुन् विदुर नगरपालिका वडा नम्बर ९ लामाटारकी धनकुमारी रिजाल ।

प्रौढ शिक्षा पढेर सहकारीको अध्यक्ष जिम्मेवारी वहन गर्दै इन्टरनेट समेत चलाउन सक्षम भएकी छिन् । मनमनै यो जुनिमा म पनि चिठी र निवेदन लेख्न सक्छु होला त भन्ने रिजाल ६ वर्षदेखि निरन्तर ‘बाडिचुडि सामाजिक उद्यमी महिला सहकारी सस्था लिमिटेड’ को अध्यक्षको कार्यभार सम्हाल्दै आइरहेकी छिन् । उनी भन्छिन्, “समयको माग अनुसार चल्नुपर्ने रहेछ भन्ने ठानेर विस्तारै अङ्ग्रेजी अक्षरहरु समेत फुटाउन सक्छु । छोराले फेसबुक खोल्देको छ । फुर्सद हुदा चलाउछु । आफ्नो, छोराछोरीको नाम अङ्ग्रेजीबाट लेख्न सक्छु ।”

२०२८ सालमा धादिङको कटुन्जेमा जन्मिएकी रिजालले सानो छदा पढ्न पाइनन् । सानो उमेरमा पढ्ने रहर हुदाहुदै पनि त्यो समयमा छोरीचेलीले पढ्ने चलन थिएन । ६ जना दाजुभाइ मध्ये ४ जना पढ्नको लागि किताव च्यापेर विद्यालय जादा थुक निलेर बस्न बाध्य थिइन् रिजाल । उनी भन्छिन्, “घरमा पढ्ने इच्छा त व्यक्त गरे । पुग्ने खेतवारी छदैछ, छोरीले किन पढ्नु आखिर पराईको घर जाने जात न हो भन्ने कुरा गरे । रहर त्यतिकै मर्यो ।”

१५ वर्षको उमेरमा नै विहे गरेर रिजाल नुवाकोट आइन् । घरको काममा अल्झिरहेकी उनलाई प्रौढ शिक्षा गाउँमा आउछ भन्ने थाहा पाइन् । सानै छदा पढ्ने रहर मार्न परे पनि गाउँमा प्रौढ शिक्षा आए त जसरी नि पढ्छु भन्ने अठोट मनमा लिएकी थिइन् ।

प्रौढ शिक्षाले दियो नयाँ जीवन

शान्ति समिति नुवाकोटमार्फत ६५ सालमा तीन महिने प्रौढ शिक्षा गाउँमा आयो । उत्साहको साथ पढ्न थालिन् उनी । लिएको कक्षा अतिरिक्त पनि उनी छोराछोरीलाई सोधेर घरमा पनि निरन्तर पढ्नलेख्न प्रयास गर्थिन् । उनी सभिmन्छन्, “यो लेखेर लेउनु भनेको छ कसरी लेख्ने भनेर बच्चाहरुलाई सोधिरहन्थे । उनीहरुले पढ्ने बेलामा गोठालो जानी अनि अहिले पढेर के हुन्छ पनि भन्थे कहिलेकाही । तर मैले कहिल्यै हार मानिन । चिठी निवेदन कसरी लेख्ने भनेर पढाउनेलाई सोध्ने गर्थे ।” सामुदायिक अध्ययन केन्द्रबाट पनि प्रौढ शिक्षा गाउँमा आयो । फेरी पढ्न गइन् उनी । आफ्नो छोरासँग अङ्ग्रेजी पढ्नपाए हुनि भनिन् र छोराको सल्लाह अनुसार ए, बि, सि, डि पढ्न थालिन् । “ए देखि जेट सम्म पढ्न र लेख्न सक्ने भएको छु । सिक्दै छु । अङ्ग्रेजी अक्षरले भरिएका पानाहरु सहजै पढ्न सक्ने बन्नेछु भन्ने लाग्छ,” उनी भन्छिन् ।

६६ सालमा गाउँमा महिला सहकारी खोल्ने कुरा त भयो तर अध्यक्ष बस्ने को छान्नै मुस्किल पर्यो । पद लिएर मात्र भएन जिम्मेवारी राम्रोसँग बहन गर्नु थियो । अन्त्यमा सहकारीको अध्यक्ष धनकुमारी नै बस्नु पर्ने भयो । वर्षैविच्छे सहकारीको वार्षिक साधारण सभा सञ्चालन गर्नुपर्ने । “सुरुमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्न साह्रै गाह्रो पर्यो । आफ्नो कुरा अरुलाई भन्न लगाउदा के नमिलेको के जस्तो लाग्थ्यो । हार नमानी प्रयास गरिराख्दा गएको असोज ३० गते छैटौँ वार्षिक साधारण सभामा सजिलैसँग हितावकिताव प्रस्तुत गरे, उनी भन्छिन्, “अरुको हौसलाले गर्दा झन् केही गर्नुपर्छ जीवनमा भन्ने लागेको छ ।”

५२ सालमा नै सवारी दुर्घटनामा परी उनको श्रीमानले ज्यान गुमाए । ४ जना छोराछोरी हुर्काउन, बढाउन र पढाउनमा व्यस्त भइन् । भैसी पालेर दुध बेच्ने, घरमा नै दुनोट बनाएर बेच्ने, कुखुरापलन व्यवसाय सञ्चालन गरेर भए पनि छोराछोरीको पढाईलाई खर्च जुटाउन थालिन् उनी । “मैले विद्यालय गएर पढ्न नपाए पनि छोराछोरीलाई कसरी उच्च शिक्षा सम्मको अध्ययन गराउने भन्नेमा लागे । छोराछोरीले पनि राम्रो पढे, मेरो सपना पूरा गरेका छन् ।”

राजनितिमा अलि बढि आस्था राख्ने गर्छिन् उनी । उनी सानैमा पढ्न पाएको भए राजनितिमा लाग्थे होला भन्ने मनसाय प्रकट गर्छिन् । जुन क्षेत्रमा पनि महिलाको अधिकारको प्रतिसत वढ्दैछ । “शिक्षित भएको भए मैले पनि केही उन्नती गर्थे होला तर पनि प्रौढले नयाँ जीवन दिएको आवास हुन्छ । जीवन प्रति केही गुनासो छैन,” उनी भन्छिन्, “इच्छा शक्ति भयो भने असम्भव कुरा केही छैन । दुख पर्दा मनको बह पोख्ने कापी कलमलाई माध्यम बनाउन सक्दैनथे तर अहिले गीत कविताहरु समेत लेख्ने गरेकी छु ।” नयाँ कुरा सिक्न उमेरले छेक्दैन त्यसैले आएको अवसर पनि गुमाउन हुदैन र जिम्मेवार भएर काम गर्न सकियो भने सफल भइन्छ भन्ने भनाई छ धनकुमारी रिजालको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top