२०७७, १४ आश्विन बुधबार

बुद्धभुमी हाड्रडोले सुकाउँदै छ नौं हजार रोपनी खेत

डबली खबर     असार २६ २०७३ ०८:५१



सातबिसे/ बुद्धभुमी नेपाल हाइड्रो पावर हाउस कम्पनीले निर्माण गर्न लागेको जलविद्युत् आयोजनाका कारण नुवाकोट जिल्लाको क्षेत्र नं. २ को प्रमुख फाँटहरु सुख्खा बन्ने खतरा देखिएको छ । कम्पनीले जलविद्युत् आयोजना निर्माणको अनुमती लिदा यस क्षेत्र वरपर सिञ्चाई आयोजना नै छैन भन्ने झुट्टो विवरण तयार गरी निर्माण सुरु गर्दा कम्पनी र यहाँका उपभोक्ता बीचमा टकराव उत्पन्न भएको छ । सुन्दरादेवी र बालकुमारी गाविसको बीचमा पर्ने तादी खोला मुहान गरी सञ्चालन भईरहेको सातबिसे खराने सिञ्चाई उपभोक्ता संस्थाको मुहान भन्दा आठ सय मिटर माथी कम्पनीले जल विद्युत् आयोजनाको पानी जमाउने ड्याम बनाउन लागेपछि किसानहरुले त्यसको बिरोध गरेका हुन् ।

हामीले दुईटा माग गरेको हो, सिञ्चाईको मुहान भन्दा तलबाट हाइड्रोका लागि नहर बनाईयास्, त्यो सम्भवन छैन भने हाइड्रो पावर हाउसबाट निस्केको पानीलाई हाम्रो नहरमा खसाल्ने वातावरण बनाइयोस्

सुन्दरादेवी, रालुकादेवी र खरानीटार गाविसको नौं हजार रोपनी (४५० हेक्टर) खेत सिञ्चाई भइरहेको आयोजनालाई कम्पनीले ‘यस क्षेत्रमा ठूलो सिञ्चाई आयोजना नै छैन’ भन्ने फर्जी विवरण तयार गरेर सम्वन्धीत निकायहरुमा पेश गरी विद्युत् आयोजना निर्माणको लागि सिञ्चाई मुहानको ठिक ८०० मिटर माथीबाटै पानी थुन्ने तयारी गरेको छ । यो खेलको पर्दाफास डेढ वर्ष अघी भएपछि यहाँका तीन गाविसका किसानहरु जलविद्युत् कम्पनीको मुहान सार्नु पर्ने माग लिएर आन्दोलनमा उत्रिएका छन् । ‘हामीले थाहा पाएदेखि आन्दोलनमा छौं, यसरी सिञ्चाई नै छैन भनेर आयोजनालाई अगाडी बढाउन खोजेपछि त हामी वर्वाद नै हुन्छौं नी’ उपभोक्ता संस्थाका अध्यक्ष ज्ञानेन्द्रबहादुर केसी भन्छन् ।

यहाँ त पावर र पैसाले हामीलाई पेलेर लैजाने मनस्थितिमा आयोजनाका मान्छे देखिएको छ, त्यो सम्भव छैन रगतको खोलो बगाउन हामी तयार छौं ।

२०५४ साल बैशाख २५ गते जिल्ला जलश्रोत समितिमा दर्ता भएको सातविसे खराने सिञ्चाई उपभोक्ता संस्थाले अहिले तीन गाविसको खेत सिञ्चाईका लागि आठ मिलोमिटर लामो कुलो तयार गरी पानी सुचारु गरिरहेको छ । त्यसका लागि नेपाल सरकारको डेढ करोड रुपैयाँ र एशियाली विकास बैंक (एडिवी) को तीन करोड रुपैयाँ गरी साढे चार करोड रुपैयाँ खर्च भइसकेको छ । यसरी सरकारी बजेट र ऋण सहयोगमा प्राप्त भएको करोडौं रुपैयाँ लगानी भैसकेको आयोजनालाई सुकाएर ७०० घर परिवारको ४१०० किसानहरुलाई प्रत्यक्ष मार पर्ने भएपछि यहाँका किसानहरु ‘मर्ने या मार्ने’ सम्मको अवस्थामा उत्रिएका छन् । आफुहरु हाइड्रो विरोधी नभएको र सिञ्चाईलाई समस्या नपर्ने गरी काम गर्नका लागि बुद्धभुमी नेपाल हाइड्रो पावर हाउस कम्पनीलाई पटक पटक आग्रह गरिएको अध्यक्ष केसीको भनाई छ । ‘हामीले दुईटा माग गरेको हो, सिञ्चाईको मुहान भन्दा तलबाट हाइड्रोका लागि नहर बनाईयास्, त्यो सम्भवन छैन भने हाइड्रो पावर हाउसबाट निस्केको पानीलाई हाम्रो नहरमा खसाल्ने वातावरण बनाइयोस्’ उपभोक्ता संस्थाका अध्यक्ष ज्ञानेन्द्रबहादुर केसीले भने । उनी थप्छन्– ‘यहाँ त पावर र पैसाले हामीलाई पेलेर लैजाने मनस्थितिमा आयोजनाका मान्छे देखिएको छ, त्यो सम्भव छैन रगतको खोलो बगाउन हामी तयार छौं ।

यहाँका आम उपभोक्ताहरुको बुझाई यस नदीमा सञ्चालन भएका र हुने तयारीमा रहेका कम्पनीहरुको मिलेमत्तोमा किसानलाई डुवाउन लागेको रहेको छ । हिरारत्न, बुद्धमुभी र आदिशक्तिको योजनाबद्ध कुटिल चालका कारण सिञ्चाईदेखि लाश जलाएको चित्ता पखाल्ने पानी पनि खोलामा नछोड्ने गरी रणनीति तयार भईरहेको यहाँका किसानहरुको तर्क छ ।

एक अरव रुपैयाँ भन्दा बढीको लगानीमा तयार हुने बुद्धभुमी नेपाल हाइड्रो पावर हाउस कम्पनीको काम थालेको तीन वर्ष पुरा भएको छ । पाँच मेगावाट क्षमताको बिजुली बत्ति उत्पादन गर्ने बताइएको उक्त कम्पनीले हिउँदा एक वाट जलविद्युत् पनि राम्रोसंग उत्पादन गर्न सक्ने पानी यो खोलामा छैन । सिञ्चाईका लागि नै हिउँदा धौ–धौ हुने पानी भएको खोलामा बाँध बाँधेर कम्पनीले प्रयोग गर्ने र बाँकी रहेको पानीले सिञ्चाईमा कुनै अर्थ नराख्ने भन्दै किसानहरु आन्दोलित बनेका हुन् । ‘बरु हामी बत्ति बाल्दैनौं सिञ्चाई मास्न पाइदैन’ रालुकादेवी–५ का सिताराम तामाङ भनछन् ।

जल विद्युत् निर्माण गर्दा सिञ्चाईलाई प्राथमिकता दिनुपर्ने र सिञ्चाईले छाडेको पानीबाट मात्रै पावर हाउस सञ्चालन हुने पर्ने भन्दै यहाँका किसानहरुले जल विद्युत् कम्पनीको मुहान सिञ्चाईको मुहान भन्दा तल सार्नु पर्ने माग गरेका छन् । त्यो सम्भव नभएमा जल विद्युत् गृहबाट निस्कने पानीलाई सिञ्चाई आयोजनाको मुहान वा नहरको मुखमा खसाल्नु पर्ने माग यहाँको किसानहरुको छ ।

मेरो त मुख्य कमाई नै यही खेतबाट हो, यो पनि लुटेराहरुले मासेर खाने भए भनेर हामी सबै किसान कम्पनीले काम गरिएको ठाउँमा गएका थियौ ।

‘मर्न र मार्न’ तयार

बुद्धभुमी नेपाल हाइड्रो पावर हाउस कम्पनीले किसानहरुको ब्यापक विरोध र मुहान सार्नु पर्ने मागलाई वेवास्था गर्दै २०७३ साल लागेपछि दुई पटक मुहानमा भौतिक पुर्वाधार तयार गर्न डोजर लगाएको थियो । बैशाख र जेठमा दुई पटक गरी कम्पनीले मुहानमा पुर्वाधार तयार गर्न १२ दिनसम्म काम गरेको प्रत्यक्षदर्शिले बताए । मुख्य बाली धान लगाउने बेलाको सिञ्चाई सुकाउनका लागि मुहानमा आयोजनाले धमाधम पर्खाल लगाउन थालेको खवर पछि यहाँका पाँच सय भन्दा बढी किसानहरु जुलुस गएको थियो । रालुकादेवी–४ सोमबहादुर श्रेष्ठ सम्झछन्– ‘मेरो त मुख्य कमाई नै यही खेतबाट हो, यो पनि लुटेराहरुले मासेर खाने भए भनेर हामी सबै किसान कम्पनीले काम गरिएको ठाउँमा गएका थियौ ।’ हामीले कत्ति आग्रह गर्दा पनि काम नरोकेपछि केटाहरुले डोजर तोडफोड नै गरेर उनीहरुलाई लखटेका हुन् । ‘आयोजनाले काम नरोके कि मर्ने कि मार्ने भनेर गएका थियौं हामी त’ श्रेष्ठ भन्छन् ।

१० जनाको परिवार रहेको सोमबहादुर श्रेष्ठको आठ रोपनी खेतमा यो सिञ्चाई आयोजना भएन भने पेटमा लातै हाने जस्तो हुन्छ । उनी मात्रै होइन मुख्य कृषि पेश रहेका यहाँका ७०० घरपरिवारको अवस्था यस्तै छ । दुई बाली धान, कमै, तोरी गहुँ जस्ता मुख्य बाली मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि यही सिञ्चाईको भरमा रहेका किसानहरुलाई आयोजनाका कारण आफ्नो खेत मरुुभमी बन्ने हो की भन्ने चिन्ताले खाएको छ ।

जेठको दोश्रो हप्तामा पनि बुद्धभुमी नेपाल हाइड्रो पावर हाउस कम्पनीले सिञ्चाईको मुहान भन्दा माथी डोजर चलाएर सिञ्चाई बन्द गर्न लागेपछि सुन्दरादेवी, रालुकादेवी र खरानीटारका किसानहरु कुट्टो कदालो बोकेर डोजर तोडफोड गर्न पुगेका थिए । त्यत्ति हुँदा पनि आयोजनाले जर्वजस्ती गर्न थालेपछि तोडफोडमै उत्रनु परेको सातविसे खराने सिञ्चाई उपभोक्ता संस्थाका उपाध्यक्ष रामशरण उप्रेती बताउँछन् । ‘उपभोक्तहरुसंग सहमती नलिई पावर हाउसको निर्माण थालियो भने हामी मर्न तयार छौं तर छाड्दैनौं’ उप्रेती भन्छन् । २०५० साल देखि सिञ्चाई हुँदै आएको र २०५४ सालमा विधिवत् रुपमै दर्ता भएको सिञ्चाई मासेर विजुली बत्ति निकाल्ने खेलले दुई चार जना ‘चुल्ठे मुन्द्रे’ मात्रै मोटाउने भन्दै उपाध्यक्ष उप्रेती आक्रोशित छन् । ‘जनताको पेटमा लात हान्न पाइदैन, पैसा छ भन्दैमा यसरी पनि पेल्ने हो त ? यस्तो द्धन्द्ध बढाएर काम गर्ने हो भने कि हाम्लाई मार्नु पर्छ कि उनीहरु मर्नुपर्छ’ उप्रेतीले भने ।

खरानीटारका प्रेमबहादुर पाठक आयोजना निर्माण गर्ने पक्षमा आफहुरु रहेपनि जसरी सिञ्चाई नै सुकाएर कम्पनी खडा हुने माहौलको सृजना गरिएको छ त्यसको विपक्षमा आम उपभोक्ता रहेको सुनाउँछन् । सरकारी स्विकृति नै लिएर आएका आयोजनाहरु निर्माण हुनुमा सबैको सर्मथन रहेता पनि ७०० किसानलाई पेलेर मागको सुनुवाईसम्म पनि नगरी जसरी फुर्ती लगाउने काम भइरहेको छ त्यसले रक्तपातको संकेत गरिएको भनाई उनको छ । ‘हामी त जे पनि गर्न तयार छौं यो सिञ्चाईलाई जोगाउनका लागि, हाइड्रोको कुरा हिजो आएको हो, २० वर्ष देखि सञ्चालन भएको सिञ्चाईलाई प्राथमिकता दिनु पर्दैन ?’ पाठक भन्छन्– यसै गरी उनीहरु (हाइड्रो सञ्चालकहरु) अगाडी बढ्ने हो भने यहाँ मान्छे मर्ने अवस्था आउँछ ।’

रालुकादेवी–५ का सिताराम तामाङ नहर सुकेमा आफु बर्वादै हुने बताउँछन् । दिनभरी काम गर्ने जमिन सुख्खा भएर बाँझो पल्टिएमा आफु जेसुकै गर्न तयार रहेको बताउँछन् । भोकमरीमा मर्नुभन्दा हाइड्रो रोक्नका लागि मर्नु ठिक भएको बुझाई उनको छ ।

3

कम्पनीको जालझेल र धम्की

बुद्धभुमी नेपाल हाइड्रो पावर हाउस कम्पनीले प्रभावित क्षेत्रका नागरिकहरुसंग अन्तरक्रिया गर्ने, सार्वजनिक सुनुवाई गर्ने तथा वातावरणिय प्रभाव अध्यायन गर्ने जस्ता कार्यमा समेत ‘झेल गरेको’ आरोप किसानहरुको छ । सार्वजनिक सुनुवाई देखि विभिन्न विषयका ३५ दिने सूचना टाँस गर्दा पनि कम्पनीले किसानहरुलाई झुक्याएको पाइएको छ । समुन्दरादेवी, रालुकादेवी र खरानीटारका नागरिकहरुसंग बढी सरोकार रहेको विषयका सूचनाहरु छिमेकी गाविसमा लगेर टाँसे गर्ने सम्मको छलछाम कम्पनीबाट भएको बताइएको छ ।

बालकुमारी र समुन्द्रटारमा लगेर सूचानाहरु टाँस गरेका रहेछन्, हाम्रो बारेमा हामीलाई चाँही जानकारी दिनु पर्दैन र ?’ उपभोक्ता संस्थाका अध्यक्ष ज्ञानेन्द्रबहादुर केसी भन्छन्– त्यत्तिमात्रै होर ? हामीलाई थुप्रै कुराको जानकारी पनि दिइएको छैन ।’ उनका अनुसार कम्पनीले आयोजना निर्माण हुँदा कसैलाई प्रभाव पर्ने भए गुनासो वा उजुरी गर्ने सकिन्छ भन्ने ब्यहोरोको पत्र एउटा मात्रै रालुकादेवी गाविसको एक घरमा टाँसे गरिएको थियो । त्यो पनि टाँसे लगत्तै घरधनीलाई सूचना च्यात्न लगाएर आफु खुसीले च्यातेको हो भन्न लगाएका थिए । आधा सूचना टाँस गर्ने देखि टाँस भएको सूचना च्यात्न लगाएर सरोकारवाला किसानहरुलाई गुम्राहमा राखिएको उक्त सार्वजनिक सन्देशहरुको विषयमा २०७१ साल चैतमा मात्रै खुलासा भएको थियो । ‘

एक जना शिक्षकको घरमा सोही प्रक्रृतिले सूचना टाँस गरेर च्यात्न लगाइएपछि उपभोक्ताहरुले सूचनामा भएको ब्यहोराको जानकारी पाए । त्यस पछि उपभोक्ता संस्थाले संघर्षको कार्यहरु अगाडी बढाएको हो । संस्थाका अध्यक्ष ज्ञानेन्द्रबहादुर केसी आफुहरु सूचनाको हकबाट ठगिएको र सिञ्चाई सुक्ने गरी आयोजनाको काम अगाडी बढाइएको जानकारी पाए लगत्तै सिञ्चाईको मुहान सार्नका लागि माग गर्दै सिञ्चाई मन्त्रालयसम्म पुगेका छन् । विभागिय रुपमा अगाडी बढ्ने कारबाहीहरु राजनीतिक रुपमा प्रभावित हुनसक्ने भन्दै उपभोक्ता समितिले स्थानीय स्तरमा समेत संघर्ष समिति गठन गरेका छन् ।

मलाई उनले पटक पटक तपाईलाई केही गर्नुपर्छ कि भनेर प्रलोभन देखाए ।

प्रशासनिक देखि स्थानीयस्तरमा समेत एकै पटक आयोजनाको विवाद उठेपछि बुद्धभुमी नेपाल हाइड्रो पावर हाउस कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले उपभोक्ता संस्थाका अध्यक्षलाई प्रलोभनमा पार्ने सम्मको प्रयास गरे । ‘पूर्णलाल श्रेष्ठले मलाई फोन गरेर तपाईलाई केही गर्नु पर्छ, लै भन्नुस् तपाईको समस्या के छ भनेर फकाईरहेका छन्, मैले सिञ्चाई चलाईदिनुस्, मेरो समस्या त्यही हो भने’ केसी भन्छन्– ‘मलाई उनले पटक पटक तपाईलाई केही गर्नुपर्छ कि भनेर प्रलोभन देखाए ।

उपभोक्ता समितिका उपाध्यक्ष रामशरण उप्रेतीलाई भने कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले गुण्डा लगाउने धम्की दिएका छन् । ‘चुप लागेर नबसे गुण्डा लगाएर थन्क्याईदिने’ भन्दै अध्यक्ष श्रेष्ठले संस्थाका उपाध्यक्ष रामशरण उप्रेतीलाई अरु उपभोक्ताहरुकै माँझमा धम्क्याएका हुन् । ‘मैले हेर्नुस् पूर्णजी यसरी किसानलाई बर्वाद परेर तपाई दुई चार जनाले कमाएर केही हुनेवाला छैन, यदी त्यसो भयो भने तपाई पनि रहनुहुन्छ, हामी पनि रहँदैनौ, बिजुली र त्यो पैसा केका लागि भनेर सोधेको मात्रै थिए मलाई त गुण्डा लगाएर तलाई ठेगान लगाईदिन्छु भनेर धम्याए’ उपाध्यक्ष उप्रेतीले भने । त्यसपछि उनी पनि ‘लौ हेरौला’ भनेर बसेका छन् ।

1

किसानलाई नै सरकारी दवाव

सिञ्चाई आयोजना भन्दा माथीबाट हाइड्रोले पानी लैजान नहुने भन्दै गुनासो र उजुरी बोकेर सातबिसे खराने सिञ्चाई उपभोक्ता संस्थाका अध्यक्ष ज्ञानेन्द्रबहादुर केसी बैशाख ९, २०७२ मा सिञ्चाई मन्त्रालयमा निवेदन हाल्न पुगे । सरकारले मझौला सिञ्चाई आयोजना अन्र्तगत डेढ करोड र एडिबीको तीन करोड रुपैयाँ गरी साढे चार करोड रुपैयाँ लगानी भईसकेको र नौं हजार रोपनी खेत सिञ्चित गरिरहेको सिञ्चाई प्रभावित हुने देखेपछि मन्त्रालयले तुरुन्तै आवश्यक कारबाही अगाडी बढाएको थियो । केसीको उक्त निवेदनलाई आवश्यक कारबाही गर्न भन्दै सिञ्चाई मन्त्रालयले भोलीपल्टै बैशाख १०, २०७२ मा सिञ्चाई विभाग ललितपुरमा पत्राचार गरेको थियो । त्यसको भोलीपल्ट नै सिञ्चाई विभाग ललितपुरको योजना डिजाईन, अनुगमन तथा मुल्याङ्कन महाशाखाले मध्यमाञ्चल सिञ्चाई विकास डिभिजन नं. ८ नुवाकोटलाई पत्राचार गर्यो ।

आवश्यक कारबाही गरी त्यसको विवरण विभागमा पठाउन र विभागले मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने भन्दै सिञ्चाई विभागले बैशाख ११, २०७२ मा लेखेको पत्रको जवाफ जिल्लाबाट अहिलेसम्म उता फिर्ता भएको छैन । बैशाख १२, २०७२ को भुकम्पलाई कारण देखाउँदै मध्यमाञ्चल सिञ्चाई बिकास डिभिजन नं. ८ नुवाकोटले गरेको आलटाल अहिलेसम्म जारी छ । उपभोक्ता संस्थाका तर्फबाट अध्यक्ष ज्ञानेन्द्रबहादुर केसीले उपभोक्ताहरुको मञ्जुरी विना र उपभोक्ताहरुको अहित हुनेगरी बुद्धभुमी नेपाल हाइड्रो पावर हाउस कम्पनीलाई सिफारिस नदिनु हुन आदेश जारी गरियोस् भनी माग गरेका छन् । उनको उक्त मागप्रति सकारात्मक देखिएको सिञ्चाई मन्त्रालय, सिञ्चाई विभागको निर्देशनलाई जिल्ला तहमा हुनु पर्ने प्रक्रृयमा देखिइएको ढिलासुस्तीले लुलो बनाएको छ । सरकार फेरिएलगत्तै बढेको चलखेलका कारण किसानको पक्षमा काम नभएको बुझाई आम उपभोक्ताहरुको छ ।

उनीहरु (हाइड्रो सञ्चालक) पैसै पैसा भएको मान्छे भोली राज्य पनि उनकै पक्षमा हतियार लिएर उभिन्छ, हामी जनताको के लाग्नु र !

त्यस पछि सिञ्चाई कार्यालयले उपभोक्ता संस्थाका पदाधिकारी र उपभोक्ताहरुसंग एक पटक छलफल गरेको संस्थाका सचिव हरिप्रसाद कँडेल बताउँछन् । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी सहितको उक्त बैठकले उपभोक्ताहरुको चाहना अनुसार र छलफल भएपछि मात्रै हाइड्रोले काम गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको थियो । त्यसपछि संस्थाका पदाधिकारीसंग प्रशासन कार्यालयका प्रतिनिधि र सिञ्चाई कार्यालयका प्रमुखहरु बीच भएको टेलिफोन वार्तामा उपभोक्ताहरुलाई दवाव दिन थालिएको छ । उपभोक्ता संस्थाका अध्यक्ष ज्ञानेन्द्रबहादुर केसी सिञ्चाईको हाकिम र सिडिओले विवादलाई छिट्टो मिलाउनु पर्यो भन्दै आफुहरुलाई दवाव दिइरहेको बताउँछन् । ‘उहाँहरुले हामीलाई माथी देखि नै दवाव आयो लै न मिलाऔं भन्नुभयो’ केसी भन्छन्– ‘किसानको माझमा बसौं उनीहरु जे भन्छन् त्यही हुन्छ भने मैले ।’ सरकारमा सहभागी भएको राजनीति दललाई हाइड्रो कम्पनीले प्रभावित पारेर दवाव दिन लगाएको र आर्थिक चलखेल गरेको आरोप उपभोक्ता समितिका पदाधिकारीहरुको छ । ‘उनीहरु (हाइड्रो सञ्चालक) पैसै पैसा भएको मान्छे भोली राज्य पनि उनकै पक्षमा हतियार लिएर उभिन्छ, हामी जनताको के लाग्नु र !’ संस्थाका अध्यक्ष केसीले भने । उनको भनाईलाई समर्थन गर्दै संस्थाका उपाध्यक्ष रामशरण उप्रेती थप्छन्– ‘तर अन्तिम भनेको मर्नु पर्ने हो त्यसका लागि हामी तयार छौं ।’

यसरी नियमन निकायका प्रमुख व्यक्तिहरुले मिलाउने र माथीको दवावमा पर्नुले किसानहरुको हित विपरित कार्य हुन लागेको बुझाई खरानीटारका उपभोक्ता प्रेमबहादुर पाठकको छ । ‘किसानहरुको भावनालाई कदर गर्नु पहिलो आवश्यकता हो, सरकारले र सरकारमा रहेको दलले प्रेसर गर्दैमा सिडिओ, सिञ्चाई हाकिमसा’पले निर्णय नलिनुहोला भन्ने मेरो बुझाई छ’ पाठक भन्छन् ।

जिल्ला प्रशासन कार्यालयले उपभोक्ताहरुको भेला राख्नका लागि संस्थालाई आग्रह गरेको छ । आउँदो साउन १ गतेका लागि प्रशासनले भनेकोमा साउने संक्रान्ति र मध्ये खेतीको बेलामा त्यो सम्भव नहुने भन्दै संस्थाले अर्को मितिमा गर्नु उपर्युक्त हुने सुझाव प्रशासनमा पेश गरेको छ । प्रशासन र सिञ्चाई कार्यालयले मिल्नका लागि दवाव दिने, भेला राख्नका लागि हत्तारिएको कारण सिञ्चाई सुकाएर हाइड्रो बन्न दिने पक्षमा सरकारी निकाय रहेको शंका किसानहरुमा छ ।

उनीहरुको हातमा खोला परेपछिको अवस्था नै बेग्लै हुँदो रहछ, हामी त हेरेर बस्ने मात्रै हो !

खोला सुकाउने खेल

हाइड्रो सञ्चालन हुँदा नदीको बहावको कम्तिमा १० प्रतिशत पानी छाड्नु पर्ने बाध्यताकारी नियम छ । तर यहानै सञ्चालनमा रहेको आदिशक्ति हाइड्रोलाई हेर्ने हो भने तादी खोलामा जुत्तै लगाएर तर्न मिल्ने अवस्थामा छ । बर्खाको समय भन्दा अन्य बेलामा हाइड्रोको ड्याम देखिको तलतिरको भागमा कमिलाले खाने पानी पनि नहुने स्थानीयहरु बताउँछन् । आदिशक्तिको ड्याम भन्दा तल रहेको घाटमा अन्तिम संस्कार गर्नेहरुलाई अहिले लाश जलाएको चित्ता पखाल्ने पानी पनि नभएर पिडा भएको छ । सुरुमा कम्पनीले दिएको आवश्वास र अहिलेको अवस्थाका कारण अन्य आयोजनाहरुसंग यहाँका उपभोक्ता, किसान तथा नागरिकहरु सशंकित छन् । ‘यो मध्ये वर्खामा पनि लाश लगाएपछि चित्ता पखाल्ने पानी नभएर बाल्टिनले खरानी उवाएर फाल्ने हामी हौं, आदिशक्तिको ड्याम भन्दा मुनीको घाटमा’ सुन्दरादेवी–१ का बैकुण्ठप्रसाद आचार्य बताउँछन् । चित्ता पखाल्न १० मिनेट पानी खोल्नका लागि कम्पनीलाई आग्रह गर्दा पनि नमानेको आचार्य बताउँछन् । ‘उनीहरुको हातमा खोला परेपछिको अवस्था नै बेग्लै हुँदो रहछ, हामी त हेरेर बस्ने मात्रै हो !’ आचार्यले भने ।

निर्माणको चरणमै रहेको हिरारत्न हाइड्रो पावरको मुहान देखि पाइपमा पसेको तादी खोला फेरि खुल्ला ठाउँमा बग्नका लागि सुन्दरादेवी गाविस आइपुग्नु पर्ने हुन्छ । राउतवेशीको दुप्चेश्वर महादेव मन्दिर भन्दा माथीबाट हिरारत्नले पाइपमा हालेको पानी बुद्धभुमीको मुहानमा ल्याएर झार्ने र बुद्धभुमीको उत्पादन गृहबाट निस्किएको पानी आदिशक्तिको ड्याममा झर्ने गरी खोला प्रयोग हुने सम्भावना देखिएको छ । यसरी पानी प्रयोग हुँदा झण्डै १० किलो मिटरको लम्वाईको खोला पानी विहिन हुने छ । त्यसबाट साना देखि ठूला सिञ्चाई योजना, पिउने पानी, जलचर तथा वातावरणिय पक्षहरुमा सिधै प्रभाव पर्ने छ । सिञ्चाईलाई प्राथमिकता दिएर जल विद्युत् आयोजना सञ्चालन गर्नुपर्ने प्रावधान हुँदा हुँदै न्युनतम् छाडिनु पर्ने १० प्रतिशतका भरका सिञ्चाई आयोजना चल्नु पर्ने अवस्था आउने देखिएको छ ।

हाइड्रो र पुर्णलाल श्रेष्ठ भन्ने वित्तिकै पत्रकारहरु पनि समाचार लेख्न अल्छि गर्दा रहेछन्, तपाई हामीलाई अन्तिमसम्म साथ दिनुहुन्छ ?

2

पत्रकार पनि भेटिएन

किसानहरु आफ्नो पिडालाई बाहिर लैजान नसकेको र पिडामा अरुले साथ नदिएको भन्दै हैरान छन् । सरकारी निकायबाट आइरहेको दवाव, कम्पनीले समुदायमा गर्न थालेको आर्थिक चलखेल र डर धम्कीका कारण आफ्नो मागको सुनुवाई हुँदै नहुने पो हो की भन्ने चिन्ता पनि छ यहाँका किसानहरुमा । झण्डै डेढ वषैदेखि सिञ्चाई बचाउनका लागि थालिएको अभियानले कतै महत्व नपाएको र स्थानीय सञ्चार माध्यामले समेत वास्ता नगरेको उनीहरुको गुनासो छ । असार २०, २०७३ मा सातविसेमा यस संवाददातासंग भेटभएपछि उपभोक्ता संस्थाका अध्यक्ष ज्ञानेन्द्रबहादुर केसीले भने– हैन ! हाइड्रो र पुर्णलाल श्रेष्ठ भन्ने वित्तिकै पत्रकारहरु पनि समाचार लेख्न अल्छि गर्दा रहेछन्, तपाई हामीलाई अन्तिमसम्म साथ दिनुहुन्छ ?

सातविसेमा स्थापना भएको इलाका प्रशासन कार्यालयको उद्घाटनमा पत्रकार आएको जानकारी पाएपछि जम्मा भएका उपभोक्ताहरु स्कुल छेउको चौरमा जम्मा भएर आफ्ना समस्याहरु यस संवाददातालाई सुनाउँदै थिए ।

आफुहरुले पटक पटक समाचारका लागि प्रयास गरेको र त्यसलाई कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले तुहाउने गरेको आरोप उपभोक्ताहरुको छ । यत्तिसम्म की अध्यक्ष श्रेष्ठले सदरमुकाम आउने उपभोक्ता र किसानहरुको चियोचर्चो समेत गर्ने गरेका छन् । ‘म एलडिओ कहाँ जादै थिए, पूर्णलालले फोन गरे र म एलडिओ भेट्न जान लागेको एउटा काम थियो भनेको उनले म भन्दिउन तपाईको काम गराउनको लागी भने’ केसी सुनाउँछन्– ‘अनि मैले पनि एलडिओलाई तपाईले भन्नै पर्दैन, मेरै भतिजो (रालुकादेवीका केशरबहादुर पण्डित) एलडिओ भएर आएको छ भन्दिए फुर्तिसित ।

उनी आफ्ना माग र अभियानको विषयमा जानकारी राख्न र सहयोग गर्नका लागि सञ्चार माध्यामले सहयोग गर्नुपर्ने बताउँछन् । अहिलेसम्म एउटै पनि समाचार नबनेकोमा खिन्न मान्दै अब साथ दिनका लागि उनी आग्रह गर्छन् । ‘हज्जारौ किसानको दैनिक गुजारासंग सम्वन्धित छ, तपाईहरुले सहयोग गर्नुपर्यो  केसी भन्छन् ।

पछि प्रतिकृया दिउँला

कृषकहरुसंग भेट भएर समस्याको साक्षात्कार भएको एक्कै छिन पछि इलाका प्रशासन कार्यालयको उद्घाटन समारोहमा आएका बुद्धभुमी नेपाल हाइड्रो पावर हाउस कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठलाई तपाईको कारण यहाँका किसानहरुको रुवावासी भएछ नि भनेर यस संवाददाताले सोध्दा उनी भन्छन्– ‘यो १०/८ जनाको व्यक्तिगत स्वार्थका कारण आएको कुरा हो, १० प्रतिशत पानी छोड्दिन्छु भनेकै छु त्यत्ति भए पुगिहल्छ नी !’ यो विषयलाई त्यत्ति प्राथमिकता नदिन उनले आग्रह गरे । किसानहरुको मागको विषयमा कम्पनीको तर्फबाट भनाई राखिन दिनका लागि उनलाई आग्रह गर्दा पछि सल्लाह गरेर प्रतिक्रृया दिने बताए ।

को को छन् हाइड्रोमा ?

बुद्धभुमी नेपाल हाइड्रो पावर हाउस कम्पनीका अध्यक्ष रहेका पुर्णलाल श्रेष्ठ खानीगाउँको ढिकुरे बजारका हुन् । किसानहरुलाई गुम्राहमा राखेर कम्पनीको कागजी प्रक्रृया गर्न भ्याएका श्रेष्ठ अहिले नेकपा एमालेको नुवाकोट जिल्ला सदस्य छन् । चैत २६, २०७२ मा भएको जिल्ला अधिवेशनमा चुनावै उठेर जितेका श्रेष्ठ एमालेमा प्रवेश गरेको एक वर्षपनि भएको छैन । त्यस अघि राप्रपा जिल्ला सदस्य हरेका उनी डा. प्रकाशचन्द्र लोहनीका विश्वास पात्रका रुपमा चिनिन्थे । डा. लोहनीकै कारणबाट उनी दुग्ध विकास संस्थाको सञ्चालक समिति सदस्य समेत बन्न भ्याए । ‘काठमाडौंमा जग्गा खरिद विक्रिको कारोवार गरेका श्रेष्ठले जग्गाको व्यापार फष्टाउने बेलामा नुवाकोटमा पनि जग्गाको काम गर्न भ्याएका छन् । राप्रपाले दोश्रो संविधान सभा निर्वाचनमा समानुपातीको उम्मेदवारमा पक्कापक्की गराएर पनि अन्तिममा उनको नाम कटाएर राज्यलक्ष्मि श्रेष्ठ पाँडेलाई समानुपाती सभाषद्मा पठाएको हो । त्यसपछि राप्रपा र विशेष गरी डा. लोहनीसंग रुष्ट बनेका पुर्णलाला श्रेष्ठ एमालेमा सुरेन्द्र पाण्डेसंग लाइन मिलाएर एमालेमा प्रवेश गरेका हुन् ।

एमाले नुवाकोटको जिल्ला अधिवेशनमा ढिकुरकै निर्मल श्रेष्ठको सहयोगमा पार्टी भित्रको आन्तरिक चुनाव जितेका उनलाई अहिले पार्टीले केन्द्रिय विभाग शहरी विकासको सदस्य समेत बनाएको छ ।

पहिला ढिकुरेमा रहेको (हाल बट्टार ल्याइएको) सम्पन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत रहेका श्रेष्ठ नुवाकोटबाट प्रशारण हुने रेडियो जालपाको अध्यक्ष पनि छन् । काठमाडौंमा रहेको सम्पन्न बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेका उनी अहिले सदस्य मात्रै हुन् । उनले सोही सहकारी संस्थाको माध्यमबाट बुद्धभुमी नेपाल हाइड्रो पावर हाउस कम्पनीको अवधारणा अघी बढाएका थिए । सुरुको दिनमा निर्वाचन आयोगको केन्द्रिय कार्यालयको ठिक अगाडीको घरमा राखिएको सम्पन्न सहकारीकै कार्यालयबाट हाइड्रोको काम गरेकोमा अहिले सहकारी, हाइड्रोको कार्यालय र एक कम्पनीको गाडीको सोरुमलाई पानी पोखरी भन्दा केही माथी एकै ठाउँमा सञ्चालन गरिरहेका छन् ।

उनी बाहेक थानसिंग गाविसका प्रदिपप्रसाद पाठक ‘सुमन’पनि हाइड्रो सञ्चालक समितिमा छन् । उनी पनि चैत २६, २०७२ मा भएको नेकपा एमाले जिल्ला अधिवेशनमा भुगोल तर्फ इलाका नं. २ बाट जिल्ला सदस्यमा निर्वाचित भएका छन् । समाचारश्रोतका अनुसार यी दुई जना बाहेक हाइड्रोमा प्रभावित गाविसकै बलराम खतिवडा पनि शेयर होल्डर छन् । ‘यी तीन जना बाहेक अन्य चाँही हाइड्रोका सञ्चालकहरु जिल्ला भन्दा बाहिरको हुनु पर्छ’ श्रोतले भन्यो ।

– कपिलदेव खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top