२०७७, ५ आश्विन सोमबार

‘यो समय उद्यम गरेर सफल देश बनाउने समय हो’

डबली खबर     असार २५ २०७३ २१:५२



kanchaman tamang

कान्छामान तामाङ
अध्यक्ष, जिल्ला लघु उद्यमी संघ नुवाकोट

जिल्ला लघु उद्यमी संघको स्थापना कसरी भयो ?
लघु उद्यम विकास कार्यक्रम अन्तर्गत २०६२ सालतिर गरिवीको रेखामुनी रहेका समुदायलाई थोरै लगानी गरेर स्थानीय स्रोत र साधनको उपयोग गरी आत्मनिर्भर बनाउने उद्देश्यले संघको स्थापना भएको हो । यस अघि सन् २००७ सम्म म आफैं खटिएर सात सय लघु उद्यमीहरुलाई समेटेर काम गरेको थिए । अहिले दुई हजार भन्दा धेरै उद्यमी संघमा आवद्ध छन् ।

संघको उद्देश्य अनुसारको काम भएको छ कि छैन ?
स्थानीय आवश्यकता, बस्तु र खेर गएका र जान सक्ने बस्तु, सीपलाई उपभोग गरेर बजारसम्म पुर्याउने उद्देश्यले संघको स्थापना भएको थियो । सोही अनुसार लघु उद्यमीहरुले आत्मनिर्भरको बाटोमा मात्र होइन, कतिपय उद्यमीहरु त अहिले ठूलै उद्यमी बनिसक्नु भएको छ । देशमा प्रकृतिले दिएको स्रोत र साधनलाई सीपको माध्यमबाट बस्तु उत्पादन गर्ने र त्यो बस्तुलाई बजारसम्म पुर्याउने मुख्य उद्देश्य हो ।

त्यो उद्देश्य अनुसार काम भएको छ । यो जिल्ला विकास समितिमार्फत नै सञ्चालन हुने कार्यक्रम हो । यो कार्यक्रम जिल्लादेखि स्थानीयतहसम्म नछोएको कुनै निकाय छैन । सरकारको सफल कार्यक्रमको रुपमा यो कार्यक्रमलाई लिन सकिन्छ । मेरो विचारमा यो कार्यक्रमको माध्यमबाट स्थानीय स्रोत र साधनको पहिचान गर्न सकेमा कोही पनि नेपाली विदेशमा जान पर्दैन जस्तो लाग्छ ।

तपाई चाँहि किन लघु उद्यमी बन्नुभयो ?
म जतिबेला २०३७ सालमा भारत पलायन भएको थिए । त्यतिबेला दुइ रुपैयाँ ज्याला थियो । म १५, १६ वर्षको मात्र थिए । पहिले प्लेन नै चढ्ने सुविधा त थिएन । साथीभाइको लहैलहैमा लागेर म भारत गएँ । भारतमा सञ्जय विद्यतु परियोजना बन्दै गएको थियो । त्यो आयोजनामा मैले सात आठ वर्ष काम गरेँ । त्यहाँ म प्वाल पार्ने काम गर्दथ्येँ । त्यसपछि २०४५ सालतिर म नेपाल फर्किएँ । मलाई त्यतिबेला घरको बा आमा र देशको निकै याद आयो । नेपाल आएँ । नेपाल आउँदा मैले कृषि पेशा भन्दा अर्को केही देखिन । नेपालमा मैले जानेको भारतमा जस्तो प्वाल खोप्ने आयोजना थिए । कृषिमै लाग्नु भन्दा अरु कुनै विकल्प थिएन । गाउँमा (ओखरपौवा) मा परम्परागत मूला खेती हुन्थ्यो ।

कृषिमा त्यतिबेला नाजुक अवस्था थियो । तरकारीमा दामन, रुकुम हुँदै ककनी ओखरपौवा तेस्रो स्थानमा प्रख्यात रहेछ । जाइटी नेपाल २०४९ सालमा स्थापना भयो । त्यो संस्थाले ककनीमा स्ट्रवेरी खेतीको अनुसन्धान गर्नुभयो । त्यो बेला त्यो बेला त्यो फल निकै अमूल्य थियो । उहाँहरुको माध्यमबाट मैले यो खेती सुरु गरेँ । पहिलो पटक दश बोट रोपेँ । त्यसमा तीन वोट मात्र बाच्यो । त्यसपछि एक सिजनमा सात आठ हजार रुपैयाँ लिन सफल भए । मलाई २०५६/०५७ सालतिर जस्तो लाग्छ, त्यतिबेला सात लाख रुपैयाँ भन्दा धेरै आम्दानी लिन सफल भए ।

यो खेतीको सम्भावना अहिले कस्तो रहेको छ ?
यो नयाँ खेती भएको कारण फलफूलमा सुचीकृत गर्नुपर्छ भन्ने तमाम यस क्षेत्रका तीन सय किसानहरुको माग रहेको छ । लघु उद्यम विकास कार्यक्रमले यो खेतीको प्रवर्धन गरिरहेको छ । अहिले कोलकत्तासम्म हाम्रो उत्पादन पुगिसकेको छ । मुख्य बजार काठमाडौंकै पाँच तारे होटलहरु रहेका छन् । वार्षिक १५/२० करोडको स्ट्रवेरी उत्पादन भइरहेको छ । सरकारले कृषिलाई प्राथमिकता दिइरहेको छ । त्यसैले पनि यो खेतीको लागि ककनी ओखरपौवा उर्वर भूमि मानिन्छ । यसबाट नुवाकोटको आर्थिक विकासमा ठूलो टेवा पुग्छ । नुवाकोटमा मात्र होइन, देशका १५, २० वटा जिल्लामा यसको सम्भावना रहेको छ ।

धेरै उत्पादन भयो भने बजार घट्ने र प्रतिष्पर्धा बढी हुने हुँदैन ?
पहिले कुनै सिजनमा अवस्था त्यस्तै थियो । तर, अहिले त्यस्तो छैन । हामीले हाम्रा उत्पादन बजारमा माग अनुसारको पुर्ती गर्न सकेका छैनौँ । कलकत्ताको बजारमा आठ दश करोडको निकासी हुन्छ । हामीले प्याकिङ, लेवलिङ गरेर पठाउने गरेका छौँ । हामीले बसबाट खसेपनि स्ट्रवेरीलाई कुनै क्षति नहुने हिसावले प्याकिङ गर्ने गरेका छौँ । त्यसैले माग अहिले उच्च रहेको छ । बजार खोजी गर्नुपर्ने कुनै कारण छैन ।

अहिले नुवाकोटका लघु उद्यमीहरुको समस्याहरु के के रहेका छन् ?
गुणस्तरीय विउविजन, मलखाद, तालिम, उत्पादन, बजारको ज्ञान बाहिरको सामानसँग प्रतिपष्र्धा गर्नुपर्ने जस्ता समस्याहरु रहेका छन् । यी समस्याहरु उद्यमीहरुले भोग्दै आएका छन् । नुवाकोटमा ९० प्रतिशत कृषि योग्य जमीन रहेको छ । नुवाकोटमा कृषिमा लगानी भयो भने नमूना जिल्ला बन्न सक्छ ।

लघु उद्यमी भएका कारण के फाइदा भयो ?
मैले स्ट्रवेरी मात्र नभई च्याउ, गुलाव खेतीमा पनि लगानी गरेँ । त्यसमा मैले गल्ती गरेको रेछु । एकै पटक ठूलो लगानी गर्दा म डुवेको छु । त्यसैले व्यवसाय गर्दा लघु उद्यमीहरु सुन्यबाट उद्यमी बन्ने प्रयास गर्नुहोस् । व्यवसाय नछाड्नुस् एक दिन अवश्य सफल भइन्छ भन्न चाहन्छु ।

आजसम्म संस्थागत संरचनामा यो स्थानसम्म आइपुग्दा निकै खुशी लागेको छ । अलिकति प्रसंग बदलौँ । मलाई भुकम्पले पारेको क्षति र संविधानको चिन्ता रहेको थियो । हामी दुवै अवस्थाबाट पार गरिसकेका छौँ । अवको समय भनेको लगानी गर्ने, उद्यम गर्ने आत्मनिर्भर बन्ने र सफल देश बनाउने समय हो । त्यसैले सबैलाई अव हामी आर्थिक विकासमा लाग्ने बेला भयो भन्न पनि चाहन्छु ।

अन्तमा लघु उद्यमीहरुलाई के भन्न चाहनुहुन्छ ?
मैले परदेशमा पीडादायी दुःख भोगेको मान्छे । नेपालका ७० लाख युवा विदेशमा छन् भन्ने सुनेको छु । विदेश जाने शक्तिलाई नेपालमै केहि गर्न सकिन्छ भनेर युवालाई आत्मविश्वास दिलाउन सकियो भने यो नै मेरो लागी ठूलो मुक्तिको मार्ग हुने छ । प्रकृतिको धनी देश नेपाल यहाँको हाम्रा सम्पत्तिहरुको सही उपभोग नै देशको विकास हो जस्तो लाग्छ । त्यसैले जे छ, त्यसैबाट पैसा कमाउने उपायको खोजी गरौँ । यसैमा हामी सबैको भविष्य देखेको छु ।

प्रस्तुतीः भोलाराज पौडेल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top