२०७७, ११ आश्विन आईतवार

पूर्वाधारमै बढी फोकस गरिरहेको छौँ: राजेन्द्ररमण खनाल

डबली खबर     श्रावण २५ २०७५ १४:४५



मेयर, बेलकोटगढी नगरपालिका, नुवाकोट

स्थानीय सरकार सुरु भएको १ वर्ष बितिसकेको छ । स्थानीय सरकार चलाउन माहिर राजेन्द्ररमण खनाल विगतमा पनि गाविस उपाध्यक्ष, जिल्ला विकास समिति सदस्य हुँदै गत स्थानीय निर्वाचनमा बेलकोटगढी नगरपालिकाको प्रमुखमा निर्वाचित खनाल सरल स्वभावका व्यक्ति हुन् । नयाँ संरचना र दुर्गम क्षेत्र भएकाले बेलकोटगढी अहिले पूर्वाधार निर्माणमै व्यस्त छन् । साविक ६ वटा गाविस समेटिएको बेलकोटगढी भौगोलिक हिसाबले दुर्गम क्षेत्रमा पर्छ । १३ वडा रहेको बेलकोटगढीको ५ वटा वडाको मात्र वडा कार्यालय छन् । बेलकोटगढीलाई पर्यटकीय नगरी बनाउन लागिपरेका मेयर खनाल अहिले आफ्नै नगरपालिकाको भवन बनाउने योजनामा छन् । १ वर्ष मेयरको कार्यकाललगायत विषयमा गरेको कुराकानीको सारांश:

स्थानीय तहमा जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएको पनि १ वर्ष भइसक्यो । दोस्रो वर्षका लागि नीति तथा कार्यक्रम पनि ल्याउनुभयो । यो १ वर्षको कार्यकाललाई तपाईंले कसरी हेर्नुभयो ?

यो बेलकोटगढी नगरपालिका नेपाल सरकारले अन्तिममा घोषणा गरेको नगरपालिका हो । यो भूगोलको हिसाबले एकदम कठिन र क्षेत्रगतको हिसाबले ठूलो १५५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यस नगरपालिकामा ६ वटा साविका गाविस गाभिएर १३ वटा वडा निर्माण भएको छ । लगभग अहिले त्यहाँको जनसङ्ख्या ५१ हजारको हाराहारीमा पुगेको छ । नितान्त नयाँ र कार्यालयको कुनै संरचना बाटोघाटो, भौतिक पूर्वाधारहरू केही नभएको नगरपालिका भन्नै लाजमर्दो थियो । यो कठिन परिस्थितिमा हामी निर्वाचित भएर आएपछि सबै किसिमका पूर्वाधार निर्माण गर्दै अगाडि बढ्यौँ । भूकम्पपीडितलाई राहतस्वरूप सामान लैजानका निम्ति धेरै खर्च बाटो निर्माणमा गर्नमा लागौँ । जहाँ कि पक्की बाटो हामीले निर्माण गर्न सकेनौँ । कच्ची बाटो हामीले २५५-२५६ बाटोमा सामान ढुवानी गर्न सक्ने वातावरण तयार ग¥यौँ । त्यसको अलावा समृद्ध बेलकोटगढी बनाउन हामीले कृषि र पर्यटनलाई अगाडि बढाउनुपर्छ भनेर हाम्रो समथर भूभाग समुद्री सतह साढे ४ सय ५ सयबाट लगभग २३ सयको हाइटसम्म बेलकोटगढी नगरपालिका पर्छ ।

बेलकोटगढी नगरपालिका जहाँ सबै प्रकृतिको हावापानी पाइन्छ । कृषिमा माथिल्लो भेगमा १६०० भन्दा माथि ७ हेक्टरमा किवी खेतीलाई अनुदान दिएका छौँ । त्यसैगरी अलैँची ८० हजार बिरुवा ल्याउन तर्खर गरेका छौँ । कृषि प्रणालीलाई सजिलो बनाउन तान्त्रिक मेसिनहरू अनुदान दिएका छौँ । बेलकोटलाई खुला दिसामुक्त क्षेत्र घोषणा ग-यौँ । नगरपालिकाको आफ्नै कार्यालय नभएकोले गर्दा १-२ वर्ष नगरपालिकाको कार्यालय निर्माणको निम्ति बजेट पनि थोरै छुट्याएका छौँ । केन्द्रीय सरकार र प्रदेश सरकारले केही बजेट उपलब्ध गराउने भन्ने कुराहरू अगाडि आएको छ । तर, त्यो बजेट छुट्टिएको छैन । १३ वटा वडामध्ये ५ वटा वडामा मात्रै वडासचिव रहेको अवस्थामा जनताका सबै कामहरू हामीले अगाडि बढाउन सकेका छैनौँ । नेपाल सरकारले साउन महिनाको अन्तिमसम्म सबै कर्मचारी पठाएको खण्डमा कुनै पनि काम र जनताले पाउने सेवा सुविधा पाउँछन् ।

तपाईंको ५ वर्षे कार्यकाल पूर्वाधार बनाउँदैमा बित्ने भयो, होइन ?

सम्भवतः सबै निर्माणतिर नै जाने भयो । ५ वर्षमा पनि नसकिने स्थिति छ किनकि हामीले १ किलोमिटर बाटो निर्माण गरेर पिच गर्न ३ करोड बजेट लाग्छ । एउटै बाटो पनि राम्रो ढङ्गले बनाउन सक्ने पैसा नेपाल सरकारबाट उपलब्ध छैन । कर, रोयल्टी पनि त्यति उठाउन सकिने अवस्था छैन ।

बेलकोटगढीको मुख्य फोकस तपार्इंले विकास गर्ने क्षेत्र कृषि हो कि पर्यटन हो कि अन्य कुनै छ ?

बेलकोटगढीलाई चिनाउन वास्तवमै बेलकोटगढीलाई कृषि र पर्यटनमै जोड दिनुपर्छ । प्रदूषणरहित उद्योगहरू निर्माण गर्नुपर्छ । बेलकोटगढीमा हरियाली नगर निर्माण गर्नुपर्छ । किनकि वनजंगलले नै सबै कुराको संरक्षण गर्नुपर्छ भन्ने मूल नारा वा योजनाभित्र रहेर काम गर्ने हो ।

बेलकोटगढीमा व्यवसायीहरूको आँखा लाग्ने भनेको गिटी, बालुवामा हो । यसको लागि गिटी, बालुवा उत्खनन र निकासीमा यहाँले कस्तो खालको योजना बनाउनुभएको छ ?

सकेसम्म हामीले प्रदूषणरहित बेलकोटगढी बनाउने कोसिस गरिरहेका छौँ । अहिले पनि वातावरण प्रभाव मूल्याङ्कन बनाएर यो ठाउँमा खानी सञ्चालन गर्न हुन्छ । यो ठाउँमा क्रसर राख्नुहुन्छ भन्ने एउटा मापदण्ड पूरा गरिसकेपछि सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । त्यहाँचाहिँ एकदम बढी परिमाणमा सामानहरू थुपारिएको छ । असुरक्षित तवरले यात्रा गरिएको छ । त्यसकारणले त्यसलाई प्रदेश सरकारले छिटै कानुन बनाएर सुरक्षित वातावरणमा उद्योग सञ्चालन हुनुप-यो । करको दायरामा पनि ल्याउनुप¥यो र अव्यस्थित उद्योगहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । हामी उद्योगको विरोधी होइनौँ, तर प्रदूषण कसरी कम गर्न सकिन्छ भन्ने हो ।

यस वर्षको नीति तथा कार्यक्रम मुख्य फोकस केमा गर्नुभएको छ ?

यस वर्ष हामीले ६६ करोडको बजेट निर्माण गरेका छौँ । यसमा विशेषगरी पूर्वाधारमै बढी फोकस गरिरहेका छौँ । शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधारको कुराहरू अगाडि उठाएका छौँ ।

तपाईंको ५ वर्षको कार्यकालमा कस्तो बेलकोटगढीको परिकल्पना गर्नुभएको छ ?

५ वर्षमा बेलकोटगढीलाई आमूल परिवर्तन गरी सुधारका गतिविधि गर्ने परिकल्पना गरेको छु । कृषिमा उर्वर भूमि बेलकोटगढी पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो । मैले बेलकोटगढीका सबै क्षेत्रको पहिचान गरी विकास गर्ने अठोट लिएको छु ।

पहिलो नीति कार्यक्रममा श्रद्धेय नेताहरूको नाममा पार्क बनाउने योजना नै विवाद भयो नि ?

वास्तवमा हाम्रा आदरणीय नेताहरू नितान्त देशको गहना हुन् । नेता भनेको जुन पार्टीको जो–जो भए पनि वास्वतमा देशमा योगदान दिएका छन् । यो देशलाई यहाँसम्म ल्याउनुमा उहाँहरूको महत्वपूर्ण भूमिका छ । उहाँहरूको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । विभिन्न ढङ्गले स्व. मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुनुुभयो, उहाँले राष्ट्रलाई पु-याएको योगदान हामीले भुल्न सक्दैनौँ । विश्वले चिनेको जननेता स्वर्गीय मदन भण्डारीको नाममा एउटा भ्यू–टावर बनाउँछु भन्दा कुनै अप्ठ्यारो मान्नुपर्ने होइन । भोलि उहाँहरूको नाममा पास गरेर लालपुर्जा बनाएर पठाउने पनि होइन । त्यसकारणले यसलाई विवादमा लानुपर्छ भन्ने कुरा रहन्न र त्यसबाट बेलकोटगढी नगरपालिका पछाडि पनि हट्दैन । यो कुराको पनि प्रतिबद्धता जनाउन चाहन्छु । मनमोहन पार्कमा त अहिले बाटो हामीले पु-याइसकेका छौँ । यो वर्ष लगभग खानेपानी पु-याउँछौँ । धेरै काम अगाडि बढ्छ ।

जननिर्वाचित भएर जनताको प्रतिनिधि हुन कत्तिको गाह्रो रहेछ ?

म नितान्त नयाँ जनप्रतिनिधि होइन । ०४९ सालमा लगभग २६ वर्षको उमेरमा चुनाव जितेको एउटा युवा हुँ । त्यति हुँदाहुँदै पनि म पार्टीभित्र पनि टिकटका लागि चुनाव लडेको हुँ । मैले टिकटका लागि कसैकहाँ जानुपरेन । टिकट लिइसकेपछि हामी २०७० को परिस्थितिलाई हेर्ने हो भने हामी चौथो र पाँचौँ स्थितिमा थियौँ ।

चुनावको बेला गाउँमा गएर भाषण गर्दा पनि हामी तुरुन्तै खानेपानी यो टोलमा ल्याइदिन्छौँ र सडक ल्याइदिन्छौँ भन्नुभएको थियो । त्यसमा जनताको गुनासो कत्तिको छ ?

वृद्धा बाआमाहरूलाई सम्मान गर्नुपर्छ । हाम्रा भनाइ र प्रतिबद्धताहरू अहिले पनि जाहेज छ । नगरपालिकाले अहिले वृद्धाहरूलाई १३ वटै वडामा सम्मान गरिरहेको छ । त्यो सम्मानमा उहाँहरूलाई हर्लिक्स, छाता, उहाँहरूले टेक्ने लौरालगायत ओढ्ने, पंखा यी खालका सुविधाहरू हामीले दिएका छौँ । औषधि उपचारमा वृद्धा बाआमाहरू क्यासर, मुटु, मिर्गौलापीडितहरूलाई राहतस्वरूप २५ हजार दिने निर्णय मैले गरेकोे छु ।

बेलकोटगढीको वृद्धा भत्ताको विषय अख्तियारसम्म मुद्दा पनि पुग्यो । यसबारे नगरपालिकाले के गरिरहेको छ ?

हामीले यसमा तुरुन्तै निर्वाचित भएर आएपछि यसमा चनाखो हुन जरुरी छ भनेर म आफँैले सम्पूर्ण वडाध्यक्षहरूलाई सचेत गराएँ । यसलाई सही ढङ्गले परिचालन गर्न नसक्नुले त्यस्ता लारपबाही भएको हुन सक्छ । अब हामीले बैंकमार्फत वृद्धाभत्ता दिने व्यवस्था मिलाउँदै छौँ ।

वृद्धाभत्ताको नाममा पैसा खानेलाई के कारबाही हुन्छ ?

नेपाल सरकारले यस विषयमा छानबिन गरिरहेको छ । अख्तियारले पनि अनुसन्धान गरिहेको छ । के गर्छ त्यही नै हो ।

अब नगरपालिकाभित्र मरेका मान्छेका नाममा भत्ता खानेहरूलाई केही हुँदैन ?

वृद्धा बाआमाहरूको भत्ता जिउँदो होस् वा मरेको त्यो खानै मिल्दैन । त्यो गर्न नहुने कुरा गरेको हो । अब त्यस्तो गर्छ भने त्यस्तो कर्मचारी रहेछ भने नेपाल सरकारले बर्खास्त गर्नुपर्छ । हामीले सचेत गराउने र आवश्यक प-यो भने कारबाहीको लागि सिफारिस गर्ने हो । -त्रिशूली प्रवाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top