२०७७, ८ माघ बिहीबार
District Cooperative Union Notice
Bachchhaladevi Suppliers

योगबारे ७ भ्रम

    माघ ४ २०७४ १०:५०


Trishuli Web Design Services in Nuwakot
Yoga

प्रत्येक वर्षको माघ १ लाई नेपालमा योग दिवसका रूपमा मनाइन्छ । ०७२ देखि सरकारले यस दिनलाई योग दिवस घोषणा गरेको हो । यसै दिवसको अवसर पारेर योगसम्बन्धी केही उपयोगी सामग्री दिन खोजिरहेका छौँ ।

योगबारे निकै भ्रम छन् । यी सात भ्रम, जसलाई भारतीय सद्गुरु जग्गी वासुदेवले प्रस्ट पारेका छन् । वासुदेवले अमेरिका, इंग्ल्यान्ड, लेबनान, सिंगापुरलगायत ठाउँमा योग प्रशिक्षण दिन्छन् । यो सामग्री एजेन्सीको सहयोगमा नयाँ पत्रिकाका विश्वास खड्काथोकीले तयार पारेका हुन् ।
योग हिन्दू धर्मको संस्कार हो ।

यथार्थ : योगलाई त्यतिवेला मात्र हिन्दू भन्न सकिन्छ जतिवेला गुरुत्वाकर्षणको सिद्धान्तलाई इसाई स्विकारिन्छ । किनभने, गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गर्ने आइज्याक न्युटन इसाई धर्मावलम्बी थिए । योग एउटा टेक्निक हो र यस्तो टेक्निक जो कसैले पनि गर्न सक्छ । तर, केही अल्पज्ञानीले योग विज्ञानलाई हिन्दूत्वको लेप लगाइदिएका छन् । यो विज्ञानको विकास संस्कृतमा भयो ।

त्यसैले यसलाई हिन्दू जीवनशैलीसँग जोडेर हेर्नु स्वाभाविक हुन सक्छ । सिन्धु शब्दबाट विकास भएको हो, हिन्दू । सिन्धु एक नदीको नाम हो । त्यसैले यो संस्कृतिको विकास सिन्धु नदीको किनारबाट भएको हो । फलस्वरूप यस संस्कृतिलाई पनि हिन्दूको नाम दिइएको हो । हिन्दू कुनै वाद होइन, न त धर्मकै नाम हो । यो त एउटा भौगोलिक वा सांस्कृतिक नाम हो ।

 

योग कुनै किताबको मद्दतबाट सिक्न सकिन्छ । 
यथार्थ : आज तपाईं कुनै पनि किताब पसलमा जानुस्, त्यहाँ १५–२० वटा योग उपचारको किताब देख्नुहुन्छ । सात दिनमा योग सिक्नुस्, २१ दिनमा योगी बन्नुस्, यस्तै यस्तै किताब । यस्ता धेरै मानिस छन् जसले किताबको मद्दतबाट योग सिक्ने प्रयास गरिरहेका छन् । जसले नोक्सानी मात्र पुर्‍याइरहेको हुन्छ ।

किनभने, योगका आसन निकै सूक्ष्म र जटिल हुन्छन् । जुन गुरुको निगरानीमा मात्र गर्न सम्भव छ । नत्र ठूलो दुःखद घटना निम्त्याउन सक्छ । किताबले तपाईंलाई योग सिक्न प्रेरणा त प्रदान गर्छ तर कुनै किताबले पनि योगचाहिँ सिकाउँदैन ।

योग भनेको शरीरलाई तोडमोड गरेर असाधारण आसन वा आकार दिनु हो ।
यथार्थ : संसारका अधिकांश मानिस योगको आसनमा बस्ने गर्छन् । योग विज्ञानले जीवनसँग जोडिएका प्रायः सबै कुरा बाहिर ल्याएको छ । तर, योग विज्ञानमा आसनलाई त्यति महत्व दिइएको छैन । दुई सयभन्दा बढी योग सूत्र एउटै आसनमा गरिन्छ । कुरा यत्ति हो कि अहिले विश्वमा अर्कै कुरालाई महव दिइएको छ ।

आज दुनियाँ कुन बाटोमा जाँदै छ, संसारका मानिसको जीवनको गति कुन हो, त्यसैअनुरूप आत्मा पनि अगाडि बढ्ने गर्छ । जब कि हामीले यस्तो दिशालाई घुमाउन चाहन्छौँ । वास्तविकता यो हो कि जबसम्म तपाईंं श्वासमा जीवनको महसुस गर्नुहुन्न तबसम्म यो जीवन्त क्रियाकलाप बन्न पाउँदैन ।

त्यसैले योगका लागि गुरुको आवश्यकता छ भन्ने परम्परा बसाइएको छ । जसकारण योग जीवन्त बनोस् । योग नियमसंगत तरिकाले गर्ने हो भने निकै सूक्ष्म छ । यसले अर्कै धरातलमा लिएर जान्छ । योग भनेको तपाईंंलाई प्रकृतिको एक उचाइसम्म पुर्‍याउनु हो । हरेक मुद्रा, श्वास यही उद्देश्यमा केन्द्रित हुन्छ ।

सिक्स प्याक बनाउनका लागि योग सबैभन्दा उत्तम उपाय हो । 
यथार्थ : यदि तपाईंं शारीरिक तन्दुरुस्तीलाई सिक्स प्याक ठान्नुहुन्छ भने टेबलटेनिस खेल्नुस् या पहाडमा कुद्नुस् । योग कुनै व्यायाम वा कसरत होइन, यसका अरू थुप्रै उद्देश्य छन् । योगले तपाईंंलाई पक्कै पनि शारीरिक रूपमा स्वस्थ राख्छ । तर, सिक्स प्याक बनाउनचाहिँ मद्दत गर्दैन ।

यदि तपाईंं शरीरमा भएको क्यालोरी कम गर्न वा दुब्लाउन योग गरिरहनुभएको छ भने पनि गलत गर्दै हुनुहुन्छ । किनकि योगमा यस्ता कुनै प्रश्न उठ्दैनन् । दुब्लाउनका लागि तपाईंं जिम जान सक्नुहुन्छ । योग त निकै आराम र शान्तिसँग गरिने क्रियाकलाप हो, न कि व्यायाम । तपाईंं आफ्नो शरीरबारे हर कुरा जान्न चाहनुहुन्छ वा यस ब्रह्माण्डबारे जान्न चाहनुहुन्छ भने योग गर्नुस् ।

शून्यबाट लिएर आजसम्म भएका विकासबारेको जवाफ हाम्रै शरीरमा लेखिएको हुन्छ । जब तपाईंं आसन गर्नुहुन्छ, त्यसपछि त्यस्ता यादको ढोका खुलेर जीवनको अन्तिम सम्भावनातर्फ जानका लागि तयार बनाउँछ ।

पछिल्लो शताब्दीमा मात्र योग विश्वभर फैलिएको हो ।
यथार्थ : आज थुप्रै मानिसले गलत तरिकासँग योगको अभ्यास गरिरहेका छन् । तर, कमसेकम योग शब्द संसारभर फैलिएको चाहिँ छ । यसको प्रचार प्रसारका लागि विश्वमा कुनै आधिकारिक संस्था छैन । तर पनि यो हरेक समयका मानिसले अवलम्बन गरिरहेका छन् । किनकि मानिसलाई योगले योगदान गर्छ ।

यस भ्रमपूर्व एउटा प्रश्नको जवाफ थाहा पाउन जरुरी छ । योगको सुरुवात कहिले भएको हो ? सुरुवातकर्ता को हुन् ? यसको कथा निकै लामो र पुरानो छ । यौगिक संस्कृतिमा शिव भगवान् होइनन्, आदियोगी यानी हुन् । उनले शिवलाई योगसूत्र सिकाएका थिए । तर, योगको बिउ मानिसको मस्तिष्कमा रोपेका चाहिँ शिवले नै हुन् ।

शिवले आफ्नो पहिलो शिक्षा पत्नी पार्वतीलाई दिए । त्यसपछि केदारनाथको कान्ति सरोवर तटबाट सातजना शिष्यलाई दिएका थिए । यो नै विश्वको पहिलो योग कार्यक्रम हो । त्यसको निकै वर्षपछि योगिक विज्ञानको प्रचारको काम सुरु भयो, जतिवेला सात पूर्ण ज्ञानी व्यक्ति तयार भएका थिए । जसलाई सप्त ऋषिको नामबाट चिनिन्छ ।

यी सात ऋषिलाई योगको फरक–फरक आयामबारे सिकाइएको थियो । सबै आयाम योगको मूल स्वरूप थियो । आज पनि योगका ती सात विशिष्ट स्वरूप कायम नै छ । र, ती सात ऋषिलाई विश्वका फरक–फरक ठाउँ एसिया, उत्तर अफ्रिका, दक्षिण अमेरिका, हिमालय क्षेत्रलगायतमा पठाइयो । र, उनीहरूले ब्रह्माण्डमा योगका ज्ञान छरे ।

संगीत श्रवण गर्दै योग गर्नुपर्छ । 
यथार्थ : जब तपाईं आसन गर्नुहुन्छ त्यतिवेला छेउछाउमा कुनै प्रकारका संगीत बज्नु हुँदैन । योग गर्ने समय शरीर, मन, ऊर्जा र अन्तस्करणलाई एकैतर्फ केन्द्रित गर्न आवश्यक हुन्छ । योग श्रद्धा र एकाग्रताका साथ गर्नुपर्छ, न कि संगीत बजाएर । योग केन्द्र या स्टुडियोमा आजको सबैभन्दा ठूलो समस्या यही हो ।

योगबारे सिकाइरहेको समय कुरा गर्न थाल्छन्, जसले मानिसलाई हानि गर्छ ।आसन गर्ने समय कुरा गर्नुहुँदैन भन्ने नियम योगको मात्र होइन । मुद्राको वेला तपाईं कुनै पनि कुरा गर्न सक्नुहुन्न । आसन गर्दा श्वास, मानसिक एकाग्रता वा ऊर्जाको स्थिरतालगायत चिजको आफ्नै महत्व छ । यदि यस्तो समय तपाईं कुरा गर्नुहुन्छ भने सबै परिश्रम नष्ट हुन्छन् ।

जसले गम्भीर असन्तुलनको सिकारसमेत बनाउँछ । यस्ता थुप्रै मानिस छन् जसले गलत तरिकाबाट योगाभ्यास गर्छन्, जुन खतरनाक हो । योगमा मात्र किन संसारमा गरिने सबै मूर्खता खतरनाक नै हुन्छ ।

योगको अभ्यास बिहान वा बेलुकी मात्र गर्नुपर्छ ।
यथार्थ : योग बिहान र बेलुकी मात्र गर्ने अभ्यास होइन । यो त जीवन जिउने खास तरिका हो । बिहान–बेलुका योग र दिउँसो समस्यामा फँस्नु भनेको योग होइन, योगाभ्यास हो । जीवनमा यस्तो कुनै पल हुँदैन जुन योगिक प्रक्रियाभन्दा पर हुन्छ ।

तपाईंको जिन्दगी योग बन्छ भने हरेक काम गर्न सक्नुहुन्छ । यदि तपाईं जीवनबाट योगलाई बाहिर राख्नहुन्छ भने विनाअवरोध कुनै पनि कम गर्न सक्नुहुन्न । मानिसले हरेक काम दुई तरिकाबाट गरेका हुन्छन् । एउटा आफूलाई हरेक बन्धनले बाँधेर या बाँध्नका लागि काम गर्ने र अर्को दुनियाँबाट मुक्त भई या हुनका लागि काम गर्ने ।

यदि तपाईं दुनियाँको बन्धनमा फस्नका लागि काम गर्नुहुन्छ भने त्यो कर्म हो । दुनियाँदारीबाट मुक्त हुने कुराचाहिँ योग ।

-सद्गुरु जग्गी वासुदेव, संस्थापक/इसा फाउन्डेसन  (नयाँ प्रकाशनबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top