२०७७, १४ आश्विन बुधबार

बालश्रम न्यूनीकरणको लागि “खोई अरु वडाका वडाध्यक्ष र जनप्रतिनिधिहरु?”

डबली खबर     असार १९ २०७६ २०:३५



no child labour bidur municipality mayor sanju pandit

विदुर / बालश्रम न्यूनीकरणको लागि आयोजना गरिएको अन्तर्क्रियामा विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेबकुमार पाेखरेलले “खोई अरु वडाका वडाध्यक्ष र जनप्रतिनिधिहरु?” भनेर नगरप्रमुख सञ्जु पण्डितलाई प्रश्न गरेका छन् ।

विदुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरपालिकामा बालश्रम न्यूनीकरणमा सरोकारवालाहरुको भूमिका अन्तर्क्रियामा पाेखरेलले उक्त प्रश्न गरेका हुन् । निर्णायकतहका जनप्रतिनिधिले नगरलाई बालश्रममुक्त गरिने छलफलमा नगरका तेह्रै वडाका सबै वडाध्यक्षलाई पत्राचार गर्दा पनि वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठको मात्र सहभागिता देखेर उक्त प्रश्न गरेका हुन् । उनले नगरमा बालश्रमिकको यकिन तथ्यांक नरहेको हुनाले जालपा मिडिया र सामुदायिक विकास केन्द्रको सहकार्यमा हुने जानकारी दिए ।

बालश्रम न्यूनीकरणमा सरोकारवालाहरुको भूमिका र प्रयासहरुको बारेमा जनप्रतिनिधिलाई जानकारी गराउन उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख सञ्जु पण्डितले बालश्रममुक्त र बालमैत्री नगर बनाउने नगरपालिकाको अभियानलाई सार्थक बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । समृद्ध नगर निर्माणको लागि विदुर नगरपालिका बालश्रममुक्त हुनुपर्ने बताए । उनले नगरमा बालसंरक्षण तथा बालश्रम न्यूनीकरणको लागि प्रत्येक वडास्तरीय तथा विद्यालयमा बाल क्लबको कार्यक्रम संचालनमा ल्याईने बताए ।

कार्यक्रममा बाल कल्याण समितिका सदस्य ईन्द्रबहादुर पण्डितले घरमा सौतेनी व्यवहार, आमा वा बुबाको मृत्यु वा दुवैको मृत्यु भएर बालबालिकाहरु जोखिममा परेको बताए । पण्डितले जिल्लामा भएको बाल कल्याण समितिलाई सक्रिय रुपमा अगाडी बढाउनुपर्ने बताए ।

सहभागीहरुले बालश्रम न्यूनीकरणको लागि घर, समाज, विद्यालयदेखि स्थानीयतहसम्म कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।

सरकारले गत वर्ष असारमा २०८५ सम्म देशभर सबै प्रकारका बालश्रम निवारण गर्ने गरी बालश्रम निवारण राष्ट्रिय गुरुयोजना जारी गरेको थियो । गुरु योजनामा २०७९ सम्ममा निकृष्ट प्रकारको तथा शोषणयुक्त बालश्रम निवारण गर्ने र २०८२ सालसम्ममा सबै किसिमका बालश्रम निवारण गर्ने उल्लेख छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धिनको १३८ बाट परिभाषित बालश्रम तथा महाअभिसन्धिनं.१८२ वाट परिभाषित निकृष्ट प्रकारको तथा शाोषणयुक्त बालश्रम समेतगरी हरेक स्थानका सबै प्रकृतिका बालश्रम र औपचारिक तथा अनौपचारिक क्षेत्रका ५ देखि १७ वर्ष उमेर समूहको बालश्रमलाई यस गुरुयोजनाले लक्षित गरेको छ ।

गुरुयोजनाले पहिचान गरी प्राथमिकताको आधारमा बालश्रमका १७ क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

बालश्रमका १७ क्षेत्र

-घरेलु बालश्रम,
-बालभरिया,
-कृषिबालश्रम,
-लागू पदार्थ सङ्कलन तथा बेचविखन,
-बुनाई बालश्रम,
-ईट्टाभट्टाको बालश्रम,
-खानी क्षेत्रको बालश्रम,
-मनोरञ्जन क्षेत्रको बालश्रम (यौनशोषण समेत),
-यातायातका क्षेत्रको बालश्रम,
-जरी तथा बुट्टाभराई,
-छिमेकी देशमा पलायन भएको बालश्रम,
-यान्त्रिक वा रसायनिक क्षेत्रमा काम गर्ने बालश्रम,
-माग्ने काम गरिरहेका बालश्रम,
-सडक व्यापारमा संलग्न बालश्रम,
-जडिबुटी सङ्कलन गर्ने बालश्रम,
-भौतिक पूर्वाधार क्षेत्रको बालश्रम तथा
-होटेल रेष्टुराँको बालश्रम

गुरुयोजना २०७५ श्रावण १ गतेदेखि लागू भई २०८५ असार मसान्तसम्म कार्यान्यवन गरिने श्रम तथा रोजगार मन्त्रालयले जनाएको थियो ।

बालश्रम निवारणमा ट्रेड युनियनहरुले खासगरी औपचारिक क्षेत्रमा बालश्रम भए नभएको पहिचान गर्ने, बालश्रम भएको भए तत्काल उद्धार र पुर्नस्थापनाका लागि सक्रिय रहने तथा बालश्रममा रहेका परिवारलाई रोजगारी प्रदान गर्न पहल गर्ने जस्ता भूमिका निर्वाह गर्ने गुरुयोजनामा उल्लेख छ ।

बालश्रम निवारण राष्ट्रिय गुरुयोजनाको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top