२०७७, ४ आश्विन आईतवार

वडा कार्यालयको शिलान्यास

डबली खबर     बैशाख २७ २०७६ २२:००



inauguration of belkotgadhi municipality ward 9 nuwakot

बेलकोटगढी / बेलकोटगढी नगरपालिका वडा नं. ९ को वडा कार्यालय भवनको शुक्रवार शिलान्यास गरिएको छ ।

तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण थालिएको चारकोठे भवनको बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले एक कार्यक्रमवीच शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै प्रमुख खनालले धूले सडकका कारण नपाका नागरिकले सास्ती भोग्नु परेको बताउँदै यी सडक विस्तारै सुधार गर्दै लाने योजना नगरपालिकाले अघि बढाएको बताए । उनले यसै वर्ष चार वटा वडा कार्यालय भवनको थालनी भएको बताउँदै आगामी वर्ष नगरपालिकाको भवनसमेत थालिने स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै उपप्रमुख कविता ढुंगानाले वडा कार्यालय भवन निर्माणमा गुणस्तरीयता कायम गर्न स्थानीयको सहयोग आवश्यक भएको बताउँदै निर्माणको रेखदेख र अनुगमनका लागि सबैलाई आग्रह गरिन् । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले विकास निर्माणका काममा स्थानीयको सहभागिता र सहयोग अपरिहार्य भएकाले नपाका योजना निर्माणमा सकारात्मक भूमिका खेल्न आग्रह गरे । वडा नंं ९ का वडा अध्यक्ष बाबुराम गजुरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य शिव देवकोटा, वडा नं. ९ का वडाअध्यक्षका प्रत्यासी रामचन्द्र लामालगायतले मन्तव्य राखेका थिए ।

३५ लाख रुपैयाँको लगानीमा निर्माण हुने चार कोठे भवन आगामी साउन महिनाभित्रै निर्माण सम्पन्न हुने गरी अघि बढाइएको नगरपालिकाले जनाएको छ । भवन निर्माणको लागि नगरपालिकाले ५० लाखको टेण्डर आव्हान गरेकोमा ३५ लाख रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको नपाले जनाएको छ । यस अघि बेलकोटगढीकै वडा नं. १२ को भवन निर्माण गर्नको लागि सिलान्याससमेत सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top