२०७७, १० आश्विन शनिबार

दमकल सेवाविहीन

डबली खबर     कार्तिक २९ २०७५ १६:५५



विदुर / नुवाकोट जिल्ला दमकल सेवाविहीन भएको छ । १२ स्थानीयतह रहेको नुवाकोटमा विदुर नगरपालिकासँग भएको एकमात्र दमकल बिग्रिएपछि जिल्ला नै दमकल सेवाविहीन भएको हो ।

गत आइतबार २५ गते एक सूचना टाँस गरि मर्मत नभएसम्मका लागि दमकल सेवा अवरुद्ध रहेको जनाएको छ । दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटका विदुर नगरपालिका बाहेक कुनै पनि स्थानीयतहसँग दमकल रहेको छैन । अहिलेको हिउँदयाम तथा सुक्खायाममा आगलागी भएमा जिल्लामा ठूलो क्षति पुग्ने देखिएको छ ।

विसं २०५६ मा चीन सरकारबाट अनुदान प्राप्त दमकलको क्लज बिग्रीएको र पुरानो मोडलको भएको कारणले गर्दा चीनबाट नै सामान झिकाउनु पर्ने बाध्यताले गर्दा मर्मतमा ढिलाई हुन गएको दमकल चालक रमेश थापामगरले जानकारी दिनुभयो । यसअघि दमकल बिग्रीएकोबारे सोध्दा नगरप्रमुख संजु पण्डितले घुमाउँरो शैलीमा आफुलाई विस्तृत जानकारी नभएको र सो बारेमा दमकल चालकलाई नैं सोध्न संचारकर्मीलाई आग्रह गर्नुभएको थियो ।

नगरपालिकामा भएको दमकलले नुवाकोटसहित रसुवामा समेत सेवा पु-याउँदै आएको थियो । बढ्दो शहरीकरणको साथै अव्यवस्थित बस्ती बढ्दै गएपछि आगलागीको जोखिम बढ्दै गएको छ । यसअघि गत वर्षपनि दमकलबाट पानी चुहिएर काम गर्न छाडेपछि जिल्ला दमकलविहीन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top