२०७७, १३ आश्विन मंगलवार

जिल्ला अस्पताल सुधारमा सांसदको चासो

डबली खबर     आश्विन २८ २०७५ २०:३५



Trishuli Hospital Nuwakot

विदुर / नुवाकोट जिल्लाकै पूरानो जिल्ला अस्पताल त्रिशुली नुवाकोटसहित रसुवा र धादिङका विरामीहरुको उपचार गर्ने एक मात्र अस्पताल हो । तर, यस अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न नसकेपछि जनप्रतिनिधिहरुले चासो देखाएका छन् ।

आज प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद नारायणप्रसाद खतिवडा र प्रदेशसभा सदस्य केशव पाण्डेसहित पत्रकारहरुको टोलीले जिल्ला अस्पताल नुवाकोटलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहको विषयमा अस्पताल टिमसँग छलफल गरेको छ ।

अस्पताललाई दरवन्दी र व्यवस्थापकीय हिसावमा भरिपूर्ण बनाउने अभियानमा आफू लागेको प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद नारायणप्रसाद खतिवडाले बताउनुभयो । अस्पतालमा डाक्टर तथा अन्य कर्मचारीका लागि अस्थायी आवासको व्यवस्थापनको लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त खतिवडाले गर्नुभयो ।

अस्पतालको विकासको लागि प्रदेशसभाले रणनितिहरु तयार पारिरहेको बताउँदै प्रदेश सरकारले यो अस्पतालको सुधारको लागि जुनसुकै मूल्य पनि चुनाउन तयार रहने प्रदेशसभा सदस्य केशव पाण्डेले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो छलफलका क्रममा अस्पतालका कामु प्रमुख देवकी खतिवडाले अस्पतालमा दरवन्दी अनुसारको डाक्टरहरु नभएको, प्रयोगशालासहित प्राविधिक जनशक्तिको अभावका कारण सेवा प्रवाहमा समस्या आएको धारणा राख्नुभयो । मन्त्रालय तथा विभागले पनि दरवन्दी अनुसारका कर्मचारी नपठाउने र पठाएमा पनि तत्कालै काज सरुवा गर्ने गर्दा सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । त्यस्तै, अस्पतालमा डाक्टरसहित कर्मचारीहरु बस्नै नमान्ने समस्या रहेको बताउँदै यसको रोकथामको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

अस्पतालका स्त्री रोग विशेषज्ञ डा. मधुकर दाहालले अस्पतालमा आउने डाक्टरहरुको लागि आवासगृह नहुँदा डाक्टरहरु नुवाकोट बस्न नचाहने र सरकारले तोकेको न्यूनतम तलबसमेत अपुग भएको बताउनुभयो ।

अस्पतालको सुधारको योजना, जनस्वास्थ्य कार्यालय र मातहतको स्वास्थ्य चौकी सुधारको लागि सरोकारवालाहरुको वृहत छलफल गरी रणनिति बनाउनको लागि दशैं लगत्तै सरोकारवालावीच छलफल समेत गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top