२०७७, १३ आश्विन मंगलवार

लिखुमा सार्वजनिक सुनुवाई: इन्जिनीयरले अधिकांश घरहरु पास गर्न नमानेको गुनासो

डबली खबर     असार ३ २०७५ १३:२३



likhu public sunuwai nuwakot

लिखु/ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको आयोजनामा लिखु गाउँपालिका वडा नं १ अवस्थित ढिकुरेको आयुर्वेद कार्यालयको भवनमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लिखु गाउँपालिकाका अध्यक्ष श्री ध्रुव श्रेष्ठले निर्माण समाग्रीको सवालमा केही लचिलो बन्न प्रसाशनलाई आग्रह गर्नुभयो । साथै स्थानीयतहलाई स्थानीय सरकारको नाम दिइएको भएतापनि गाउँमा सिहंदरबार आएको अनुभूती हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार कार्यालयका प्रतिनीधी उद्धव संजेलले अबको एक महिनाभित्रै कारणसहित सम्पूर्ण गुनासोको सम्बोधन भइसक्ने साथै थप छुट रहेका भुकम्पपिडितको लागी आगामी साउन मसान्तसम्ममा प्राविधिक खटाई पुन:सर्वेक्षण गरिने जानकारी दिनुभयो ।

त्यसै गरी जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख विदुर खड्काले तेस्रो किस्तामा पास नभएका घरहरुको बिषयमा प्राविधिक अध्ययन गरी सुची बनाएरै लाभग्राहीलाई जानकारी दिने प्रतिबद्धता जनाउनुभयो ।

त्यसैगरी निर्माण सामाग्री अभावको बिषयमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी रामजीप्रसाद लम्सालले सर्वोच्च अदालतकै आदेशमा नदीजन्य पदार्थहरु उत्खननमा रोक लगाइएको हुँदा अन्य विकल्पहरु खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा केही सहभागीले लिखु गाउँपालिकामा तेस्रो किस्ता बापतको रकम सिफारीसमा ढिलाइ हुनुका साथै अधिकांश घरहरु इन्जिनीयरले पास गर्न नमानेको भनि गुनासो राखेका थिए ।

भुकम्पपछिको पुर्न:निर्माणका बिषयमा केन्द्रित रहेको उक्त कार्यक्रममा अधिकांश सहभागीले गुनासो सम्बोधनमा भएको ढिलाईसुस्ती र लाभग्राहीमा छुटेका भूकम्पपिडितको अवस्थाबारे सहभागीहरुले जिज्ञासा राखेका थिए । त्यसैगरी एकैघरमा बस्दै आएका धेरै घरपरिवारको लाभग्राहीमा आएको तर वास्तविक पिडितहरु अझै पनि टहरामुनि बाँस बस्न बाध्य रहेकोमा यथार्थ छानबिन गरी वास्तविक पिडितलाई राहत दिनुपर्ने भनि सहभागीहरुले माग गरेका गरेका थिए ।

कार्यक्रममा मापदण्ड अगाडी नै बनेको घरको सवालमा पुर्न:निर्माण प्राधिकरणलाई लचिलो बन्न  केहि सहभागीले आग्रह समेत गरेका थिए । त्यस्तै बैकले राहत बापतको रकम दिन ढिलाई गरेको बिषयमा स्थानिय जनप्रतिनीधीहरुले ध्यानाकर्षण गराएका थिए । त्यसै गरी केही सहभागीले निर्माण सामाग्री अभावले पुर्न:निर्माणको कामले गति लिन नसकेको भनि गुनासो समेत व्यक्त गरेका थिए ।

भुकम्पबाट क्षतिग्रस्त भएको ढिकुरेस्थित वि.सं. १९६९ मा निर्मित दुईवटा ऐतिहासिक पाटीमा सरोकारवाल निकायको ध्यान नपुगेको हुनाले त्यसलाई पुर्न:निर्माण गरिनुपर्ने भनि सहभागी लिखु गाउँपालिका वडा नं. ३ का स्थानीय डिल्लीप्रसाद ढकालले ध्यानाकर्षण गर्नुभयो ।

लिखु गाउँपालिकासँगको समन्वयमा सार्वजनिक सुनुवाई आयोजना गरिएको ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल, नुवाकोटका शाखा प्रमुख दिपेश घिमिरेले बताउनुभयो ।

कार्यक्रमकमा लिखु गाउँपालिकाका वडाध्यक्षहरु, वडा सदस्यहरु, जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रतिनिधी, अनुदान व्यवस्थापन  तथा स्थानिय पुर्वाधारका प्रतिनिधी, राजनितीक दलका प्रतिनिधी, नागरिक समाज लगायतका सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top