बेलकोट गढी नुवाकोट जिल्लाको साविकको बेलकोट गाविस हाल बेलकोटगढी नगरपालिका–१० मा अवस्थित ऐतिहासिक महत्त्वको स्थान हो । नेपाल एकीकरणका पीता मानिने तत्कालिन श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानको क्रममा नुवाकोट आक्रमणका लागि बेलकोट गढी निर्माण गरेका थिए ।
राजा पृथ्वीनारायण शाहको नेतृत्वमा सेना नायक कालु पाण्डेद्वारा बन्दी बनाइएका जयन्त रानालाई छाला काढेर (प्राचीन नेपाल, माघ २०२९ः४) नुनचुक लगाई पशु बलि हाने झैं हानी मारेपछि, जुन ठाउँमा मारेको हो, सोही ठाउँमा जयन्त रानाको शरीरलाई गाडी उनकै सम्झनामा मौलो स्थापना गरी पूजाआजाका साथै वली चढाउने प्रचलन आजसम्म पनि यथावत नै रहेको छ ।
मौलो गाडी वली चढाउने चलन नभएसम्म कोट गणना हुँदैन । ८ मीटर चौडाई झण्डै २० मीटर लम्बाई तथा १२-१५ फिट गहिराई ओगटेको यो पोखरीको बीच भागमा मौलो समेत गाडिएको थियो (बेलकोटगढी मीमांसा, २०८०) । मौलोको गजुरमा भने बुट्टा काटिएको र देवीदेवताको मूर्ति पनि कुँदिएको पाइन्थ्यो । यस पोखरी छेउछाउ ठूला रुखहरुले ढाकिएको थियो । त्यसमा पनि केही रुखहरु पोखरीतर्फ नै निहुरीएका देखिन्थे । यसलाई मानिसहरु देउती बज्यैलाई दर्शन गरेको सम्झन्थे ।

विजया दशमीमा सोही काठको मौलोमा नियमित वली चढाइन्छ । दसैंको आठौँ दिन अष्टमी वा कालरात्रीको दिन चामलको रेखि हाली देवदेवीको चित्रकोरी विधिपूजा गरिन्छ र वलीदिने काम गरिन्छ । अग्नी कुण्डमा चरुहोम हवन गरि सकेपछि राँगा, बोका, कुखुरा, कुभिन्डो र घिरौंला काटिन्छ । काटिएका वा वली चढाइएका राँगा, बोका, सफा गर्न नभ्याएका कारण कोतघरको दायाँ छेउमा रहिरहने तर त्यसै रातको बाह्र बजेतिर एउटा बाग देखा पर्ने र काटेको राँगाको गर्धनबाट दुई केजी जति मासु लैजाने गरेको कुरा उखानको रुपमा अझै रहिआएको पाइन्छ ।
हालको मौलो गाडेको ठाउँमा बन्दक बनाइएका जयन्त रानालाई छालाकाडी, नुनचुक लगाई, इच्छामरण सोधी मारहानी काटेर गाडेको हुँदा उनको आत्मा राती आउने गरेको भनाई रहि आएको छ । सो घटना जमरा पालकले आजभन्दा सय वर्ष अगाडि प्रत्यक्ष देख्ने गरेको उपासे मानबहादुर रानाको भनाई छ । हाल यो भनाइ किंबदन्तिमा मात्र सिमित देखिन्छ ।
प्रतिक्रिया