२०८१, १४ बैशाख शुक्रबार

दशैं विदाका लागि यी नुवाकोटका १० गन्तव्य

सुनील श्रेष्ठ     कार्तिक ४ २०८० ०७:४७


d-siltanky machhapokhari bidur nuwakot
विदुर नगरपालिकाको बिजुरामा रहेको सिलट्यांकीमा निर्माणाधीन जलविहार क्षेत्र | फोटो: विनोद खनाल

विदुर – यस वर्षको उत्साह र उमंगको पर्व ‘दशैं’ सबैको घरघरमा भित्रिन थालिसकेको छ । स्थानीय गन्तव्यहरुको विकासले दशैंमा काम विशेष जिल्लाबाहिर वा विदेशबाट घर आउँदा निकै फरक पाउनु हुनेछ । विदामा घुम्ने योजना बनाउँदै हुनुहुन्छ छ भने आफ्नै जिल्लामा घुम्ने रमणीयस्थलहरु अहिले बढ्दै गएको छ । दशैंमा पनि तपाइँ वा तपाइँको परिवार कहाँ घुम्न जाने भनेर योजना बनाउँदै हुनुहुन्छ होला ? हामीले नुवाकोट उद्योग वाणिज्य संघले प्रकाशन गरेको नुवाकोट महोत्सव स्मारिका र सामाजिक सञ्जाल “समृद्ध नुवाकोट” को सहयोगमा दशैंमा घुम्नका लागि उपयुक्त हुनसक्ने केही गन्तव्यका बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

विदुर नगर क्षेत्र

नुवाकोट जिल्लाको सदरमुकाम विदुर नगर क्षेत्र ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थल क्षेत्रहरु अहिले सबै मौसम र सबै लागि सदाबहार गन्तव्यका रुपमा स्थापित छ । नुवाकोट दरबार परिसर, भैरवी मन्दिर, धामी धमिनी गृह, जमरा घर, अशोकबाटिका र निर्माणाधीन नुवाकोट स्वयम्भु महाचैत्य प्रमुख आकर्षक गन्तव्य रहेको छ । धार्मिकरुपमा नेपालकै लामो जात्राको रुपमा रहेको सिन्दुरे जात्रा पदमार्गका ऐतिहासिक तथा धार्मिक कुवा, पाटी, विश्रामस्थल, मन्दिर, पार्क गन्तव्य हुनसक्छ । पर्यटकीय क्षेत्रमा विदुर सिमचौरको गणतान्त्रिक स्मारक पार्क, कुमलटारको लभडाँडा र बिजुराको डिसिलट्यांकीमा निर्माणाधीन जलविहार पछिल्लोसमय आन्तरिक पर्यटकको लागि रोजाई ठाउँ बनेको छ । डिसिलट्यांकी (गुगल कोड: W5R4+HJ, Bidur 44900) जहाँ विदुर नगरपालिकाले गुरुयोजना अन्तर्गत जलविहारको लागि कार्य गर्दैछ ।

यस्तै, नुवाकोट र रसुवाको संगमस्थल बेत्रावती, त्रिशुलीको राममन्दिर, सुगतपुर विहार र ढुंगेको कर्म देन्छेलिङ गुम्बा र भैरमकोटको गढी मन्दिर क्षेत्र रहेको छ । ऐतिहासिक र धार्मिकमा देवीघाटको जालपादेवी मन्दिर, पृथ्वीनारायण स्मारक पार्क र चारघरेको सिरानमा ढिकीजाँतो गन्तव्य रहेको छ । गङ्गटेको पिस एण्ड चिल्ड्रेन पार्क परिवारको लागि उचित गन्तव्य छ । जसबाट तादी खोला, फाँटहरुको रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।

विदुर नगरपालिकाको २ नम्बर नुवाकोटमा रहेको साहासिक खेल जीपलाइन पनि खेल्न सकिन्छ । आकर्षक छुट समेत दिईरहेको खेलका लागि नुवाकोट दरबार एण्ड एडभेन्चर्समा आफ्नो समयअनुसार प्याकेज बनाउन उपयुक्त हुन्छ । नगर क्षेत्रमा अहिले स्तरीय होटलहरुले उच्चस्तरीय बास र खानाको साथै भाडामा सवारीसाधन सेवा उपलब्ध गराएको छ । जसले दशैं विदा आनन्दीय बनाउने छ । विदुर नगर क्षेत्रकालागि आफ्नो समयअनुसार २ दिन १ रातसम्मको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

वनदेवी मन्दिर

विदुर नगरपालिका वडा नं. २ मा रहेको वनदेवी मन्दिर धार्मिक एवं पर्यटकिय स्थल हो । परापूर्वकालदेखि विदुरको शिरमा विराजमान भएपछि भौतिक रुपमा अवस्थित मन्दिरले नयाँ रुप लिएको छ । विदुरचोकबाट दुई किलोमिटर सडक मार्गबाट पुग्न सकिने खानेपानी र बिजुलीको सुविधा भएको वनदेवी मन्दिर क्षेत्र पछिल्लोसमय ‘पिकनिक स्पोट’को रुपमा विकास भएको छ । परापूर्वकालमा गाईजात्राको लाखे मरेपछि पनि वनदेवी माताले पुर्नजीवित गराएर नचाएको जनश्रुती चल्दै आएको छ । मृत लाखेलाई पुनः जिवित बनाउ सक्ने शक्ति रहेको देवीको रुपमा वनदेवीलाई लिने गरिएको छ । २०७२ सालको महाभूकम्पले ज्यान गुमाएकाहरुको सम्झनामा स्मारक पार्क समेत निर्माण भएको छ । यस क्षेत्रमा जङ्गली जनावर र पंक्षीहरु देख्न सक्ने अवसर पाईन्छ ।

घ्याङस्वारा पार्क

पञ्चकन्या गाउँपालिकाले निर्माण गरेको घ्याङस्वारा पार्क

दशैं बिदामा घुम्नजाने अर्को उपयुक्त ठाउँ पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वारा (गुगल कोड: V9R2+R3, Thaprek 44900) रहेको छ । होमस्टेसहितको पर्यटकीय पार्क नयाँ गन्तव्यस्थल बन्दैछ । कुल १५० रोपनी जग्गा क्षेत्रफलमा फैलिएको सोपार्क हुँदै सिरानमा रहेको भुमेस्थान सिद्दीगणेश मन्दिर पुग्न सकिन्छ । पार्क जनयुद्धमा ज्यान गुमाएकाको स्मारकपार्क, चिया बगान, खेल्नमैदानलगायत प्रमुख आकर्षण रहेको छ । घ्याङस्वाराकालागि आफ्नो समयअनुसार २ दिन १ रातसम्मको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

बाघमारा

मनोरम दृश्य, पिकनिक तथा चिसो हावापानीका लागि प्रसिद्ध बाघमारा तादी गाउँपालिकाको वडा नं. ४ र २ मा पर्दछ । बाघमाराबाट नुवाकोट जिल्लाको आधाभन्दा बढी भु-भाग नजिकैबाट अवलोकन गरेको अनुभुती गर्न सकिने क्षेत्रमा छिमेकी गाउँपालिका तथा काठमाडौंबाट घुम्न, हेर्न र पिकनिकका लागि पर्यटकरु आउने गरेका छन् । त्यस्तै, तादी गाउँपालिकाकै वडा नं. ५ र ६ मा रहेको धार्मिक, ऐतिहासिक र पर्यटकिय स्थल बच्छलादेवी मन्दिर र मन्दिर परिसर पनि प्रसिद्ध छ । दृष्यावलोकन, धर्मसंस्कृति र परम्पराका दृष्टिले तथा चिसो र स्वच्छ हावापानीको अनुभुत गर्नका लागि यो स्थान अत्यान्तै प्रख्यात छ । नेपालीहरुको महान चाड बडादशैंमा विशेष मेला लाग्ने यहाँको शक्तिपिठ बच्छलादेवीलाई शक्तिका उपासकहरुले विशेष पुजा आराधना गर्दै आएका छन् । दशैंमा यहाँ जमरा राखेपछि मात्रै घरघरमा जमरा राख्ने चलन परापुर्वकालदेखि चल्दै आएको छ ।

दुप्चेश्वर महादेव मन्दिर

धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको दुप्चेश्वर महादेव मन्दिर सदरमुकाम विदुरबाट करिब ४० किलोमिटरको उत्तर पूर्वमा पर्दछ। यस मन्दिरमा दर्शन गरेपछि निसन्तानलाई सन्तान प्राप्ति हुने विश्वासका साथ बढी चर्चित भएको जानकारहरु बताउँछन। हरेक वर्ष मङ्सिर पूर्णिमाको दिन विशाल मेला लाग्ने गर्दछ। यो ठाउँमा रातभर जाग्राम बसेर बत्ती बालेर भोलिपल्ट पुजाआजा गर्ने चलन रही आएको छ। मन्दिर दर्शनको लागि १ दिनको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

चिम्टेश्वर क्षेत्र

धार्मिक एवं पर्यटकीयस्थल चिम्टेश्वर क्षेत्र बेलकोटगढी नगरपालिकामा छ । महादेवले कालकुट विष सेवन गरी घुम्दै हिँड्दा सो स्थानमा चिम्टा बिर्सिएकोले यस महादेवका नाम चिम्टेश्वर रहन गएको किम्बदन्ती छ। शिवलिङ्ग चिरिएर रहेकोले यस महादेवलाई चिर्केश्वर महादेव पनि भनिन्छ। यो क्षेत्रमा महाशिवरात्री, तीजलगायतको समयमा ठूलो मेला लाग्ने गर्दछ। बेलकोटगढी नगरपालिकाले यस क्षेत्रमा गुरुयोजना अन्तर्गत भ्युटावर, मन्दिर, पार्कहरु निर्माण गर्दै छ । चिम्टेश्वरका लागि १ दिनको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

गुफा

पञ्चकन्या गाउँपालिका र लिखु गाउँपालिकाका गुफाहरु पर्यटकका लागि प्रख्यात र आकर्षक रहेको छ । पञ्चकन्या गाउँपालिकामा रहेको गुफाको नाम चमेरेगुफा रहेको छ । देवघाटमा तपश्यारत गलेश्वरबाबा विक्रम संवत १९९५ मा यहाँको कपिलेश्वरमा तीन महिना बसेका थिए । त्यस समयमा यस यही गुफाको उत्तर मोहोडाबाट पसेर दक्षिण मोहडा अहिलेको ब्रम्हेश्वर मन्दिर नजिकै यही गुफाबाट उनी निस्किएको इतिहास छ । यही गुफालाई चमेरो गुफा भनेर चिनिँदै आएको छ ।

परापुर्वकालमै पहिचान भइसकेको यो गुफा आकारका हिसाबले अत्यान्तै ठूलो र फराकिलो छ । मुख फराकिलो रहेको यो गुफाको करिव एक सय मिटर भित्रसम्म बाहिरकै प्रकाश पुग्ने गरेको छ । बाहिरबाटै यो गुफाको लम्वाई करिव दुई किलोमिटर रहेको अनुमान गरिएको छ । पञ्चकन्या गाउँपालिकाको वडा नं. १ मा पर्ने यो गुफाको दुई वटा मुख मध्ये पहिलो मुख कल्छे र दोश्रो मुख आपचौर माथिको जंगलमा रहेको छ । यो गुफा कपिलेश्वर र नाट्यश्वी रहेको पहाडको भित्रभित्रै छ । त्यस्तै पञ्चकन्या गाउँपालिकाको घलेभञ्याङ्ग, घ्याङस्वारा, टोड्केभञ्याङ पर्यटकका लागि मनमोहक स्थानहरु हुन् । लिखु गाउँपालिका वडा नं. ३ मा रहेको गुफा अर्को आकर्षणको रुपमा रहेको छ । स्थानीयहरुले १० वर्ष अघि पत्ता लगाएको गुफा भित्र महादेवको मुर्ती र देविदेवताको अनेकौं आकृतिहरु आफै उत्पति भएका छन् । नुवाकोटका गुफा भ्रमणकालागि आफ्नो समयअनुसार २ दिन १ रातसम्मको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

फिर्केपकोट

नुवाकोट जिल्लाको नामाकरण भएको नौं वटा कोटहरु मध्येको एक अभ्यस्त रहेको फिर्केपकोटको ईतिहास र महत्व सामान्य छैन । नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहाले आफ्नो सेना लुकाएको र रणनीतिक योजनाहरु तय भएको ठाउँ मध्ये यो पनि एउटा हो । नुवाकोट माथिको आक्रमणमा अघिल्लोपटक पराजय ब्यहोरेका शाहले यस स्थानलाई प्रयोग गर्दा विजयी भएको ऐतिहासिक तथ्य र सामरिक महत्व रहेको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा दैविक शक्ति आर्जन गर्नका लागि स्थापना गरेका भुमेस्थान यहाँ अहिलेपनि अवस्थित छ । यो मन्दिरलाई यहाँका समुदायले उत्तिकै आस्था, प्राथमिकता र श्रद्धाका साथ पुज्दै आएका छन् । दैविकशक्ति प्राप्त गर्नका लागि, गाउँघरमा फैलने रोगब्याध हटाउनका लागी, खडेरीमा पानी माग्नका लागि स्थानीयहरुले यहाँ पुजाअर्चन गर्ने गरेका छन् । फिर्केपकोटमा पुर्ण रुपमा मगर समुदायको बसोवास छ । राज्य एकीककरणका क्रममा पृथ्वीनारायण शाहासंगै गोरखाबाट आएका मगरहरु स्थायी रुपमा आजसम्म यस कोट र वरपर बसोवास गरिरहेका छन् । फिर्केपकोटका लागि १ दिनको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

किस्पाङ गुम्बा

हाल घुम्न जाने आन्तरिक तथा विदेशी पर्यटकको लागि उपयुक्त रोजाईको किस्पाङ गाउँपालिका-३ मा रहेको प्रसिद्ध किस्पाङ गुम्बा पर्यटकीय र धार्मिक क्षेत्रको रुपमा स्थापित छ । गुम्बा नजिक रहेको पोखरी आसपासका क्षेत्र वनभोज (पिकनिक) र मनोरञ्जन गर्न सकिन्छ । किस्पाङ गुम्बाका लागि १ दिनको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

टुँडीपोखरी

म्यागङ गाउँपालिका वडा नम्बर ३ र ६ को सङ्गमस्थल टुँडीमा टुँडीपोखरी छ । खुल्ला चउरमा पोखरी रहेको छ । नेपाल एकीकरणको समयमा नुवाकोटमाथी आक्रमण गर्न आएका पृथ्वीनारायण शाहसहित उनको फौजले खनेको इनारलाई बीच बनाई यो पोखरी निर्माण गरिएको हो । यहाँ जानको लागि यातायातको मार्ग केही कठिन भएतापनि घुम्न जाने पर्यटनको रोजाईमध्ये पर्ने यो पनि एउटा गन्तब्य हो । टुँडीपोखरीका लागि १ दिनको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

नुवाकोटका ऐतिहासिक, पर्यटकीय तथा साँस्कृतिक स्थलहरुको अवलोकन गर्दै ट्रेकिङ दिनहरुलाई लम्ब्याउन पनि सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top