नेपाली साहित्यमा गजल ज्यादै लोकप्रिय मानिन्छ । कविता, गीत र मुक्तक जस्तै गजल पनि साहित्यमा ज्यादै रुचाइएको र लोकप्रिय सिर्जना हो । तर नेपाली साहित्यमा गजल विधाको शुरुवातलाई हेर्दा गजलले लामो समय व्यतित गरिसकेको छ । नेपाली साहित्यमा गजल विधालाई भित्र्याउने श्रेय मोतिराम भट्टलाई जान्छ । त्यसैले नेपाली गजलको प्रथम चरणका केन्द्रीय प्रतिभा मोतीराम भट्ट नै हुन् भनिन्छ । आदिकालीन इतिहासलाई कोट्याउँदा मोतीराम भट्टभन्दा पहिले पनि नेपाली भाषामा गजल भेटिएको बताइन्छ तर स्पष्ट रुपमा मोतीराम भट्टलाई नै नेपाली गजलका प्रवर्तक मानिन्छ ।
विक्रमको १९४० तिर मोतीराम भट्टले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजललाई भित्र्याएका थिए । फारसी भाषाका बहरमा लेखिएका गजललाई नेपाली भाषामा पनि सोही फारसी छन्दको प्रयोग गरेर मोतीरामले गजल लेखेको पाइन्छ । नेपालका दरबारमा पनि भारतबाट गजलगायकहरू झिकाएर गजल सुन्ने परम्पराबाट मोतीराम सानै उमेरदेखि नै गजल लेखनप्रति झुकाव राखेका थिए ।
गजलको जन्म ईसाको दशौं शताब्दीमा इरानमा भएको मानिन्छ । गजलको उद्गम विन्दू मध्यपूर्व एसियाको जरा अरबी र फारसी भाषासम्म जोडिएको छ । गजलको मूल स्रोत इस्लामपूर्वको अरबी भाषा हो । तर ‘गजल’ शीर्षकमै अरबीमा भने कुनै साहित्यिक विधा भेटिएको पाईदैन । अरबी भाषाको ‘कसीदस्रकसीदा’ नामक काव्यविधा गजलको पैत्रिक थलो हो भन्ने केही समीक्षकहरुको ठम्याई छ । बादशाह र नबाबहरूको प्रशंशामा रचिने स्तुतिगान प्रकृतिको कसीदामा भूमिकाको रूपमा अग्रभागमा रहने ‘तश्बीबरनसीब’ नै इसाको दशौं शताब्दीको मध्यतिर फारसीमा गजलको रूपमा विकसित भएको मानिन्छ ।
गजलमा सामान्यतया ५ देखि १२ शेरसम्म रहने गरेका छन् । छोटो, प्रभावकारी र अपेक्षाकृत विस्तृत विषयवस्तु समेटिने हुनाले इरानमा गजलले सर्वाधिक लोकप्रिय विधाका रूपमा कसीदालाई विस्थापित गरेको देखिन्छ । इरानी कवि ‘रौदकी’लाई गजलको जन्मदाता मानिन्छ । उनी दृष्टिविहीन कवि थिए । अरबी भाषाको शब्द जसको आज विश्व साहित्यमा उल्लासमय तबरले गुणगान गायिएको छ । करुणा, छटपटी, रतिराग, बेचैनी र आहत मनको स्वरतर्फ गजलको शाब्दिक अर्थले इङ्गित गर्छ । यसको व्यापकता दिनानुदिन बढ्दै गएको पाइन्छ । गजलको आफ्नो छुट्टै संरचनागत परिवेश छ । त्यसैले पनि हिजोआज गजल एउटा सर्वप्रधान एवम् लोकप्रिय विधा बनिसकेको छ ।
गजलको बढ्दो लोकप्रियतासँगै यस क्षेत्रमा राम्रो सम्भावना बोकेका सकृय सर्जकहरुको उदयले पनि गजललाई थप परिष्कृत गर्दै लगेको छ । शुरुवाती कालका मोतिराम भट्टदेखि, भीमनीधि तिवारी, उपेन्द्रबहादुर ‘जिगर’ हुँदै सम्भावना बोकेका गजल सर्जकहरुले नेपाली गजललाई विस्तार गर्दै गए । वर्तमानसम्म पनि नेपाली साहित्यमा गजल सङ्ग्रह र गजल सर्जकको सम्भावना बोकेका सर्जकहरुको सकृय उपस्थिति बढिरहेको छ । यसै सन्दर्भमा बुद्धिसागर चपाईं नेपाली गजल सिर्जनामा बलियो सम्भावना बोकेका सर्जकको रुपमा देखा परेका छन् । चपाई एक युवा प्रतिभाशाली कवि एवम् गजलकार हुन् । उनको जन्म विं.सं २०३८ जेठ २० गते भएको हो । काव्य एवम् गजल रचनामा करिव दुई दशक भन्दा बढी समय बिताइसकेका चपाईले गजल र कविता सिर्जनामा विशेष सक्रियता देखाएका छन् । थुप्रै पत्रपत्रिकाहरुमा चपाईका रचनाहरु प्रकाशित भइरहेका पाइन्छन् भने विद्युतीय सञ्चारमाध्यमबाट उनका सिर्जनाहरु वाचन भएका छन् । सरल र सहजै बुझ्न सकिने शब्द र शैलीलाई प्रयोग गरेर कविता तथा गजललाई प्रस्तुत गर्न सक्ने उनको क्षमता देखिन्छ । यस्तै सामाजिक प्रवृत्ति र परिवेशका विषयवस्तु उनका रचनामा कतै न कतै समाविष्ट भएका हुन्छन् । उनै प्रतिभाशाली युवा कवि एवम् गजलकार बुद्धिसागर चपाईंद्वारा रचित गजल सङ्ग्रह ‘रारा जलेपछि’ एक चर्चित र उत्कृष्ट गजल सङ्ग्रह हो । ‘रारा जलेपछि’ गजल सङ्ग्रह वि.सं २०६१ मा नेपाल पेरोल साहित्य समाजका लागि कवि वैरागी जेठाले प्रकाशनमा ल्याएका हुन् ।
रारा जलेपछि गजल सङ्ग्रह भित्रका गजलहरु ग्रामीण परिवेशमा उदाएका भेटिन्छन् । सामाजिक प्रवृत्तिप्रतिको आलोचना, व्यंग्य र दुरदराजका ग्रामीण वस्तीका दु:ख पिडा पनि गजलले बोलेको छ । विसंगति र विकृतिका असहमतिका भावनाहरु देखिन्छ ।
अलिअलि नमरेको रात छैन आमा
गाउँतिर आजभोलि भात छैन आमा,
हटेरुका सपना ती मुग्लानतिर बगे
पानीको यो लहरमा मत छैन आमा,
रोएकै छन् आँखाहरु तड्पेकै छन् छाती
आँगनीमा खुसीको प्रभात छैन आमा,
सुखसयल, यसआरामा खोज्छन् – सबैजनाले । स्वार्थका लागि आँखा चिम्लेर सत्यलाई परसारी उज्यालो चुम्न खोज्न आतुर मनहरू आफैदेखि डराउछन् हरपल । सत्यलाई धाकछोप गर्न आफैलाई बन्दक राखी लागी पर्छन् सधैंजसो । खराब नियतका प्रमाणहरू जवरजस्त छायापार्दा नियम कानुन डगमग्याई निर्दोषहरूको न्याय मरेको बेला आफैलाई बुद्व सम्झन बिवस छन् मनहरू । गजलकार चपाइले समाजमा देखिएका निरीहतालाई यसरी गजलमार्फत अभिब्यक्त गर्न खोजेका छन्:
आस्थाको त्यो टहकिलो घाम कहाँ होला
शान्ति बिना बुद्वको नै नाम कहाँ होला,
००
तमसुकमा कैद हुन्छ गाउँतिर भाग्य
सहरको कानुनको काम, कहाँ होला,
जिन्दगी एकदम गम्भीर छ । जीवनको अर्थ बुझ्नुपर्छ । स्वार्थको मूर्तरूप खोज्दा खोज्दै समस्या नै बदलिन्छ । जिन्दगी कसले बनायो । सुरूवात कसले ग¥यो । आफ्नो स्वार्थ पुरा गर्नका लागि अर्कालाई चोट पु¥याउनु पर्ने हुन्छ । जिन्दगी बुझ्नेहरूले सुखदःुखलाई आत्मसाथ गर्छन् । जिन्दगीको अर्थ नबुझ्नेहरू आफैलाई बिर्सछन् । सफल र असफलको दोधारे जिन्दगी कसैलाई स्वीकार्य छ भने कसैलाई तिरस्कृत । जिन्दगीको लक्ष्य आफैले निर्धारण गर्नुपर्छ । जिन्दगीको बारेमा गहिरो रूपमा सोचविचार गर्न सकेमा मात्र सफलता पाइन्छ । ब्यस्त र तनावमूक्त जिन्दगीले भबिष्य नै भाताभुङ्ग पार्दछ । जिन्दगीको परिभाषा:
किन भइस् गाह्रो भीर ए जिन्दगी
भत्किएको त्यो मन्दिर ए जिन्दगी,
किन रून्छस् सुनसान पथमा त‘
मुटुमाथि रोपी झीर ए जिन्दगी,
साहसी पो थिए तेरा पुर्खाहरू
झुक्यो किन तेरा शिर ए जिन्दगी,
राजनैतिक अवस्थाका कारणले नेपाली युवाहरू विदेशीनु बाध्य भएका छन् । बिशेषत: उद्योग धन्दा कलकारखानाको विकाश नहुनाले नै विदेशीनु मुख्य कारण हुन् । लामो समय आफ्नो घरपरिवारदेखि टाढा रही बचाएको सपना पुरा गर्न सङ्गालेको अनुभूति:
नसम्झ है ! परदेशबाट खाली आएको छु
सिउ‘दोलाई सिन्दूर संगाली आएको छ,
तुलसी त्यो आँगनीको अध्ँयारो मै रोयो
अघिपछि तारा जून बाली आएको छु,
००
इतिहासमा लेखिएला मीठा मिलन यो
आकाशतिर धर्ती म उचाली आएको छु,
नेपालको सीमा पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म पु¥याउन वीरविरङ्गनाको अथक प्रयास सह्रानीय छ । तीमध्ये अमरसिंह थापा र वीरभद्र कुँवरलाई स्मरण गर्न योग्य पात्र हुन् । अमरसिंहले देशको स्वाधिनता कायम राख्न विभिन्न जिल्लामा गई लडाई गरेर नै शत्रुहरूलाई रोक्ने काम गरे । त्यस्तै वीरभद्रले नालापानीको किल्लामा अङ्ग्रेजका सेनासँग कप्तानको जिम्मेवारी अनुसार लडाई लडें । राष्ट्रप्रेमको भावना नभएको आज नेपाल भन्ने देश रहदैन थियो । वीरपुर्खाले आज्र्याको मुलुकको गरिमा र पहिचान उच्च रहनु पर्छ भन्ने भाव:
कालो रात छँर्दै छ बिहानी भयो रे
आस्था सबै डढेर खरानी भयो रे,
बिहानीको आसमा कति बगे रगत
सहिदको रगत नि पानी भयो रे,
बलिदानी अमरसिंह बलभद्रको
किताबमा सीमित कहानी भयो रे,
सोच्नु हुन्छ राष्ट्रबारे एक्लै कसरी पो
डलरमा सुत्ने आज बानी भयो रे,
आज मौन सहिदका सारा सपना
मोतिविन्दु लागेको त्यो नानी भयो र,
गजलसङ्ग्रह भित्र दु ःख पिडाका मात्रै नभएर प्रेम, भावना र संवेदनाका भावना पोखिएका जङ्गलहरु पनि थुप्रै छन् । मनभावनाका भावहरुलाई सरल शब्दमा मिठास भरेर लोख्ने चपाईंका खुबी नै हो । प्रेमिल गजलको उदाहरण:
गुराँस त्यो फूलजस्तै अधर बेइमानी
लोलाएर झिमझिम गर्ने नजर बेइमानी,
बिझिदेलान्् पाइतालामा सुनका ती फूल
भएको छ मखमली डगर बेइमानी,
छातीभित्र छचल्किन्छ आज अल्लारे त्यो
मीठो– मीठो यौवनको लहर बेइमानी,
सिउँदोमा सिन्दूरी फूल छरिदिऊँजस्तो
मनभित्र जाग्न थाल्यो रहर बेइमानी,
माया प्रेमका प्रेमील र यी सँगैका वेदनाका गजलहरुका केही उदाहरण भए । रारा जलेपछि गजल सङ्ग्रहमा चपाईका राष्ट्र भावनाका गजलहरु पनि छन् । देशको माया, परदेशीको देश प्रतिको भावना, स्वदेशमा बसेर पनि देश प्रति निभाउनुपर्ने जिम्मेवारी, देशले देशवासीलाई नै नचिन्ने प्रवृत्ति र विषयका कुराहरुलाई गजलको शब्दशैलीमा उनले उतारेका छन् । केही उदाहरणहरु:
अलिकति आस्थाको नि शेष छ कि छैन ?
छामिहेर छातीभित्र देश छ कि छैन ?
दापभित्र बन्द तिनै हाम्रा खुकुरीमा
नालापानीको त्यो अवशेष छ कि छैन ?
०००
उदास बुढीआमाको त्यो गाली उतै छ
बर्खामासमा चुहिने त्यो पाली उतै छ,
बगरझैं उजाड भो मनको सहर
गुराँसको रातोरातो लाली उतै छ,
चौरासी यो व्यञ्जन पो खाउँ कसरी
गुन्द्रुक ढिँडो पस्किने त्यो थाली उतै छ,
हामी बाँचेको समाज रङ्गीन हुनाले दिनप्रति दिन जटिल बन्दै गइरहेकोछ । क्षणिकतामा रमाउने बानी पर्नाले सिदासादा ओझेलमा परेका छन् भने टाठाबाठाहरू उजेलिएका छन् । देखावटी रहन सहनले समाज नै बिखण्डित छ । समाजमा देखिएको बिवृmति र विसंगतिलाई चिरफार गर्ने प्रयास:
बिक्छ यहाँ फूलपाती वरदान पनि बिक्छ
हीरामोतीसँग त त्यो भगवान पनि बिक्छ,
असारझै झर्छन् पैसा धुरीबाट जब
कस्ता –कस्ता पुरूषको सम्मान पनि बिक्छ,
रावणले देखाउँछ लङ्का जब सुनको
लाखौलाख सीताको नै ओछ्यान पनि बिक्छ
देश, काल र समाजका यावत प्रवृत्तिहरुलाई विषय बनाएर चपाईंले गजलमा उतारेका छन् । परिवेश नेपाली ग्रामीण क्षेत्रका कथा धेरै झल्किएका छन् उनका गजलमा । अन्यायका पिडा, विदेशीनुका पिडा, माया प्रेमका र कतै देशप्रेमका कथाहरुलाई गजलमा सुन्दर ढंगबाट उनले प्रस्तुत गरेका छन् । गजलमा विविध भावलाई गजलको लयमा प्रस्तुत गर्न चपाई सफल देखिएका छन् । गजलमा उनले प्रयोग गरेको सरल शब्दहरुको संयोजन पनि तारिफ योग्य छ । सरल, सहज प्रस्तुतीकरले गजलहरु थप रसिला लाग्छन् । तर गजलका भावनामा गम्भीरता लुकेको महसुस् हुन्छ । ग्रामीण जीवनका कारुणिक भावना, विषय र परिवेशलाई समेटिएको पुस्तकको शीर्षक चयन ‘रारा जलेपछि’ गर्नु पनि उपयुक्त देखिन्छ । प्रस्तुत कृतिका गजलहरु एवम् उनका विभिन्न समयमा प्रकाशित प्रसारित गजलहरुलाई नियाल्दा पनि बुद्धिसागर चपाईं एक क्षमतावान र राम्रो सम्भावना बोकेका गजलकार हुन् भन्न सकिन्छ । उनक गजलहरु उत्कृष्ट देखिन्छन् भने उनी स्वयम् पनि नेपाली गजलको क्षेत्रमा एक प्रतिभावान गजलकारको रुपमा अगाडि बढेका स्रष्टा हुन् । उनको सिर्जनाले नेपाली साहित्य अझै बढी सिंचित बनोस् । यही कामना !
प्रतिक्रिया