नेपाली राजनीति र अझ विशेषगरी अर्थ राजनीतिका जानकार डा. प्रकाशचन्द्र लोहनी एक कुशल राजनीतिज्ञ हुनुका साथै सहृदयी कवि पनि हुन् । नेपालको राजनीतिमा एउटा छुट्टै सैद्धान्तिक धार समातेर हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टीका रूपमा चिनिएका डा. लोहनी पञ्चायत कालकै एक सिद्धहस्त नेताका रूपमा परिचित भइसकेका थिए र देशको विभिन्न मन्त्रालयको जिम्मेवारी वहन गरिसकेका थिए । वि.सं २००१ मा काठमाडौंमा पिता वेदप्रसाद लोहनी र माता नारायणी लोहनीको कोखबाट डा. लोहनीको जन्म भएको थियो । पञ्चायतकालदेखि नै राजनीतिक यात्रा थालनी गरेका लोहनीले २०४६ को राजनीतिक परिवर्तनपछि पनि सत्ताको बागडोर सम्हाल्ने अवसर पाएका थिए । पटकपटक जनप्रतिनिधिका रूपमा निर्वाचित डा.लोहनी संविधानसभा सदस्यसमेत रहेका थिए । कुनै बेला नेपालको अर्थ मन्त्रालय सम्हालेका डा. लोहनीले संयुक्त राज्य अमेरिकामा फुलब्राइट कार्यक्रम अन्तर्गत इन्डियाना युनिभर्सिटी एम.बि.ए र यु.सी.एल.ए (University of California Los Angeles, UCLA) बाट विद्यावारिधि गरेका थिए साथै केही समय क्यालिफोर्निया स्टेट युनिभर्सिटी, नोर्थ रिज, क्यालिफोर्नियामा अध्यापनसमेत गरेका थिए ।
अन्तर्राष्ट्रिय क्षेत्रका महत्वपूर्ण मञ्चहरूमा नेपालको प्रतिनिधित्व गरेर आफ्नो बौद्धिक व्यक्तित्वको परिचय स्थापित गरेका डा. लोहनी स्पष्ट, निर्भिक र बौद्धिक वक्ताका रूपमा समेत परिचित छन् । यसका अतिरिक्त राजनीतिबाट अघाएर उग्राई बसेका डा. लोहनी कविका रूपमा समेत देखापरेका छन् । ‘टौवाका कौवाहरू’ कविता सङ्ग्रह यसको उदाहरण हो । वि. सं २०६९ मा प्रकाशित यस कविता सङ्ग्रहमा जम्मा ८२ वटा कविताहरू सङ्ग्रहित भएका छन् ।
उनका कवितामा बौद्धिकताको प्रभाव यथेष्ट देख्न सकिन्छ भने राजनीतिक तिकडमबाट भिन्न कविताको सुललित स्वरूपभित्र उनको कवि व्यक्तित्व प्रस्फुटन भइरहेको प्रतीत हुन्छ । उनका कविताले विशिष्ट गम्भीर व्यक्तित्वमा एउटा सर्जक र स्रष्टा मन भएका व्यक्तिको परिचय दिइरहेको छ भने खरो र एक जटिल देखिने स्वभावभित्रको सर्जक र स्रष्टा मनको उजागर पनि गरेको छ ।
वि.सं. २०६५ देखि २०६९ सम्म लेखिएका कविताहरू समावेश प्रस्तुत सङ्ग्रहको थालनी ‘यात्री अनन्त छ’ शीषर्कबाट भएको छ भने ‘टौवाका कौवाहरू’ कवितामा अन्त्य भएको छ । यस बिचमा बाँध, संघर्ष, अझ बाँकी छ, आँसु छैन, बेहोस बनाऊ, शान्त बटुवा, खर्पने र खर्पने, भेल, खरानी, मसँग वार्ता गर, बैरागी चाल, आमसभा, हक, प्रमूख अतिथि, कालो हिमाल, पिरती, हार, झन्झट, झोल आलु प्याजको, ठूलो, राष्ट्रवादी, नयाँ रूप, नयाँ सामन्त, दूरदर्शी, प्रयोग, मन्द मुस्कान, यात्रा, भरिएको रित्तो बोतल, चिप्लो भीर, अनुहार, ठेगान छैन, चाँडो खुलाउ, रूपान्तरण, कोही छैन, त्यो दिनको सम्झना, जस्ता शिर्षकका कविताहरू सरल, सहज, मार्मिक र निकै मन छुने खालका छन् । प्रस्तुत सङ्ग्रहमा समावेश कविताहरूमध्ये सबैभन्दा लामो कविताका रूपमा ‘यात्रा अनन्त छ,’ लाई देख्न सकिन्छ भने सबैभन्दा छोटो कविता ‘टौवाका कौवाहरू’ रहेको छ ।
डा. लोहनीका यस कृतिबाहेक ‘प्रजातन्त्रिक राष्ट्रवाद केही लेख र कविताहरू’ (२०५९) ‘इतिहास रच्ने समय’ (२०६९) र ‘राष्ट्रवादी चिन्तनका आयमहरू’ (२०७३) जस्ता कृतिहरू पनि प्रकाशित भएका छन् । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियका प्राज्ञिक जर्नलमा पनि उनका लेखहरू प्रकाशित भएका छन् । ती छरिएर रहेका लेखहरूले डा. लोहनीको बौद्धिकता र राजनीतिक प्रतिबद्धतालाई नाप्न पर्याप्त आधार प्रस्तुत गर्दछ ।
डा. लोहनीभित्र एउटा सुषुप्त कवि छ भन्ने कुरा उनकै आत्मस्वीकृतिबाट थाहा पाउन सकिन्छ । उनको आत्मस्वीकृति रहेको छ–‘म आफूलाई कवि भनेर दाबी गर्दिन । तर, सायद कविता लेख्न कवि भनेर गणना हुनुपर्ने आवश्यकता पनि छैन । कतिपय अवस्थामा मनमा आउने भावनाहरूलाई गद्यमा भन्दा पद्यमा प्रस्तुत गर्दा आफूलाई सन्तोष हुँदो रहेछ’ (‘टौवामा कौवा’को भूमिकाबाट) । आफ्ना भावनालाई गद्यमा भन्दा पद्यमा राख्दा प्रभावकारी हुन्छ भन्ने उनको धारणामा नै कविचेत छ र कविता लेख्न गरेको नेपथ्यसाधना यसको पछाडिको प्रज्वलित उर्जा हो जो निरन्तर उनीभित्रको कविचेतलाई प्रकाशित गरिरहेको छ ।
उनले कविता लेखेका छन् तर काव्यक्षेत्रको पूण{कालीन विरासत पाउने इच्छा वा लालसा उनीभित्र देखिँदैन । उनी कुनै स्वघोषित र यदाकदा ‘कवि’ उपाधि बोकेर हिँड्ने वा ‘कवि’ उपाधिमाथि दावी गर्ने कवि पनि होइनन् । उनीभित्रको कविता शारदी नदीमा बगेको निर्मल जलजस्तै छ । त्यो निम{लता नचाहेरै पनि प्रस्फुटन भएको छ । आखिर सिर्जना त सिर्जना हो पीपलको बोटजस्तै कठिन परिस्थितिमा पनि उम्रेर आफूलाई आकाश नाप्न सक्ने बनाउने । सिर्जनाशक्ति छ भने जहाँ जसरी र जुन अवस्थामा पनि प्रस्फुटन हुन सक्छ । डा. लोहनीभित्र त्यही घटिन त भएको छ ।
प्रस्तुत कृति ‘टौवाका कौवाहरू’ मा सङ्ग्रहीत कविताहरूमा उनले जीवनकै भोगाइहरूलाई विषयवस्तु बनाएका छन् । जीवनका यथार्थ, परिवर्तन, सामाजिक सांस्कृतिक परिवेश, प्राकृतिक विम्ब, आपतविपद, प्रेम, सत्यदेखि जीवनका शाश्वत् मूल्यमान्यताका यथार्थ परिघटनाका दृष्यलाई काव्यशैली र स्वरूपमा उनले कविताका विषयहरू बनाएका छन् । विशेषगरी सामाजिक दृष्यहरू नै कविताका विषय छन् भने भाव र भोक्ता कवि स्वयंको देखिन्छ । राजनीति गर्दागर्दै थाकेका उनका आँखाले समाजका पीडालाई देखेका छन् र बोध पनि गरेका छन् । सामान्य जनताको समस्यासँग जोडेर देशको समस्या र अवस्थालाई बोध गराउन खोजिएका उनका कविताले काँधमा बोक्नुपरेको खर्पनको बोझको सन्तुलन कति चुनौतिपूर्ण छ भनेर सामाजिक र राजनीतिक परिवेशलाई प्रतीयमान अर्थमा चित्रण गरेको छ–
खर्पन बोकेको त्यो मान्छे
मुस्किलले दुईटा कुममा सन्तुलन
अनुहारमा झन्डै एउटा खोला
आँखा आशा र पीडको दर्पण
थर–थर काम्दै सडकमा हिँड्दैछ ।
इतिहासको बोझ
खर्पनको बोझभन्दा चर्को छ ।
–खर्पन र खर्पने
व्यवस्था परिवर्तन भएर पनि अवस्था परिवर्तन हुन नसक्नु नेपालीको सीमान्त पीडा निकै हृदयविदारक छ । संसारले एकपछि अर्को चमत्कार गर्दै गर्दा नेपालीले भने समाजका टाठाबाठाबाट हेपिनुपर्ने, ठगिनुपर्ने अनि भोक र वर्षाझरीसँग लड्नुपर्ने बिडम्बना निकै दर्दनाक छ । समाजमै बस्दा पनि पेटका लागि मात्रै संघर्ष गर्नुपर्दाको सामाजिक पीडालाई डा. लोहनीले राम्रैसँग बोध गरेका छन्–
सामन्ती र रुढिवादी
जाँतोमा दलिएको
सिङ्गो व्यक्तित्व छिन्न भिन्न भएको
टुक्रैटुक्रा
सबैतिर छरिएको
आफ्नो पहिचानको खोजमा
आफैं हराएको
हजारौं वर्षदेखि
भीरमा धकेलिएको बटुवा जस्ता
–सङ्घर्ष
समाजमा जहिल्यै सकारात्मक रूपान्तरणको बहस चलिरहेको हुन्छ । परिवर्तन हुनु प्रकृतिकै विशेषता हो । नित्य निरन्तर रूपान्तरणता खोज्नु भौतिक वस्तुको धर्म नै हो । परिवर्तनको आफ्नै गति हुन्छ । मानिस त्यो गतिलाई उछिन्न चाहान्छ । हरेक दिनको नवीन खोज र नयाँ बन्ने चाहानाले मानिसभित्र तीव्र परिवर्तनको आकांक्षा हुन्छ । समाजले त्यो परिवर्तनको आकांक्षा पालेको हुन्छ । राजनीति गर्ने मानिसले त्यो परिवर्तनको त्यही आकांक्षालाई सम्बोधन गर्न सक्नुपर्छ । सायल डा. लोहनीभित्र पनि त्यो रूपान्तरणको तीव्र आकांक्षा विद्यमान छ–
अब यो सब छाड्छु
वागमतीको पानीमा
एकदिन कसैको खेतमा
मेरो रूपान्तरण हुनेछ
–रूपान्तरण
पृथ्वीनारायण शाहले नेपाललाई चार जात छत्तीस वर्णको साझा फूलबारी भनेका थिए । यो माटोका लागि योगदान दिएका र यो माटोको सुगन्धसँग परिचित हरेक मानिसको साझा घर हो नेपाल । एउटा पुस्ता र अर्को पुस्ताका बिचमा संस्कृति सेतु बनेर बसेको हुन्छ । त्यही संस्कृतिले अपनत्व र उत्तराधिकार प्रदान गर्दछ । वंशपरम्परालाई त्यही संस्कृतिले जोडेको हुन्छ । हजारौँ वर्षदेखिको नियमित वंशपरम्परा र संस्कृतिको अखण्डताको मूक साक्षी यही माटो हो । त्यसैले यसमा सबैको अपनत्व रहेको हुन्छ–
मुस्ताङको हिमाल पारिदेखि
सुस्ताको गाउँसम्म
महाकाली पारिको चाँदनी र दोधारादेखि
मेचीको जङ्गे पिलरसम्म
दुई करोड साठी लाख नेपालीको
लालपूर्जा
यो मातृभूमि नेपाल
–दूरदर्शी
मानव जातिको हक–अधिकार जाति, लिङ्ग, धर्म, भाषा, राष्ट्रियताले नछुट्याउने समान अधिकार हो । दासत्व, यातना, विभेद विरुद्वमा स्वतन्त्रताको हक मानव जीवनमा निहित हु्न्छ । शान्ति र प्रजातान्त्रिक देशमा कानुन नियममा यावत मौलिक हकहरू लिपिबद्व गरेका हुन्छन् । कहिलेकहीँ मौलिक हक सही ढङ्गले कार्यान्वयन हुन नसक्दा न्याय मर्न जान्छ भन्ने विचार कवितामार्फत अभिव्यक्त भएको छ–
हे हक र अधिकारका निर्माताहरू
तिम्रो हकको लागि मेरो बाँच्ने हक
कहिलेसम्म तिरस्कृत हुने
०००
यो प्रजातान्त्रिक कागजमा आस्था गर
शोषक र भष्टचारीविरूद्व आवाज उठा
०००
सबैको आवाज खोलाको गर्जन
सुन्नै पर्छ, हेर्नै पर्छ
सङ्घर्ष गर
सुन्ने ठाउँमा जा
चिरिएको घाउमा मलम लगा
–हक
पिरती ब्रह्माण्डको सृष्टिदेखि नै मानव मनमा जोडिएको विषय हो । दुई आत्माबिच भावनात्मक सम्बन्ध जोडिएपछि पिरती बस्न जान्छ । पिरती प्राप्तिका लागि भीषण पहिरो, समुद्री आँधी, आगोको ज्वालासँग लड्दै भिड्दै गन्तव्य चुम्न अभ्यासरत हुन्छन् ; मनहरू । यसरी प्रेमप्रणयको बारेमा पनि डा. लोहनी खुलेर वकालत गरिरहेका छन्–
पिरती लगाउने
पिरती पाउने
लगाउने र पाउने
पाउने र लगाउने
अनन्त खोजेको चक्र
०००
बाँकी रहन्छ तर फेरि पनि
यो संसारमा, यो ब्राह्माण्डमा
पिरतीको निरन्तर खोज र सम्झना ।
–पिरती
जीवन भनेको संघर्षसँग जुध्दै सुखको खोजी गर्नु हो । मान्छे जन्मेदेखि मृत्युको दिनसम्म गरिने यात्रा सकरात्मक हुनुपर्छ । यात्राको अन्त्य हुँदैन । यात्रा गर्दाको बखतमा दुःख, पीडा, संघर्षलाई जितेर सुखी, खुसी र हाँसो प्राप्ति गर्नु नै सार्थक परिणाम हो । डा. लोहनीले यात्राको भाव यसरी राखेका छन्–
डाडाँपारिको घाम
दिनको अन्त हुँदैन
यात्रा अब धेरै छैन
रातको अन्धकारअगाडि
बस्ने घर खोज्नु छ
०००
अनि केको लागि हिँडिरहेछु
अब फेरि अर्को दिनको अन्त हुँदैछ ।
–यात्रा
पूरै कवितामा देशका अनेकौँ विकृति—विसङ्गतिलाई छोडेर स्वाभिमानी र सम्मानित नेपालीहरू बन्न र बनाउन प्रण गरिएको छ । यसका निम्ति बलियो राष्ट्रवादको आवश्यकता रहेको छ ; त्यस्तो राष्ट्रवाद जहाँ सबै नेपालीले अपनत्व ग्रहण गर्न सकोस् । विकास र चेतनाको एउटा तरङ्ग सञ्चार गर्न सकोस् । त्यस प्रकारको परिकल्पना डा. लोहनीका कवितामा फेला पार्न सकिन्छ । कविले देखेको सुन्दर सपनामा एउटा सुन्दर, शान्त र सौहार्द सामाजिक वातावरण भएको देश तथा एउटा गहिरो सद्भावपूर्ण देश रहेको छ । एउटा सुदृढ र शक्तिशाली देश निर्माणको सपना कविताले बोलिरहेका छन् । कवितामा सामाजिक प्रश्नका विषय मात्रै पनि छैनन् । जीवनका रहस्य र दार्शनिकता पनि छन् । अरूलाई हेर्न र मूल्याङ्कन गर्न त सकिन्छ तर आफैँलाई हेर्न चाहिँ तेस्रो आँखा चाहिन्छ । सूक्ष्म अन्तर्दृष्टिबिना आफैँले आफैँलाई देख्न सकिँदैन । कवि लोहनी त्यो अन्तर्दृष्टिको खोजीमा छन् र त्यसमार्फते जीवन र मृत्युलाई समेत नियाल्ने बाटो खोजिगरेका छन्–
तेस्रो आँखा
पहिलो र दोस्रो आँखा
सबै देख्छ
पहाड देख्छ, मान्छे देख्छ
ऐनामा आफूलाई पनि देख्छ
सबै देख्छ
तर पनि देख्तैन
अरूलाई हेर्न खोज्दा
आफूलाई देख्तैन
—
तेस्रो आँखा कहाँ छ ?
कतै देखिँदैन
न परेला छ न नानी
कुन ठाउँमा छ
थाहा छैन
हराएको छ
अनन्त ब्रह्माण्डमा
–तेस्रो आँखा
देशमा मौलाएको भ्रष्टाचार, अनियमिता र अस्तव्यस्तताको अवस्थालाई प्रजातन्त्रमा नाममा गरिएको गफले मात्र निर्मूल भएन । बारम्बार व्यवस्था परिवर्तन भएर पनि जनआकांक्षा अनुरूपको नौलौपन आएन । परिवर्तनको कुरा धेरै भयो तर जनजीविकाको सवालमा व्यवहारिक परिवर्तन आएन । यो सामाजिक र राजनीतिक परिदृष्यको भाव उनका कविताले बोकेको छ–
सबैलाई जित्न खोज्दा
आफैँ हराउने
जनता र प्रजातन्त्रको गफ गर्दा
देशै पनि गुमाउने
हुलका हुल थुप्रिएका छन्
देशभरि फिजिँदै छन्
नेतृत्व दिने नाममा
लुट्न अब कस्सिएका छन् ।
–टौवाका कौवाहरू
कौवा नेपाली समाजमा खबर ल्याउने र लैजाने चरो हो । अर्को अर्थमा कौवा काम नगर्ने र बढी हल्ला गर्नेहरूको झुन्ड पनि हो । राजनीति र परिवर्तनबाट जनताले धेरै आशा गरिरहेका छन् । तर जनताले सुखद समाचार कहिले पनि सुन्न पाएनन् । किनभने टौवाका कौवाहरू अनावश्यक कराउँछन् मात्र कतै जाँदैनन्, केही नयाँ नौलो गर्दैनन् । मात्रै टौवामा बसेर कराइरहन्छन् । कौवाका अर्थ विहीन स्वरहरू छन् । टौवामा कौवा कविता निकै प्रतीकात्मक छ र यसै कविताका आधारमा समग्र सङ्ग्रहको नामाकरण भएको छ । यस अर्थमा यो कविता प्रतिनिधिमूलक कविता हो । कृतिमा समावेश गरिएका अधिकांश कविताहरूले देशमा व्याप्त विकृति र विसङ्गतिप्रति व्यङ्ग्य र विरोध जनाएको छ । साथै प्रतिरोधात्मक र प्रगतिशील परिवर्तनको कल्पना गरिएको छ । त्यसैले पनि कृतिको शीर्षकले पनि सार्थकता वहन गर्न सकेको छ ।
डा. लोहनीका कवितामा राजनीतिक तथा सामाजिक विकृति—विसङ्गतिप्रतिको व्यङ्ग्य निकै सघन रूपमा प्रस्तुत भएको छ । उनको लेखनशैली निकै मजबुत छ । कविताको मूल उद्देश्य देशप्रेम नै रहेको र एउटा राष्ट्रवादी कविभावना कवितामा निकै सशक्त ढङ्गले पोखिएको छ । कुनै न कुनै रूपमा कवि लोहनीले परिवेशअनुरूप भोगाइका तितामिठा प्रतिविम्ब कविताका रूपमा प्रस्फुटन गरेका छन् । कवि लोहनी राजनीति क्षेत्रका अनुभवी व्यक्ति भएका कारण देश र समाजलाई उनले गहिरोसँग बुझेका छन् । त्यसैले उनका कवितामा तत्कालीन देश र समाजको यथार्थ परिवेशलाई चित्रण गरिएको छ । उनको प्रखर राजनीतिक उतारचढावपूर्ण कालखण्डमा नेपाल र नेपाली राजनीतिले भोगेको संघर्ष, सामाजिक जनजीवन, दमन र हिंसाका परिवेशबाट गुम्सिएका भावना तथा कल्पनाहरू कवितामा उत्रिएका छन् । कविताहरू रूपान्तरणको सन्देश दिने खालका छन् । परिवर्तनको बेग झल्काउने खालका छन् । समाजिक विकृति विसङ्गतिप्रति प्रतिरोध जनाउने र नवीन सिर्जनाका आदर्शलाई समर्थन गर्ने खालका छन् । तर शैली ज्यादा व्यङ्ग्यात्मक र विद्रोहात्मक देखिन्छन् । कृति र कविताहरू पठनीय मात्रै छैनन् राजनीतिक सामाजिक परिवेशलाई बुझाउन सक्षम पनि छन् ।
प्रतिक्रिया