२०८१, १३ बैशाख बिहीबार

सहकारी र सहकारी दिवसको नारा

नारायण श्रेष्ठ     चैत्र २० २०७९ ०८:४९

narayan shrestha sangam cooperative nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

सहकारी एक अर्का बिचको सहकार्यात्मक अवधारणा हो । सहकारीमा समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रबर्द्धन गर्ने कार्य गरिन्छ । “एकका लागि सबै र सवैका लागि एक” भन्ने भावना र व्यवहारमार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी हो ।

सहकारीले छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गर्दछ । सहकारी संगठनको त्यो रूप हो जसमा व्यक्तिहरू स्वेच्छाले आफ्ना हितको विषयहरूमा एकसाथ मिलेर कार्य गर्दछन् । खास गरी यो सीमित स्रोत र साधन भएका व्यक्तिहरूको एक सङ्गठन हो जो प्रजातान्त्रिक रूपमा नियन्त्रित हुन्छ र सदस्यहरूले साझा उद्देश्य प्राप्तिको लागि कार्य गर्दछ । समग्रमा समान इच्छा, आकांक्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त गरिने एकताबद्ध प्रयास नै सहकारी हो । यसरी सहकारी अन्तर निर्भरता हुँदै आत्मनिर्भरतातर्फको यात्रा हो ।

सहकारीको मूलभूत उद्देश्य संलग्न सदस्यहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो । समुदायको हीतका लागि संगठित भई सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गर्नु, पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु, समाजमा व्याप्त गरिबी, व्यापारिक एकाधिकार जस्ता आर्थिक एवं सामाजिक विसंगतहरूको अन्त्य गर्नु, सहकारिताको माध्यमबाट समाजका निम्न आय भएका समुदायको जीवनस्तर माथि उठाई उनीहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य उद्देश्य हो । यसरी सहकारी मूलतः आर्थिक, सामाजिक, न्यायिक एवं शैक्षिक उद्देश्यहरू राखेर स्थापना गरिन्छ ।

राष्ट्रिय सहकारी महासंघले ६६ औं राष्ट्रिय सहकारी दिवसको मुल नारा “सहकारीको दिगोपनः स्वनियमन र सुशासन” तय भएको छ । यसै नारालाई सार्थक हुनेगरी सहकारीका समसामयिक विषयहरुलाई समेत उजागर गरीे राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रीय सहकारी संघ, प्रदेश सहकारी संघ तथा विभिन्न सहकारी संस्थाहरुले सप्ताहव्यापी कार्यक्रमहरु सञ्चालन भइरहेको छ । वि.सं. २०१३ साल चैत्र २० गते शारदानगर चितवनमा बखानपुर ऋण सहकारी समिति (हाल श्री बखान बहुउश्यीय सहकारी संस्था लि.) स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले उक्त दिन विविध कार्यक्रम गरि सहकारी दिवस मनाउने गरेका छन् ।

सहकारी दिवसको मूल नारा “सहकारीको दिगोपनः स्वनियमन र सुशासन”

सहकारीको दिगोपन (Sustainability of cooperative)

दिगोपन भनेको दिर्घकाल सम्म अनवरत: रुपमा सञ्चालन हुनु हो । सहकारीको दिगोपन सदस्यहरुको हितहुने हुने कार्यहरु गरी संस्थालाई दिर्घकाल सम्म जिवित राख्नु हो जहा परिवर्तणीय तत्वहरुको सुक्ष्म अध्ययन गरि सो अनुसार संस्थालाई आत्मसात गराउँदछ । सहकारी संस्थाहरु ऐन, कानूनसम्मत सञ्चालन, सदस्यहरुको बचत र लगानी सुरक्षाको पूर्ण प्रत्याभूति, सुरक्षित ऋण लगानी, सदस्यहरुमा आत्मनिर्भर हुन तथा जीवनस्तरमा वृद्धि ल्याउन अर्थोपार्जन गर्न सक्ने आवश्यक सिप तथा तालिम प्रदान, समुदायमा विश्वसनिय वातावरणसहित सेवा प्रदान, प्रभावकारी आन्तरिक तथा वाह्य अनुगमन र नियन्त्रण प्रणलीको विकास, सेयर सदस्य संख्या तथा संस्थागत पूँजीमा वृद्धि गर्न सकेमा सहकारीमा दिगोपन हुनसक्छ।

स्वनियमन (Self-regulation)

सहकारी संस्था शेयर सदस्यहरुले आफैले विनियम ,नीति नियम तथा कार्यविधि तयार गरी आफैले सञ्चालन गरिने संस्था हो ।सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा सदस्यहरु आफैले बनाएका र पास गरेका विनियम, नीति नियम तथा कार्यविधिमाबाँधिएका स्व:नियन्त्रित तथा स्व नियमनकारी हुन्छन् । स्वनियमन उच्च नैतिकताको अवस्था हो, जुन हरेक सहकारीले आफ्नो लक्ष्य बनाउनुपर्छ । स्वनियमनको अर्थ सुशासन र वित्तीय प्रतिवेदनका आधारभूत मूल्य र मापदण्डलाई इमानदारीतापूर्वक पालना गर्नु हो । आन्तरिक नियमन, अनुगमन र लेखापरीक्षणलाई प्रभावकारी र बाध्यकारी बनाउनु हो । त्यसैले स्वनियमनले सहकारी क्षेत्रको खुला, पारदर्शी र पूर्ण जवाफदेहिताको माग गर्छ । सहकारी क्षेत्रलाई मर्यादित, व्यावसायिक, समावेशी र सहभागितामूलक बनाउन, स्वनियमनका विधिको निर्माण र कार्यान्वयनमा सहकारी अभियानको माथिल्लो निकाय राष्ट्रिय सहकारी महासंघ तथा विषयगत केन्द्रीय संघहरूको प्रमुख भूमिका रहन्छ ।

सुशासन (Good Governance)

सहकारी शेयर सदस्यहरुको अपेक्षा अनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट सुखद अनुभूति दिलाउनु नै सुशासन हो । सुशासन कायम गर्न सहकारीका सबै समितिहरु, उपसमितिहरु कर्मचारीहरुलाई गतिशील, सहभागितामूलक र जवाफदेही बनाउँदै शेयरसदस्यहरुको सचेतनाको समेत विकास गर्नु आजको आवश्यकता हो ।

सुशासनका आयामहरू

  • नियमानुसार साधारण सभा र नियमन निकायको स्वीकृतिमा विनियम संशोधन गरी सम्बोधन गर्ने ।
  • प्रजातान्त्रिक तथा सहभागितामूलक व्यवस्थापन ।
  • जनउत्तरदायी तथा जवाफदेहि सहकारी सञ्चालन ।
  • कानुनमा आधारित र पारदर्शिता अवलम्बन ।
  • दण्डहीनताको अन्त्य र कानुनको परिपालना ।
  • नियम कानुनको पूर्ण परिपालना ।
  • वित्तीय जवाफदेहिता ।

यसरी, शेयर सदस्यमुखी र सहभागितामूलक शासन कार्य नै सुशासन हो । यसले विकास, समृद्धि र सदस्य सन्तुष्टिको अपेक्षा बोकेको हुन्छ ।

सहकारी संस्थामा दिगोपन, स्वनियमन तथा सुशासनमा सञ्चालक समिति ,लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु र विभिन्न उपसमितिहरुको महत्वपूर्ण भूमिका खेल्न सकेमा तरलता व्यवस्थापन लगायत अन्य समस्याहरु समाधान गर्न सकिन्छ ।

लेखक जिल्ला सहकारी संघ लि., नुवाकोटका लेखा संयोजक, संगम बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तथा नुवाकोट जिल्ला वचत तथा ऋण सहकारी संघ लि. का सल्लाहकार हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top