२०८१, १३ बैशाख बिहीबार

‘इतिहासमा वि.सं २०७२’ लाई नियाल्दा

श्रीराम श्रेष्ठ     कार्तिक २८ २०७९ १४:१३


flash back 2072 shreeram shrestha

वि.सं २०७२ साल नेपालको इतिहासमा स्मरणीय वर्ष बन्यो । विनासकारी महाभुकम्पले धेरै धनजनको क्षति भयो । वर्षभरी नै भुकम्पको पराकम्पन र भुकम्पले क्षतिभएका भगनावशेष र पुननिर्माणका पहलहरु गर्दै त्यो साल बित्यो । फेरी त्यसै वर्ष नेपालको संविधान २०७२ घोषणा भयो । भारतीय पक्षले सीमामा नाकाबन्दी गर्दा समग्र देशनै संकटमा प¥यो । मधेशमा आन्दोलन लगायतका देशको इतिहासमा महत्व राख्ने घटनाहरु घटेको वर्ष भएकाले नेपालीका लागि ०७२ विर्सन लायक वर्ष रहेन । यसै स्मरणीय इतिहासको विम्व झल्काउने कविताहरु रचना गरेर एउटा कृति प्रकाशित भएको छ ‘इतिहासमा वि.सं २०७२’ । कविता सङ्ग्रहको रुपमा प्रकाशित पुस्तकका रचयिता हुन् कवि ध्रुवप्रसाद गजुरेल ।

कवि ध्रुवप्रसाद गजुरेल नेपाली काव्य फाँटमा चर्चा पाएका र तेती चिनियका कवि भने हुन् । उनको जन्म काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ८ मा पिता स्व. कृष्ण प्रसाद गजुरेल र माता सेती गजुरेलको सन्तानको रुपमा भएको हो । स्नातकसम्मको औपचारिक शिक्षा हासिल गरेका उनी कविता र नेपाली साहित्यलाई ज्यादै माया गर्ने सर्जक हुन् । व्यवहारिक सिर्जना भन्दा पनि उद्देश्यपरक ढंगबाट प्रस्तुत कविता सङ्ग्रह प्रकाशित गरेको देखिन्छ । पुस्तकमै ‘धरहरा पुनःनिर्माण कार्यका लागि समर्पण’ भनेर उल्लेख गरिएकाले पुस्तक सर्जकले समर्पण भावले प्रकाशित गरेको पुष्टि हुन्छ नै ।

कविता सङ्ग्रहभित्रका कविताहरुलाई हेर्दा ०७२ साल भरीका घटनाक्रमहरुलाई स्मरण गर्दै कविले काव्य सिर्जनाको विषय बनाएका छन् । नेपालकै इतिहासमा स्मरणीय बनेको वर्षभरीको घटनाक्रमलाई काव्य भाषित गरेर सङ्ग्रहणीय बनाउने सर्जकको उद्देश्य रहेको देखिन्छ । पुस्तकमा करिव ७८ शिर्षकका फरक फरक विषयका कविताहरु छन् । तर सबै कविता सोही वर्षको घटना र कविको स्मरणसँग जोडिएर आएका छन् । त्यसैले कविता सङ्ग्रहलाई इतिहासको सङ्ग्रह भन्न पनि सकिन्छ । राजनीतिक, सामाजिक, सांस्कृतिक लगायतका विभिन्न शिर्षकका कविताहरुले विविधता दिने प्रयास गरिएको छ । कविले भुकम्प गएको दिनलाई कालो दिनको रुपमा सम्बोधन गरेका छन् । शिर्षक ‘कालो दिन २०७२ वैशाख १२ बजेबाट नियाल्न शुरु गरौं ।

पृथ्वी कम्पन हुँदै क्षणभर मै, ठूलो नोक्सान पार्ने,
मिनेट भरमा संरचना भत्काई, धेरै मानिसहरु मार्ने,
ऐतिहासिक धरोहर, घर र मन्दिरहरु सब ढालीदिने,
पृथ्वीलाई उलट पुलट बनाई प्रलय नै ल्याइदिने ।

हेर्दा हेर्दै घरहरु लडी, धूलोको धूवाँ छुटेको देख्दा
क्षणभरमै धेरै मानिसहरु, पुरिएर मरेको देख्दा,
मरें मरें, लौ न बचाऊ ! भन्ने आवाज सुन्दा,
बाचेकै नी अन्यौलमै परी, घाइते भएको देख्दा

भुकम्पको त्रासदीपूर्ण घटनाले कविको हृदयमा निकै गहिरो छाप छोडेको छ । उनी विनासकारी भुकम्प र भुकम्प पछिको अवस्थालाई सुन्दर रुपले कवितामा उतार्न खोजिरहेका छन् । पुरिएका मानिसका लाश, पशुहरु, भत्केका घरहरु र उद्दारका लागि लागिपरेका सहयोगी हातहरुलाई कवितामा दर्शाइएको छ । यस्तै भुकम्पकै विषयलाई समेटेका सिर्जनाहरु अन्य पनि छन् । विशेषत कवि गजुरेल धरहरा ढलेकोमा चिन्तित छन् । त्यसैले त धरहरा निर्माणकै लागि पुस्तकलाई समर्पित गरेका छन् । भुकम्पले भत्केको धरहरा आफंै बनाउँ भन्ने सन्देश प्रवाह गर्दै शिर्षक ‘मै बनाउँदछु मेरो धरहरा’ मा कवि भन्छन्:

धरहरा पुनः निर्माण कार्यमा, सहयोगको लागि,
अरुले धेरै सहयोग र श्रम अर्पिरहेका छन्
मैले एउटा कलमको मसी, अर्पण गरेको छु,
इतिहासमा वि.सं २०७२ नै, समर्पण गरेको छु ।

आफ्नो धरहरा आफै बनाउन आफूले सकेको सहयोग गर्ने बाचा । समर्पण भाव भनेको यही नै हो । कविले धरहरा निर्माणमा विशेष लगाव देखाए । धरहरा एउटा सन्देशको अंश हो । मुल पाटो समग्र मुलुकभरी भुकम्पले पु¥याएको क्षतिको पुननिर्माण गर्ने हो । कविता सङ्ग्रहकै नामांकरण गरिएको सिर्जना कृतिकै शिर्षक ‘इतिहासमा वि.सं २०७२’ नै शिर्षक राखेर इतिहासलाई कैद गर्ने प्रयास कविको छ । उदाहरण हेरौं:

२०७२ को शुभकामनामा मागें, शान्ति, एकता र नयाँ संबिधान,
बारपाक केन्द्र बनाई विनासकारी भूकम्पले,लियो धरैको ज्यान,
वैशाख १२ मा नेपाल देशभरका ठाउँमा, दिउँसै अध्यारो भयो,
को कहाँ हराए ? के कति मरे वा परिए ? भन्न नै गा¥हो भयो ।

यसैको अन्त्य सम्ममा पुरै ०७२ साल भरीकै घटनाक्रमलाई समेटेर कवितालाई पुर्ण गरिएको छ । भुकम्प गएको, भाद्र ७ मा टिकापुर विभत्स घटना, नयाँ संविधान पारित, बंगलादेशमा नेपाली खेलाडीले फुटबल जितेको, अघोषित नाकाबन्दी खुल्दै गएका यस्ता वर्षभरीका विभिन्न विषयलाई काव्य शैलीमा उल्लेख गरिएको छ । यसैगरी कतै राजनीतिक त कतै माया प्रेमका प्रसंगका कविता पनि सङ्ग्रह भित्र पाइन्छ । शिर्षक ‘अपुरो माया’ मार्फत् प्रेमिल प्रसंग मिलाएर पनि कवि लेख्छन्:

उनको अनुहारमा मेरो मन, कसरी डुव्न पुग्यो ?
मिहिनेत, अनि प्रस्ताव विना, मायाँ बस्न पुग्यो,
सामान्य जस्तै देखिएकीले कुरा गरिहाले,
सँगै वसी फोटो खिच्न, मन्जुर गरी हालिन्

उदाहरणमा दिएर भन्न खोजिएको खास कुरा कृतिमा केवल ऐतिहासिक र घटनाक्रमलाई मात्र विषय बनाइएका होइन, माया प्रेमका रसिक कविता पनि समाविष्ट छन् । खुसी र हाँसोका कविताहरु पनि छन् । शिर्षक ‘हाँसो’ लाई नियाल्दा यस्तो छ:

हाँस्न पनि गा¥हो हुन्छ, त्यसै हाँस्न सकिंदैन
हा… हा… गरी हाँसेर नि, कुनै अर्थ रहँदैन,
भित्री कुरा बुझेपछि, त्यसै वस्न सकिंदैन,
मन भित्रको तरंगले, हाँसो थाम्नै सकिदैन ।

अर्थात् हाँसो खुसीलाई पनि कविले जोड दिइरहेका छन् । कतै क्रान्तिकारी भावनाका कविताहरु पनि उल्लेख्य पाइन्छ । शिर्षक ‘उठौं युवा देशलाई निकास दिन’ का केही हरफहरु प्रस्तुत गर्छु:

देशको मानचित्रलाई स्थायित्व दिन,
उठौं य वा यो देशलाई चाँडै निकास दिन,
युवा उठे पहाड ढल्छ, सम्म बनाई दिन,
रगत पनि पेट्रोल बन्दै, बल्छ दनदन ।

युवा नउठी देश बन्दैन, परिवर्तन आउँदैन, देशले निकास पाउँदैन त्यसैले देश विकास गर्न युवाको भूमिकालाई प्रस्ट्याउँदै देशभक्तिको भावना जगाउने प्रयास पनि कविको देखिन्छ । नयाँ पुस्ता र प्रविधिको विकाससँगै आएको सामाजिक सञ्जाल र फेसबुकका विषयमा गरिएको सिर्जना पनि सङ्ग्रहमा छ । विषादिरहित कृषि उत्पादनका कुरा, बागमती सरसफाई, प्लास्टिक मुक्त देश, मौसम परिवर्तन, सीमाका पिडा यस्तै यस्तै सबै पक्षलाई समेटेर गरिएका सिर्जनाहरु पनि सङ्ग्रहमा भेटिन्छन् । कृतिभित्र सवै पक्ष र सवै क्षेत्रका विषयलाई कवितामा उतार्ने प्रयास कविले गरेको देखिन्छ । तर मूल विषय र भाव भने ०७२ वरीपरी नै घुमेको छ । त्यसैले पनि यो कृतिलाई ऐतिहासिक बनाउन खोजिएको हो भन्न सकिन्छ । पुरै शिर्षक र सङ्ग्रह भित्रका कविताहरुमा वर्षभरीका ऐतिहासिक उल्लेखनीयतालाई दृष्टिगत गर्दा पुस्तकको शिर्षक चयनको सार्थकता पनि स्पष्ट हुनपुग्छ । भाषा र शैलीमा भने कविले केही सुधार गर्नु पर्ने नै छ । किनभने शिलसिलेवार रुपमा घटनाक्रमलाई उल्लेख गर्दा इतिहास बढी र काव्यधारा कम नै देखिन्छ । कविताको सरल र सरस शब्दलयको कमि कविताहरुमा पाइन्छ । तर एकै वर्षको विविध घटनाक्रमलाई यसरी काव्यको स्वरुपमा ढालेर समेट्ने प्रयास गर्नु कविको प्रयत्नलाई आभार प्रकट गर्नै पर्दछ । यो कवि गजुरेलले गरेको सराहनीय प्रयास हो । फेरी पुस्तक धरहरा निर्माणमा समर्पित गरेर उनले देखाएको समर्पण भाव पनि कदर योग्य नै छ । समग्रमा कृति ‘इतिहासमा वि.सं २०७२’ एक महत्वपूर्ण र सङ्ग्रहणीय पुस्तकको रुपमा तयार भएको छ भन्दा अतिसयुक्ति नहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top