हिमाली जिल्ला रसुवामा पहिलाेपटक प्रमुख जिल्ला अधिकारीकाे रूपमा २०७८ असाेज २२ गते रसुवा आएका नवराज जैसीको २०३२ साल साउन २ गते दैलेखमा बुवा देविराम जैसी र आमा अमृता जैसीकाे काेखबाट जन्म भएकाे हो । उनको हाल चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ काठमाण्डाैमा सपरिवार बस्दै आईराहेका छन् । हालै गृहमन्त्रालयबाट प्रजिअकाे जिम्मेवारी समालेर रसुवा आईसकेपछि जिल्लाकाे समसामयिक विषयमा उनीसंग सरस्वती न्यौपानेसँग गरिएकाे कुराकानिको अंश:
निजामती सेवामा प्रवेश गरेको कति वर्ष भयो ?
म लोकसेवा आयोगको खुला प्रतिष्पर्धात्मक परिक्षाद्वारा २०५५ सालमा राजपत्र अनङ्कित तृतीय श्रेणीको मुखिया पदबाट निजामती सेवामा प्रवेश गरेको हुँ । तत् पश्चात लोकसेवा आयोगको प्रतिष्पर्धाबाटै २०५५ सालमा नै राजपत्र अनङ्कित द्वितीय श्रेणी खरिदार, २०६१ सालमा राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्वा, २०७० सालमा राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत र २०७७ सालमा राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव भएको हुँ। निजामती सेवामा प्रवेश पश्चात क्रमशः सूचना तथा सञ्चार मन्त्रालय वा अन्तरगत, गृह मन्त्रालय वा अन्तरगत, महिला मन्त्रालय, श्रम मन्त्रालय वा अन्तरगत, सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, लोकसेवा आयोग अनामनगर र मिति २०७८।६।२२ गते देखि यस जिल्ला प्रशासन कार्यालय रसुवाको प्रमुख जिल्ला अधिकारीको पदमा कार्यरत रहँदासम्म निजामती सेवामा २३ वर्ष व्यतित गरिसकेको छु ।
पहिलोपटक यस हिमाली जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भै आउनु भएको छ । जिल्लामा कार्यरत रहँदा के कस्ता काम गर्छु भन्ने सोच राख्नु भएको छ ?
हो, म प्रमुख जिल्ला अधिकारीको पदमा यस रमणीय जिल्ला रसुवामा पहिलो पटक नै आएको छु । तर प्रमुख जिल्ला अधिकारीको भुमिकामा भने पहिलो होईन। तत्कालीन अवस्थामा सडक यातायात, विद्युत, टेलिफोन, ईन्टरनेट, शिक्षा, स्वास्थ्य लगायतका भौतिक तथा सामाजिक पूर्वाधारका दृष्टिले निकै पछाडि रहेको तर प्राकृतिक सुन्दरता र पर्यटकीय दृष्टिले स्वर्गको टुक्रा रारा ताल रहेको मुगु जिल्लामा द्वन्दको समयमा २०६१ देखि २०६३ सम्म जिल्ला प्रशासन कार्यालयमा कार्यरत रहँदा पटकपटक निमित्त प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरेको अनुभव मसँग छ। जिल्लामा शान्ति र सुव्यवस्था कायम गर्ने, जनधनको सुरक्षा र नागरिक स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने, सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउने, विकास निर्माणका क्रियाकलापमा सहजिकरण गर्ने र संघ, प्रेदश र स्थानीय तहबीच समन्वय गर्ने जस्ता प्रमुख जिल्ला अधिकारीका प्रमुख भुमिकामा नै म केन्द्रित हुनेछु । मेरो पदीय जिम्मेवारी अनुसार निर्वाह गर्नुपर्ने भुमिकालाई हिजो भन्दा आज राम्रो र आजभन्दा भोली अँझ राम्रो तरिकाले निर्वाह गर्ने प्रयत्न गर्ने सोच राखेको छु।
पहिलोपटक यस जिल्लामा प्रवेश गर्नु भएको छ यहाँलाई कस्तो महसुस भएको छ ?
यस जिल्लामा मेरो आगमन भने यो दोस्रो हो। सार्वजनिक पदीय जिम्मेवारीको रुपमा पहिलोपटक भएपनि भेटघाटको क्रममा २०७० सालमै म यस जिल्लामा आईसकेको थिएँ। मुलुकको राजधानी काठमाडौंदेखि करिब ५ घण्टाको गाडी यात्रामा आईपुगिने र गोसाईकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, पार्वतीकुण्ड, उत्तरगयाधाम, गुप्तेश्वर महादेव, कालिकास्थान मन्दिर, क्यान्जिङ गुम्बा, ऐतिहासिक रसुवागढी, लामटाङ हिमाल, गणेश हिमाल, याला पिक लगायतका अनेकौं धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिकस्थलहरू रहेको यस पावन र रमणीय भूमिमा प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लावासीको सेवा गर्न पाउँदा आफुलाई दुनियाँ कै भाग्यमानी व्यक्तिको रुपमा महशुस गरेको छु ।
नजिकिएको चाडपर्वसँगै जिल्लामा शान्ति सुरक्षाको अवस्था कस्तो रहेको छ ?
नेपाल एक सामाजिक, साँस्कृतिक विविधता र धार्मिक सहिष्णुताले सम्पन्न मुलुक हो। विभिन्न जातजाति, धर्म, वर्ण र समुदायका आ-आफ्नै चाड पर्व र रीतिरिवाजले हाम्रो मुलुक समृद्ध रहेको छ। यसमा हामी गौरवान्वित हुनैपर्छ तर चाडपर्वको खुशियालीमा कतिपय व्यक्तिबाट कतिपय स्थानमा सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने गतिविधि पनि हुने गरेको विगतका उदाहरणहरु छन। यस वर्षका नेपालीहरुका महान पर्वहरु वडा दशै, तिहार, छट, ल्होसार, ईद लगायतका अवसरमा जिल्लाको शान्ति र सुव्यवस्थामा कुनै कमि नहोस भनेर जिल्लाको संवेदनशिल स्थान र चोकहरुमा प्रहरी गस्ती, पट्रोलिङ र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । जिल्लामा शान्ति र सुव्यवस्था कायम गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानबीच सूचना संकलन सुरक्षा व्यवस्थापनमा समन्वय र सहकार्यको प्रबन्ध मिलाईएको छ । यस व्यवस्थाले जिल्लामा शान्ति र सुव्यवस्था कायम गर्न महत्वपूर्ण योगदान पुग्ने छ भन्ने मैले विश्वास लिएको छु ।
पहिला मन्त्रालय, सचिवालय वा आयोगमा कार्यरत रहँदा र अहिल प्रमुख जिल्ला अधिकारीको भुमिकामा रहँदा तपाईले के फरक महसुस गर्नु भएको छ ?
मन्त्रालय, सचिवालय वा आयोग वा अन्तरगत कार्यरत रहँदा कुनै निश्चित विषयको निश्चित जिम्मेवारी र भुमिका मात्र हुन्थ्यो ।त्यस विषयमा मात्र जिम्मेवार र जवाफदेही भए पुग्थ्यो तर अहिले त्यस्तो जिम्मेवारी र जवाफदेहिताले मात्र पुग्दैन। प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी र भूमिका नै बहुआयामिक खालको हुन्छ ।जिल्ला भरीको शान्ति सुरक्षा, नागरिक सेवा प्रवाह, विपद व्यवस्थापन, विकास निर्माण, र संघ, प्रदेश र स्थानीय तहबीच सौहार्द वातावरण निर्माण आदिका सन्दर्भमा प्रमुख जिल्ला अधिकारीले कमाण्ड, कन्ट्रोल र कोर्डिनेसनमा आफुलाई उत्कृट देखाउनुपर्ने विषय अलि चुनौतीपूर्ण भएपनि त्यसलाई अवसरका रुपमा उपयोग गर्न सकिन्छ होला भन्ने आशा लिएको छु ।
आफ्नो भूमिका प्रति सन्तुष्ट हुनुहुन्छ ?
लाेकतान्त्रिक गणतन्त्रकाे अभ्यास गरिरहेकाे छ । लाेकतन्त्रमा नागरिक सार्वभौम हुन्छन भन्ने मान्यतासंगै लाेकतन्त्रले विधिमा आधारित सहमति र सहकार्य काे माग पनि गर्दछन भन्ने विश्वास गरिन्छ । जिल्लाकाे समग्र व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी वा अन्य कुनै एउटा अमुक व्यक्ति काे भुमिका प्रयाप्त हुन्छ भन्ने हुदैन अहिले संधियतालाई संस्थागत गर्नुछ सार्वभौम नागरिकका आवश्यकका आवश्यक र आंकाक्षा सम्वाेधन गर्नुछ। कार्यलाई पारदर्शी र प्रभावकारी रूपमा सम्पन्न गर्नु छ । यी विषयमा सवै काे साथ र सहयाेग आवश्यक रहन्छ ।
प्रतिक्रिया