विदुर – कोभिड-१९ शंकास्पद बिरामीलाई अस्पतालसम्म पुर्याउन प्यासेन्ट रेसिभी टिम (पीआरटि) को पुनर्गठन भएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धि विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जिल्ला अस्पताल (त्रिशुली) का मेडिकल अधिकृत डा. राजेन्द्र लामाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए । सरकारद्वारा कोरोनाभाइरसको जोखिम न्यूनीकरणको लागि जेष्ठ २० गतेसम्म लम्बाईएको लकडाउनलाई थप प्रभावकारी बनाउन जिल्लाबासीहरुमा पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ ।
शंकास्पद, सम्भावित पुष्टी भएका बिरामीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसीङको लागि नगरपालिकामा २/२ वटा र गाउँपालिकामा १/१ वटा केश अनुसन्धान तथा कन्ट्रयाक्ट खोज पड्ताल समुह गठन गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ।
बैठकले कोभीड-१९ को परिक्षण पश्चाताप संक्रमण पुष्टी भएमा नेपाली सेनाको नेतृत्वमा बिरामीको बसेको क्षेत्रमा सील गरी स्वास्थ्य कार्यालयले उक्त बिरामीको कन्ट्रयाक्ट ट्रेसीङ गरी सम्भावित जोखिमयुक्त व्यक्तिहरुको तत्काल परिक्षणको व्यवस्था गर्न निर्देशन गरेको छ।
बैठकले कोभिड-१९ को सङ्क्रमणबाट बिरामीको मृत्यु भएमा नेपाली सेनाको नेतृत्वमा स्वास्थ्यकर्मीको सहयोगमा सम्बन्धित स्थानीय तहको समन्वयमा स्थान एकिन गरी शव व्यवस्थापन गर्न र स्थानीय तहको क्षेत्रमा शव व्यवस्थापन स्थल छनौट गर्न अनुरोध गरेको छ।
टाइम कार्ड जारी
कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धि विपद् व्यवस्थापन समितिको बैठकले लकडाउनको समयमा आम मानिसहरुको भीडभाडलाई जमघट गर्न नदिई अत्यावश्यक सेवाहरुको संचालन गर्न मङ्गलबारदेखि टाईम कार्ड लागू गर्ने निर्णय गरेको जिल्ला सहायक अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए।
बैठकले कुखुराको चल्लाहरु संक्रमित क्षेत्रबाट आयात हुने सम्भावना देखिएकोले अर्को निर्णय नभएसम्म कुखुराको चल्लाहरु आयातमा रोक लगाउने निर्यण गरको छ । राती ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्स र कुखुराका ढुवानी साधन बाहेक अन्य सवारीसाधनलाई रोक लगाएको छ।
स्थानीय तहको क्वारेन्टाइनमा रहेको व्यक्तिहरुमा कोभिड-१९ शंकास्पद लक्षण देखिएमा वा बिरामी परेकामा सदरमुकामस्थित क्वारेन्टाइनमा लानु पर्नेछ भने स्वास्थ्य संस्था र औषधी पसलहरु २४ सै घण्टा संचालन गर्नुपर्ने छ।
बैठकले खाद्यान्न, तरकारी, फलफुल, डेरी पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म संचालन गर्न साथै भौतिक दुरी कायम गर्ने चिन्हांकन प्रणाली व्यवस्थापन गरि गरिएको बिक्रि वितरण गर्नपर्ने निर्णय गरेको छ।
निर्माण सामाग्रीका पसलहरु तथा थोक बिक्रेताहरुले सम्बन्धित आयोजना/निर्माण व्यवसायी तथा खुद्रा पसल व्यवसायीहरुको सम्पर्कमा मात्रै खुला गरी सामग्री लोड/अनलोड पश्चात् बन्द गर्नुपर्ने छ।
बैंकतथा बित्तिय संस्थाहरु बिहान १० बजेदेखि २ बजेसम्म मात्र सिमित कर्मचारी परिचालन गरी संचालन गर्न निर्देशन गरेको छ। ती कर्मचारीहरुको हकमा ९ बजेदेख १० बजेसम्म कार्यालय आउन र २ बजेर ३० मिनेट देखि ३:३० बजेसम्म आवतजावतमा सहजीकरण गरिएको छ।
खाद्यान्न, कृषि तथा पशुपंक्षीजन्य तथा निर्माणका सामग्री ढुवानीका साधनहरु बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म संचालन गर्न पाउने छ।
प्रतिक्रिया