आफूलाई शिक्षक नै मान्नेहरूले शिक्षाको नाभीमै गरिएको यो प्रहार सहन नहुने हो
आजको बसाइमा म रसुवा जिल्लालाई पूर्ण साक्षर जिल्ला र सूर्यगढी गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्नुबीच अन्तर खोज्दिनँ । प्राथमिक कक्षामा विद्यार्थी भर्नालाई केन्द्र बनाएर घोषणा गरेको सहस्राब्दी विकास लक्ष्य भेट्ने दौड त हावा खायो खायो, अब गणित र विज्ञानको घाँटी अठ्याएर राज्यले तय गरेको यात्राले खाने हावाबारे अनुभूतिजन्य चर्चा गर्छु ।
आरम्भमै म विचारको सारांश उल्लेख गर्छुः
आधुनिक विज्ञान र प्रविधि नियन्त्रित एवम् निर्देशित संसारमा सबैभन्दा ठूला र महत्वपूर्ण दुई विषय गणित र विज्ञानको घाँटी विद्यालय तहबाटै निमोठ्ने सरकारको तजबिज सुन्दैमा उदेकलाग्दो छ । जुन विषयलाई विद्यालयको प्राथमिक तहबाटै गुणस्तरीय बनाउँदै जानुपर्ने हो त्यही विषय ऐच्छिक र स्वेच्छिक बनाउनु भनेको पश्चगमनको यात्रा हो । हाम्रो शिक्षा प्रणाली कति लबस्तरो र खोटले भरिएको रहेछ भन्ने जान्न दुनियाँलाई अर्को उदाहरण नै चाहिएन ।
गणित र विज्ञान विषयलाई कमजोर बनाएर एक्काइसौँ शताब्दीको चुनौती कुनै हालतमा थेग्न सकिँदैन, समृद्धिका कुरा त झन् बकबास बन्छन् । समाजवादको लहरोमा समृद्धिको पालुवा हाल्ने शिक्षामन्त्रीकै अध्यक्षतामा बसेको पाठ्यक्रम विकास केन्द्रको बैठकले मानसिक विकारयुक्त निर्णय गरेछ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५ को नाममा गणितलाई कोर विषयबाट भित्तामा सार्ने निर्णय भएछ । अर्थात्, अब अनिवार्य होइन ऐच्छिक । विद्यार्थी अनुत्तीर्ण भइरहेपछि शिक्षक र शिक्षण गतिलो खोज्ने ? बरु विषय नै चैट पारिदिएपछि टन्टै साफ ! एक्काइसौँ शताब्दीको समृद्ध नेपालको तस्बिर हेर्न खोज्नेलाई यो घृणित ठट्टामा दस्तखत गरेर शिक्षामन्त्रीले नाकाम गरे । विद्यार्थी उत्तीर्ण गराउने यो खेलोले नेपालको शिक्षालाई नै भड्खालोतिरको बाटोमा लैजान्छ भनेर सर्वशक्तिमान प्रधानमन्त्रीलाई कसले कान फुक्देला ?
अब एउटा उदाहरणबाट विषय प्रवेश गर्छु । आइन्सटाइनका एक विद्यार्थी भौतिकशास्त्रको परीक्षा दिइरहेका थिए । कक्षामा आइन्टाइन आएपछि विद्यार्थीले सोधेछन्– डाक्टर आइन्सटाइन ! यो त त्यही प्रश्न होइन जुन गतवर्ष पनि सोधिएको थियो ? आइन्सटाइनले जवाफ दिएछन्, ‘बिल्कुलै सत्य । तर यो वर्ष प्रश्नको सही जवाफ पनि छ ।’ अतः विज्ञानको यो गतिशीलतालाई कुनै स्वेच्छिक वा ऐच्छिक गाँठोमा झुन्डिएर कमजोर नबनाऔँ ।
भन्नलाई त जिन्दगी जोड, घटाउ, गुणा, भाग गर्दै गयो भनिन्छ । तर, माथिका चार पाउमा टेकेर संसारले विष्मयकारी परिवर्तन आत्मसात् गरेको धेरै पछि पत्तो भयो । उतिबेला बिहान उठ्नेबेलाको घडीदेखि राति सुत्नेबेलाको घडीको समयसम्म सबै गणितकै प्रतिफल हुन् र जीवन गणितबाट टाढा हुँदा प्रतिफलरहित हुन्छ भनेर कसैले सिकाइदिएका भए म पनि गणित र जीवन दुवैमा अझ श्रेष्ठ हुने थिएँ भन्ने लाग्छ । दिन, महिना र वर्षको गणना, राशि र ग्रहको गणना सबै गणितको सूत्रमा आधारित छन् भनिदिएको भए मैले गणितमा लगाव बढाउँथे हुँला । कोण र भुजाको सम्बन्ध जति केलाउन सक्यो जिन्दगीको कोण र भुजा उति नै विस्तार हुन्छ भनिदिएको भए कम्तीमा म पनि चोरी चकारी नगरी गणितमा उत्तीर्ण हुने विद्यार्थीमा गनिन्थेँ । गणितले खगोल र भौतिकशास्त्र, रसायन विज्ञान, अर्थशास्त्र, वास्तुशास्त्र सबैलाई सूत्रमा नाप्ने, तौलने गर्ने भएकाले ‘गणित छुटे सबै छुट्यो’ भन्ने अभिभावक र विद्यालयका शिक्षक भइदिएको म ‘हिसाब भनेपछि पिसाब फेर्ने’ अवस्थाबाट मुक्त भएर नयाँ प्रगतिमार्गमा लम्कने विद्यार्थी हुन्थे हुँला । मेरो विद्यालयकालीन शिक्षाको यो गम्भीर त्रुटिको सजाय आजसम्म भोगिरहेको छु । यो त्रुटिको जिम्मेवार हाम्रो समाज हो, शिक्षा प्रणाली हो र राज्यको नीतिनिर्माण तह हो ।
गणितको अभावमा न पुल बन्छ न ठूलाठूला महल, गणितको न तारापुञ्जको गणना नै सम्भव छ भनेर उत्साह मात्र जगाइदिएको भए माध्यमिक तहमा अध्ययन गर्ने मजस्ता कति गणितमा आकर्षित हुन्थे होलान् । गणितबिना विज्ञान हुँदैन र विज्ञानबिना कसैको पनि तर्क विश्वसनीय हुँदैन भनेर हामीलाई नसिकाइएकै हो । यो कुरा बुझ्ने गरी सिकाइएको हुँदो हो हामी नौ र दश कक्षामा अध्ययन गर्दा ३७ जना विद्यार्थीमा २० जना विद्यार्थी किन गणितको पासोमा बेरिएका हुन्थ्यौँ ? अझ गणितमा कमजोर छात्राको अलग कथा छ । हाम्रो कक्षाबाट आधा जनशक्ति गणितकै कारण अरूभन्दा एक वर्ष ढिलो भए । र, सम्भवतः देशभरका सरकारी विद्यालयको त्यो बेलाको आँकडा पनि त्यस्तै थियो । दुई दशकपछि नेपालको सरकार गणित र विज्ञानको घाँटी थिचेर ऊ बेलादेखिको समस्याबाट भाग्न खोज्दै छ ।
ब्रम्हाण्डभित्रको गहन सत्य जान्न गणितको ज्ञान आवश्यक छ र हुन्छ भनेर हामीलाई नपढाइएकै हो । गणित दुनियाँको सबैभन्दा सत्य न्यायाधीश र गणितको परिणामको पुनरावेदन कहीँ छैन भन्ने सत्य विद्यार्थीको दिमागमा हालिदिएको भए हामीले पनि त गणितको सत्यको बाटो हुँदै समृद्धिको बाटो चाँडै पक्रने थियौँ होला । तर, त्यसो भएन । र, धेरै पछिसम्म पनि भएन । र, अहिलेसम्म पनि भइरहेको छैन ।
नयाँ आधुनिक देश निर्माण गणित र विज्ञानलाई उपेक्षा र तिरस्कार गरेर बन्दै बन्दैन । यो विषय बलशाली केपी ओली र प्रचण्ड नेतृत्वको नेकपाको सरकारलाई सबैले चिच्याएर सुनाउन आवश्यक छ । नयाँ पिँढीलाई गणित र विज्ञानमा अग्रसर गराउनभन्दा यिनलाई राक्षस र भूतजस्तो देखाएर ऐच्छिक र स्वेच्छिकमा राखेर राज्य र सरकार महान् जिम्मेवारीबाट सदाको लागि भाग्दै छ । गणित र विज्ञानसँग भाग्नु शाश्वत सत्यसँग भाग्नु हो । गणित र विज्ञानसँग डराउनु शाश्वत सत्यसँग डराउनु हो भनेर हामीले एक स्वरमा चिच्याएनौँ भने अबको केही वर्षमै हाम्रो शिक्षामा गम्भीर खडेरी सुरु हुनेछ ।
एक्काइशौं शताब्दीको चुनौती स्वीकार गर्न गणित र विज्ञान विषयमा विद्यालयको प्राथमिक तहदेखिको पाठ्यक्रमलाई सरल बनाउन आवश्यक थियो । मेरो दाजुहरूले मभन्दा दश वर्षअघि दिएको र मैले दिएको परीक्षामा एउटै पाठ्यक्रम दियौँ । अनि त्यही पाठ्यक्रममा पन्ध्र वर्षपछि मेरो भतिजले परीक्षा दियो । हामी पुस्तान्तर भइसक्यौँ, तर पाठ्यक्रम त्यही । त्यही शिक्षक, त्यही नोट बोकेर बीस वर्षदेखि त्यही घोकिरहेको छ, घोकाइरहेको छ । त्यही हस्तलिखित चिर्कटो दशकदेखि विद्यार्थीहरू बाँड्दै आइरहेका छन् । सरकार ! शिक्षकहरूको आधुनिकीकरण गर । उनीहरूलाई तालिम र प्रशिक्षण देऊ । सन्दर्भ सामग्रीको व्यवस्था गर । राजनीतिबाट अलग गराऊ र विद्यार्थीसँग घुल्न सक्ने बनाऊ । गुणस्तरीय र दक्ष शिक्षक आपूर्ति गर्न नसक्ने कमजोरीलाई ढाकछोप गर्न विषय नै ऐच्छिक र स्वेच्छिकमा परिवर्तन गर्ने लाचारी नदेखाऊ ।
विज्ञान र गणित अनिवार्य हुन आवश्यक छ । यो अझ बढी सरल हुन आवश्यक छ । यो अझ बढी व्यावहारिक र जीवनोपयोगी हुन आवश्यक छ । यो अझ बढी प्रयोगात्मक र प्रयोगशालाकेन्द्रित हुन आवश्यक छ । यो अझ बढी दक्ष जनशक्तिकेन्द्रित हुन आवश्यक छ । यो अझ बढी गम्भीर र अझ बढी संवेदनशील विषय हो भनेर काँचा मस्तिष्कबाटै सन्देश प्रवाह गर्न आवश्यक छ । तर, गणित र विज्ञानलाई उपेक्षा घृणायोग्य छ । तिरस्कारयोग्य छ । सरकारको यो तयारी निन्दनीय छ । यसलाई कम्तीमा देशका विद्यालयहरूले बलियो धक्का र मुक्काको जवाफ दिएर प्रतिकार गर्न आवश्यक छ । राज्यको तलबै मात्र पचाउने झोले शिक्षकहरूको अलग कुरा तर आफूलाई शिक्षक नै मान्नेहरूले शिक्षाको नाभीमै गरिएको यो प्रहारलाई सहन गर्न नहुने हो ।
अन्त्यमा, एउटा नयाँ अध्ययनले सिंगापुरका प्राथमिक र माध्यमिक विद्यालयहरूमा गणित र विज्ञान विषयको अध्यापन संसारकै उत्कृष्ट श्रेणीको रहेको देखाएको थियो । हरेक चार वर्षमा हुने गणित तथा विज्ञानको अन्तर्राष्ट्रिय अध्ययनबाट उक्त निष्कर्ष निकालिएको थियो । ५७ देशका ६ लाख विद्यार्थीमा उक्त अध्ययन भएको थियो । र, दक्ष जनशक्ति उत्पादनको प्रमुख आधार नै गणित र विज्ञान विषयमा गुणस्तरीय विद्यार्थी रहेको औँल्याइएको थियो ।
त्यस्तै, विश्वबैंकको दुई वर्षअघिको प्रतिवेदनमा दक्षिण एसियाली देशहरूको गरिबीको जड उनीहरूले विद्यालयस्तरमा प्रयोग गर्दै आइरहेको शैक्षिक प्रणालीसँग जोडिएको छ भनेको थियो । विकासन्मुख देशहरूले विद्यालयमा विद्यार्थीको पहुँचको कार्यक्रममा त जोड दिए, तर ती विद्यार्थीलाई कसरी गुणस्तरीय शिक्षा दिने भन्ने कार्यक्रम नहुँदा उपलब्धि गुमेको प्रतिवेदनको आशय थियो । त्यसमा पनि गणित र विज्ञान विषयको भूत ! विद्यालयमा ६ घन्टा बिताएर ७ वटा कक्षा लिनु र कसैगरी कक्षा उत्तीर्ण हुनु र गराउनु नै कार्यक्रम भएपछि त्यसले समाज र देशका लागि कस्तो जनशक्ति तयार गर्दछ भन्ने कुरामा त्यो दृष्टान्त हो भन्ने मान्नुपर्दछ ।
अब गणितै निमोठेपछि सिंगापुरको सपना पनि त निमोठिएला नि, होइन र ?
प्रतिक्रिया