sujim bazar advert

“गणित र विज्ञान निमोठेर बन्छ सिंगापुर?” पुरुषोत्तम लम्साल

    असार ६, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

आफूलाई शिक्षक नै मान्नेहरूले शिक्षाको नाभीमै गरिएको यो प्रहार सहन नहुने हो

आजको बसाइमा म रसुवा जिल्लालाई पूर्ण साक्षर जिल्ला र सूर्यगढी गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्नुबीच अन्तर खोज्दिनँ । प्राथमिक कक्षामा विद्यार्थी भर्नालाई केन्द्र बनाएर घोषणा गरेको सहस्राब्दी विकास लक्ष्य भेट्ने दौड त हावा खायो खायो, अब गणित र विज्ञानको घाँटी अठ्याएर राज्यले तय गरेको यात्राले खाने हावाबारे अनुभूतिजन्य चर्चा गर्छु ।

Placeholder

आरम्भमै म विचारको सारांश उल्लेख गर्छुः

आधुनिक विज्ञान र प्रविधि नियन्त्रित एवम् निर्देशित संसारमा सबैभन्दा ठूला र महत्वपूर्ण दुई विषय गणित र विज्ञानको घाँटी विद्यालय तहबाटै निमोठ्ने सरकारको तजबिज सुन्दैमा उदेकलाग्दो छ । जुन विषयलाई विद्यालयको प्राथमिक तहबाटै गुणस्तरीय बनाउँदै जानुपर्ने हो त्यही विषय ऐच्छिक र स्वेच्छिक बनाउनु भनेको पश्चगमनको यात्रा हो । हाम्रो शिक्षा प्रणाली कति लबस्तरो र खोटले भरिएको रहेछ भन्ने जान्न दुनियाँलाई अर्को उदाहरण नै चाहिएन ।

गणित र विज्ञान विषयलाई कमजोर बनाएर एक्काइसौँ शताब्दीको चुनौती कुनै हालतमा थेग्न सकिँदैन, समृद्धिका कुरा त झन् बकबास बन्छन् । समाजवादको लहरोमा समृद्धिको पालुवा हाल्ने शिक्षामन्त्रीकै अध्यक्षतामा बसेको पाठ्यक्रम विकास केन्द्रको बैठकले मानसिक विकारयुक्त निर्णय गरेछ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५ को नाममा गणितलाई कोर विषयबाट भित्तामा सार्ने निर्णय भएछ । अर्थात्, अब अनिवार्य होइन ऐच्छिक । विद्यार्थी अनुत्तीर्ण भइरहेपछि शिक्षक र शिक्षण गतिलो खोज्ने ? बरु विषय नै चैट पारिदिएपछि टन्टै साफ ! एक्काइसौँ शताब्दीको समृद्ध नेपालको तस्बिर हेर्न खोज्नेलाई यो घृणित ठट्टामा दस्तखत गरेर शिक्षामन्त्रीले नाकाम गरे । विद्यार्थी उत्तीर्ण गराउने यो खेलोले नेपालको शिक्षालाई नै भड्खालोतिरको बाटोमा लैजान्छ भनेर सर्वशक्तिमान प्रधानमन्त्रीलाई कसले कान फुक्देला ?

अब एउटा उदाहरणबाट विषय प्रवेश गर्छु । आइन्सटाइनका एक विद्यार्थी भौतिकशास्त्रको परीक्षा दिइरहेका थिए । कक्षामा आइन्टाइन आएपछि विद्यार्थीले सोधेछन्– डाक्टर आइन्सटाइन ! यो त त्यही प्रश्न होइन जुन गतवर्ष पनि सोधिएको थियो ? आइन्सटाइनले जवाफ दिएछन्, ‘बिल्कुलै सत्य । तर यो वर्ष प्रश्नको सही जवाफ पनि छ ।’ अतः विज्ञानको यो गतिशीलतालाई कुनै स्वेच्छिक वा ऐच्छिक गाँठोमा झुन्डिएर कमजोर नबनाऔँ ।

भन्नलाई त जिन्दगी जोड, घटाउ, गुणा, भाग गर्दै गयो भनिन्छ । तर, माथिका चार पाउमा टेकेर संसारले विष्मयकारी परिवर्तन आत्मसात् गरेको धेरै पछि पत्तो भयो । उतिबेला बिहान उठ्नेबेलाको घडीदेखि राति सुत्नेबेलाको घडीको समयसम्म सबै गणितकै प्रतिफल हुन् र जीवन गणितबाट टाढा हुँदा प्रतिफलरहित हुन्छ भनेर कसैले सिकाइदिएका भए म पनि गणित र जीवन दुवैमा अझ श्रेष्ठ हुने थिएँ भन्ने लाग्छ । दिन, महिना र वर्षको गणना, राशि र ग्रहको गणना सबै गणितको सूत्रमा आधारित छन् भनिदिएको भए मैले गणितमा लगाव बढाउँथे हुँला । कोण र भुजाको सम्बन्ध जति केलाउन सक्यो जिन्दगीको कोण र भुजा उति नै विस्तार हुन्छ भनिदिएको भए कम्तीमा म पनि चोरी चकारी नगरी गणितमा उत्तीर्ण हुने विद्यार्थीमा गनिन्थेँ । गणितले खगोल र भौतिकशास्त्र, रसायन विज्ञान, अर्थशास्त्र, वास्तुशास्त्र सबैलाई सूत्रमा नाप्ने, तौलने गर्ने भएकाले ‘गणित छुटे सबै छुट्यो’ भन्ने अभिभावक र विद्यालयका शिक्षक भइदिएको म ‘हिसाब भनेपछि पिसाब फेर्ने’ अवस्थाबाट मुक्त भएर नयाँ प्रगतिमार्गमा लम्कने विद्यार्थी हुन्थे हुँला । मेरो विद्यालयकालीन शिक्षाको यो गम्भीर त्रुटिको सजाय आजसम्म भोगिरहेको छु । यो त्रुटिको जिम्मेवार हाम्रो समाज हो, शिक्षा प्रणाली हो र राज्यको नीतिनिर्माण तह हो ।

गणितको अभावमा न पुल बन्छ न ठूलाठूला महल, गणितको न तारापुञ्जको गणना नै सम्भव छ भनेर उत्साह मात्र जगाइदिएको भए माध्यमिक तहमा अध्ययन गर्ने मजस्ता कति गणितमा आकर्षित हुन्थे होलान् । गणितबिना विज्ञान हुँदैन र विज्ञानबिना कसैको पनि तर्क विश्वसनीय हुँदैन भनेर हामीलाई नसिकाइएकै हो । यो कुरा बुझ्ने गरी सिकाइएको हुँदो हो हामी नौ र दश कक्षामा अध्ययन गर्दा ३७ जना विद्यार्थीमा २० जना विद्यार्थी किन गणितको पासोमा बेरिएका हुन्थ्यौँ ? अझ गणितमा कमजोर छात्राको अलग कथा छ । हाम्रो कक्षाबाट आधा जनशक्ति गणितकै कारण अरूभन्दा एक वर्ष ढिलो भए । र, सम्भवतः देशभरका सरकारी विद्यालयको त्यो बेलाको आँकडा पनि त्यस्तै थियो । दुई दशकपछि नेपालको सरकार गणित र विज्ञानको घाँटी थिचेर ऊ बेलादेखिको समस्याबाट भाग्न खोज्दै छ ।

ब्रम्हाण्डभित्रको गहन सत्य जान्न गणितको ज्ञान आवश्यक छ र हुन्छ भनेर हामीलाई नपढाइएकै हो । गणित दुनियाँको सबैभन्दा सत्य न्यायाधीश र गणितको परिणामको पुनरावेदन कहीँ छैन भन्ने सत्य विद्यार्थीको दिमागमा हालिदिएको भए हामीले पनि त गणितको सत्यको बाटो हुँदै समृद्धिको बाटो चाँडै पक्रने थियौँ होला । तर, त्यसो भएन । र, धेरै पछिसम्म पनि भएन । र, अहिलेसम्म पनि भइरहेको छैन ।

नयाँ आधुनिक देश निर्माण गणित र विज्ञानलाई उपेक्षा र तिरस्कार गरेर बन्दै बन्दैन । यो विषय बलशाली केपी ओली र प्रचण्ड नेतृत्वको नेकपाको सरकारलाई सबैले चिच्याएर सुनाउन आवश्यक छ । नयाँ पिँढीलाई गणित र विज्ञानमा अग्रसर गराउनभन्दा यिनलाई राक्षस र भूतजस्तो देखाएर ऐच्छिक र स्वेच्छिकमा राखेर राज्य र सरकार महान् जिम्मेवारीबाट सदाको लागि भाग्दै छ । गणित र विज्ञानसँग भाग्नु शाश्वत सत्यसँग भाग्नु हो । गणित र विज्ञानसँग डराउनु शाश्वत सत्यसँग डराउनु हो भनेर हामीले एक स्वरमा चिच्याएनौँ भने अबको केही वर्षमै हाम्रो शिक्षामा गम्भीर खडेरी सुरु हुनेछ ।

एक्काइशौं शताब्दीको चुनौती स्वीकार गर्न गणित र विज्ञान विषयमा विद्यालयको प्राथमिक तहदेखिको पाठ्यक्रमलाई सरल बनाउन आवश्यक थियो । मेरो दाजुहरूले मभन्दा दश वर्षअघि दिएको र मैले दिएको परीक्षामा एउटै पाठ्यक्रम दियौँ । अनि त्यही पाठ्यक्रममा पन्ध्र वर्षपछि मेरो भतिजले परीक्षा दियो । हामी पुस्तान्तर भइसक्यौँ, तर पाठ्यक्रम त्यही । त्यही शिक्षक, त्यही नोट बोकेर बीस वर्षदेखि त्यही घोकिरहेको छ, घोकाइरहेको छ । त्यही हस्तलिखित चिर्कटो दशकदेखि विद्यार्थीहरू बाँड्दै आइरहेका छन् । सरकार ! शिक्षकहरूको आधुनिकीकरण गर । उनीहरूलाई तालिम र प्रशिक्षण देऊ । सन्दर्भ सामग्रीको व्यवस्था गर । राजनीतिबाट अलग गराऊ र विद्यार्थीसँग घुल्न सक्ने बनाऊ । गुणस्तरीय र दक्ष शिक्षक आपूर्ति गर्न नसक्ने कमजोरीलाई ढाकछोप गर्न विषय नै ऐच्छिक र स्वेच्छिकमा परिवर्तन गर्ने लाचारी नदेखाऊ ।

Explorationsविज्ञान र गणित अनिवार्य हुन आवश्यक छ । यो अझ बढी सरल हुन आवश्यक छ । यो अझ बढी व्यावहारिक र जीवनोपयोगी हुन आवश्यक छ । यो अझ बढी प्रयोगात्मक र प्रयोगशालाकेन्द्रित हुन आवश्यक छ । यो अझ बढी दक्ष जनशक्तिकेन्द्रित हुन आवश्यक छ । यो अझ बढी गम्भीर र अझ बढी संवेदनशील विषय हो भनेर काँचा मस्तिष्कबाटै सन्देश प्रवाह गर्न आवश्यक छ । तर, गणित र विज्ञानलाई उपेक्षा घृणायोग्य छ । तिरस्कारयोग्य छ । सरकारको यो तयारी निन्दनीय छ । यसलाई कम्तीमा देशका विद्यालयहरूले बलियो धक्का र मुक्काको जवाफ दिएर प्रतिकार गर्न आवश्यक छ । राज्यको तलबै मात्र पचाउने झोले शिक्षकहरूको अलग कुरा तर आफूलाई शिक्षक नै मान्नेहरूले शिक्षाको नाभीमै गरिएको यो प्रहारलाई सहन गर्न नहुने हो ।

अन्त्यमा, एउटा नयाँ अध्ययनले सिंगापुरका प्राथमिक र माध्यमिक विद्यालयहरूमा गणित र विज्ञान विषयको अध्यापन संसारकै उत्कृष्ट श्रेणीको रहेको देखाएको थियो । हरेक चार वर्षमा हुने गणित तथा विज्ञानको अन्तर्राष्ट्रिय अध्ययनबाट उक्त निष्कर्ष निकालिएको थियो । ५७ देशका ६ लाख विद्यार्थीमा उक्त अध्ययन भएको थियो । र, दक्ष जनशक्ति उत्पादनको प्रमुख आधार नै गणित र विज्ञान विषयमा गुणस्तरीय विद्यार्थी रहेको औँल्याइएको थियो ।

त्यस्तै, विश्वबैंकको दुई वर्षअघिको प्रतिवेदनमा दक्षिण एसियाली देशहरूको गरिबीको जड उनीहरूले विद्यालयस्तरमा प्रयोग गर्दै आइरहेको शैक्षिक प्रणालीसँग जोडिएको छ भनेको थियो । विकासन्मुख देशहरूले विद्यालयमा विद्यार्थीको पहुँचको कार्यक्रममा त जोड दिए, तर ती विद्यार्थीलाई कसरी गुणस्तरीय शिक्षा दिने भन्ने कार्यक्रम नहुँदा उपलब्धि गुमेको प्रतिवेदनको आशय थियो । त्यसमा पनि गणित र विज्ञान विषयको भूत ! विद्यालयमा ६ घन्टा बिताएर ७ वटा कक्षा लिनु र कसैगरी कक्षा उत्तीर्ण हुनु र गराउनु नै कार्यक्रम भएपछि त्यसले समाज र देशका लागि कस्तो जनशक्ति तयार गर्दछ भन्ने कुरामा त्यो दृष्टान्त हो भन्ने मान्नुपर्दछ ।
अब गणितै निमोठेपछि सिंगापुरको सपना पनि त निमोठिएला नि, होइन र ?

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top