२०७७, २९ चैत्र आईतवार
Shivapur Chairman Goldcup Football

भीओएलटीईमा फड्को, टेलिकमलाई अबसरैै अबसर, प्रयोगकर्तालाई फाइदा के ?

डबली खबर     माघ २३ २०७४ २२:३२


nepal Oil corporation advertisement dabali khabar
Shivapur Chairman Goldcup Football

सञ्चार प्रविधिको विशेषता यसको नवीनतामा बढी झल्किन्छ, उपयोगीतामा पनि । आम चाहना अनुसार परिमार्जन हुँदै जाने मात्र होइन कतिपय नवीनतम प्रयोगलाई स्थापित गर्न सक्नुमा प्रविधिको सफलता निर्धारण हुन्छ । सञ्चार सम्पर्कविहिन समाजदेखि ‘स्मार्टफोन ड्रिभन’ अहिलेको जीवनशैलीसम्म प्रविधिको नवीनतम गुणले नै आफै निर्विकल्प स्थान बनाएको सत्य हो ।

एकपटक विगत हेरौं । तारसहितको (ल्याण्डलाइन) फोन घरमा हुनुले कुनै समय सामाजिक प्रतिष्ठा बिम्बीत गथ्र्यो । विशिष्ट व्यक्तिमात्र यसको उपयोगका हकदार मानिन्थे । वायरलेस (तारविहिन) सञ्चार सम्पर्कको इतिहासले दुई दशक छुन नपाउँदै यसको आवश्यकता गास, बास, कपासकै तहमा फैलिएको छ । दोस्रो पुस्ताको नेटवर्क प्रविधि मानिने टूजी सुरुवातको नेपाली समय पनि रोमाञ्चकारी थियो । घरभन्दा बाहिर हिँड्दै फोन गर्नुको त्यो विगतको कालखण्डले चमत्कारी भविष्यसँगै अपत्यारिलो वर्तमान खडा गरिदिएको थियो । टूजी नै सहि सिमकार्डका लागि टेलिकमका काउण्टरमा हुने भिडको लाम नियमित दृश्य बनिसकेको थियो । हो त्यहिं बेला हो,मोबाइल भनेकै नोकियामात्र भन्ने नेपाली समाजले बुझेको पनि ।

टूजी अथवा थ्रीजीभन्दा दोब्बर छिटो समयमा कल कनेक्ट हुने विशेषता भीओएलटीईमा हुन्छ । एप्सको प्रयोग मार्फत हुने भीडीओ कलिङ, फाइल ट्रान्सफर, भाषा परिवर्तन, भिडियो भ्वाइसमेल, म्यासेजिङ जस्तासेवा भीओएलटीई प्रयोगकर्ताले एप्सको प्रयोग नगरी उपयोग गर्नसक्छन् । मतलब यस्ता सुविधाका लागि छुट्टै एप्स राख्नुपर्ने झण्झट यसमा हट्नेछ ।

बारफोनको जगजगी सुरु मात्रै हुँदै थियो, विदेशबाट आफन्तको विशेष कोसेली पनि नोकियाका यस्तै मोबाइल बनेका थिए । वायरलेस सञ्चार सम्पर्कमा टूजीले जति नेपाली समाज हल्लायो त्यो भन्दा बढी प्रभावकारी बन्यो तेस्रो पुस्ताको प्रविधि थ्रीजी । एक दशक पनि पुगेको छैन, नेपाली उपभोक्ताले थ्रीजीको अनुभव सुरु गरेको । स्मार्टफोनलाई बजार भित्र्याएको थ्रीजी पछि नै हो मोबाइल कुराकानीका लागि भन्दा बढी ‘सर्फिङ’मा प्रयोग हुन थालेको । विश्वलाई ‘ग्लोबल भिलेज’ मान्ने उत्तर आधुनिक सिद्धान्तलाई पनि थ्रीजीको लोकप्रियताले प्रमाणित गरिदिएजस्तै लाग्छ । नेपालको दूरसञ्चार बजारमा अहिले पनि थ्रीजीकै व्यापकता छ ।

एक बर्ष पुरा भयो, नेपालमै पहिलोपटक चौथो पुस्ताको फोरजी सुरु भएको । डेटा प्रयोगकर्तालाई खास लक्षित गरेर फोरजी सञ्चालनमा आएको हो । थ्रीजी विस्तार हुँदाजस्तो ग्राहकले फोरजी सहजै स्विकार गरिसकेका त छैननतर सेवा प्रदायक यसको विस्तारमा पनि प्रतिस्पर्धी बन्ने क्रममा छन् । फोरजीले मोबाइल फोनको औचित्य थप बढाइदिएको छ । एउटा ‘कन्भर्ज्ड’ उपकरण बनेको छ मोबाइल । तीव्र गतिसहितको डेटा प्रयोग गर्न सकिने विशेषतासहितको फोरजीले नेपालमा इण्टरनेट प्रयोगकर्तामात्र बढाएको छैन यससँगै उपयोगीताको दायरा पनि क्रमशः विस्तार गरिरहेको छ ।

नेपाल टेलिकम यी तीनै पुस्ताका मोबाइल नेटवर्क सुरु गर्ने पहिलो कम्पनी हो । यी तीनै वायरलेस प्रविधिमा विशेषगरी डेटालाई प्राथमिकतामा राखिएको छ । अर्थात टूजीदेखि फोरजीसम्म जति पनि परिवर्तन गर्ने प्रयास भए यी सबैमा डेटाको गुणस्तर सुधार रोजाइमा पर्यो । भ्वाइस अर्थात कुराकानीका लागि यी तीनवटै पुस्ता समान छन् । टूजी नेटवर्कदेखि फोरजी प्रयोगकर्तासम्मले डेटामा सुधारको अनुभुत गर्न सक्छन् तर भ्वाइसको गुणस्तर करिब समान छ । कुराकानीका क्रममा खास भिन्नता पाइदैन । यो विषय नेटवर्कसँग बढी सम्बन्धित छ । डेटाको सुधारसँगै नेटवर्क विस्तार गर्दा भ्वाइस सेवामा पनि परिवर्तन ल्याउन अहिले विश्वव्यापी प्रचलनमा आएको छ भ्वाइस ओभर लङ टर्म इभोलुसन(भीओएलटीई) ।

के हो भीओएलटीई ?

शाब्दिक रुपमा एलटीई नेटवर्कमा आधारीत रहेर भ्वाइस सेवा पनि त्यसमै समाहित गर्दै सेवा उपलब्ध गराउने एकिकृत नेटवर्क प्रणाली नै भीओएलटीई हो । सजिलो भाषामा अहिले नेपालका वायरलेस (मोबाइल) सेवा प्रदायकले परम्परागत सर्किट स्विच्ड नेटवर्कमार्फत भ्वाइस पठाउँदै आएका छन् । तर, यीनै सेवा प्रदायकका फोरजी प्रयोगकर्ता भने इण्टरनेट अथवा डेटाका लागि इण्टरनेट प्रोटोकल (आइपी) प्रविधिमा आधारीत फोरजी एलटीई प्रयोग गर्छन् ।

भीओएलटीई प्रविधिमा जसरी सेवा प्रदायकले आइपीमा आधारीत रहेर डेटा पठाउँछन्, त्यहि नेटवर्क प्रविधिकै प्रयोग गरेर भ्वाइस पनि पठाउने गर्छन् । अर्थात् फोरजी प्रयोगकर्ताले अहिले जसरी इमेल, फेसबुक म्यासेजलाई इण्टरनेट प्याकेजको रुपमा प्रयोग गरिरहेका छन् भीओएलटीई प्रविधिमा भ्वाइस कल पनि एउटा इण्टरनेट प्याकेजको रुपमा रहन्छ । एलटीईको सुरुवातमा यसलाई पूर्णरुपमा डेटा पठाउने प्रविधिको रुपमा मात्र बुझिन्थ्यो । यस्तोमा सेवा प्रदायकले भ्वाइस सेवा भने टुजी र थ्रीजी प्रणालीमै ‘रिभर्ट’ गरेर उपलब्ध गराउँथे । जस्तो अहिले नेपालमा प्रयोगमा छ । फोरजी प्रयोग गरिरहनुभएको छ भने पनि भ्वाइस कल भने टूजी र थ्रीजी नेटवर्कबाटै हुने गर्छ ।

नेटवर्कको यो दोहोरोपनलाई हटाउँदै भ्वाइस ट्राफिकलाई बढाउने र अझ गुणस्तर बनाउने विकल्पका रुपमा भीओएलटीई बन्यो । यसबाहेक विश्वव्यापी रुपमै घट्दै गएको भ्वाइस र एसएमएसको बजार उकास्ने उपायका रुपमा पनि सेवा प्रदायकले भीओएलटीई नेटवर्कलाई प्रयोग गर्न थालेका छन् । आइपी मल्टिमिडिया सिष्टम जसलाई प्रविधिमा आईएमएस भनेर बुझिन्छ, त्यसको प्रयोगमार्फत भीओएलटीई प्रभावकारी बनेको हो । तर सुरुसुरुमा आइएमएस प्रयोग जटिल हुने भन्दै धेरै सेवा प्रदायक भीओएलटीईसँग हच्किएका थिए । यसको व्यवस्थापन र बढी खर्चिलो हुने भविष्यसँग उनीहरु वास्तवमै तर्सिएका थिए । तर सन् २०१० मा भएको जीएसएमए मोबाइल वल्र्ड कंगे्रसले भीओएलटीई प्रयोगमा सहयोग गर्ने बताएपछि विश्वका चालिस प्रमुख सेवा प्रदायक यसको प्रयोगमा सहमत भए । सन् २०१४ को मे महिनादेखि सिंगापुरको सिंगटेलले विश्वमै पहिलोपटक सबै विशेषतासहितको भीओएलटीई सुरुवात ग¥यो । त्यतिबेला सिंगटेलले ग्यालेक्सी नोट थ्रीसँग बण्डलिङ गरेर यो सेवा सुरु गरेको थियो ।

के फाईदा ?

भीओएलटीई प्रयोगकर्ताले स्पष्ट रुपमा पाउने परिवर्तन भनेको यसको आवाजमा नै हो । कुराकानीका क्रममा आवाज टूजी अथवा थ्रीजीमा प्रयोग गरिरहेको भन्दा बढी स्पष्ट र प्राकृतिक जस्तो सुनिन्छ । भेटेरै कुराकानी गरेजस्तो आवाज सुनिने भएर पनि यसलाई ‘एचडी भ्वाइस’ भनेर पनि भन्ने गरिन्छ । यति मात्र पनि होइन । यो प्रविधिमा कल गर्दा लाग्ने समय पनि घट्छ । अहिलेजस्तो कल गरेपछि कनेक्ट हुन लाग्ने समय भीओएलटीईले घटाइदिन्छ । टूजी अथवा थ्रीजीभन्दा दोब्बर छिटो समयमा कल कनेक्ट हुने विशेषता भीओएलटीईमा हुन्छ । एप्सको प्रयोग मार्फत हुने भीडीओ कलिङ, फाइल ट्रान्सफर, भाषा परिवर्तन, भिडियो भ्वाइसमेल, म्यासेजिङ जस्तासेवा भीओएलटीई प्रयोगकर्ताले एप्सको प्रयोग नगरी उपयोग गर्नसक्छन् । मतलब यस्ता सुविधाका लागि छुट्टै एप्स राख्नुपर्ने झण्झट यसमा हट्नेछ । यसको प्रत्यक्ष प्रभाव मोबाइलको ब्याट्रि लाइफ पनि स्वभाविक रुपमा बढ्छ ।

टेलिकमलाई अवसर

एक करोड जीएसएम लाइन विस्तारको योजना सुरु भएको ६ बर्षपछि नेपाल टेलिकमले पहिलोपटक वायरलेस नेटवर्क विस्तार गर्दैछ । समयको यो अन्तराल पछि पनि विश्वव्यापी प्रचलनमा रहेको भीओएलटीई नेटवर्क विस्तार आफैमा महत्वपूर्ण योजना हो । नेपालमा बढ्दो डेटा प्रयोगकर्ताको बढ्दो आवश्यकता पुरा गर्न भीओएलटीई उपयुक्त प्रविधि हो । यसका केहि विशेष कारण छन् । चीनतर्फबाट स्थलमार्ग हुँदै इण्टरनेट ब्याण्डविथ ल्याउने प्रयासले भारतीयसिमा हुँदै सिङ्गापुरको सर्भरबाट ल्याइने ब्याण्डविथको एकतर्फि निर्भरता घटाउने नै छ ।

त्यो भन्दा चीनबाट पनि इण्टरनेट आउँदैछ भन्ने सामान्य सन्देशले पनि अझ राम्रो इण्टरनेट प्रयोेग गर्न पाइन्छ भन्ने अप्रत्यक्ष सन्देश प्रयोगकर्तामा आफै फैलिएको छ । दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार पनि वायरलेस डेटा प्रयोगकर्ताको सङ्ख्यामा भएको निरन्तर वृद्धिले बजार अवसर देखाइदिएको छ । खासगरी म्यासेजीङ एप्समा अभ्यस्त डेटा प्रयोगकर्तालाई भिडियोतर्फ ‘कन्भर्ट’ गर्न सक्ने अवसर टेलिकमका लागि छ । टेलिकम आफै पनि कण्टेण्ट विकास गरेर त्यसबाट लाभ लिन सक्ने स्थितीमा छ । मोबाइल मनी लगायत इण्टरनेटलाई आधारीत बनाएर दैनिक जीवनलाई लाभ हुने काममा टेलिकमले योजना बनाउन सक्छ ।

भीओएलटीईका लागि अहिले प्रयोगमा रहेका सबै स्मार्टफोन उपयोगी नहुन सक्छन् । यसका लागि भीओएलटीई सपोर्ट गर्ने मोबाइल नै चाहिन्छ । सबैभन्दा अर्को ठूलो अवसर पनि यसमा छ । टेलिकमले आफै मोबाइल बण्डलिङ गरेर बिक्रि गर्न सक्ने अवसर यहाँनिर छ । तर सबैभन्दा गम्भिर प्रश्न भनेकै के समयमै भीओएलटीई नेटवर्क विस्तार हुन सक्छ त ? यदि यो ढिलो हुँदै गयो भने विश्वव्यापी रुपमा प्रचलनमा रहेपनि भीओएलटीई त्यतिबेला फेरी पुरानो भइसक्ने छ । यद्यपी फाइभजी प्रयोगकर्ताको आधार तयार गर्न यो नेटवर्क सहयोगी भने बन्नेछ ।

छुट्छुट्टै सहरमा फोरजी विस्तार गरिरहने सेवाप्रदायकको प्रवृत्तिगत बाध्यता यसले हटाउनेछ । यसबाहेक नेटवर्क विस्तारपछि त्यसको गुणस्तरको प्रश्नले टेलिकमलाई सधै हैरान भने पारिरहनेछ । खासगरी भीओएलटीई नेटवर्कमा देखिने कल ड्रपको समस्या समाधान गर्न टेलिकमले अहिले नै प्रभावकारी योजना बनाउनु आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top